लिरिसिस्ट प्रतिमाको गीतिसाधना

बीएन अधिकारी

‘ओ मेरी आमा’, ‘बिस्तारै–बिस्तारै’, ‘तिमी मेरी’, ‘मायालु तिमी मेरो’, ‘तिम छौ र त’, ‘फूलभन्दा सुन्दर छौ’, ‘त्यो दिन सम्झ’, ‘छिनमै हसाउँछ’, ‘मन त यो हरामी’ जस्ता दर्जनौ गीतहरू श्रोता–दर्शकमाझ पस्किसकेकी गीतकार हुन्, प्रतिमा गुरुङ । जितेन बान्तवा, चिरञ्जीवी भण्डारी, अञ्जु पन्त, मेलिना राई, रचना रिमाल, एलिना चौहान, सुजाता पाण्डेलगायतका चर्चित गायक–गायिकाले उनका गीतहरूमा आवाज दिएका छन् ।

पहाड, झरना र हिमालको काखमा अवस्थित रमणीय गाउँ कास्कीको सिक्लेसमा जन्मे–हुर्केकी प्रतिमा गीतलेखनकै बीच फ्रान्स पुगिसकेकी छन् । अहिले उतै बसोवास गर्दै आएकी उनी देशबाहिरै रहेर पनि नेपाली गीत–सङ्गीतकै क्षेत्रमा सक्रिय रहँदै आइरहेकी छन् । फ्रान्सलाई कर्मथलो बनाए तापनि उनको मन भने आफ्नै मातृभूमिमा अडिइरहेको छ; नेपालकै कला–संस्कृति र गीत–सङ्गीतमै जमिरहेको छ । गीतकार गुरुङ आधुनिक गीत–सिर्जनामा नयाँपन खोज्दैछिन् र नेपाली कला–संस्कृतिलाई उचाईमा पुर्‍याउन प्रयासरत छिन् ।

कसैको प्रेरणाबाट नभई पुराना गीत सुनेर तिनैबाट मोहित एवम् आकर्षित भएर आफूले गीत लेख्न थालेको उनी बताउँछिन् । ‘प्रेरणाले भन्ने नै छैन, मलाई गीत–लेखनमा प्रेरणा दिने तत्व या पक्ष भनेकै पुराना–पुराना कालजयी गीतहरू हुन्,’ उनी भन्छिन्– ‘मुटुमाथि ढुङ्गा राखी, दुइटा फूल देउरालीमा, जहाँ छन् बुद्धका आँखा, पोहोर साल खुसी फाट्दालगायतका धेरै पुराना र कालजयी गीतहरूले नै मलाई गीत–लेखनमा डोर्‍याएका हुन् । यिनै गीतहरू सुनेर नै गीत–लेखनमा मैलै कलम चलाउन थालेकी हुँ ।’

बसाइ विदेशमा, ध्यान नेपालमा

परदेशमा भए पनि फुर्सद मिल्नासाथ गीति–शब्दहरू कोरिहाल्ने गरेकी छन् उनले । आफूमा पछिल्लो समय त झन् नेपाली गीत–सङ्गीतमै केही गरौं भन्ने भाव अझ जागेर आएको उनले सुनाइन् । फुर्सद मिल्दा विभिन्न साहित्यिक पुस्तकहरू समेत पढ्ने गरेकी उनी फ्रान्सस्थित एक कार्यालयमा जागिर खाइरहेकी छन् ।

‘अनि आफू त परदेशी परियो, काम नगरी खान पाइँदैन,’ प्रतिमा भन्छिन्– ‘यहाँ मेरो जागिर छ, त्यसैमा अलि व्यस्त हुन्छु । गीत–सङ्गीत त अतिरिक्त कामजस्तो मात्रै भयो अहिलेका लागि । प्रकृतिप्रेमी परियो, फुर्सदका बेला नयाँ–नयाँ ठाउँ घुम्ने र घरका काम–धन्दा गर्ने कुरा पनि सँगसँगै छँदै छ ।’

