कुरूपताबोध र सुन्दरताप्रेम
गम्भीर मानसिक रोग
गोपाल ढकाल
आफ्नो नाक बाङ्गो भएको पीडा पोख्दै २८ वर्षीया दीपा पुन निकै चिन्तित छिन् । बाल्यकालमै लडेर नाकमा चोट लागे पनि उनको नाकमा अहिले खासै समस्या छैन । यद्यपि, उनलाई अहिले एउटै कुराले पिरोलिरहन्छ– ‘मेरो नाक कुरूप छ ।’
त्यसैले उनी मान्छेका अगाडि पर्नै चाहँदिनन्; कसैका आँखामा आँखा जुधाएर कुरा गर्नै सक्दिनन्; आफूलाई कसैले हेर्यो भने पनि अप्ठ्यारो महसुस गर्दछिन् र अर्कैतर्फ फर्केर हिँड्छिन् । उनी सकेसम्म कसैसँग कुरा गर्नु नपरोस् र कसैलाई भेट्नु पनि नपरोस् भन्ने चाहन्छिन् । त्यसैले उनी प्रायः कसैकहाँ जाँदिनन्; भोज–भतेर, पार्टी कहीं–कतै सहभागी पनि हुन्नन् ।
उनको यस्तो व्यवहार देखेर कतिले त उनलाई घमण्डी भन्छन्, ठूली पल्टेको ठान्छन् र कतिले त ‘पागल भई’ सम्म पनि भन्ने गरेका छन् । १६ वर्षे उमेरदेखि नै उनी ‘मेरो नाक बाङ्गो र कुरूप छ त्यसैले म राम्री छैन’ भन्ने सोचबाट प्रभावित हुँदै आएकी छन् । यही चिन्ताका कारण मनमा कुरा खेल्ने, रिँगटा लाग्ने, डर लाग्ने, चिन्ता लाग्ने, छटपटी हुने, निराश हुने, रुन मन लाग्ने, मुटु ढुकढुक हुने, टाउको दुख्ने र आत्महत्याको सोचसम्म आउनेजस्ता समस्या उनमा देखेपरेका छन् ।
००० ००० ०००
ललितपुर बस्ने २० वर्षीय कृष्ण श्रेष्ठ प्रायः घरमै मात्र बसिरहन्छन् । बाहिर कहीं जानुपर्यो भने रात परेपछि मात्र निस्कन्छन् । पढ्दा–पढ्दै बीचैमा पढाइ छाडिदिए उनले ।
कृष्णलाई पनि एउटै कुराले सताउने गर्छ; उनी भन्छन– ‘मेरो अनुहार राम्रो छैन, अनुहारभरि डन्डिफोर र दागैदाग छ; अरुले के भन्लान् भनेर लाज लाग्छ ।’
तर, उनले भनेजस्तो उनको अनुहारमा खासै नराम्रो र खराबी केही पनि देखिँदैन । केवल कृष्णकै मनले मात्र देखिरहेको छ उनको अनुहारका खराबीहरू ।
०० ००० ०००
अहिले एमए पढ्दै छन् २५ वर्षीय पवन शर्मा । आफू पातलो (दुब्लो) भएकामा ज्यादै नै चिन्ता लाग्ने गरेको बताउँछन् उनी । मोटाउन भनेर अनेक उपाय खोज्दै धेरै ठाउँमा पुगिसके उनी ।
पातलो जिउ भएकाले आफू केटाकेटीजस्तो देखिन्छु भन्ने लाग्छ पवनलाई । विवाह गर्ने उमेर भो, केटीले मनै पो नपराउने हुन् कि भन्ने चिन्ताले समेत दिनरात सताउने गरेको छ उनलाई । तर, पवनको शरीर पनि उनले भनेजस्तो कुरुप या आकर्षणविहीन पटक्कै देखिँदैन ।
००० ००० ०००
