साठीवर्षे ‘नायक’ प्रकाशका जीवन–घुम्तीहरू

केदारनाथ गौतम/शङ्कर क्षेत्री

एक समयका चर्चित सिनेनायक हुन् प्रकाश अधिकारी । छ दशक उमेर घर्काइसकेका प्रकाशलाई झट्ट हेर्दा उनले ६० वसन्त पार गरिके भनेर पत्याउनै मुस्किल पर्छ । अग्लो कदका प्रकाशको शरीर हट्टाकट्टा छ, अनुहार पनि भर्भराउँदो देखिन्छ ।

शरीर फिट–फाइन राख्न उनी नियमित व्यायाम गर्छन् । दैनिक एक घन्टा व्यायाम गर्ने प्रकाश स्वस्थ जीवनशैली अपनाउन निकै ध्यान पुर्‍याउँछन् । अर्थशास्त्रमा स्नातकोत्तर प्रकाश राजधानीकै बत्तीसपुतलीमा जन्मिएका हुन् ।

उज्वलको प्रस्ताव, उनको अठोट

काठमाडौंमै जन्मे–हुर्केको ठिटो भएकाले उनलाई विद्यालय र कलेज तहको पढाइ पूरा गर्न खासै कुनै व्यवधान भएन । पढाइ सकिएपछि चाहिँ अब के गर्ने होला भन्ने चिन्ताले प्रकाशलाई केही समय सतायो । चलचित्र निर्देशक उज्वल घिमिरे उनका साथी हुन् । उनै उज्वलसँग उनी विभिन्न विषय र योजनाबारे गफगाफ गरिरहन्थे ।

छ दशक नाघिसक्दा समेत आकर्षक प्रकाशको शारीरिक बनावट जवानीको त्यस बेला झन् कम्ति आकर्षक थिएन । हेर्दै ‘नायक’ बन्न लायक थियो उनको शारीरिक बनावट । साथी प्रकाशले कुरैकुरामा भने– ‘तिम्रो ज्यान पनि एकदमै ठीक छ, फिल्म क्षेत्रमै आऊ न त ।’

उज्वलको आग्रहलाई प्रकाशले एक–दुई पटक त ठट्टाकै रूपमा मात्र लिए । तर, उज्वलले प्रकाशलाई छाड्दै छाडेनन्, चलचित्र खेल्न निरन्तर आग्रह गरिरहे । उज्वलले पटक–पटक सुझाव दिइरहेपछि प्रकाश स्वयम्ले पनि आफूमा ‘नायक’ नै बन्ने गुणहरू देख्न थाले । ‘लक्काजवान केटो थिएँ, हिरो हुने रहर त मलाई पनि थियो नि’– होलिस्टिकलाई प्रकाशले सुनाए ।

उनको मनमा सकारात्मक प्रश्नले डेरा जमायो– ‘उज्वलले बारम्बार भनिरहेकै छन्, अभिनय गरेरै किन ट्राई नगर्ने त ?’ र, अन्ततः प्रकाशले मनमनै निष्कर्ष निकाले– ‘अब म चलचित्रको नायक नै बन्छु, कम्मर कसेर त्यसैका निम्ति लाग्नैपर्‍यो ।’

हिरो बन्ने निश्चय गरिसकेपछि ‘नेसनल डान्स सेन्टर’ मा भर्ना भई नृत्य सिक्न थाले । दिवङ्गत श्रीकृष्ण श्रेष्ठलगायतका व्यक्तित्वहरू त्यसबेला प्रकाशका सहपाठी थिए । नृत्य सिक्दासिक्दै प्रकाशलाई चलचित्र खेल्ने अफर पनि आइहाल्यो । तुलसी घिमिरेको ‘अन्याय’ मा प्रहरी इन्पेक्टर बन्ने अवसर पाए प्रकाशले । र, त्यो मौका चुकाएनन् उनले ।