बाल्यकालदेखिकै गीतिरुझान

बाल्यकालदेखि नै उनमा गीत–लेखनको रुचि थियो । कलिलो उमेरमा रेडियोमा बजेका गीत सुनेकै भरमा आफूले पनि गीतको खाका तयार पारेको प्रतिमा सम्झन्छिन् । ‘सानैदेखि गीत–सङ्गीतमा लगाव थियो । गीत–सङ्गीत अलि धेरै नै सुन्थें । पुराना–पुराना गीत सुन्दा निकै आनन्दानुभूति हुन्थ्यो त्यो समयमा मलाई,’ बाल्यकालका अनुभूति शेयर गर्दै होलिस्टिकसँग उनले भनिन्– ‘आफूले पनि यस्तै गीत रचना गरेर श्रोताहरूमाझ ल्याउन पाए हुन्थ्यो भनेजस्तो लाग्थ्यो । पछि–पछि त गीत–सङ्गीतमा अझै झुकाव बढ्न थाल्यो । सोही क्रममा यस क्षेत्रमा लागियो ।’

उनका अनुसार गीतले श्रोताको मन–मुटु छुनुपर्छ र अन्तष्करणमा बास गर्ने सामथ्र्य राख्नुपर्छ । आफ्नो रचनाले धेरैभन्दा धेरै श्रोताको मन छोओस् भन्ने चाहना हरेक गीतकारमा हुने गुरुङको भनाइ छ । कुनै गीत सुनेपछि श्रोताले त्यो कहिल्यै नभुलोस् भन्ने प्रतिमालाई लाग्छ । ‘रमाइलोपनमा होस् या दुःखको क्षणमा नै किन नहोस्, गीत–सङ्गीत त आनन्द तुल्याउनले खालकै हुनुपर्छ र होस् भन्ने लाग्छ मलाई’– उनको भनाइ छ ।

गीतलेखनमै जीविका सम्भव

‘गीत लेखेर नै जीविका चलाउन त निकै कठिन हुन्छ भनेर थुप्रै गीतकारहरूले भन्ने गरेको मैले विभिन्न सञ्चार माध्यमबाट पटक–पटक सुनेकी छु,’ उनी भन्छिन्– ‘नेपाली गीतकारहरूले त गीत लेखेकै पारिश्रमिकबाट जीविका चलाउन सकिँदैन भन्ने गरेका छन् । कतिपयले गीतलाई व्यावसायिकरूपमा लिएका छन् भने कति सौखिन मात्र देखिन्छन् । तर, म भने गीत लेखेरै आफ्नो र परिवारको जीवन चलाउन सकिन्छ भन्ने कुरामा प्रष्ट छु ।’

गीत लेखेरै जीविका चलाउन सकिने तर गीतमा भने निरन्तर नयाँपनचाहिँ हुनैपर्ने कुरामा उनको जोड छ । ‘गीतकार प्रतिभावान् हुनुपर्‍यो, नयाँ–नयाँ खोज गर्न सक्ने, श्रोताहरूलाई एक्स्ट्रा चिजहरू दिन सक्ने खालको हुनुपर्‍यो,’ प्रतिमा भन्छिन्– ‘त्यसो भयो भने यही कर्म गरेर अवश्य नै बाँच्न सकिन्छ । यदि यति हुन सकेन भनेचाहिँ गाह्रो छ ।’

पछिल्लो समय गीत–सङ्गीतमा आउन थालेको ‘छाडापन’ ले भने नेपाली गीत–सङ्गीतको क्षेत्रलाई नै केही हदसम्म धक्का पुर्‍याएको मससुस उनले गरेकी छन् । यस्ता ‘विकृति’ ले समाजमा नकारात्मक असर पार्ने उनी बताउँछिन् । गीत लेखेरै जीविका चलाउन सकिन्छ भन्दैमा जस्तो पायो त्यस्तो गीत लेख्नु नहुने र ‘भाइरल’ बन्ने लोभका पछाडि लाग्नु नहुने उनको सुझाव छ ।

‘विकृति त नेपाली गीत–सङ्गीत क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा छन् । तर, कसरी सुधारेर राम्रा गीत–सङ्गीत श्रोताहरूलाई दिने भन्ने कुरामा स्रष्टाहरूले ध्यान दिनुपर्छ,’ उनी भन्छिन्– ‘अश्लील शब्द प्रयोग भएका र परिवारसँगसँगै बसेर सुन्दा सुन्ने नसकिने खालका गीत–सङ्गीतलाई त सम्बन्धित निकायले नियन्त्रण गर्नुपर्छ; सरोकारवाला पक्ष र समाजले नै खबरदारी गरेर, नीति–नियम बनाएर त्यसको पालना गर्ने संस्कार बसालियो भने त अवश्य नै सुधार हुन्छ भन्ने मलाई लाग्छ । यत्तिकै छाड्यो भनेचाहिँ भोलिका सन्ततिले कुन गीत सुन्लान् भन्ने कुरा चिन्ताको विषय बनेको छ ।’

