हैजाको हैरानी र सावधानी

डा. शेरबहादुर पुन

असार पहिलो साता काठमाडौंमा हैजाको सङ्क्रमण पुष्टि भयो । टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका १८ र २३ वर्षका बिरामीको नमूना परीक्षण गर्दा २ असारमा हैजाको जीवाणु पत्ता लागेको हो ।

उक्त व्यहोरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेसँगै राजधानी उपत्यकामा हैजाको जोखिम पुष्टि भएको हो । त्यसयता विभिन्न मितिमा क्रमशः हैजा सङ्क्रमितको सङ्ख्या क्रमशः बढ्दै जाँदा जनमानसमा त्रास पनि बढ्दै गएको छ ।

उपत्यकामा वितरण हुने पानीका विभिन्न स्रोतमा ‘इकोलाई’ नामक जीवाणु पुष्टि भइरहेको छ । पानीमा इकोलाई भेटिनु भनेको खानेपानी दिसा मिसिएको पुष्टि हुनु समेत हो । मूलतः काठमाडौं उपत्यकामा निरन्तर थुप्रने गरेको फोहोरमैला तथा दूषित पानीको वितरणजस्ता कारणले नै हैजाको जोखिम बढेको हो । हालसम्मको अवस्था हेर्दा राजधानीमा हैजाको जोखिम अझै केही साता कायमै रहन सक्ने देखिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा झाडापखाला भएर आउने बिरामीको चाप जेठ पहिलो सातादेखि नै बढ्दै गएको थियो । झाडापखाला लागेर टेकू अस्पताल आउनेहरूमध्ये अधिकाङ्श युवा तथा वयस्क उमेरसमूहका नागरिक छन् । बालबालिका र वृद्धवृद्धाभन्दा पनि वयस्कहरूमा सङ्क्रमण बढी हुनुको अर्थ सङ्क्रमित पानी तथा अस्वस्थ खानपानकै कारण रोग फैलिएको पुष्टि हुनु हो । किनकि यो उमेरसमूहका नागरिक बढीजसो घरबाहिर रहन्छन् र तिनको खानपान पनि प्रायः बाहिर नै हुने गर्छ ।

सचेतना र सावधानी

हैजाबाट बच्न स्वस्थ र स्वच्छ पानी पिउनुपर्छ । पिउन मात्र होइन; खान पकाउन, भाँडा माझ्न र कपडा धुन समेत सङ्क्रमणरहित पानीकै प्रयोग गर्नुपर्छ । खाद्य सामग्री पनि स्वस्थ, सफा र ताजा खानुपर्छ । सकेसम्म उमालेको या क्लोरिन हालेर शुद्धीकरण गरिएको पानी नै पिउनुपर्छ ।

झाडापखाला लागिहालेमा या हैजाका लक्षण देखिएमा यथासिघ्र स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ । दूषित पानीका कारण झाडापखाला, आउँ, हैजा, बान्ता, जन्डिस (हेपाटाइटिस) आदि रोग लाग्ने जोखिम हुन्छ । दूषित पानीले विशेषतः हेपाटाइटिस ‘ए’ र ‘ई’ को जोखिम बढाउँछ; टाइफाइडलगायतका जटिल स्वास्थ्य समस्या निम्त्याइदिन्छ ।

हैजालगायतका सङ्क्रामक रोगबाट बच्नका निम्ति घर, कोठा, वरिपरिको वातावरण र व्यक्तिगत सरसफाइमा पर्याप्त ध्यान दिनुपर्छ । दिसा–पिसाब गरिसकेपछि साबुन–पानीले राम्ररी हात धुनुपर्छ । सडेगलेका र बासी खाने कुरा खानु हुँदैन ।

वर्षाभर सावधान रहनोस्

गर्मीयाम तथा वर्षा मौसममा झाडापखाला, हैजा तथा पानीजन्य रोगहरू फैलने जोखिम बढी हुन्छ । अतः पानी पर्ने मौसमभरि हैजाको जोखिम उच्च हुन्छ । सामान्यतः भदौ अन्तिमसम्म हैजाको जोखिम बढी हुन्छ ।

अगस्ट, २०१० को अन्तिमतिर पनि नेपालमा हैजा देखिएको थियो । त्यसबेला पनि गर्मी र पानी पर्ने मौसममा नै यो सङ्क्रमणले टाउको उठाएको थियो । त्यसैले पनि यही सिजनमा यसको जोखिम बढी हुने कुरा प्रष्ट हुन आउँछ ।

प्रत्येक दस सङ्क्रमितमध्ये एक जनामा हैजाको कडाखाले लक्षण देखिने गरेको पाइन्छ । कडा लक्षण भएका हैजा सङ्क्रमितलाई केही घन्टाभित्रै उपचार गरिएन भने तीमध्येका ५० प्रतिशतसम्मको मृत्यु हुन सक्ने कुरा विगतको तथ्याङ्कले देखाउँछ ।

लक्षण र उपचार

हैजाको सङ्क्रमण भएमा केही घन्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखापर्न सक्दछन् । अचनाक चौलानीजस्तो पातलो दिसा हुनु र तारन्तार दिसा लाग्नु हैजाको मुख्य लक्षण हो । तारन्तार बान्ता हुनु, खुट्टा तथा पेटका माङ्शपेशी बाउँडिनु, बढी तिर्खा लाग्नु, आलस्यता जाग्नु, बेचैनी बढ्नु आदि पनि हैजाका लक्षण हुन् ।

हैजा पुष्टि नभएसम्म झाडापखालाका प्रायः बिरामीले घरैमा बसेर उपचार या आराम मात्रै गर्ने गरेको पाइन्छ । यदि कडाखाले हैजाको सङ्क्रमण भएको रहेछ भने यसरी घरमै बसेर आराम मात्र गर्दा या घरेलु उपचारमा मात्रै भर पर्दा स्वास्थ्य जटिलता निम्तने जोखिम बढी हुन्छ । यसर्थ, हैजाका प्रारम्भिक लक्षण देखिनासाथ अस्पताल या स्वास्थ्य केन्द्र पुगिहाल्नु पर्छ ।

निरन्तर बान्ता भएको छैन र छ–सात घन्टाको अन्तरालमा थोरथोरै मात्र पखाला लागेको छ भनेचाहिँ आत्तिइहाल्नु पर्दैन । यस्तो अवस्थामा जीवनजल पिउनुपर्छ र झोलिला खाद्य सामग्री पर्याप्त खानुपर्छ । जति धेरै पटक पखाला लाग्छ, उति नै धेरै जीवनजल पिउनुपर्छ ताकि शरीरमा पानी र आवश्यक अन्य तत्वको कमी नहोस् ।