तन–मन सफा गर्ने पञ्चकर्म विधिहरू

डा. डीबी सुनुवार

प्राकृतिक चिकित्साका सबैजसो विधामा सरसफाइका विधि र उपायहरूको महत्वपूर्ण भूमिका हुन्छ । मूलतः शारीरिक–मानसिक सफाईमा नै आधारित पञ्चकर्म उपचार विधि प्राकृतिक चिकित्साअन्तर्गत निकै लोकप्रिय छ । यो विधि व्यावहारिक उपचारात्मक दृष्टिले एकदमै प्रभावकारी समेत छ । यसलाई आधुनिक प्राकृतिक चिकित्सा सम्बन्धी अध्ययनहरूले समेत बारम्बार प्रमाणित गर्दै आएको छ ।

पञ्चकर्म विधिका पाँच वटा सफाई टेक्निक निकै प्रभावकारी छन् । पञ्चकर्म विधिमा आँखाको सफाईबाट सरसफाइको सुरुआत हुन्छ । पञ्च–इन्द्रीयमध्येको एउटा समवेनशील अङ्ग आँखा स्वस्थ रहँदा नै स्वस्थ तथा स्वच्छ ढङ्गले संसारको दृश्यावलोकन गर्न सकिन्छ । आँखा नै अस्वस्थ भए त कसरी गर्नु र स्वस्थ दृश्यावलोकन !

गेजिङ विधि

आँखाको सरसफाई गर्न ‘गेजिङ विधि’ अपनाइन्छ । यो विधि अपनाएर आँखाको सरसफाई गर्दा भित्ता वा कुनै पनि वस्तुको एउटा निश्चित केन्द्रविन्दुमा निरन्तर हेरिरहिन्छ । शरीर सिधा पारेर आँखा नथाकुन्जेल उक्त विन्दुमा हेरिहनुपर्छ । मैनबत्तीमा एकटकले हेरेर पनि यो विधि अपनाउन सकिन्छ ।

यसरी हेरिरहँदा सकेसम्म आँखा झिम्क्याउनु हुँदैन । यो उपचारात्मक विधि अपनाउँदा आँखा नझिम्क्याई आँसु आउन्जेल हेर्नु लाभदायक हुन्छ । यसरी आँसु आइसकेपछि उक्त विन्दुमा हेर्न छाडिन्छ । त्यसपछि केहीबेर आँखा चिम्लेर आँखालाई आराम दिलाउनुपर्छ ।

केही मिनेटसम्म आँखालाई आराम गराएपछि आँखा सफा गर्ने एक प्रकारको भाँडामा चिसो तथा सफा पानी राखेर आँखालाई सेक्नुपर्छ । सातामा एक पटक वा प्राकृतिक चिकित्सकको सल्लाहअनुसार यो अपनाउनु उपयुक्त हुन्छ ।

नेती विधि

पञ्चकर्ममा नाक तथा मुखको सफाईका लागि ‘नेती विधि’ अपनाइन्छ । यो विधि पनि निकै प्रभावकारी र लाभदायक छ । नेती विधिबाट नाक तथा मुख सफा गर्दा रबरको सानो ‘क्याथेड्रल’ आवश्यक पर्छ ।

यस क्याथेड्रललाई नाकको एकातर्फको प्वालबाट छिराएर मुखबाट निकालिन्छ । यसरी नाकको दुवैतर्फका प्वालबाट पालैपालो यसलाई छिराएर दसदेखि पन्ध्रपटकसम्म मोही पारे जसरी बिस्तारै तान्दै छाड्दै गरिन्छ । यो विधि अपनाउँदा नाक तथा मुखमा भएका विकार तत्व फाल्न निकै ठूलो सहयोग पुग्छ र विशेषतः नाक एकदमै राम्ररी सफा हुन्छ ।

नाकको सफाईका लागि कुञ्जल विधि पनि अपनाउन सकिन्छ । यो विधिमा नाकको एकातर्फको प्वालबाट विशेष किसिमको भाँडोबाट पानी हाली नाकको अर्कातर्फको प्वालबाट निकालिन्छ । यो विधि पनि नाकको दुवैतर्फका प्वालबाट पालैपालो गर्नुपर्छ ।