‘बेहुली’ को ‘नायक’ बन्दाको कथा

प्रहरी इन्स्पेक्टरको भूमिकापछि त प्रकाशका अगाडि निरन्तर अवसर आइरहे । एकपछि अर्को गर्दै चलचित्रमा अफर निरन्तर आए । ठीक त्यसैबेला निर्देशक शम्भु प्रधान ‘बेहुली’ का लागि नयाँ नायक खोजिरहेका थिए । र, अन्ततः ‘बेहुली’ को नायक बनेर भित्रिए उनै प्रकाश अधिकारी ।

पहिल्यै सुटिङ भइसकेको भए तापनि ‘अन्याय’ को प्रदर्शन भइसकेको थिएन । त्यस अर्थमा प्रकाश चलचित्र क्षेत्रकै नयाँ पात्र र नायक थिए । दोस्रो प्रोजेक्टमै नायक बनेर ‘बेहुली’ मा अभिनय गरे प्रकाशले । अहिलेसम्म पनि धेरैले आफूलाई ‘बेहुली’ को ‘माया के होला…’ गीतबाटै चिन्ने र जिस्क्याउने गरेको प्रकाश बताउँछन् । ‘अहिले पनि मान्छेहरूले मलाई यस्सो हेर्नुहुन्छ अनि ‘माया के होला…’ भन्दै जिस्क्याउनुहुन्छ’– उनले सुनाए ।

‘म धेरै अभ्यस्त त थिइनँ, तर ‘माया के होला…’ गीत असाध्यै हिट भयो; धेरैले मनपराइदिनु भयो अनि फिल्म पनि राम्रै चल्यो र त्यही फिल्मले मलाई चिनायो’– विगत सम्झँदै प्रकाशले भने । उनको बुझाइमा त्यसबेला नेपाली चलचित्रप्रति दर्शकको आत्मीयता र माया अहिलेको तुलनामा धेरै नै थियो ।

अहिले भने प्रकाश फिल्म र कलाकारिताभन्दा अन्य व्यवसायमै बढ्ता केन्द्रित छन् । आजभोलि उनी पोल्ट्री फर्म र हाइड्रोपावरजस्ता व्यवसायमा सङ्लग्न छन् । ऊ बेला चलचित्र खेल्दा नागरिकबाट पाएको माया अहिले व्यवसायमा पनि पाएको महसुस गरिरहेछन् उनी । ‘हाइड्रो पावरका साइटहरूमा जाँदा समेत धेरैले मलाई चिन्नुहुन्छ र आत्मीयता बाँड्नुहुन्छ’– उनले सुनाए ।

कलाकारिता छाडेर जापानतिर

‘बेहुली’ प्रदर्शनपछिको त्यो माहोलमा प्रकाश नेपालका चर्चित नायकमध्येमै पर्थे । त्यसबेला अहिले जरी वालछ्याल चलचित्र बन्दैनथे । बेला–बखत मात्रै चलचित्र बन्ने र बनेकामध्ये पनि केही–केही मात्रै आफ्नो हातमा आइपुग्ने भएकाले चलचित्र खेलेकै भरमा सम्पूर्ण आर्थिक आवश्यकताहरूको परिपूर्ति सम्भव देखेनन् उनले ।

त्यो अवस्थामा उनी फेरि फसे अर्को अकर्मण्यतामा । कुनै व्यावसायिक कम्पनीहरूमा जागिर खाऊँ भने नायक भइसकेको मान्छेका निम्ति साह्रै असहज । पारिवारिक वातावरण पनि व्यावसायिक खालको थिएन किनकि उनका बुबा थिए प्रहरीका जागिरे । उद्योग–व्यवसाय गर्ने खास आइडिया केही थिएन ।

त्यही बेला प्रकाशका एक साथी जापानमा थिए । तिनै साथीसँग सल्लाह लिए उनले । ‘हिरो भइहाल्यौ, नेपालमा जागिर खान अप्ठ्यारो लाग्ला अब आऊ यतै’– ती साथीले प्रकाशलाई भनेछन् ।’ त्यसपछि प्रकाश उडे जापानतिर, नेपाली कलाकारिता छाडेर । जापानमै काम गर्न थाले । त्यहाँ उनी ४० महिना बसे र २०५१ पछि नेपाल फर्किए ।

