औषधिको जथाभावी प्रयोग र यौनक्रिडामा दुष्प्रभाव
प्रा.डा. दिनेश बाँस्तोला
आजकल औषधि र जीवन सँगसँगैजस्तो चलिरहने अवस्था देखिन्छ । परम्परागत जीवनशैलीमा आमूल फरक पर्दै गइरहेको देखिँदै छ । ‘आधुनिक’ जीवनशैलीसँगसँगै दिनप्रतिदिन औषधिको प्रयोग पनि बढिरहेकै छ ।
विशेषतः मुटुरोग, मानसिक रोग, रक्तचापको समस्याजस्ता अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । त्यसैगरी, मिर्गौला असफल, कलेजो प्रत्यारोपण, मुटुको खुला शल्यक्रियाजस्ता समस्यामा पनि नियमतिरूपले औषधिको सेवन गर्नुपर्ने हुन्छ ।
यस्ता कडाखाले रोग लागेको अवस्थामा कडा किसिमकै औषधिको प्रयोग गर्नुपर्ने हुँदा यौन उत्तेजनाको त कुरै छाडौं, सामान्य यौनेच्छा समेत नजाग्ने अवस्था निम्तन्छ । त्यो अवस्थामा यौन सम्पर्क टाढाको कुरा हुन्छ । यस्तो अवस्थामा यौनेच्छा जागृत भए त त्यसलाई ‘सौभाग्य’ नै मान्नुपर्ने हुन्छ ।
विभिन्न रोगको उपचारका निम्ति प्रयोग गरिने विभिन्न किसिमका औषधिले यौनमा नकारात्मक प्रभाव पार्दछन् । यस्ता औषधिले क्रिडाजन्य तथा सहायक हर्मनको उत्पादनमा नकारात्मक प्रभाव पार्ने भएकाले यौनेच्छा समाप्त पारिदिन्छन् । यौन हर्मन नै उत्पादन नभई यौनोत्तेजना तथा यौनचाहना उत्पन्न हुँदैन । यौनेत्तेजना नै नभएपछि यौन सम्पर्क कसरी सम्भव हुनु !
अतः औषधि सेवन गर्नुपूर्व निकै ख्याल गर्नुपर्छ । चिकित्सकको सल्लाह तथा परामर्शविना जथाभावी औषधि सेवन गर्नु हुँदैन । जुनसुकै रोगको औषधि भए पनि चिकित्सकको सल्लाह तथा परामर्शमा मात्र सेवन गर्नुपर्छ ।
चिकित्सकको सल्लाहविना औषधिको जथाभावी सेवनले एकातिर अनेकौं साइड–इफेक्ट हुन सक्दछन् र शारीरिक तथा मानसिकरूपमा विभिन्नखाले नकारात्मक असर पुर्याउन सक्दछन्; अर्कातिर, त्यसले यौन जीवनमा नकारात्मक प्रभाव पार्न सक्दछ । जथाभावी सेवन गरिने औषधिले सुखमय यौनजीवन र यौनानन्दबाट वञ्चित तुल्याउनुका सिङ्गै जीवनलाई नै पीडादायी गराइदिन सक्दछ ।
औषधिको जथाभावी प्रयोगले शारीरिक तथा मानसिकरूपमा नकारात्मक असर पार्ने जोखिम बढी नै हुन्छ । औषधिको साइड–इफेक्टस्वरूप शारीरिक तथा मानसिकरूपमा अस्वस्थ बन्न पुग्ने जोखिम हुन्छ । शारीरिक या मानसिक वा दुवै रूपमा अस्वस्थ भएमा यौनजीवनको कल्पना समेत टाढाको विषय बन्न पुग्नु स्वाभाविकै हो । यौनजीवन असहज वा असम्भव बनेको अवस्थामा यौनजोडीबीच तीव्र तनाव तथा झैझगडाको स्थिति उत्पन्न हुन सक्दछ ।
औषधिको नकारात्मक प्रभावका कारण महिला–पुरुष दुवैमा यौन दुर्बलता निम्तने जोखिम हुन्छ । जोडीमध्ये एकमा यौन दुर्बलता भएमा उक्त जोडीको यौनचाहना वा यौनेच्छा/यौनाकाङ्क्षा पूरा हुँदैन । यस्तो अवस्थामा जोडीबीच तनाव पैदा हुन्छ ।
सारतः शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहन र यौनचाहना तथा यौनशक्ति कायम राख्न समेत औषधिको जथाभावी सेवन गर्नु हुँदैन ।