‘पिस लिली’ को सुन्दरता

अनिता सुनुवार

‘पिस लिली’ आजकल निकै लोकप्रिय बन्दै गएको छ । नेपालीमा यो ‘शान्त लिली’ का नामले समेत चिनिने गरेको छ । होचो बोट, कलकलाउँदा हरिया पात र सेतो फुल्ने पिस लिली निकै सुन्दर बिरुवा हो ।

यो बीरुवा ‘इन्डोर प्लान्ट’ का रुपले समेत चिनिन्छ । यसलाई गमलामा रोपेर घरभित्र राम्ररी सजाउन सकिन्छ । घरभित्रको सजावटका लागि आजकल विशेषतः सहरी क्षेत्रमा यस फूलका बिरुवा लोकप्रिय बन्दै गएका छन् ।

यसलाई धेरै घाम लाग्ने ठाउँमा भने रोप्नु हुँदैन । प्रायः घाम नलाग्ने र ओसिलो ठाउँमा नै यो बिरुवा राम्ररी फस्टाउँछ । घरका कौसी र बरन्डाजस्ता सिधै घामले नभेट्ने स्थानहरूमा यस फूलका बिरुवा रोप्नु उचित हुन्छ ।

यसलाई गमलामा राखेर घरको भर्‍याङ तथा कोठा सजाउन सकिन्छ । यसरी राख्दा हावा भने राम्रोसँग खेल्ने ठाउँ हुनुपर्छ । कतिपयले घरभित्र राखिएको पिस लिलीको बिरुवालाई घाम पुगेन भनेर बेला–बेला घरबाहिर घाममा निकाल्ने गर्दछन् । तर, यसो गर्नु हुँदैन किनकि यो भित्री वातावरणको तापक्रममा नै समाहित भइसकेको हुन्छ । घरभित्र हुर्काउँदै गरिएका पिस लिलीका बिरुवालाई बेला–बेला घाममा निकालियो भने मर्ने सम्भावना हुन्छ । यद्यपि यसलाई न्यानो वातावरण भने आवश्यक पर्छ ।

सफा गर्दा यसका पात पुछ्ने काम पनि गर्नु हुँदैन । कुनै पनि बिरुवाका पातलाई कपडालगायतले पुछ्दा पातमा भएका रेसा काटिन्छन् जसले गर्दा ती पातहरू मर्दै जाने जोखिम हुन्छ । सफा पानी स्प्रे गरेर बिरुवाका पात बोटका अरु भागमा लागेको धुलो–मैलो पखाल्नुपर्छ ।

पिस लिली फूलेका बेला यसका फूलमा धेरै पानी पार्नु पनि हुँदैन । फूलमा धेरै पानी परेमा फूल चाँडै कुहिन्छ । पिस लिलीका बिरुवा सजिलैसँग बढ्छन् । विशेषतः यो गर्मी मौसममा फुल्छ । नफुलेका बेला समेत पात भने सदाबाररूपमै हरियो नै भइरहन्छ ।

यसको एउटा बोटबाट धेरै वटा बनाउन पनि सकिन्छ । यो फूलको बिरुवा गमलामा भन्दा पनि जमिनमा रोप्दा अझ राम्रोसँग फस्टाउँछ । यसलाई अलि ओसिलो र उज्यालो ठाउँमा रोप्नुपर्छ । यसले प्रत्यक्ष घाम सहन नसक्ने भएकाले दक्षिणतर्फको झ्यालमा राख्नु उचित हुन्छ । पूर्वतर्फको झ्यालमा बिहान सिधै घाम पर्ने सम्भावना बढी हुन्छ । त्यसैले पूर्वतर्फको झ्यालमा बिहान र साँझ राख्न सकिए तापनि एघारदेखि तीन बजेसम्मको चर्को घामका बेला भने अन्यत्र नै सार्नु उचित हुन्छ ।

पिस लिलीका बोट सामान्यतः १६ इन्चसम्म अग्ला हुन्छन् । प्रजातिअनुसार कुनै बोट योभन्दा होचा र कुनै–कुनैचाहिँ यसभन्दा अग्ला पनि हुन सक्दछन् ।

यो फूलका बिरुवालाई सानो गमलामा रोपेर घरलाई चटक्क पारी सजाउन सकिन्छ । यसलाई माटो, मधुमास (कोकोपिट) र पत्करमा रोप्न सकिन्छ । पानी भने धेरै हालिरहनु हुँदैन । यसलाई मल पनि धेरै दिइराख्नु हुँदैन । यसका लागि सकभर कम्पोस्ट मल नै उचित हुन्छ । यसका बिरुवामा करिव तीन महिनाको अन्तरालमा मल हाल्नु उचित हुन्छ ।

धेरै पानी हालेमा जरा कुहिएर बोट नै मर्ने जोखिम हुन्छ । यसको बोटमा कहिलेकहीं ढुसी पनि लाग्न सक्दछ । ढुसी लागेमा पानी स्प्रे गरेर पखाल्न पनि सकिन्छ ।