गीतियात्रा र पारिवारिक भरथेग

घरपरिवारको साथ र सपोर्ट भएन भने कुनै पनि काम गर्न र चाहेको स्थानमा पुग्न कठिन हुन्छ । जुनसुकै काम गर्न र सफलता हात पार्न परिवारको सहयोग एकदमै जरुरी हुन्छ । आफूलाई घरपरिवारको पूरै सपोर्ट रहेको गीतकार प्रतिमाले सुनाइन् । ‘म गीत रचना गर्छु अनि बजारमा, दर्शक–श्रोतामाझ पुर्‍याउँछु,’ उनी भन्छिन्– ‘राम्रो गरेकी छस्, अझै राम्रो गर् भन्ने घरपरिवारको कुरा हुन्छ । मेरो त परिवार नै पहिलो श्रोता हो । यो कर्ममा मलाई परिवारको पूरै सपोर्ट छ ।’ बाल्यकालमा आफूले गीत लेख्दा साथीभाइहरूले दिएको बधाई र हौसलाले आफ्नो प्रारम्भिक यात्रामा काफी सपोर्ट पुगेको उनको भनाइ छ ।

प्राप्ति र उपलब्धि

गीतलेखनयात्राकै क्रममा उनले दर्जनौ अवार्डहरू हात पारिसकेकी छन् । गीत–सङ्गीतमा लागेयताका उनका थुप्रै रचनाहरूले अवार्ड दिलाइसकेका छन् । उनले प्राप्त गरेको पहिलो अवार्ड ‘सगरमाथा म्युजिक अवार्ड’ थियो । त्यसपछि उनी ‘सर्वोत्कृष्ट महिला गीतकार पब्लिक च्वाइस अवार्ड’ समेत आफ्नै पोल्टामा पार्न सफल भइन् ।

तेस्रो अवार्डका रूपमा बोस्टर इन्टरटेनमेन्ट अवार्डमार्फत उनले ‘सर्वोत्कृष्ट पप गीतकार’ को अवार्ड पाइन् । पहिलो नेपाल आर्ट कल्चरल एन्ड म्युजिक अवार्डमार्फत ‘पपुलर गीतकार अफ द इयर’ अवार्ड पाएकी उनले त्यसपछि फेरि नवौं म्युजिक खबर म्युजिक अवार्डअन्तर्गत ‘सर्वोत्कृष्ट आधुनिक गीतकार अवार्ड’ प्राप्त गरिन् ।

रिबोन इन्टरटेनमेन्टको आयोजनामा राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान, २०७८ अन्तर्गत उनी ‘गीतकार तथा समाजसेवी सङ्गीतकर्मी सम्मान’ बाट पनि सम्मानित भइन् । यी सबै अवार्ड तथा सम्मानहरू गीत–सङ्गीतमा लागेर आफूले कमाएका अमूल्य सम्पत्ति भएको उनको भनाइ छ । आफूले पाएका अवार्ड र हौसलालाई आत्मसात् गर्दै, तिनको महŒव, गरिमा र इज्जतलाई कायम राख्दै र उँचो पार्दै नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ आयाम थप्न आफू कृतसङ्कल्पित रहेको उनले सुनाइन् ।

‘हामी नेपाली हौं; हाम्रो नेपाली मन नेपालीपन अटुट रहनुपर्छ,’ कुराकानीको बिट मार्दै होलिस्टिकसँग उनले भनिन्– ‘हामी भावनात्मकरूपले दयालु पनि हुनुपर्छ; अग्रजलाई सधैं सम्मान गर्नुपर्छ र अनुजलाई माया गर्नुपर्छ । नेपाली गीत–सङ्गीतलाई माया गर्नुपर्छ र नेपाली गीत–सङ्गीतको उचाई विश्वबजारमा प्रतिस्पर्धा गर्ने क्षमताका साथ उकास्नुपर्छ । सबैमा मेरो यही अनुरोध छ ।’