नेपाल फर्केर पोल्ट्री र हाइड्रो

जापानबाट फर्केलगत्तै उनको विवाह भयो । त्यसपछि उनले पोल्ट्री व्यवसाय सुरु गरे । निकै ठूलो पोल्ट्री फर्म चलाएका भए पनि राज्य–माओवादीबीच चर्केको सशस्त्र द्वन्द्ववका कारण अपेक्षित लाभ हुन सकेन । निरन्तरको बन्द–हडताल र राजनीतिक उथलपुथलका कारण घाटा व्यहोर्नुपरेको उनले सुनाए ।

त्यो व्यवसायमै जम्न प्रकाशले अनेक उपाय अपनाए । दाना उद्योग पनि खोले, कुखुराको उपचार गर्ने भेटेरीनरी पसल समेत खोले । तैपनि आशातीत लक्षण नदेखिएपछि केही वर्षको अन्तरालमा उनी हाइड्रो पावर व्यवसायतर्फ लागे । उनी हाइड्रो व्यवसायतर्फ लागेको करिव बाह्र वर्ष भइसक्यो । उनको पोल्ट्री फर्म पनि चलिरहेकै छ । पोल्ट्री व्यवसायचाहिँ उनका साथीले हेर्छन् ।

नायक भएर चलचित्र खेलिसकेका प्रकाशलाई कलाकारितामा भन्दा अहिलेका व्यवसायमा कामको तनाव बढी महसुस हुन्छ । ‘कलाकारिताको छुट्टै रस छ, व्यवसायको छुट्टै’– प्रकाशले सुनाए ।

गीतलेखनमा पनि उत्तिकै पोख्त

प्रकाश अधिकारी नायक मात्र होइन, सर्जक समेत हुन् । उनी निकै राम्रा गीत समेत लेख्छन् । उदितनारायण झाको स्वरलहरीमा सजिएको आफ्नो पहिलो गीतिरचनाका पनि पङ्क्ति उनले सुनाए–

‘आँसु लुकाई हाँसिरहेछु, जीवन पाएछु कस्तो
चोट लुकाई बाँचिरहेछुु, साथी रोजेछु कस्तो…’

यस गीतले राम्रै चर्चा कमाएको खुसी व्यक्त गर्दै प्रकाशले आफ्नो अर्को रचनाका यी पङ्क्ति पनि सुनाए–

‘आफैंलाई भार भो आज आफ्नै जीन्दगी
कहाँ गई बिसाऊँ म निरस यो जिन्दगी…’

शक्तिबल्लभले सङ्गीतसिर्जना गरेको यस गीतका गायकचाहिँ रविन शर्मा हुन् । यस गीतले पनि राम्रै चर्चा बुटुलेको सुनाउँदै यस्ता दर्जनौ गीत आफूले सिर्जना गरिसकेको प्रकाशले सुनाए ।

सुटिङमा बहिनी अन्माउँदाको वास्तविक रुवाइ

‘फेरि भेटौंला’ चलचित्र सुटिङका बेलाको एउटा रोचक प्रसङ्ग प्रकाशले होलिस्टिकलाई सुनाए । त्यस चलचित्रमा दाइको भूमिकामा थिए उनी ।

त्यस चलचित्रमा प्रकाशकी बहिनीको भूमिकामा रहेकी युवतीको विवाह हुँदै गरेको एउटा दृश्य थियो । सुटिङकै क्रममा ती बहिनीलाई अन्माउनुपर्थ्यो । बहिनी अन्माउँदा दाजुले रुनुपर्ने दृश्य थियो ।

