सञ्चार र सङ्गीतमा साधनारत सरोज
भोलानाथ अधिकारी
हरेक साँझ–बिहान टेलिभिजनको पर्दामा देखिइरहने स्रष्टा हुन् सरोज कोइराला । समाचारवाचनमा चर्चित बनेका कोइरालालाई गायक तथा सङ्गीतकारका रूपमा भने विरलैले मात्र चिन्दछन् । सञ्चारकर्मीको पहिचान बनाएका सरोज राम्रा सङ्गीतकार समेत हुन ।
गायक बन्नका लागि २०५८ मा झापाबाट काठमाडौं झरेका सरोज अन्ततः सञ्चारकर्मीको पहिचानमा देखापरे । यद्यपि पछिल्लो समय भने उनी गायन तथा सङ्गीतकर्ममा अलि बढी सक्रिय रहेका छन् ।
गीत–सङ्गीतप्रतिको अभिरुचि
सरोज बाल्यकालदेखि नै बाजा बजाउन रुचि राख्थे । गाउँघरमा हुने देउसी–भैलोमा भाग लिन्थे र स्कुलका कार्यक्रमहरूमा विभिन्न स्रष्टाका गीत गाएर साथीहरूलाई सुनाउँथे । तीन दशक अघि नै उनी गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा मादल बजाउँथे, गाउँथे र नाच्थे । त्यो समयमा अहिलेजस्तो ‘साउण्ड सिस्टम’ र ‘ट्र्याक’ प्ले गरेर लय हाल्ने सुविधा थिएन । जहाँ–जतिबेला गाउनुपर्यो, मादललगायतका बाजा ‘लाइभ’ नै बजाइहाल्नु पर्थ्यो ।
‘२०४७ सालतिरको कुरा हो, सुरुङ्गामा वृहत् देउसी–भैलो कार्यक्रम आयोजना भएको थियो,’ आफ्नो गायनयात्राका प्रारम्भिक दिन सम्झँदै उनले सुनाए– ‘अहिलेजस्तो साउण्ड सेटमा गीत बजाएर नाच्ने चलन थिएन; प्रत्यक्ष गायन, बादन र नृत्य हुन्थ्यो । देउसी समूहमा ९–१० वर्षका एक बालकले कुशलतापूर्वक मादल बजाउँथे । उनका कलिला हातले शानदार ढङ्गमा मादल बजाएको त्यो कला उक्त देउसी समूहकै आकर्षक पक्ष बनेको थियो ।’ सरोज बाल्यकालमा लजालु स्वभावका थिए । देउसी–भैलोमा गाइएका गीत घरमा पुगेर पनि उनी गुनगुनाउँथे । यस्तै साङ्गीतिक प्रयासहरूले नै उनलाई क्रमशः गायक तथा सङ्गीतकार बन्ने लक्ष्यतिर डोर्याए ।
सङ्गीत शिक्षा र साधना
एसएलसी उत्तीर्ण गरेलगत्तै सरोजले सुरुङ्गामै ध्रुव पाठक नामका सङ्गीतकर्मीसँग आधारभूत साङ्गीतिक प्रशिक्षण लिए । कन्काई क्याम्पसमा आईए अध्ययनका क्रममा सङ्गीत सिक्ने थप अवसर उनले पाए । त्यसै बेलादेखि उनले स्टेजमा गाउन पनि थाले । त्यसै सिलसिलामा पाएको साथीभाइको हौसलले व्यावसायिक गायक बन्ने सपना उनको मनमा अङ्कुरित हुन थाल्यो ।
सबैबाट पाएको प्रसङ्शाले आत्मविश्वास पलाइसकेको थियो । २०५८ मा आईए पूरा गरेपछि गायक–सङ्गीतकार बन्ने लक्ष्य बोकेर उनी काठमाडौं हान्निए । काठमाडौं आएपछि पनि सङ्गीत सिक्ने क्रमलाई निरन्तरता नै दिइरहे । ‘साधना कला केन्द्र’ मा जोडिए र लगातार तीन वर्ष वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङसँग प्रशिक्षण लिए । साधनामा ज्वाइन भएको छ महिनापछि नै गुरुङले उनलाई गीत रेकर्ड गर्न सुझाव दिए ।
