अन्नपूर्ण–चक्रमा फन्को मार्दा

डा. डीबी सुनुवार

यात्राका क्रममा आजको छनोटमा परेको छ अन्नपूर्ण । आहा अन्नपूर्ण ! बाह्रदिने अन्नपूर्ण राउण्ड ट्रिप तय भएको छ । र, यात्राका निम्ति एक दिनअघि नै निस्कने कार्यक्रम तय भएको छ ।

सबै तयारी भइसकेको छैन । तैपनि बाह्र दिनका लागि आवश्यक सम्पूर्ण सामानहरू हतार–हतार मिलाएर निस्कनुको विकल्प छैन ।

अगाडि बढेको छ यात्रा । लामो यो यात्राका क्रममा घरी–घरी गानोदर्माको बाक्लो कफी पिउँछु र आरजी जीएल स्पिरुलिनाको फाँको मार्छु ।

राजधानीबाट बाहिरिने नाका थानकोटको पट्यारलाग्दो ट्राफिक जाम । दस त अघि नै बजिसकेको छ । अलि–अलि अघि सर्दै र फेरि रोकिँदै गरेर हिँडेको गाडीमा एघार बजेसम्म त थानकोटको ओरालोमै बित्छ ।

टोयोटा ल्याण्डक्रुजरमा हुँइकँदैछौं हामी । पेट मडारिन थालिसकेको छ भोकले । मलेखुमा खाना खाने निधो भइसकेको छ । होटलमा पस्छौं र माछा–भात खान्छौं ।

यात्रा फेरि अघि बढ्छ । करिव ४० किलोमिटरको यात्रा पार गरिसकेपछि तुरतुरे, चिसापानी, भोटेओडार हुँदै नागबेली परेको एकतर्फी सडकमा हुइँकन्छौं । कतै खाल्डाखाल्डी कतै ठाडो उकालो । कतै भने सडकको दुवैतर्फ लहलह झुल्न थालेको हरियो धानखेत । फाँट पार गर्दै पुगिन्छ बेंसीसहर ।

अब भने काठमाडौंबाट ल्याइएको जिप छाडेर अर्कै बसमा चढ्नु छ । समूहमा ट्रेकिङका लागि एक किलोमिटरको बाटाका लागि १५ किलोग्रामको रुकस्याक बोकी चम्केर हिँडेको यो नै पहिलो अनुभव हो ।

आजको रात बेंसीसहरमै बस्ने यात्राको समयतालिका छ । भोलिको बाटो छोटो पार्नका लागि भुलभुले पुग्ने योजना छ । काठमाडौंबाट आएका गाडीहरू माथि जान नपाउने नियम रहेछ यहाँ ।

कच्ची बाटो, मस्र्याङ्दी को तीरैतीर गुड्ने लोकल बस दुई पटक फेरेर करिव भुलभुले पुगिन्छ साँझको छ बजे । र, त्यहीं नै आजको बास बसिन्छ ।

भोलिपल्ट सखारै बाटो लागिएको छ । यात्राको दोस्रो दिन आज । अलिक कठिन यात्राको सामना गर्नुपर्ने पूर्वानुमान गरिरहेको छु ।

खाजाको जोहो भैसकेको छ । दुई पाखाको हरियो छातीलाई चिरेर छङ–छङ गर्दै र सुसाउँदै बगिरहेकी छन् मर्स्याङ्दी। लाग्छ, प्रकृतिको साङ्गीतिक अनुष्ठान हो यो ।

मर्स्याङ्दीको लामो फलामे झोलुङ्गे पुलमा हल्लँदै–हल्लँदै भुलभुलेलाई बिदाईको हात हल्लाउँछु । साथीहरूले हिमालबारे ब्रिफिङ गर्दै हुनुहुन्छ ।

ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका हर्क गरूङको सम्मानमा हिमालको नाम नै ‘हर्क गुरूङ हिमाल’ राखिएको प्रसङ्ग चलिरहेको छ यात्रामा । पाइला भने मर्स्याङ्दीको किनारै–किनार सुन्दर आकाशे पानीछहरा हुँदै ङादी नामक गुरुङ गाउँतिर बढ्दै छन् । खोलाको सङ्गीतमय सुसाहटले मन रमाइरहेको छ ।

