बसाइ अमेरिका, एल्बम नेपाली: गोपीको साधना

भोलानाथ अधिकारी

कलिलै उमेरदेखि हास्यकला र गीतलेखनमा लागेका स्रष्टा हुन्, गोपी दाहाल । उनले सिर्जना गरेका दर्जनौ नाटकमा अभिनय गरेका गोपीद्वारा सिर्जित ‘चौंरीको छुर्पी’, ‘सनी–सनी’, ‘झिम–झिम परेली’, ‘प्रज्वल’ लगायतका दर्जनौ गीत स्रोतामाझ लोकप्रिय छन् । उनका गीतमा अभिनेतृ प्रियङ्का कार्कीदेखि पछिल्लो पुस्ताका चर्चित कलाकारसम्मले अभिनय गरिसकेका छन् ।

आफूले सिर्जना गरेका थुप्रै गीतहरू चर्चामा भए तापनि गीतकार भने सधैं ओझेलमा पर्नेगरेको गोपीको गुनासो छ । ‘मैले दर्जनौ गीतहरू लेखेर रेकर्ड गराएको छु तर म नै ती गीतको सर्जक हुँ भनेर दर्शक–श्रोतामाझ चिनाउन भने निकै मुस्किल पर्दोरहेछ ।’

मिलनसार स्वभावका गोपी गीत–सङ्गीत र कला क्षेत्रमै समर्पित हुने उद्देश्यका साथ क्रियाशील छन् । उनले आफूलाई गीतकारमा मात्र सीमित नराखी हास्यकलाकारका रूपमा समेत चिनाउने प्रयास गरिरहेका छन् । बाल्यकालदेखि नै अरुलाई हँसाउन माहिर गोपी भूटानको दागानामा जन्मेका हुन् । उनले आफ्नो बाल्यकाल भने नेपालकै मोरङस्थित शनिश्चरेमा भएको बिताए ।

कला र गलाले समाज परिवर्तनका निम्ति योगदान पुर्‍याउनुपर्ने मान्यता राख्दै आएका गोपीले स्कुले जीवनदेखि नै साहित्य–कलाका क्षेत्रमा कलम चलाए । त्यहीबेला उनले थुप्रै गीत र कविता लेखिसकेका थिए । किशोरावस्थादेखि नै हास्यव्यङ्ग्यमा समेत रुचि राख्दै आएका उनी हास्यव्यङ्ग्यकै शैलीमा चुट्किला सुनाएर साथीभाइहरूलाई हँसाउँथे ।

आफू त्यतिसाह्रो अब्बल नै नभए तापनि पढाइ भने ठीकठीकै रूपमा चल्दै आएको उनले होलिस्टिकलाई सुनाए । ‘म पढाइमा कहिल्यै प्रथम भइनँ तर लाजै हुने थरी थोरै अङ्क पनि कहिल्यै आएन,’ उनी भन्छन्– ‘तर स्कुले साथीभाइ तथा सर–मिसहरूलाई भने अनेक तरिकाले हँसाइरहन्थें, यो खुबी भने भने ममा त्यतिबेलैदेखि थियो ।’

उनका दाजु बालकुमार दाहालले सन् २००६ मा शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा नाटकसहितको सांस्कृतिक कार्यक्रमको संयोजन गरे । उक्त कार्यक्रममा गोपीले हास्यकलाकारको भूमिका निभाउने अवसर पाए । त्यस नाटकमा उनले प्रयोग गरेको ‘गुरू’ र ‘चुइङ्गम’ थेगो निकै चर्चित बने । यिनै थेगोमार्फत गोपीले पनि निकै चर्चा कमाए ।

करिव साढे दुई हजार विद्यार्थी र सय जनाजति शिक्षक–शिक्षिका भएको ‘न्यु होराइजन एकेडेमी’ स्कुलमा त गोपी ‘फेमस’ नै भए । तिनै थेगो उच्चारण गर्दै सबैले उनलाई गिज्याउन थाले । अरुले गिज्याए पनि गोपीलाई भने कुनै अप्ठ्यारो लागेन, केही गुनासो रहेन । दाजुका कारण पाएको भूमिकामा गोपीको प्रस्तुतिलाई धेरैले जिस्क्याएपछि अर्को पटकदेखि भने नाटकमा त्यस्तो भूमिका दिनै छाडियो ।

