बारम्बार रौं उखेल्ने मानसिक रोग

गोपाल ढकाल

रमा श्रेष्ठ (परिवर्तित नाम) दस वर्षकी भइन् । उनी बारम्बार आफ्नो कपाल तान्छिन् र कहिलेकहीं त खान्छिन् पनि । कपाल तान्दातान्दै उनको टाउकाको पछाडिपट्टि आधाजतो तालु नै खुइलिइसकेको छ ।

आफूले कपाल तानिरहेकी छु भन्ने उनलाई होसै हुँदैन । उनलाई पनि आफ्नो कपालको माया लाग्छ; नतान्न पाए हुन्थ्यो, आफ्नो कपाल पनि अरुको जस्तै लामो भइदिए हुन्थ्यो भन्ने लाग्छ । उनी कपालको हेरचाह पनि गर्दछिन्; दैनिक तेल लगाउँछिन् । तर, आफैंले आफ्नो कपाल किन तानिरहेकी छु भन्ने उनी आफैंलाई थाहा छैन । उनको यो बानी हटाउन भनेर उनका बुबा–आमाले हात बाँधिदिनेलगायतका धेरै प्रयास गरे । तर, सफलता हात लागेन ।

आफ्नो कपाल देखेर उनी आफैं निराश हुन्छिन् । कपालको अवस्था हेरेर अरुले जिस्काउँदा नरमाइलो लाग्छ; लाज लागेर आउँछ र हीनताबोध हुन्छ । आफ्नो खुइलिएको टाउको नदेखियोस् भनेर उनी सलले टाउको छोप्छिन्, टोपी लगाएर हिँड्छिन् ।

यही समस्याका कारण मनमा कुरा खेल्ने, डर–चिन्ता लाग्ने, डरलाग्दो सपना देख्ने, नङ टोक्ने, आकुल–ब्याकुल तथा छटपटी हुनेजस्ता समस्या पनि उनमा देखापरेका छन् । उनमा देखिएको यो समस्यालाई ‘ट्राइकोटिलोमेनिया’ भनिन्छ । यो एक प्रकारको आवेगजन्य मानसिक रोग हो र यस्तो रोग लागेको व्यक्तिले आफ्नो शरीरका रौं बारम्बार तान्ने गर्दछ ।

यस्तो रोग लागेकाहरूले आफूलाई उक्त आवेग नियन्त्रण गर्न यो कपाल तानिरहनबाट रोक्न सक्दैनन् । आफ्नै रौं तान्न नपाउँदा उनीहरूमा एक प्रकारको तनाव, अशान्ति र छटपटी हुने गर्दछ । रौं तानिसकेपछि उनीहरूलाई आनन्द र सन्तुष्टि मिल्छ; तनावबाट छुटकारा पाएको महसुस हुने गर्दछ । यो रोगबाट पीडितहरूले आवेगका साथ कपाल तान्ने गर्दछन् र कसै–कसैले त खाने, चपाउने र रौंसँग खेल्ने समेत गर्दछन् । उनीहरूमा देखिने गरी नै कपाल वा रौको क्षति भएको हुन्छ ।

यस रोगबाट पीडितहरू टिभी हेर्दा, पढ्दा, कुरा गर्दा वा अन्य जुनसुकै अवस्थामा पनि अन्जानमै र अनायासै आफ्ना रौंहरू तानिरहेका हुन्छन् । कतिपयले भने आफ्नो तनाव, चिन्ता, नैराश्यता र एक्लोपनलाई कम गर्न तथा आफूलाई शान्त पार्न जाने–बुझेरै यसो गरिरहेका हुन्छन् । रौं तान्दा उनीहरूले दुखाइको महसुस खासै गर्दैनन्; अलि–अलि गरेर रौं वा कपाल तानिरहेका हुन्छन् । उनीहरू आफ्नो यस्तो कार्य घरपरिवार वा अरुलाई देखाउन चाहँदैनन्; सकेसम्म लुकाउने प्रयास गर्दछन् ।

यो रोग लागेकाहरूले आफू मात्र नभई अरुको कपाल तान्दा समेत सुखानुभूति गर्दछन् । यो रोग लागेकाहरूमध्ये कसै–कसैले चाहिँ खेलौना, पाल्तु जनावर, कपडा र ओढ्नेबाट समेत रौं तान्ने गर्दछन् । कहिलेकहीं कसैको पेटबाट ठूलो मात्रामा कपाल बटारिएको गुच्छा नै अपरेसन गरेर निकालिको समाचार पढ्न–सुन्न पाइन्छ । प्रायः यस्तै रोगबाट पीडितहरूमा नै यस्ता घटना घटेका हुन्छन् ।