ङादी गाउँको दुवैतर्फ पाहुनाहरूको प्रतिक्षामा सजिसजाउ छन् पाहुनाघरहरू । ङादी पुगेर चिसो पिउने उद्देश्यका साथ एउटा होटलको बिसाउनीमा बिसाउँछौँ रुकस्याक । यहाँ प्रदर्शनीमा राखिएका गुरुङ संस्कृति झल्काउने हस्तकलाका सामानहरूले तान्छ हाम्रो मन ।

आन्तरिक पर्यटनको विकासमा टेवा पुगोस् भनेर बाँसका एक–एक वटा टेक्ने लौरा किन्यौं हामीले पनि । आज दिउँसोको खाना बाहुनडाँडामा खाने कार्यक्रम छ ।

टोपी खस्ने उकालो छ । हामीबाट करिव सात किलोमिटर पर छ बाहुनडाँडा । स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्दै बढ्दै छौं अगाडि–अगाडि । ट्रेकिङको भाषा आफ्नै पाराको छ । यो भाषामा विदेशी पर्यटकजति सबैलाई ‘गोरा’ भन्ने चलन रहेछ ।

हामी होटलमा बस्छौं र होटलमै खाना खान्छौं । त्यसैले खान–बस्नका लागि त होटल भएको ठाउँमै पुग्नुपर्छ । १५ किलोको रुकस्याक ३० किलोको झैं लाग्न थालिसकेको छ मलाई । झोलाको वजनले गाह्रो भैरहेछ अगाडि बढ्न ।

निथ्रुक्क भिजेर मेरो पछाडिको भाग (ढाड) ले ‘मलाई आराम देऊ’ भनिरहको महसुस हुन्छ । थाइल्याण्डका राजा भूमिबोलले खेतमा काम गरेर पसिना बगाएको भिडियोको सम्झना आएको छ यतिखेर मलाई । मनमा अठोट आइरहेको छ– मैले मेहनत त गर्नैपर्छ ।

देशका ढुङ्गा–माटो र हावा–पानी बुझ्नुपर्छ भन्ने भावना छचल्कँदै छ मनमा । उकालो पूरा गर्दा करिव बाह्र बजेको छ । बाहुनीडाँडा आइपुगिएको छ । निकै स्वादिष्ट र स्वथ्यकर छ बाहुनीडाँडाको साकाहारी खाना ।

यहाँको खानपानपछि घेर्मुको फाँट हुँदै रेन्बो होटलमा पुगेर रोकिन्छ हाम्रो आजको यात्रा । आजको रातका निम्ति यहीं तय भएको छ हाम्रो बास ।

तीन तहमा बाँडिएर झरेको दूधझैं सेतोे झरना देखेर दङ्ग छ मन । शिला–पहरामा झरनाको छाल ठोकिँदा निस्कने पानीका छिटा र ती छिटामा देखिने इन्द्रेणीलाई हेरेर नै होला सायद, त्यस होटलको नाम ‘रेन्बो होटल’ राखिएको ।

त्यो स्याँगे झरना पारि छ अनि हामी वारि छौं । फूलको बगैंचालाई पृष्ठभूमि पार्दै स्याँगे झरनालाई क्यामरामा कैद गर्छु । यति लामो यात्रामा हिँडाइ, मेरो जीवनकै पहिलो अनुभव हो । त्यसैले शरीरका सबै अङ्ग शिथिलप्रायः भएका छन् । आरामको आवश्यकता महसुस भैरहेको छ ।

शरीरमा बिस्तारै ठण्डी प्रवेश गरिरहेको छ । शिथिल शरीरमा प्रेमको रोमाञ्चक स्पर्श गरिरहेका छन् मस्र्याङ्दी नदी र स्याँगे झरनाले । शारीरिक थकाइसँगसँगै मन भने आनन्दमय कल्पनामा डुबिरहेको छ ।

स्याँगेलाई छोएर आएको हावाको झोक्काले गालामा म्वाइँ खाएको अनुभूत गरें; स्फूर्ति र जोस भरिए झैं लागेको छ । मेरो कठिनाइमा साथ दिएको छ स्याँगेले । स्याँगे र मर्स्याङ्दीमार्फत प्रकृतिसँगको पहिलो प्रेम त्यही हो मेरो ।

होटलका नानीहरूको रूपी चराको जस्तै आवाजले थकानबीचको मिठो निद्रा एकाएक खल्बलिन्छ । त्यसपछि उठें म ।

आज यात्राको तेस्रो दिन । सबै साथीहरू अघि नै उठिसकेछन् ।

‘हजुरलाई चिया ल्याइदिऊँ ?’