सुटिङकै सिलसिलामा घरबाट जब बहिनीलाई अन्माइयो, प्रकाशलगायतका कलाकारहरू मात्र होइन, सुटिङ हेर्न भेला भएका गाउँभरिका मान्छे समेत साँच्चिकै पो रुन थालेछन् । ‘साँच्चैको विवाहजस्तो पो भयो,’ त्यो अनुभूति शेयर गर्दै प्रकाश भन्छन्– ‘सानो गाउँ थियो, कलाकारदेखि लिएर गाउँका सबैजसो हेर्नेहरू रोए, म पनि साँच्चै पो रुन पुगेछु । निर्देशकले ‘कट्’ भन्दा पनि मचाहिँ रुनै रोकिएनछु । सुरुमा जोडबलले फिलिङ्स ल्याएर रोएँ, पछि त आफैं रुन आएछ, रोक्दै रोकिएन र रुवाइ लम्बियो ।’

सुटिङको त्यो रुवाइ सम्झँदै उनी अहिलेसम्म पनि साथीभाइबीच बेलाबखत हँस्यौली गरिरहन्छन् । चलचित्र क्षेत्रका यस्ता अविष्मरणीय अनुभव निकै नै भएको उनले सुनाए ।

फाइट सिनमा पटक–पटक सुनिललाई लाग्दा

सुटिङकै सिलसिलाको अर्को एउटा प्रसङ्ग पनि आफूले कहिल्यै नभुल्ने प्रकाश बताउँछन् । एउटा चलचित्रमा द्वन्द्व (फाइट) को दृश्य कैद गर्नु थियो । त्यस चलचित्रमा सुनिल थापा खलनायक र प्रकाश नायकको भूमिकामा थिए ।

सुनिल–प्रकाशबीच फाइटको दृश्य छायाङ्कन हुँदै थियो । निर्देशकको आदेशअनुरूप ‘फाइट’ सुरु भयो । जति पटक हान्यो, त्यति नै पटक प्रकाशको लात्तीले सुनिलको शरीर छुन्थ्यो । एक पटक, दुई पटक होइन; जटि पटक हाने पनि सुनिललाई लागी नै रह्यो । कसरी त्यस्तो हुन पुग्यो, अहिलेसम्म पनि उनलाई अचम्म ललिरहेको छ । ‘जति हान्छु– उसको शरीरमै टच भइहाल्ने, ऊ र म मिल्ने साथी भएर मात्र, अरु ‘भिलेन’ थिए भने त मैलाई पिट्थे होलान्’– पुरानो स्मृति पस्कँदै प्रकाशले भने ।

नमेटिने कलाको भोक

प्रकाशले ‘अन्याय’, ‘बेहुली’, ‘फेरि भेटौंला’ लगायत ४० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले ‘भोजनभट्ट’ लगायतका नाटकमा पनि अभिनय गरे । ‘थोरै भए पुगिसरी’ लगायतका टेलिसिरियलमा समेत उनले अभिनय गरे ।

कलामा जस्तै व्यवसायमा पनि सिर्जनशीलता चाहिने महसुस उनले गरेका छन् । कलाकारिताको नसामा डुबिसकेपछि त्यसबाट बाहिरिन मुस्किल पर्ने उनको अनुभूति छ । त्यही भोक मेटाउन अहिले पनि बेलाबखत विभिन्न टेलिसिरियल र म्युजिक भिडियोहरूमा उनले अभिनय गरिरहेकै छन् । उनी विभिन्न उत्पादन र सेवाका विज्ञापनमा पनि खेल्छन् । भिन्न व्यवसायका कारण उनी पूर्णकालीन कलाकारितामा भने छैनन् ।

प्रकाश गीत–सङ्गीतको धुनमा रमाउँछन् । उनी भन्छन्– ‘कसैले बरु गाँजा–चरेसको अम्मल छाड्न सक्ला तर, एउटा कलाकारले कलाकारिता छाड्न सक्दैन ।’

कलाकारिता–कर्तव्य: कपाल मिलाएर मात्रै झ्यालबाहिर नजर

नायक नै भनेपछि आम मानिसले हेर्ने दृष्टिकोण पनि त्यहीअनुसार हुन्छ । चटक्क लुगा–कपडा लगाएर हिँड्थे प्रकाश । उनी अहिले पनि घरको झ्यालबाट समेत चट्ट कपाल मिलाएर मात्रै हेर्छन् । चटक्क कपडा लगाएर र चट्ट कपाल मिलाएर मात्रै घरबाहिर निस्कन्छन् ।

‘अहिले पनि घरको झ्यालबाट बाहिर हेर्दा समेत कपाल–सपाल मिलाएर मात्रै हेर्छु,’ उनी भन्छन्– ‘पुरानो बानी अहिलेसम्म कायमै छ; फिट त हुनुप¥यो नि, होइन ?’