कूल जनसङ्ख्याको एकदेखि दुई प्रतिशतसम्ममा यो रोग लाग्ने गरेको अनुसन्धानबाट देखिन्छ । प्रायजसो नौदेखि तेह्र वर्षसम्मको उमेरमा यो रोग देखा पर्दछ । तर, यसभन्दा अगाडि वा पछाडिको उमेरमा अर्थात् जीवनको कुनै पनि समयमा यो रोग देखिन नसक्ने भने होइन । पुरुषभन्दा महिलामा सात गुणा बढी देखिने यो रोग बालबालिकामा भने बराबरजसो नै देखिन्छ ।

यो रोग लागेकाहरूले टाउको, कपाल, आँखाका परेला, आँखीभौं, दाह्री, हातका रौं, खुट्टाका रौं, जुँगा, नाकको पोराका रौं, जनेन्द्रीयका रौं, छातीका रौं इत्यादि हातले नै वा अन्य वस्तुको प्रयोग गरेर उखेल्ने गर्दछन् । यस रोगबाट पीडितहरूमा अन्य शारिरिक रोगबाट आफैं झरेको नभई उखेलेर नै निकालिएको हो भन्ने स्पष्टै देखिन्छ ।

ट्राइकोटिलोमेनियाका कारण

ठ्याक्कै यही कारणले नै यो रोग लाग्दछ भनेर स्पष्टरूपमै भन्नचाहिँ सकिँदैन । मतिष्कका केही रासायनिक तत्वको गडबडी, जीवनमा भोग्नुपरेका कुनै दुर्व्यवहार, पारिवारिक द्वन्द्व, आफन्तको मृत्यु, बा–आमा र बच्चाबीच राम्रो सम्बन्ध नहुनु आदिजस्ता तनावजन्य कारणले यो रोग लाग्न सक्दछ ।

रौं तान्ने यो रोग दीर्घरोग अर्थात् दीर्घकालीन मानसिक समस्या हो । समयमै उपचार हुन नसके यस रोगका लक्षणहरू बढ्दै जान्छन् र समस्या अझ जटिल हुँदै जान्छ ।

यस रोगबाट पीडितहरूमा समयक्रममा डिपे्रसन, एन्जाइटी, व्यक्तित्वसम्बन्धी गडबडी, लागू पदार्थको कूलत आदिजस्ता अन्य मानसिक रोग लाग्ने सम्भावना हुन्छ । यस रोगका कारण व्यक्तिगत तथा सामाजिक जीवन र कार्य एवम् व्यवसायमा गम्भीर व्यवधान पैदा हुन्छ ।

यस रोगबाट पीडितहरू सामाजिक क्रियाकलाप, भेटघाट आदिबाट समेत सकेसम्म पन्छन् खोज्दछन् । आफ्नो कपालको अवस्थाबारे अरुले थाहा पाउँछन् कि भनेर कसैसँग नजिक नहुने, कृत्रिम कपाल र परेला लगाउने, कपाललाई स्टाइलिस्ट बनाउने आदि समेत गर्दछन् र अनेकौं अवसर गुमाउन समेत विवश हुन्छन् ।

रौं उखेल्ने रोगको उपचार

कसैले आफ्नो खराब बानी–व्यहोराका कारण कपाल वा रौं उखेल्ने गरेको होइन । सवभन्दा पहिले त यो समस्या पनि रोग नै हो भन्ने कुरा बुझ्नु आवश्यक छ । सजाय दिएर, गाली गरेर, जिस्क्याएर यो रोग हट्ने होइन, झन् बढन सक्दछ ।

यो रोग लागेकाहरूलाई घरपरिवारका सदस्य र साथीभाइले ‘यसो नगर’ भनेर सल्लाह दिने, जिस्काउने र गाली गर्नेजस्ता व्यवहार गर्नु हुँदैन किनकि तिनले चाहेर पनि आफ्नो यस्तो व्यवहारलाई रोक्न सक्दैनन् । साथीभाइ वा आफन्तले सम्झाउन खोज्दा, हेप्दा या गाली गर्दा उनीहरूले आफू कमजोर भएको, अपमानित भएको, रोक्न नसकेकामा दोषी भएको आदि ठान्ने र आफैसँग रिसाउने तथा हीनताबोध गर्ने गर्दछन् । यसो गर्दा उनीहरूमा थप मानसिक तनाव बढ्छ ।

यस रोगको उपचारका निम्ति सवैभन्दा राम्रो विधि त विभिन्न खालका मनोवैज्ञानिक प्रशिक्षण र साइकोथेरापी नै हो । यद्यपि ये रोग छिप्पिँदै गएर डिप्रेसन, चिन्तालगायतका अन्य मानसिक रोग समेत देखापरेका छन् भने मनोचिकित्सकको सल्लाहअनुसार औषधिको पनि सेवन गर्नुपर्ने हुन्छ ।

‘मार्क नेपाल मनोसेवा केन्द्र’ का सञ्चालक ढकाल मनोविद् हुन्