मङ्कीपक्स: सावधानी, पहिचान र उपचार
डा. शेरबहादुर पुनविदेशमा मात्र होइन, आजभोलि हामीकहाँ पनि मङ्कीपक्स भाइरसको सङ्क्रमण हुने जोखिम बढेको अनुभूति गरिँदै छ । अतः यसका स्रोत, लक्षण र बच्ने उपायबारे चर्चा हुन थाल्नु स्वाभाविकै छ ।
यौन सम्पर्कको माध्यमबाट समेत मङ्कीपक्स भाइरसको सङ्क्रमण हुने गरेको पाइन्छ । पुरुष–पुरुषबीच हुने यौन दूराचार (मेन सेक्स विथ मेल) का क्रममा समेत यो भाइरस सर्ने गरेको पाइएको छ ।
मङ्कीपक्स सङ्क्रमण भएमा सङ्क्रमितमा बिमिरा र घाउ आउने गरेको देखिन्छ । मङ्कीपक्स हुँदा बढीजसो गुप्ताङ्ग (यौनाङ्ग र गुद्वारजस्ता अङ्ग) मा बिमिरा र घाउ निस्कने गरेको देखिन्छ । त्यसैले सङ्क्रमितको बिमिरा र घाउबाट निस्कने तरल पदार्थले यौन सम्पर्कका क्रममा अर्को व्यक्तिलाई स्पर्श गर्दा मङ्कीपक्स भाइरसको सङ्क्रमण हुने उच्च जोखिम हुन्छ ।
यसरी सर्छ, यी हुन् लक्षणहरू
मङ्कीपक्स सङ्क्रमितको थुकका छिटा अर्को व्यक्तिका आँखा, मुख र नाकमा परेमा यो भाइरस सर्न सक्दछ । स्वासप्रश्वासको माध्यमबाट भने यो भाइरस सर्ने सम्भावना कमै मात्र हुन्छ ।
मङ्कीपक्स मूलतः छालाजन्य स्वास्थ्य समस्या हो । छालामा रहेका घाउको माध्यमबाट नै यो सर्ने जोखिम हुन्छ । त्यसैले यो भाइरसका सङ्क्रमितले प्रयोग गरेका सामान तुरुन्तै अर्को व्यक्तिले प्रयोग गरिहाल्नबाट जोगिनु नै यसको सङ्क्रमणबाट बच्ने मुख्य उपाय हो ।
मङ्कीपक्सको सङ्क्रम भएमा रुघा–खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा माङ्शपेशी दुख्ने, लिम्फ ग्रन्थी सुन्निने, अनुहार र हात–खुट्टामा बिमिरा तथा घाउ आउनेजस्ता लक्षण देखिन्छन् । यसको सङ्क्रमण हुँदा छालामा बिमिरा देखिन सुरु भई अनुहार, हात–खुट्टा, गुप्ताङ्ग र गुद्वाराजस्ता अङ्गमा घाउ तथा बिमिरा देखिन्छन् ।
मङ्कीपक्स पनि विभिन्न प्रजातिका हुन्छन् । यसको प्रजातिअनुसार सङ्क्रमितहरूमध्येका दस प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम देखिएको छ । यसको सङ्क्रमण हुँदा ठेउला (चिकनपक्स) र भिरङ्गी (सिफिलिस) सँग मिल्दाजुल्दा लक्षण देखिन्छन् । प्रायः सङ्क्रमितलाई यो समस्या महिना दिनसम्ममा निको भइसक्ने गरेको पाइन्छ ।
मङ्कीपक्स: बिफरकै प्रजाति
‘यूके हेल्थ सेक्युरिटी’ नामक एजेन्सीले ७ मे, २०२१ मा बेलायतमा मङ्कीपक्स भाइरस सङ्क्रिमत फेला परेको बताएको थियो । ती सङ्क्रमित अफ्रिकी मुलुक नाइजेरिया घुमेर बेलायत फर्केका थिए । त्यसयता एकपछि अर्को गर्दै धेरै मुलुकमा हजारौं नागरिकमा यो भाइरसको सङ्क्रमण पुष्टि भएको पाइएको छ ।
