म्याक्सिम गोर्कीको अनौठो र अपत्यारिलो निधन

केदार सिटौला

समाजवादी यथार्थवादका प्रवर्तक महान् रुसी (सोभियत) लेखक म्याक्सिम गोर्कीको लेखनकला, क्षमता र विचारधारासँग संसारभरका कमै मात्र मानिस अपरिचित होलान् । अझ उनको ‘आमा’ उपन्यास नपढ्ने त विश्वमै कोही कम्युनिस्ट नेता–कार्यकर्ता या समर्थक नहोला ।

गोर्कीको लेखन ‘आमा’ उपन्यासमा मात्र सीमित छैन । उनको आत्मजीवनीका त्रिग्रन्थ– ‘बाल्यकाल’, ‘मान्छेहरूको माझमा’ र ‘मेरो विश्वविद्यालय’ झनै उत्कृष्ट मानिन्छन् । जीवनको अन्त्यतिर उनले लेखेको चार भागमा विभाजित ‘क्लिम समागिमको जीवन’ लाई टोल्सटयको ‘युद्ध र शान्ति’ सँग तुलना गर्ने गरिन्छ । दुर्भाग्यवश गोर्कीले यो उपन्यासलाई भने पूरा गर्न सकेनन् ।

रुसको निझ्नी नेभगोरोड भन्ने स्थानमा २८ मार्च (पुरानो पात्रोअनुसार १६ मार्च), १८६८ मा जन्मिएका हुन् म्याक्सिम गोर्की । उनलाई १९औं शताब्दीको अन्त्य र २०औं शताब्दीको सुरुआततिरै महान् रुसी लेखकहरू टोल्सटय र चेखबका समकक्षी मानिन्थ्यो । गोर्कीको जीवनका बारेमा धेरै कुरा लेखिए तापनि उनको मृत्युको अध्याय भने अझै पनि रहस्यमय र अस्पष्ट नै छ । गोर्कीको मृत्यु १९३६ मा भएको थियो ।

उनको मृत्युभन्दा दुई वर्षअघि (१९३४ मा) गोर्कीका छोरा म्याक्सिम पेस्कोभको अचानक मृत्यु भएको थियो । छोराको अचानक मृत्युले गोर्कीलाई ठूलो चोट पुगेको थियो । अन्ततः छोराको मृत्यु भएको दुई वर्षपछि नै गोर्कीको समेत निधन भयो ।

अन्तिम संस्कारमा सम्मानस्वरूप गोर्कीको शवलाई स्टालिन र मोल्तोभले बोकेका थिए । तर, उनको मृत्युको दुई वर्षपछि सोभियत नेता निकोलाई बुखारिनको सोभियत सत्ताविरोधी षड्यन्त्रको मुद्धाका क्रममा भने ट्रटस्कीवादीहरू र दक्षिणपन्थीहरूको गठबन्धनले गोर्कीको मृत्यु गराएको भनेर आरोप लगाइएको थियो ।

गोर्कीको ‘हत्या’ को आरोप विशेषगरी तत्कालीन एनकेभीडी (केजीबी) का प्रमुख गिनरिक यगोडामाथि लगाइएको थियो । यो ट्रायलका क्रममा यगोडाले गोर्कीको हत्या गर्न आदेश दिएको स्वीकार गरेका थिए । यगोडाले गोर्कीको ‘हत्या’ कसरी गरेका थिए भनेर स्टालिनका अङ्गरक्षक एटी रेबिनले विस्तारपूर्वक उल्लेख गरेका छन् ।

गोर्कीलाई भेट्न यगोडा एक दिन उनको घर पुगेका थिए । त्यहाँ गोर्की र यगोडाबीच रातभरि (करिव बिहानको ४ बजेसम्म) भेटघाट र खानपिन चलेको थियो । त्यस क्रममा यगोडाका साथीहरूले विभिन्न बोतलहरूबाट पेय पदार्थहरू निकालेर कक्टेलहरू बनाइरहेका थिए । यसरी बनेको मादक पदार्थ पिएपछि गोर्की पूरै मात्तिएका थिए । पूरा मात्तिएपछि गोर्कीलाई यगोडा र उनका साथीहरूले घरबाहिरको हिउँमा छाडिदिए । गोर्की रातभर हिउँको चिसोमा लडिरहे ।

त्यस रातपछि गोर्कीलाई निमोनिया भयो । त्यही निमोनिया नै अन्ततः गोर्कीको मृत्युको कारण बन्यो । गोर्कीको ‘उपचार’ पनि यगोडाकै इशारामा चल्ने चिकित्सकहरूले नै गरे । आखिरमा तिनै चिकित्सकहरूले नै गोर्कीलाई मृत्युको मुखसम्म् पुग्न ‘सहयोग’ पुर्‍याएका थिए भन्ने विश्वास गरिन्छ ।

गोर्कीको मृत्युबारे एउटा प्रश्न सधैं उठ्ने गर्छ– के यगोडा मात्रैले गोर्कीलाई ‘मार्ने’ षड्यन्त्र गरेहोलान् त ? उनीभन्दा ‘माथि’ अरु कोही पनि त्यस काममा सङ्लग्न त थिएनन् ? तर, एउटा कुराचाहिँ निश्चित छ कि गोर्कीको मृत्यु प्राकृतिक वा स्वाभाविकरूपमा भने भएकै थिएन ।