लाभदायक आलुबखडा

होलिस्टिक संवाददाता

आलुखबडा फल ‘पुर्नस’ प्रजातिको वनस्पतिको बोटमा फल्दछ । कतिपयले यसलाई ‘आरुबखडा’ पनि भन्दछन् । यसलाई अङ्ग्रेजीमा ‘प्लम’ भनिन्छ ।

यसका ४० भन्दा बढी प्रजातिहरू छन् । अहिले त हाइब्रिड गरेर झन् धेरै प्रजातिहरूको सिर्जना गरिएको छ । तीमध्ये पुर्नस डोमेस्टिका र पुर्नस सालिसिना यसका सबैभन्दा बढी प्रचलित प्रजाति हुन् ।

व्यावसायिक खेती गरिएका प्लमका रूखहरू मध्यम आकारका हुन्छन् । यसका बोट सामान्यतया ५ देखि ६ मिटर (१६–२० फिट) उचाईसम्मका हुन्छन् । प्लम पिच र चेरी फलसँग निकट सम्बन्धित फलफूल हो । यसलाई डेजर्ट फलका रूपमा ताजा नै खाइन्छ ।

ठाउँअनुसार आलुबखडा फुल्ने, फल लाग्ने र पाक्ने समय फरक–फरक हुन्छ । नेपालमा वैशाख अन्तिमदेखि जेठको सुरुतिर फूल्न थालेर असारतिर यो पाक्न थाल्दछ ।

यसका फलहरू मध्यम आकारका हुन्छन् । सामान्यतः २ देखि ७ सेन्टिमिटर व्यास भएका गोलाकार दाना हुन्छन् । आलुबखडाको भित्री बियाँ ठूलै आकारको र कडा हुन्छ भने बीचको भाग रसदार हुन्छ अनि बोक्रा चिल्लो हुन्छ ।

प्रजातिअनुसार आलुबखडाको रङ्ग भने फरक–फरक हुन्छ । काँचोमा हरियो रङ्गको आलुबखडा पाकेपछि रातो, सुन्तले, हरियो, बैजनी, कालो वा हल्का नीलो रङ्गका हुन्छन् । जापानी वा चिनियाँ प्लमका दाना ठूला र रसदार हुन्छन्, टिपेपछि धेरै समयसम्म टिक्छन् । पछिल्लो समय नेपाली बजारमा यस्तै अलुबखडाको वर्चश्व हुन थालेको पाइन्छ ।

काँचो अलुबखडामा करिव ८७% पानी, ११% कार्बोहाइड्रेड, १% प्रोटिन र १% भन्दा कम फ्याट हुन्छ । सय ग्राम काँचो अलुबखडाले करिव ४६ किलोक्यालोरी शक्ति र केही मात्रामा भिटामिन सी समेत प्रदान गर्दछ । यसमा भिटामिन ए , के, पोटासियम, कपर, मेन्गानिजजस्ता तत्व पनि उपलब्ध हुन्छन् ।

आलुबखडामा प्रचूर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले शारीरिक दुखाइ कम गर्न र फ्री रेडिकल्सबाट हुने क्षतिबाट कोषहरूलाई बचाउन मद्धत गर्दछ । यसमा विशेषगरी पोलिफेनोल एन्टिअक्सिडेन्ट (एन्थोसायनिन्स) को मात्रा बढी हुन्छ । यसले हड्डीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ र हृदयरोग तथा मधुमेहको जोखिम कम गर्न समेत मद्धत पुर्‍याउँछ । फाइबरको राम्रो स्रोत र शरीरमा एडिपोनेक्टिनको स्तर घटाउने भएकाले रक्तचाप नियन्त्रणमा पनि आलुबखडाको सेवनले राम्रै फाइदा पुर्‍याउने कुरा अध्यनहरूले देखाएका छन् ।

आलुबखडालाई सिधै खान सकिन्छ र यसबाट जुस निकालेर पनि खाने गरिन्छ । यसको गुदीलाई पकाएर जाम बनाई मजा लिन समेत सकिन्छ । बजारमा आलुबखडाको जाम विभिन्न ब्रान्डमा उपलब्ध छन् । यसको गुदीबाट वाइन समेत बनाएर प्रयोग गर्ने गरिएको छ । आलुबखडालाई सुकाएर पनि विभिन्न किसिमले प्रयोग गर्ने गरिन्छ । सुकाइको प्लमलाई प्रुन भनिन्छ ।

ताजा वा सुकेको प्लममा फाइबर र अन्य विभिन्न तत्वहरू हुन्छन्, जसले कब्जियतको समस्या न्यूनीकरण गर्न मद्धत गर्छ । प्रुनमा हुने तत्वले हड्डी खिइने जोखिमलाई कम गर्छ र हाडजोर्नीको स्वास्थ्य स्थितिमा समेत सुधार ल्याउँछ । कब्जियत, अस्टियोपोरोसिस, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र अन्य धेरै समस्याहरूको न्यूनीकरणका लागि प्रुनको प्रयोग गरिँदै आएको पाइन्छ ।