यसरी नाक सफा गर्दा नुन–पानी प्रयोग गरिन्छ । नाक सफा गर्ने क्रममा घुँडामा हात टेकेर फुँ–फुँ… गर्दै पानीलाई नाकबाट बाहिर फालिन्छ ।

भमिटिङ विधि

विशेषतः पेटको सफाईका लागि भमिटिङ विधि अपनाइन्छ । पेटको सफाईका लागि यो विधि एकदमै लाभदायक या प्रभावकारी मानिन्छ । बिहानै खालि पेटमा नुन–पानी पिएर भमिट गरी पेटमा भएका विकार तत्व फाल्न यो विधि अपनाइन्छ ।

यो विधि अपनाएर पेट सफा गर्नका लागि करिव एक लिटर मनतातो पानीमा हल्का नुन हालेर उक्त पानी पिइन्छ र लगत्तै भमिट गरिन्छ । यस विधिमा एक लिटरजति पानी एउटा भाँडामा राखेर टुक्रुक्क बसिन्छ अनि हल्का निहुरेर घटघटी उक्त पानी पिइन्छ ।

पानी पिइसकेपछि हाल्का हिँडडुल गर्दै पेट चलाउनुपर्छ । त्यसपछि हातका दुई आँला मुखमा हाल्दै बिस्तारै चलाउनुपर्छ । यसो गर्दा भमिट हुन्छ । यो विधि पनि सातामा एक पटक या प्राकृतिक चिकित्सकको सल्लाहअनुसार गर्नु उचित हुन्छ ।

एनिमा विधि

पञ्चकर्मअन्तर्गतको एनिमा विधि अपनाउँदा एक लिटर पानी अट्ने भाँडो लिइन्छ । त्यसपछि रबरको क्याथेटर तयार पारिन्छ । यसपछि उत्तानो परी सुतेर खुट्टालाई हल्का माथि उठाइन्छ । त्यसपछि मलद्वारमा करिव डेढ इन्च भित्र जाने गरी रबरको क्याथेटर (पाइप) छिराइन्छ ।

त्यसपछि भाँडामा भएको नुन मिश्रित मनतातो पानी उक्त क्याथेटर (पाइप) मा हालिन्छ । उक्त पानी सो पाइपको माध्यमबाट ठूलो आन्द्रामा पुग्दछ । पानी हालिसकेपछि पाइप झिकिन्छ र उठेर केही बेर हलचल गरिन्छ ।

त्यसपछि शरीरमा (विशेषतः आन्द्रा/आमाशयमा) भएका विकार तत्व दिसाका माध्यमबाट बाहिर जान्छन् । यो विधि पनि हप्तामा एक पटक अपनाउनु उचित हुन्छ ।

धारापात विधि

यो विधि भने मनको सफाई गर्ने विधि हो । विशेषतः तनाव व्यवस्थापनका लागि धारापात विधि निकै लाभदायक मानिन्छ ।

धारापात विधि अपनाउँदा एक लिटर पानी अट्ने भाँडो तयार पारिन्छ । सो भाँडामा मनतातो पानी राखिन्छ र त्यसपछि उत्तानो परेर सुतिन्छ । त्यसपछि करिव दुई फिट माथिबाट सानो धारो हुने गरी निधारमा तुरुरुरु पानी झारिन्छ ।

पानीको धाराले मनलाई शान्त तथा आनन्दित तुल्याउँदछ । यसो गर्दा कुनै कुरामा ध्यान केन्द्रित गरिराख्न मद्धत मिल्छ । मन चञ्चलता हुने, अस्थिर हुने, बहकिनेजस्ता समस्या समाधानका लागि यो विधि पनि सामान्यतः सातामा एक पटक गर्नु लाभदायक हुन्छ ।

यी पाँच प्रकारका प्राकृतिक चिकित्सकीय सफाई विधि अपनाउन न उत्रो खर्च लाग्दछ, न त खासै जटिल नै छन् । यी विधिहरू प्राकृतिक चिकित्सकको सल्लाहमा घरमै अपनाएर तन–मन स्वस्थ राख्न सकिन्छ ।