होटलका वेटर रुममै आए । सायद समयमै म डाइनिङ हलमा नपुगेकाले होला उनले यसरी सोधेको ।

अप्ठ्यारो मान्दै भनें– ‘प्लिज भाइ ।’

आजको बाटो अझै भिन्न छ । करिव दुई हजार मिटरको उचाइसम्म हिँड्नुपर्ने छ । आजको बाटो धान्न सकियो भने त भोलिदेखि आरामले हिँडिँन्छ ।

मैले अलिक ढिलो गरें ।

खाजा खाएर आठ बजेतिर बाटो लागियो त्यहाँबाट । मर्स्याङ्दीको फलामे पुल तरेर मस्र्याङ््दीकै किनारै–किनार, भोटेओडार र श्रीचउर हुँदै जगत्मा पुगिन्छ बिसाउन । यात्रा–तालिकाअनुसार आज तालमा गएर बस्नुपर्ने छ ।

फेरि ओरालो लाग्छौं मर्स्याङ्दीतिरै । यसरी पटक–पटक मर्स्याङ्दीलाई नै छेक्करा लगाइरहनु पर्छ । म पनि उसरी नै पटक–पटक आनन्दित भइरहें । मर्स्याङ्दीसँगै जम्काभेट भइरहेको छ पटक–पटक ।

क्यामरामा धेरैै पटक कैद गरें यी सौन्दर्यलाई । यो यात्रा, प्रकृतिसँग माया गरेको प्रेममय यात्रा होओस् भन्ने चाहन्छु म । उकालोको यात्रा कठिन नै भए पनि नयाँ–नयाँ र नौला दृश्यहरूले ऊर्जा भरिरहेको छ मनमा ।

मनाङ र लमजुङको साँध रहेछ तालगाउँ । नाकै ठोकिने उकालो अनि बाटामा भेटिने खच्चडको भीड, धुलो र धुवाँले अक्सर यात्रामा बाधा ल्याए । बाटो वारि–पारि देखिने पहरा र झरनाका मनमोहक दृश्यले भने ती अप्ठ्यारापन हटाइदिएको छ ।

उकालोको हिँडाइ । प्राणायामको अभ्यास गर्न बेला–बेला छाड्दिन्छु म । त्यसैले हिँडाइमा त पछि परेको छैन । साथीहरूले बीच–बीचमा जोक्स सुनाउँछन् । तालमा पुगेर आराम गर्ने आशाका साथ निरन्तर चढिरहेका छौं उकालो ।

मेरा लागि एकदमै नौलो भएर होला, पहिलो दिनको यात्राबाटै सारा शरीर दुखेर थिल्थिलो भएको छ । मेरो शरीरका लागि एउटा ‘वार्मअप’ जस्तो पनि भएको छ यो । दोस्रो दिन हाडजोर्नीले पनि राम्रै कसरत पाएको छ ।

पहाड चढ्न आउनुअघि एउटा कुराबाट उत्प्रेरणा लिएको छु मैले । प्रश्न उब्जिइरहेका छन् मनमा– दृष्टिविहीन मान्छेले, शारीरिक अपाङ्गता भएका मान्छेले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढेर गिनिज बुकमा नाम लेखाउँछन्; मजत्तिको मान्छेले यो पहाडको बाटो उक्लन नसकौंला र !

दृढ आत्मविश्वासका साथ अन्नपूर्ण राउण्ड घुम्न निस्केको छु । जसरी पनि पूरा गर्नुपर्छ यो सङ्कल्प ।

मेरो दाहिने हातको माझी औंला र बुढी औंलामा ठेला उठेर खाटा परेका छन् । निश्चल गाउँको आकृति, सेता हिमाल, तिनै हिमालबाट लछारिँदै झरेका दूध झैं कञ्चन झरनालाई क्यामरामा कैद गर्दैछौं ।

अन्नपूर्ण यात्राको यो चक्रका क्रममा मैले पनि धैरै नयाँ अनुभव गरें । धेरै नै आनन्द लिएँ ।