यसरी बनाउनोस् यी स्वादिला परिकार

होलिस्टिक संवाददाता

न्युट्रेला किमा

आवश्यक सामग्री
न्युट्रेला (पकाएको)– २०० ग्राम, प्याज (मसिनोगरी काटेको)– १५० ग्राम, गोलभेंडा (मसिनोगरी काटेको)– १५० ग्राम, केराउ– १०० ग्राम, भेडे खुर्सानी (काटेको)– १ (ठूलो) चम्चा, हरियो खुर्सानी (काटेको)– १ (सानो) चम्चा, जिरा– १ (सानो) चम्चा, अदुवा–लसुनको पेस्ट– १ (सानो) चम्चा, बेसार– १ (सानो) चम्चा, खुर्सानीको धुलो– १ (सानो) चम्चा, गरम मसला– १ (सानो) चम्चा, नुन– १ (सानो) चम्चा, कागतीको रस– १ (ठूलो) चम्चा, तेल– २ (ठूलो) चम्चा, धानियाको पत्ता (मसिनोगरी काटेको)– १ (ठूलो) चम्चा ।

बनाउने तरिका
एउटा नन्स्टिक प्यानमा तेल तताउने । त्यसपछि यसमा जिरा, हरियो खुर्सानी, अदुवा–लसुनको पेस्ट र प्याज राख्ने । प्याज खैरो नहोउञ्जेल पकाउने । हल्का खैरो रङ्गको भएपछि त्यसमा केराउ, भेडे खुर्सानी र गोलभेंडा राखेर ५–१० मिनेटसम्म मजाले पकाउने ।

अब यसमा माथि उल्लेखित सबै मसलाहरू र नुन राखेर चलाउँदै पकाउने । अन्त्यमा यसमा तयार पारी राखिएको न्युट्रेला राख्ने । त्यसपछि कागतीको रस पनि राख्ने र ५–७ मिनेटसम्म पकाउने । अब यसमा धनियाको पत्ता राखेर तात्तातै सर्भ गर्ने ।

कि वेस्ट चिकेन

आवश्यक सामग्री
सोय सस– ३ (ठूलो) चम्चा, मह– १ (ठूलो) चम्चा, तेल– १ (ठूलो) चम्चा, कागतीको रस– १ (सानो) चम्चा, काटेको लसुन– १ (सानो) चम्चा, चिकेन ब्रेस्ट–४ (ठूलठूला) टुक्रा (छाला र हड्डी निकालेको) ।

बनाउने तरिका
एउटा गहिरो कचौरामा सोय सस, मह, तेल, कागतीको रस र लसुन राखेर मजाले मिक्स गर्ने । त्यसपछि यसमा चिकेन ब्रेस्ट राखेर त्यसको सबैतिर पर्ने गरी मजाले ‘कोट’ गर्ने । यसलाई कभर गरेर फ्रिजमा कम्तिमा ३० मिनेट (म्यारिनेट गर्नका लागि) छाडिदिने ।

अब एउटा ग्रील मेसिनलाई तताउने । उक्त ग्रील ग्रेटमा हल्का तेल लगाउने । यसमा म्यारिनेट गरेको चिकेन राखी ६–८ मिनेटसम्म ओल्टाई–पल्टाई गरेर ग्रील गर्ने । ग्रील भैसकेपछि केहीबेर सेलाउन दिने । अब मन पर्ने सस वा अचारसँग चोब्दै यसलाई खान सकिन्छ ।