‘कलाकारिता आफैंमा एउटा संस्था हो र म कलाकार भइसकेपछि म पनि त्यो संस्थाको एउटा जिम्मेवार सदस्य हुँ,’ कर्तब्यबोधसहितको उनको भनाइ छ– ‘त्यो संस्थाप्रति मैले आदर गर्नुपर्ने हुन्छ । मैले जे पायो त्यही गरें भने त मलाई गरिएको गाली मेरो संस्थासँग जोडिन्छ । संस्थाको ओज र गरिमा कायम राख्नका लागि पनि मैले जे पायो त्यही गर्नु हुँदैन नि !’

जीवनशैली: खाना त घरकै मिठो

प्रकाश अधिकारी कलाकारिताको गरिमा र आफ्नो व्यवसाय, परिवार र समाजप्रति जति समवेदनशील र जिम्मेवार छन्, आफ्नो स्वास्थ्यप्रति पनि त्यत्तिकै सचेत छन् । उनी बिहान साढे पाँच बजेतिर उठिसक्छन् । करिव एक घन्टा मर्निङ वाक गर्छन् । त्यसपछि एक घन्टाजति योग गर्छन् । विशेषतः ढाड र घाँटीको तन्दुरुस्तीका लागि योग गरिएको उनको भनाइ छ ।

योग सिध्याएपछि केहीबेर सामाजिक सञ्चाल चलाउँछन् र पत्रपत्रिका पढ्छन् ।साढे नौ बजेसम्ममा खाजा खाइसकेका हुन्छन् । त्यसपछि बिहानको खाना खाएर उनी कार्यालय पुग्छन् । कार्यालयमा एकनासे रुटिन हुँदैन; कहिले कहाँ पुग्नुपर्छ त कहिले कहाँ । दिनभर व्यस्त नै हुन्छन् उनी ।

राजधानी उपत्यकामै हुँदा उनी सामान्यतः सात बजेभित्र घर फर्किसक्छन् । अलि चाँडै घर फर्केको दिन भने बेलुका पनि योग गर्छन् । पहिले–पहिले त प्रायः उनी घरबाहिर खानपान गर्थे । अहिले भने सकभर घरबाहिर खाना खाँदैनन् । ‘बाहिरको भन्दा घरकै खाना मिठो लाग्छ’– प्रकाशले सुनाए ।

खसीको मासु र माछा उनको प्राथमिकतामा पर्छन् । बेलुकीका खाना उनी कम खान्छन् । भोज–भतेरमा खानुपर्दा पनि धेरै नखाने कुरामा सचेत रहन्छन् । पानी प्रशस्त पिउँछन्, चिनी कम खान्छन् । बेलुकी दस बजेभित्र सुतिसक्छन् ।

बाल्यकालमै बाहेक उनी बिरामी भएर अस्पताल बस्नु परेको छैन । थाइराइड बाहेक स्वास्थ्य समस्या पनि छैनन् । जिन्दगीको प्रमुख सम्पत्ति भनेकै स्वास्थ्य भएकाले जतिसुकै व्यस्त भए पनि स्वास्थ्यका लागि कम्तिमा दैनिक एक घन्टा भने सबैले छुट्याउनै पर्ने प्रकाशको सुझाव छ ।

प्रकाशका दुई छोरीमध्ये जेठी स्नातकोत्तर अध्ययनरत छिन् । कान्छी छोरी कम्युटर विज्ञानमा स्नातक अध्ययनरत छिन् । उनकी श्रीमती समेत स्नातकोत्तर नै हुन् ।