म शारीरिकरूपमा सुन्दर तथा आकर्षक छैन, शारीरिक बनावट राम्रो छैन, म सधैं नराम्रो/नराम्री नै देखिन्छु, मेरो शरीरको कुनै भाग या अङ्ग बाङ्गो छ, बिग्रेको छ, मिलेको छैन भन्ने निरन्तर महसुस भइरहनु वा शरीरको कुनै भाग या अङ्गको सामान्य खराबीलाई लिएर वास्तविकभन्दा निकै कुरूप छु भनीठान्नु यथार्थतः एक प्रकारको मानसिक रोग हो । यस रोगलाई शारीरिक कुरूपता विकार (बडी डिस्मर्फिक डिसअर्डर) भनिन्छ । यस रोगबाट पीडितहरूले सधैं नै आफ्नो शरीरको आकार, रङ, तौल, उचाई वा एपिएरेन्ससँग सम्बन्धित ‘कमीकमजोरी’ बारे सोचिरहन्छन् ।
लक्षण तथा थप समस्या
बढी नै सोच्ने भएकाले यस्ता मानिसहरू स्ट्रेस वा डिप्रेसनको समेत शिकार हुने गर्दछन् । उनीहरू आफैंप्रति ‘लज्जित’ महसुस गर्दछन् । यतिसम्म कि यस्ता मानिसहरू अरुसँग भेटघाट गर्न वा सामाजिक गतिविधिमा सहभागी हुन समेत हिच्किचाउँछन् । बडी डिस्मर्फिक डिसअर्डरद्वारा ग्रस्त यस्ता मानिसहरू बारम्बार ऐनामा हेर्छन् र ‘सुन्दर’/‘सुन्दरी’ देखिनका लागि निकै सयम, स्रोत–साधन र सम्पत्ति बर्बाद पार्दछन् ।
यस रोगबाट पीडित व्यक्तिहरू आफू र आफ्नो शारीरिक संरचना या आफ्ना अङ्गहरूप्रति ज्यादै समवेदनशील हुने गर्दछन् । यस्ता मानिसहरू आफूमा कमी नै कमी मात्र रहेको महसुस गर्दछन् । आफ्नो ‘लुक्स’ प्रति निधै असहज महसुस गर्दछन् । यसो हुँदा उनीहरूको स्वास्थ्य र दिनचर्या दुवै खराब हुन्छन् । सबै कुराको ‘ट्राई’ गर्दा समेत आफ्नो ‘लुक्स’ र ‘पर्सनालिटी’ सँग उनीहरू सन्तुष्ट हुँदैनन् । अत्यधिक डिप्रेसनका कारण उनीहरूले स्वयम् वा अरुहरूलाई समेत गम्भीर क्षति पुर्याउन सक्दछन् ।
यस्ता व्यक्तिहरू शरीरमा सामान्य घाउचोट लाग्यो या दाग आयो भने पनि त्यसलाई ठूलो सम्झने, आफ्नो शारीरिक स्वरूपलाई लिएर लज्जाबोध गर्ने गर्दछन् । युवतीहरूमा मुख्यतः नाक बाङ्गो, चुच्चो, ठूलो छ; आँखा साना छन्; ओठ मिलेका छैनन्; शरीरमा रौं नै रौं छ या रौं हुनुपर्ने ठाउँमा छैन; कपाल राम्रो छैन, झरेको छ, पातलो छ; छालामा नसैनसा छन्; स्तन सानो वा ठूलो छ; होची र मोटी छु भन्नेजस्ता भावना आउने गर्छन् । पुरुषहरूमा भने माङ्सपेशीको बनावट र आकारलाई लिएर चिन्ता लाग्ने या व्यक्त हुने गर्दछ ।
प्राय: १५ देखि ३० वर्षको उमेरसमूहमा यो समस्या देखिने गरेको छ । र, पुरुषभन्दा महिलाहरूमा नै यो समस्या बढी देखिएको पाइन्छ । प्रायः अविवाहितामा यो समस्या अझ बढी देखिन्छ । किशोरावस्थामा पुगेपछि किशोर–किशोरीहरू आफ्नो शरीर र शारीरिक परिवर्तनप्रति बढी नै समवेदनशील हुन्छन् । शारीरिक कारणले अरुबाट अपहेलित वा लज्जित हुनुपर्ला कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गर्छ । आफ्नो शरीरप्रति बढी नै समवेदनशील हुँदा वा चासो राख्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।