आलु निम्की

आवश्यक सामग्री
मैदा– २०० ग्राम, घ्यु/बटर– १ (ठूलो) चम्चा, नुन– आधा (सानो) चम्चा, तेल– करिव १ लिटर, पानी– १०० मिलिलिटर, उसिनेको आलु (मध्यम आकारका)– ३ वटा, प्याज– एक पोटीको चौथाई भाग, हरियो खुर्सानी (गोलो गरी काटेको)– ३ वटा, धनिया (मसिनोगरी काटेको)– ३ डण्ठी, गोलभेंडा (सानो, वर्गाकर आकारमा काटेको)– एउटा, भिजाएको चना– १० ग्राम, कागती– एक दानाको चौथाई भाग, चाट मसला– आधा (सानो) चम्चा, जिराको धुलो– आधा (सानो) चम्चा, खुर्सानीको धुलो– आधा (सानो) चम्चा, तयारी चाउचाउ– (वैकल्पिक÷एक प्याकेट), बेसन– ३०० ग्राम, तेल– १५ मिलिलिटर, लसुन– २ पोटी, मनतातो पानी– ३०० मिलिलिटर ।

बनाउने तरिका
मैदा, पानी र थोरै नुन राखेर एउटा ‘डो’ बनाउने । त्यसलाई केहीबेर छाडिदिने । त्यसपछि यसलाई बेलेर पातलो, गोलो रोटी बनाउने । अब उक्त रोटीलाई जिगज्याग आकारमा काट्ने र त्यसलाई गोल्डेन ब्राउन होउञ्जेलसम्म डिप फ्राई गर्ने ।

ससका लागि तेलमा बेसनको ब्यातर बनाउने । यसमा मसिनो गरी काटेको लसुन राख्ने, त्यसमा थोरै जिराको धुलो, खुर्सानीको धुलो र नुन पनि राख्ने । अब सबै सामग्रीहरू राम्ररी मिसिने गरी मिक्स गर्ने । त्यसपछि त्यसैमा उम्लेको पानि हाल्ने र बाक्लो पेस्ट बनाउने । यसलाई केहीबेर सेलाउन दिने ।

अब एउटा गहिरो कचौरामा उसिनेको आलु (म्यास गरेको), काटेको प्याज, खुर्सानी, गोलभेंडा, मसला, कागती आदि र माथि भनिएवमोजिम बनाइएको सस समेत राख्ने । यसमै निम्की, तयारी चाउचाउ, धनिया आदि राखेर मजाले मिक्स गर्ने । आलु निम्की तयार भयो, कागतीको स्लाइस राखेर साथीभाइसँग रमाइलो गर्दै खाने ।

सिट्रस करी

आवश्यक सामग्री
तोफु– ३०० ग्राम, च्याउ– २०० ग्राम, गोलभेंडा (बन्चरो आकारमा काटिएको)– २–३ वटा, कागती (बन्चरो आकारमा काटिएको) – एउटा, प्याज (मध्यम आकारको, वर्गाकारमा काटिएको)– एउटा, अदुवा–लसुनको पेस्ट– १ (ठूलो) चम्चा, बेसार– १ (सानो) चम्चा, ताजा हरियो खुर्सानी (बीचमा चिरेको)– २–३ वटा, टम युम पेस्ट– २ (ठूलो) चम्चा, नुन– स्वादअनुसार, कुकिङ क्रिम/कोकोनट क्रिम– ३०० मिलिलिटर, धनिया– १०० ग्राम, खाने तेल– १ (ठूलो) चम्चा ।

बनाउने तरिका
एउटा प्यानमा तेल तताउने । यसमा प्याज, लसुन, खुर्सानी र अदुवा राखेर बासना नआउञ्जेलसम्म फ्राई गर्ने । हल्का रातो भएपछि यसमा बेसार, टम युम सुप, र गोलभेंडा पनि राख्ने । त्यसपछि पेस्ट सबैतिर पर्ने गरी यसमा मजाले मोल्ने ।

अब कुकिङ/कोकोनट क्रिम राख्ने । त्यसपछि कागतीका टुक्राहरू, तोफु र च्याउ राख्ने । अब यसलाई करिव ५ मिनेट जति पकाउँदै उमाल्ने । त्यसपछि चाख्ने र नुन कम भए थप्ने । अब आगो बन्द गरेर धनियाको पत्ता राखी गार्निस गर्ने । यसलाई भातसँग तरकारीका रूपमा सर्भ गर्ने ।