टङ्कप्रसाद आचार्य: गुमनाम इतिहासका तेजस्वी पात्र

केदारनाथ गौतम

नेपालको जेठो राजनीतिक दल नेपाली काङ्ग्रेसले अनेकौं उतारचढाव, घुम्ती र मोड पार गर्दै पचहत्तर वर्षे राजनीतिक यात्रा पूरा गरिसकेको छ । नेपाली काङ्ग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भई दोस्रो सभापतीय कार्यकाल समालिरहेका शेरबहादुर देउवा नेपालको त्रिचालीसौं प्रधानमन्त्रीका रूपमा पाँचौं पटक मुलुकको प्रधानमन्त्री पदमा बहाल छन् ।

तर, सोही दल अर्थात् नेपाली काङ्ग्रेसको पहिलो महाधिवेशनबाट वि.सं. २००३ मै पार्टीको सभापति बनेका र २०१२ मै प्रधानमन्त्रीको कार्यभार समेत समालेका ऐतिहासिक नेता टङ्कप्रसाद आचार्यको इतिहास भने गुमनामजस्तै छ । टङ्कप्रसाद आचार्य नेपाली काङग्रेसभन्दा पनि जेठो अर्थात् नेपालकै सबैभन्दा जेठो राजनीतिक दल ‘नेपाल प्रजापरिषद्’ का समेत संस्थापक अध्यक्ष हुन् ।

यतिबेला नेपालमा सहिद सप्ताह चलिरहेको छ । हरेक वर्ष १० देखि १६ माघसम्म सहिद सप्ताह मनाइनुका साथै १६ माघलाई राणा शासनविरोधी चार सहिदको स्मृति एवम् सम्मानरूप सहिद दिवस मनाउने गरिएको छ । सहिद सप्ताह र सहिद दिवस मनाउने प्रचलन टङ्कप्रसाद आचार्यकै प्रधानमन्त्रीत्वकालमा सुरु भएको हो । यथार्थतः राणा शासनविरोधी चार सहिद– शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमा उनै टङ्कप्रसादका समवयी, समकालीन र सहकर्मी हुन् । र, स्वयम् टङ्कप्रसादलाई नै नेपालका ‘जिउँदो सहिद’ भन्ने गरिएको छ ।

१७ मङ्सिर, १९६९ (वि.सं.) मा जन्मेका टङ्कप्रसादको ११ वैशाख, २०४९ मा निधन भयो । आफू बाईस वर्षको छँदै वि.सं. १९९३ मा टङ्कप्रसादले ‘नेपाल प्रजापरिषद्’ को स्थापना गरेका थिए । राणा शासनविरुद्ध पर्चा छरेपछि १९९७ (वि.सं.) मा पक्राउ पर्ने दुई सयजनामध्ये उनी पनि एक थिए । इतिहासकारहरूको भनाइअनुसार वि.सं. २००७ को राजनीतिक परिवर्तनको आधारभूमि तयार पार्ने प्रमुख पाँच युवाहरू भनेकै टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा थिए ।

वि.सं. २००३ मा कलकत्तामा ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ को स्थापनाका क्रममा टङ्कप्रसादको योगदान एवम् दशकअघि नै गठन भएको ‘नेपाल प्रजापरिषद्’ को भूमिकालाई कदर गरेर उनैलाई सभापति बनाइयो । प्रथम सम्मेलनमार्फत गठित त्यसबेलाको ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ (परिवर्तित नेपाली काङ्ग्रेस) को केन्द्रीय कार्यसमितिमा टङ्कप्रसाद आचार्य सभापति थिए । आचार्य वि.सं. १९९७ देखि नै जेलमा जन्मकैद भोगिरहेका थिए; त्यसैले नेतृत्व भने ‘कार्यकारी सभापति’ का रूपमा विश्वेश्वरप्रसाद कोइरालाले समालेका थिए ।

उक्त कार्यसमितिको पदाधिकारीहरूका रूपमा बालचन्द्र शर्मा– महामन्त्री, डिल्लीरमण रेग्मी– प्रचाराध्यक्ष, कृष्णप्रसाद भट्टराई– सङ्गठन मन्त्री र देवशङ्करलाल श्रेष्ठ– कोषाध्यक्ष थिए । कार्यसमितिका सदस्यहरूमा गोपालप्रसाद भट्टराई, रुद्रप्रसाद गिरी, गणेशमानसिंह श्रेष्ठ, डीबी परियार, डीएन प्रधान र सीबी सिंह रहेको तथ्य भुवनलाल प्रधानले ‘नेपालको जनक्रान्ति, २००७’ मा उल्लेख गरेका छन् ।

राणाशासनको अन्त्यपछि मातृकाप्रसाद कोइरालाको नेतृत्वमा २०१० ( वि.सं.) मा गठित सरकारमा गृहमन्त्री रहेका टङ्कप्रसाद आचार्य त्यसलगत्तै प्रधानमन्त्री बने । १३ माघ, २०१२ देखि ३१ असार, २०१४ सम्म (सत्र महिना) नेपालको (अठारौं) प्रधानमन्त्री रहेका टङ्कप्रसादको कार्यकालमा दीर्घकालीन महत्वका केही सुधारात्मक काम भए । प्रथम पञ्चवर्षीय योजनाको थालनी, नेपाल राष्ट्र बैङ्कको स्थापना र नेपाली मुद्राको देशव्यापी प्रचलन उनैको पालाका उल्लेख्य उपलब्धि हुन् । आचार्यकै कार्यकालमा निजामति सेवामा सुधार, निजामति सेवा नियमावलीको कार्यान्वयन, भूमिसुधार, पञ्चशीलका आधारमा परराष्ट्र सम्बन्धको विकास, शिक्षाको विकासका लागि राष्ट्रलाई सात शैक्षिक क्षेत्रमा विभाजन, राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनाजस्ता काम समेत भए । नेपालको मन्त्रिपरिषद्कै बैठकमा भारतीय दूतावासका कर्मचारी गोविन्द नारायण सहभागी हुने प्रचलन त्यतिबेलासम्म कायमै थियो । टङ्कप्रसादकै कार्यकालमा त्यो ‘नियम’ खारेज गरियो ।

खासगरी परराष्ट्र सम्बन्धका हिसाबले टङ्कप्रसादको प्रधानमन्त्रीत्व अवधिलाई ‘स्वर्णकाल’ नै मानिन्छ । उनैको कार्यकालमा सोभियत सङ्घ, जापान, स्विट्जरल्याण्ड, इजिप्ट, चीन र फ्रान्ससँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो । संयुक्त राष्ट्रसङ्घको सदस्यता लिने र महासभामा नेपालको प्रतिनिधिमण्डल पठाउने काम पनि टङ्कप्रसादकै पालामा सुरु भयो ।

चीनसँग नेपालले छुट्टै सन्धि–सम्झौता गर्दा तिब्बतले नेपाललाई दिँदै आएको वार्षिक दस हजार ‘काला मोहर’ रोकिनेमा राजा महेन्द्र समवेदनशील थिए । तर, टङ्कप्रसादले भने जोखिम मोलेरै पञ्चशीलको सिद्धान्तका आधारमा चीनसँग बेग्लै सन्धिका लागि कूटनीतिक वातावरण बनाए । र, २० सेप्टेम्बर, १९५६ मा नेपाल–चीन मैत्री सन्धिमा हस्ताक्षर भयो । अनि त्यही वर्ष चीन भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा टङ्कप्रसाद आचार्य पेकिङ पुगे । त्यसपछि चिनियाँ प्रधानमन्त्री चाउ–एन–लाई समेत नेपाल भ्रमणमा आए ।