फिजियोथेरापी: प्रकार, विधि र लाभ

डा. डीबी सुनुवार

पछिल्लो समय फिजियोथेरापी उपचारात्मक विधि लोकप्रिय बन्दै गएको छ । ईशापूर्व ४६० तिर हिपोक्रेट्स र ग्यालेन्सजस्ता चिकित्सकहरूले मानिसको उपचार गर्न फिजियोथेरापी विधिको प्रचलन सुरु गरेको विश्वास गरिन्छ । अठारौं शताब्दीको अन्त्यतिर ब्रिटेनबाट आधुनिक फिजियोथेरापी पद्धति विकसित भएको मानिन्छ ।

दोस्रो विश्वयुद्धको समयमा आधुनिक फिजियोथेरापी विधि विकसित भएको हो । विश्वयुद्धका क्रममा जब ठूलो सङ्ख्याका सैनिक र नागरिकहरू घाइते भए, उनीहरूलाई स्वस्थ्य सामान्य अवस्थामा फर्काउन सर्वसुलभ, सस्तो, छरितो र प्रभावकारी उपचार विधिको आवश्यकता पर्‍यो । त्यसबेला घाइतेको सङ्ख्या निकै धेरै भएकाले संसारका ठूला र प्रभावशाली एवम् विकसित भनिएका देशहरूमा समेत औषधिको चरम अभाव भयो ।

यही सङ्कटका कारण घाइते र बिरामीलाई निको पार्न नयाँ विधाको विकास भयो, जसलाई अहिले फिजियोथेरापी भनिन्छ । फिजियोथेरापी मूलतः औषधिविनाको सरल, सहज, सर्वसुलभ र सस्तो उपचार विधि हो । व्यायाममा आधारित यो उपचार विधिमा मालिस, ताप, प्रकाश, विद्युतीय वा अन्य भौतिक औजार–उपकरण तथा यस्तै–यस्तै माध्यमहरूद्वारा रोगको उपचार गरिन्छ । यस प्रकारको उपचार विधि अर्थात् फिजियोथेरापीमा औषधिको भने प्रयोग गरिँदैन ।

फिजियोथेरापी विधिलाई ‘शारीरिक चिकित्सा’ पनि भनिन्छ । यो विधि नवजात शिशुदेखि वृद्ध–वृद्धासम्ममा आवश्यकताअनुरूप प्रयोग गर्न सकिन्छ । विभिन्न रोगहरू र शारीरिक एवम् मानसिक विकारहरू हटाउनका निम्ति अनेकौं शारीरिक विधि तथा साधन प्रयोग गरेर फिजियोथेरापी गरिन्छ । यसमा विधिसम्मत तरिकाले अशक्तताको मूल्याङ्कन, निदान र उपचार गरिन्छ ।

फिजियोथेरापी: प्रकार र विधि

फिजियोथेरापी विभिन्न प्रकारका हुन्छन् । मुख्यतः यो दुई किसिमको हुन्छ– एक्टिभ फिजियोथेरापी र प्यासिभ फिजियोथेरापी ।

एक्टिभ फिजियोथेरापीले शरीरलाई सामान्य अवस्थामा पुनर्स्थापन गर्न मद्धत गर्छ भने प्यासिभ फिजियोथेरापी लक्षणहरूको न्यूनीकरणतर्फ उन्मुख र निर्देशित हुन्छ । अशक्तताको अवस्था या कुनै शारीरिक समस्या निम्तिएमा त्यसको उपचार गर्न प्यासिभ फिजियोथेरापी लाभदायक हुन्छ । फिजियोथेरापी शारीरिक मात्र नभई मानसिक स्वास्थ्य समस्याको समाधान गरी सही अवस्थामा राख्नका लागि समेत उत्तिकै लाभदायी हुन्छ ।

समयावधि निर्धारण गरेर अर्थात् आवश्यकता र सम्भाव्यताका आधारमा विभिन्न समयको सेड्युल बनाएर फिजियोथेरापी गर्नुपर्छ । समस्या, रोग र अन्य अवस्थाअनुरूप कुनै फिजियोथेरापी छोटो समयका लागि मात्रै पनि गर्न सकिन्छ भने कुनै चाहिँ लामो समयसम्म गरिरहनु पर्ने पनि हुन सक्दछ । न्युरो–मस्कुलर–स्केलेटल र घाउहरूका लागि गरिने फिजियोथेरापी सामान्यतः छोटो अवधिको हुन्छ ।

साधारण स्वास्थ्य समस्या समाधानका लागि अल्पकालीन (छोटो समयको) फिजियोथेरापी गर्न सकिन्छ । घाउ–खटिरालगायतका धेरै थरी स्वास्थ्य समस्या समाधानका निम्ति यस्तो थेरापी लाभदायक हुन्छ ।

दीर्घकालीन प्रकृतिका स्वास्थ्य समस्या समाधानका लागि भने लामो समयकै (दीर्घकालीन) फिजियोथेरापी आवश्यक पर्न सक्दछ । हड्डीको समस्या समाधानका लागि पनि दीर्घकालीन फिजियोथेरापी नै आवश्यक पर्दछ । मेरुदण्डको आघातका कारण उत्पन्न हुने प्याराप्लेजिया, क्वाड्रिप्लेजियाजस्ता शारीरिक अक्षमताका निम्ति पनि दीर्घकालीन थेरापीकै जरुरत पर्दछ ।