‘त्यो नाटकमा मलाई दिइएको कमेडी भूमिका निकै चर्चित बन्यो र मलाई धेरैले गिज्याउन पनि थाले; त्यसपछिका दिनमा भने दाजुले मलाई कमेडी कलाकारको भूमिका नै दिनुभएन,’ त्यसबेलाको स्मृति शेयर गर्दै उनी भन्छन्– ‘त्यसपछि त दाजुले मलाई साधारण खालको भूमिका मात्रै दिन थाल्नुभयो; सायद सबैले गिज्याए भनेर नै हास्य–भूमिकाबाट दाजुले मलाई बाहिर निकालिदिनुभएको होला ।’

दाजुकै प्रेरणा पाएर अभिनय–यात्रामा होमिएका गोपीले शरणार्थी शिविरमा प्रस्तुत हुने नाटकहरूमा झण्डै आठ वर्षसम्म अभिनय गरिरहे । उनी आफैं पनि नाटक लेख्थे र अत्यन्तै खुलेर हरेक किसिमका कथा र पात्रअनुसार भूमिका निभाउँथे । नाटकमा अभिनय गर्दागर्दै बिस्तारै उनले दाजुको लय समाउन थाले । त्यसपछि उनी लेखक र निर्देशक समेत बने । दर्जनौं नाटकमा सफलतापूर्वक विभिन्न पात्रको भूमिका निर्वाह गरेका उत्तिकै सङ्ख्यामा नाटकको लेखन र निर्देशन पनि गरे ।

उनी नाटकका पात्र र अभिनेता मात्र होइनन्, नक्कलकर्ता समेत हुन् । उनले अनेकौं चर्चित व्यक्तित्वहरूको क्यारिकेचर समेत गरे । हँसाउन खप्पिस रहेका गोपी आफूले कुनै चलचित्र हेरेका दिन सोही चलचित्रका पात्रहरूको आवाज दुरुस्तै उतारिदिएर सबैलाई चकित पारिदिन्थे ।

गोपीले नेपाल भने छाडिसकेका छन् । अहिले उनी अमेरिकाको ओहायो राज्यअन्तर्गत सिन्सिनाटी सहरका स्थायी वासिन्दा बनिसकेका छन् । परदेशमै रहे तापनि नेपाली गीत–सङ्गीत र कला–साहित्यको भने माया मारेका छैनन्, यसप्रतिको लगाव र जाँगर घटाएका छैनन् । उतै बसेर पनि नेपाली स्रोता–दर्शकमाझ गोपीले आफ्ना सिर्जना निरन्तर पस्किरहेका छन् ।

सात वर्षअघि एकल एल्बमका साथ स्रोता–दर्शकमाझ आएका गोपी यतिबेला फेरि अर्को एल्बम रिलिज गर्ने तयारीमा जुटेका छन् । गोपीकै एकल शब्दरचना र पछिल्लो समयका लोकप्रिय गीतकार–सङ्गीतकार राजनराज शिवाकोटीको एकल सङ्गीतमा यो एल्बम तयार भइरहेको उनको भनाइ छ । ‘उज्वल’ नाम दिइएको सो गीतिएल्बम नोभेम्बर, २०२२ मा सार्वजनिक गर्ने तयारी भइरहेको उनले सुनाए ।

गोपीको रचना र राजनराजको सङ्गीतमा तयार हुँदै गरेको ‘उज्वल’ एल्बममा राजेशपायल राई, रामचन्द्र काफ्ले, जुनु रिजाल र मिलन अमात्यको आवाजले सजिने भएको छ । सो एल्बममा भूटानी नवगायक लिला शिवाकोटी र नरेश गौतमको स्वर समेत समावेश हुने छ । यस एल्बमलाई अमेरिकास्थित सिन्सिनाटी सहरमा लोकार्पण गर्ने उनको तयारी छ ।