साधनामै तीन–चार वर्षदेखि लगातार सिकिरहेकाहरूलाई समेत गीत रेकर्ड गर्न सुझाव नदिएका गुरुङले सरोजलाई भने छ महिनामै त्यस्तो सुझाव दिए । सिकाइरहेका गुरुले नै ‘गीत निकाल’ भनेपछि त उनी झन् उत्साहित भए ।
‘तिमी गीत रेकर्ड गर्न सक्षम छौ भन्ने गुरुको प्रतिक्रियाले ममा अझै आत्मविश्वास भरिदियो,’ ती दिन सम्झँदै सरोजले सुनाए– ‘गीत रेकर्ड गर्न कहाँ जाने, कसरी गर्ने केही मेसो भएन । गुरुसँग गीत माग्न पनि सकिएन, पाइहालेकै भए पनि रेकर्ड गर्ने पैसा थिएन । फेरि त्यतिबेला त एल्बमविना अहिले जस्तो एउटा मात्रै गीत रेकर्ड गर्नुको कुनै अर्थ पनि थिएन ।’
पैसा नभएपछि सञ्चारकर्म
यही घटनाले सरोजको जीवनमा नयाँ मोड ल्यायो । सधैं घरबाट नै खर्च पेलिरहन पनि सम्भव थिएन । जागिर खाँदै सङ्गीत–सङ्घर्ष अघि बढाउने सोच बनाए । जागिर माग्दै धेरै क्षेत्रमा आवेदन दिए तर सबैजसो अस्वीकृत नै भए ।
२०६० तिरको कुरा हो । रेडियो सिटी ९८.८ प्रशारण हुने तयारीमा थियो । सरोजले त्यसैमा काम पाए । गीत–सङ्गीतकै कार्यक्रम चलाउँदा आफूलाई पनि फाइदै हुन्छ भन्ने उनलाई लाग्यो । तर, भइदियो उल्टो । एफएम व्यवस्थापनले सरोजमा रिपोर्टिङ, समाचार सम्पादन र वाचनको क्षमता देख्यो । र, उनलाई खटाइदियो समाचार कक्षमा ।
जे–जसरी भए पनि जागिर खानैपर्ने बाध्यता भएकाले मन लगाएर काम गरे । छोटो समयमै स्थापित पनि भए । समाचार कक्षको काम, धेरै खट्नुपर्ने बाध्यता । त्यसपछि ‘एभिन्युज टेलिभिजन’ मार्फत अगाडि बढ्यो उनको सञ्चार–यात्रा । एभिन्युजपछि उनी ‘न्युज– २४’, ‘नेपाल वातावरण पत्रकार समूह’ हुँदै ‘हिमालय टेलिभिजन’ मा पुगे । उनको सञ्चार–यात्रा अहिले ‘प्राइम टाइम्स टेलिभिजन’ र ‘नेपाली रेडियो नेटवर्क’ मा आइपुगेको छ ।
सञ्चार क्षेत्रमा कार्यरत रहनुपर्दा सङ्गीत साधनामा समय दिन नसकिएला कि भन्ने चिन्ताले उनलाई सताइरह्यो । ‘तर, घरैमा साधना गर्न भने मैले कहिल्यै छाडिनँ,’ सरोज सम्झन्छन्– ‘एउटा आस गरेको केटो बिग्रने भयो भन्नुहुन्थ्यो गुरु प्रकाश गुरुङ । मप्रतिको उहाँको त्यो चिन्ताले पनि मलाई सङ्गीत साधनाप्रति कहिल्यै अल्छी गर्ने छुट दिएन ।’
‘साधना गर्न नछाड्नू, गीत गाउने मौका कुन बेला आउँछ, भन्न सकिन्न’– त्यसपछिका हरेक भेटमा पनि गुरुले झक्झक्याइहेको सरोजले सुनाए । उनले ‘साधना’ को प्रशिक्षणसँगसँगै त्रिभुवन विश्वविद्यालय (आरआर क्याम्पस) बाट समेत सङ्गीतमै स्नातक (बीम्युज) गरे । ‘अनुराग सङ्गीत विद्यालय’ मा राम सिटौलासँग पनि अनौपचारिक कक्षा लिए । अहिले पनि दिपेश लामासँग उनी वेस्टर्न म्युजिक र स्टाफ नोटेसनको प्रशिक्षण लिइरहेका छन् ।