पहिलो पटक सन् १९५८ मा बाँदरमा मङ्कीपक्स पत्ता लागेको थियो । अनुसन्धानका लागि राखिएका बाँदरमा यो पत्ता लगेको थियो । सन् १९७० मा कङ्गोमा समेत यो भाइरस देखिएको थियो । यसलाई ‘बिफर’ रोगकै परिवारको सदस्यका रूपमा लिइन्छ । यद्यपि सन् १९८० मा बिफर उन्मूलनको घोषणा भइसकेको थियो । सोही परिवारको रोग भए तापनि बिफरको तुलनामा मङ्कीपक्स सङ्क्रमण निकै कम मात्र घातक मानिएको छ ।
मङ्कीपक्सलाई जनावरको माध्यमबाट सर्ने रोग मानिन्छ । यसलाई ‘जोनोटिक रोग’ पनि भनिन्छ । मङ्कीपक्स फैलाउने स्रोत–माध्यमका रूपमा साना स्तनधारी जनावर र अफ्रिकी मुसालाई मानिए तापनि मङ्कीपक्सका प्राकृतिक वासस्थान कुन–कुन पशु–पक्षी हुन् भन्ने कुरा यकिनका साथ भन्न भने मुस्किल नै छ ।
परीक्षण, उपचार र सावधानी
मङ्कीपक्स सङ्क्रमण भएको हो वा होइन भनेर थाहा पाउन स्वास्थ्य जाँच नै गर्नु गर्दछ । सङ्क्रमितका बिमिरा तथा घाउका नमूना सङ्कलन गरी पीसीआर परीक्षण गरी मङ्कीपक्स भए–नभएको यकिन गरिन्छ ।
मङ्कीपक्सकै खास र विशेष औषधि छैनन् । त्यसैले लक्षणअनुसारको उपचार विधि (सिम्प्टोम्याटिक ट्रिटमेन्ट) गरेर नै यसलाई निको पार्ने प्रयास गरिन्छ । सङ्क्रण भएको दुई सातासम्ममा खोप लगाउन सकिएमा मङ्कीपक्स सङ्क्रमणबाट हुन सक्ने स्वास्थ्य जटिलताबाट बच्न सकिन्छ ।
मङ्कीपक्स भाइरसको सङ्क्रमणबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ र बस्ने–सुत्ने कोठामा राम्ररी हावा खेल्न दिनुपर्छ । यसको सङ्क्रमण भइहालेमा सङ्क्रमित तथा सम्पर्कमा भएकाहरूलाई तीन साता क्वारेन्टाइनमा राख्नुपर्छ ।
मङ्कीपक्स सङ्क्रमितको उपचारमा बिफरविरुद्ध प्रयोग गरिएका एन्टिभाइरल औषधिहरू नै प्रभावकारी देखिएका छन् । यी औषधि सहजरूपमा पाउन भने कठिन हुने गरेको छ ।
विभिन्न मुलुकहरूबीच मानिसको नियमित ओहोरदोहोर भइरहने भएकाले यो भाइरस कुनै पनि बेला जो–कसैमा सर्न सक्ने जोखिम कायमै छ । यद्यपि कोरोनाभाइरस सङ्क्रमणको तुलनामा मङ्कीपक्स भाइरसको सङ्क्रमण उति तीव्र गतिमा फैलने गरेको देखिएको छैन । त्यसैले कोरोना सङ्क्रमण हुँदाजस्तो आत्तिइहाल्नुपर्ने अवस्था भने देखिँदैन । तैपनि पर्याप्त सचेतता एवम् सजगता भने अपनाउनैपर्छ ।
डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्