फिजियोथेरापीले रोग निको पार्ने मात्र काम गर्दैन, दुखाइ कम गर्न र शरीरका विभिन्न माङ्शपेशी चलायमान (लचिलो) गराउन समेत यो विधि उपयोगी हुन्छ । यसले शरीर र मन दुवै बलियो पार्न मद्धत पुर्‍याउँछ । सन्तुलितरूपमा फिजियोथेरापी गर्दा विभिन्न खाले रोगहरू लाग्नै नदिन र शरीर हृष्टपुष्ट एवम् स्वस्थ राख्न समेत मद्धत मिल्दछ ।

फिजियोथेरापीका प्रवर्गहरू

फिजियोथेरापीका विभिन्न प्रवर्ग छन् । अर्थोपेडिक, न्युरोलोजी, कार्डियो पल्मोनरी, बालरोग, जेरियाट्रिक, खेलकुद, पुनर्स्थापना आदि यसका प्रवर्ग हुन् ।

फिजियोथेरापिस्ट: जिम्मेवारी र भूमिका

– मर्के–कर्केका हात–खुट्टादेखि स्ट्रोकसम्म, चिकित्सकीय अवस्थाको व्यापक दायरा आँकलन, र व्यवस्थापन गरी उपचार गर्ने ।
– शारीरिक पीडा र चोटहरू निको पार्ने ।
– फिजियोथेरापीमा सङ्लग्न स्वास्थ्य समस्या भएका या नभएका व्यक्तिको शारीरिक एवम् मानसिक गतिशीलता बढाउने ।
– माङ्सपेशी र जोर्नीहरू लचिलो तुल्याउने ।
– दैनिक जीवनका निम्ति अत्यावश्यक विभिन्न गतिविधिहरूका निम्ति स्वतन्त्र तुल्याउने ।
– चाल प्रशिक्षण र मुद्रा सुधार गर्ने ।

फिजियोथेरापीका विधिहरू

फिजियोथेरापीका विभिन्न विधिहरू छन् । इलेक्ट्रो थेरापी, सर्टवेभ डायथर्मी, माइक्रोवेभ डायथर्मी, अल्ट्रासाउण्ड, अन्तरक्रियात्मक, ट्रान्स्क्युटेनियस इलेक्ट्रिकल नर्भ स्टिमुलेसन, फराडिक र ग्याल्भेनिक माङ्सपेशी उत्तेजक, ग्रिवा÷लुम्बर ट्र्याक्सन, मोम स्नान, इन्फ्रारेड किरण, लेजर आदि फिजियोथेरापीका प्रविधिमा आधारित विधिहरू हुन् ।

त्यसैगरी, वर्तमान रूसी उपचार विधि मूलतः फिजियोथेरापी विधिमै आधारित छ । यसअन्तर्गत पनि विभिन्न उप–विधिहरू छन् । सक्रिय र निष्क्रिय अभ्यासहरू, प्रतिरोधी अभ्यास, संयुक्त परिचालन प्रविधि, निलम्बन उपचार, हाइड्रो थेरापी आदि यसअन्तर्गत पर्दछन् ।

त्यस्तै, फिजियोथेरापीअन्तर्गत विभिन्न आराम प्रविधिहरू पनि छन् । स्ट्रेचिङ, माङ्सपेशी ऊर्जा प्रविधि, चाल र सन्तुलन प्रशिक्षण, मुद्रा सुधार, सास फेर्ने व्यायाम, पोस्टरल ड्रेनिङजस्ता विधिहरू यसअन्तर्गत  पर्दछन् ।

म्यानुअल थेरापी

म्यानुअल थेरापी पनि फिजियोथेरापी अन्तर्गतकै एउटा विधि हो । यो विधि सामान्यतः नरम तन्तुहरूलाई वैज्ञानिक ढङ्गले चलायमान गराउने विधि हो । हातको कोमल भाग प्रयोग गरेर यो थेरापी गरिन्छ । यसले रक्त–सञ्चार बढाउने र दुखाइ कम गराई आराम दिलाउने काम गर्दछ ।

म्यानुअल थेरापीको चिकित्सीय प्रभाव हुन्छ । यस विधिमा विशेषतः दबाबको मात्रा परिवर्तन नगरी शरीरभित्रको तरल पदार्थलाई विनिमय गराइन्छ । मसाज गर्दा मुख्यतः सुजन कम गराउने, शरीरमा विषाक्त पदार्थ कम गराउने, शरीरको लचिलोपन बढाउनेजस्ता लाभ मिल्दछन् ।

फिजियोथेरापीका विधि र लाभ धेरै छन् । प्राकृतिक चिकित्सक वा फिजियो थेरापिस्ट या सम्बन्धित चिकित्सकसँगको परामर्श र निगरानीमा फिजियोथेरापी गरेर पर्याप्त स्वास्थ्यलाभ हासिल गर्न सकिन्छ ।