यो रोगबाट पीडितहरू आफूलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने तरिकाको खोजीमा तल्लीन रहन्छन् । श्रृङ्गारमा धेरै समय लगाउँदा पनि आफूमा कमीकै महसुस गरिरहन्छन् । बढी मेकअफ गर्ने, कपालको कलर र स्टाइल परिवर्तन गरिरहने, गेटअपको माध्यमद्वारा सुन्दर हुन प्रयास गर्ने, म कस्तो दखिएको/देखिएकी छु भनेर बारम्बार अरुलाई सोध्ने, कपडा बारम्बार बदल्ने, स्टाइल, मेकअप वा कपडाले आफ्नो ‘कमजोरी’ लुकाउन कोसिस गर्नेजस्ता व्यवहार उनीहरूले गर्दछन् ।
शरीर मोटो भयो भनेर भोकै बस्ने वा अति धेरै शारीरिक व्यायाम गर्ने, आफ्नो छालालाई छोइरहने र कपाल मिलाइरहने, बारम्बार ऐना हेर्ने, आफू मोटो वा पातलो भएकामा चिन्ता गरिरहने, आफूमा केही न केही कमी भएको महसुस गरिरहने, अरुले राम्रो/राम्री देखिएको छ, सुन्दर छौ भन्दा पनि विश्वास नगर्नेजस्ता व्यवहारहरू उनीहरूले देखाउने गर्दछन् । अरुले उसको/उनको शारीरिक बनावटबारे कुनै टीका–टिप्पणी गरिरहेको, मजाक उडाइरहेको जस्तो लाग्छ– उनीहरूलाई सधैं । आफ्नो मजाक उडाइने हो कि भन्ने डरले कतै जान मन नपराउनु, आफू पनि अरुजस्तै छ कि छैन भनेर तुलना गर्नु, आफूलाई अरुले स्वीकार गरून् भन्ने चाहना राखिरहनु, साथी वा परिवारको नकारात्मक ‘कमेन्ट’ बारे लगातार सोचिरहनु र आफूलाई अरुको दृष्टिकोणले हेरिरहनु पनि उनीहरूको दिनचर्या र स्वभाव नै बनेको हुन्छ ।
यो रोगसँग अरु मानसिक स्वास्थ्य समस्या पनि जोडिएर आउँछ । यो समस्याबाट प्रभावित झन्डै ९० प्रतिशत व्यक्तिहरू आफ्नो जीवनकालमा डिप्रेसनबाट प्रभावित हुने गरेका छन् भने झन्डै ७० प्रतिशतले डर–चिन्ताको समस्या (एन्जाइटी) को अनुभूति गर्ने गर्दछन् । यो रोगबाट प्रभावित हुनेहरूमा आत्महत्याको प्रयास गर्ने, नसालु तथा लागू पदार्थको सेवन गर्ने, खानासम्बन्धी समस्या देखिने, विचार र व्यवहार पटक–पटक दोहोरिने (ओसीडी) जस्ता समस्या समेत देखिन सक्दछन् ।
बडी डिस्मर्फिक डिसअर्डर: कारण र समाधान
यो रोग यसैकारण लाग्दछ भनेर सोझै भनिहाल्न सकिँदैन । तर, वंशाणुगत, वातावरणीय पक्ष, संस्कृति, बाल्यकालमा भोगको दुर्व्यवहार, शोषण, तनाव, डर, डिप्रेसन, मस्तिष्कको संचरनामा आएको परिवर्तन, मस्तिष्क रोग, मस्तिष्कमा रासायनिक तत्वको प्रभाव आदि कारणले यो रोग लाग्न सक्दछ ।
पछिल्लो समय बढेको धेरै ‘सेल्फी’ खिँच्ने र सोसल मिडियामा प्रचार गर्नेजस्ता प्रचलन/व्यवहारका कारण पनि यो रोग बढ्दै गएको देखिन्छ । बाल्यकालमा वरिपरिका मानिसहरूका कारण आफू पनि सुन्दर देखिनैपर्ने दबाब महसुस गर्दा र अरुहरूले जिस्काउँदा पनि यो समस्या हुने गर्दछ ।