एल्बम प्रकाशन र सङ्गीत भर्ने चुनौती
आफ्नै एकल स्वरमा २०७० मा सरोजले ‘सगुन’ एल्बम ल्याए । विन्ध्यावासिनी म्युजिकमार्फत बजारमा आएको सो एल्बममा उनले डा. कृष्णहरि बराल, सुरेश अधिकारी, महेश खड्का, अर्जुन पोखरेल, अमृत रेग्मीजस्ता हस्तीहरूसँग सहकार्य गरे । ‘सगुन’ बजारमा आएपछि त गायन क्षेत्रमै अलि बढी मौका पाउँछु भन्ने अपेक्षा थियो उनमा । आफैंले खर्च व्यहोरेर एल्बम निकाले तापनि सोचेअनुसार भएन । त्यसपछिका चार वर्षसम्म पनि कसैले उनलाई खोजेनन् । २०७४ तिर भने एउटा गीत गाइदिन गीतकार लोकराज अधिकारीले आग्रह गरे; उत्साहित हुँदै गीत गाउन सरोज राजी भए ।
तर, भोलिपल्ट भने सरोज छक्क परे, उनका ओठ–तालु सुके । लोकराजले त गीतका शब्द लेखिएको पाना दिए र त्यसलाई सङ्गीतबद्ध गर्न पो उनीसँग आग्रह गरे । सङ्गीत भर्नेबारे त सरोजले सोचेकै थिएनन् ।
तैपनि उनलाई लाग्यो– पाएको मौका त छाड्नुहुन्न । करिव महिना दिन लगाएर दुई–तीनवटा धुन तयार पारे । अन्तिममा तयार भएको एउटा धुनमा भने उनी आफैंलाई पनि चित्त बुझ्यो । खासमा त्यो गीत पुष्पा खनालको रचना थियो, लोकराजले त समन्वय मात्रै गरिदिएका थिए ।
सरोजले बनाएको त्यो धुनले सर्जक पुष्पा र लोकराजलाई समेत चित्त बुझायो । त्यसपछि बल्ल सरोजकै सङ्गीत र स्वरमा रेकर्ड भयो । ‘यो आँखाको पानीलाई’ बोलको उक्त गीत पुष्पाको एकल एल्बम ‘अभिनव’ मा समावेश छ ।
गीतले फड्को मारेपछि
‘यो आँखाको पानीलाई’ गाएपछि भने गायन र सङ्गीतमा सरोजको व्यस्तता बढ्यो । एकल स्वर र सङ्गीतमा दोस्रो एल्बम ‘आकृति’ बजारमा ल्याए । यसैबीच सरोजलाई निर्देशक देव नेपालले चलचित्र ‘म्हेन्दु’ को सङ्गीत र पाश्र्वगायनको पनि जिम्मेवारी दिए ।
भर्खरै मात्र पनि सरोजले माधव खरेल निर्देशित चलचित्र ‘चिट्ठी’ को एउटा गीतमा सङ्गीत भर्ने मौका पाएका छन् । यसअघि २०६२ मै पनि सरोजले चलचित्र ‘भाइभाइ’ मा चेतन सापकोटाको शब्द तथा सङ्गीतको एउटा गीत गाइसकेका थिए । यतिबेला भने उनी सञ्चारकर्मसँगसँगै गीत रेकर्डिङमा पनि उत्तिकै व्यस्त छन् । केही गीत बजारमा आइसके, केही आउने क्रममै छन् ।
आफ्ना गीतहरूबाट सरोजले विभिन्न अवार्ड समेत प्राप्त गरिसकेका छन् । ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड, २०७७’ शीर्षकको आधुनिक गायन (जुरी) अवार्ड पाएका उनले ‘सगरमाथा म्युजिक अवार्ड, २०७८’ मा सर्वोत्कृष्ट सङ्गीतकारको उपाधि हात पारे । आधुनिक गीत ‘क्या बात’ ले उनलाई उक्त उपाधि दिलाएको हो । ‘विन्ध्यावासिनी म्युजिक अवार्ड, २०७८’ अन्तर्गत ‘ऐलान’ गीतले सरोज र मेलिना राईलाई ‘वर्षको सर्वोत्कृष्ट युगल गायन अवार्ड’ दिलायो ।