यसरी बनाउनोस् चिकेन बिरयानी

होलिस्टिक संवाददाता

आवश्यक सामग्री

बासमती चामल– ४०० ग्राम (२ कप), केसर– २ स्ट्रेन्ड (२ ठूलो चम्चा, तातो दूधमा भिजाएर), दही– ५० ग्राम, गरम मसला (बिरयानी मसला)– १ सानो चम्चा, रातो खुर्सानी– आधा चिया चम्चा, पुदिनाको पत्ता (मसिनो गरी काटेको)– २ ठूलो चम्चा ।

चिकेन म्यारिनेटका लागि आवश्यक सामग्री

चिकेन– आधा केजी, दही– ३ ठूलो चम्चा, अदुवा–लसुनको पेस्ट– डेढ (ठूलो) चम्चा, गरम मसला (बिरयानी मसला)– १ (ठूलो) चम्चा, नुन– आधा (सानो) चम्चा, बेसार– एक चौथाई (सानो) चम्चा, रातो खुर्सानीको धुलो– आधादेखि एक (सानो) चम्चा, कागतीको रस– १ ठूलो चम्चा ।

चिकेन पकाउन आवश्यक सामग्री

तेजपत्ता– एउटा, अलैंची– ४ वटा, ल्वाङ– ६ वटा, दालचिनी– एक टुक्रा (१ इन्च लामो), जिरा– १ (सानो) चम्चा, प्याज– मसिनो गरी काटेको, मध्यम आकारको एउटा

बनाउने तरिका

म्यारिनेट गर्ने तरिका

सुरुमा एउटा भाँडामा स–साना टुक्रा पारिएका चिकेनका टुक्राहरू राख्ने । यसमा माथि उल्लेखित म्यारिनेट गर्ने सबै सामग्री मिसाउने र छोपेर एक घन्टा राखिदिने । यसलाई रातभर फ्रिजमा राख्न पनि सकिन्छ । त्यसपछि दुई कप बासमती चामललाई एउटा ठूलो भाँडोमा राख्ने अनि कम्तिमा तीन पटक पखाल्ने । उक्त चामललाई करिव ३० मिनेटजति ताजा पानीमा भिजाउने ।

चिकेन पकाउने तरिका

प्रेसर कुकरमा घ्यु वा तेल तताउने । तेल÷घ्यु तातेपछि माथि उल्लेखित मसलाहरू (तेजपत्ता, अलैंची, ल्वाङ, दालचिनी, जिरा) राख्ने । अब यसमा प्याज हाल्ने र मध्यम आगोमा हल्का खैरो हुन्जेलसम्म पकाउने । प्याजलाई ठीक्क मात्र पकाउनु उचित हुन्छ, बढी पकाइएमा कालो भएर डढ्छ र तितो स्वाद आउन सक्छ ।

अब म्यरिनेट गरेको चिकेन यसमा मिसाउने र करिव ५ मिनेटजति पकाउने । त्यसपछि आगो घटाउने र कुकरलाई छोपेर मजाले पकाउने । चिकेन पाकिसकेपछि दही, गरम मसला वा बिरयानी मसला र रातो खुर्सानी मिसाएर मजाले चलाउने ।

बिरयानी बनाउने तरिका

यी सामग्रीहरूको एउटै तह बनाउने अनि त्यसमाथि भिजाएको चामल राख्ने । अर्को एउटा छुट्टै भाँडामा ३ कप पानी राखेर त्यसमा आधा चम्चा नुन राख्ने । पानीलाई चाख्ने र थोरै नुनिलो भएपछि उक्त पानीलाई बिस्तारै कुकरमा हाल्ने । पानी हालेपछि चामलको सतहलाई राम्ररी मिलाउने । यसमाथि मसिनो गरी काटेको पुदिनाको पत्ता राख्ने ।

कुकरको सामग्रीलाई मिसिन नदिन माथिपट्टि तारेको प्याज र केसरयुक्त दूध पनि राख्न सकिन्छ ।

त्यसपछि कुकरको बिर्को लगाइदिने र एक सिट्ठी लागेपछि कुकर आगोबाट झिक्ने । यसलाई बिस्तारै सेलाउन दिने । त्यसपछि प्रेसर कुकरको बिर्को खोल्ने अनि तात्तातै सर्भ गर्ने । सर्भ गर्दा तहगत रूपमै, तह नमिसिने गरी गर्दा राम्रो हुन्छ । यसलाई राइतासँग खाँदा अझै राम्रो स्वाद आउँछ ।