‘बडी सेमिङ’ झेलेका व्यक्ति स्ट्रेस र डिप्रेसनको शिकार हुने गर्दछन् । यसले बडी डिस्मर्फिक डिसअर्डर (बीडीडी) जस्तो रोग निम्त्याउन ठूलै भूमिका खेल्दछ । बडी सेमिङ भनेको यस्तो अभ्यास हो, जसमार्फत् मानिसले कसैको शरीरको आकार, तौल, रङ वा एपिएरेन्समाथि ‘क्रिटिकल कमेन्ट’ गरिन्छ वा त्यसको मजाक उडाइन्छ । युवतीहरू तथा किशोरकिशोरीहरूलाई मोटे/मोटी, काले/काली, नेप्टे/नेप्टी, डल्ले/डल्ली, घोडानाके, ओठे आदिजस्ता उपनामले बोलाउने र जिस्काउनेजस्ता व्यवहार गर्दा उनीहरूको मस्तिष्कमा त्यही कुराको छाप पर्न जान्छ । यसो हुँदा उनीहरू आफ्नो शरीरका कुनै भाग या अङ्गलाई लिएर बढी समवेदनशील हुन्छन्, सोच्न र चिन्ता गर्न थाल्दछन् । परिणामतः बिस्तारै यो समस्या रोगका रूपमा विकसि हुन थाल्दछ ।
महिलाहरूको शारीरिक सुन्दरतालाई उनीहरू स्वयम्, समाज र बजारले बढी महत्व दिने कारणले पनि यो रोग तुलनात्मकरूपले महिलाहरूमा नै बढी लाग्ने गरेको पाइन्छ । धेरैलाई यस्तो रोग त हुन्छ र आफैंले पत्तो नपाएको पनि हुन सक्छ । घरपरिवारका सदस्यहरूले उसका÷उनका असामान्य व्यवहारका माध्यमबाट रोगको पहिचान गर्न सक्दछन् । आफ्नो शारीरिक सुन्दरताका लागि धेरै खर्च गर्ने, साथीभाइ–घरपरिवारका सदस्यहरूसँग पनि टाढा हुन खोज्ने, पढाइ र काम छाड्नेजस्ता व्यवहारबाट यस रोगबाट पीडितहरूको व्यक्तिगत, सामाजिक र व्यावसायिक जीवनमा असर पुग्दछ । शरीरको कुनै भाग या अङ्गलाई सुन्दर बनाउने ध्याउन्नमा उनीहरू कस्मेटिक वा प्लास्टिक सर्जरी गर्न समेत पुग्दछन् । तर, त्यो त्यति प्रभावकारी हुँदैन । त्यसो गर्दा समेत ‘म राम्रो/राम्री छैन’ भन्ने उनीहरूको सोच नहटाउन सक्छ ।
यस रोगबाट छुटकारा दिलाउन मनोपरामर्श र साइकोथेरापीका विधिहरू प्रभावकारी हुन्छन् । कतिपय अवस्थामा औषधिको पनि आवश्यकता पर्न सक्दछ । यो रोग लागेकाहरूमा आउने सोचाइ वास्तविक होइन र यस्तो सोच आउनु भनेको रोगकै लक्षण हो भन्ने कुरा उनीहरूलाई बुझाउन सक्नुपर्छ । यस रोगबाट बच्न आफैंलाई प्रेम गर्नुहोस् र नकारात्मक सोचबाट टाढा रहनुहोस्, आफूलाई अरुसँग तुलना गर्नबाट जोगिनुहोस्, आफूमा सकारात्मक पक्ष खोज्ने कोसिस गर्नुहोस्, साथीहरूसँग रमाइलोसँग समय बिताउनुहोस्, केही नयाँ कला सिक्नुहोस् र रुचिका किताब पढ्नुहोस् ।
यो रोग लागेपछि घरपरिवारको भूमिका महत्वपूर्ण हुन्छ । आवश्यक परे साइकोलोजिस्ट र साइकोथेरापिस्टको समेत सल्लाह लिनुपर्छ ।
मार्क नेपाल मनोसेवा केन्द्रका संस्थापक ढकाल मनोविद् हुन्