पोषिलाे बालआहार

आवश्यक सामग्री र बनाउने विधि

डा. ईश्वर सुवेदी

जन्मेदेखि छ महिनासम्म बच्चालाई सामान्यतः आमाको दूध मात्रैले आहार र पोषण पुग्दछ । बच्चालाई पुग्ने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा प्रशस्त मात्रामा हुन्छन् । छ महिना नाघेपछि भने बच्चालाई आमाको दूधमा भएका पौष्टिक तत्वहरूले मात्र नगुग्ने भएकाले आमाको दूधको साथसाथै थप पोषिला र ठोस पदार्थहरू सेवन गराउनु जरुरी हुन्छ ।

बच्चा छ महिनाको हुँदा जन्मँदाको भन्दा दोब्बर वा सोभन्दा बढी तौल हुन्छ । बढ्दो शारीरिक तथा मानसिक अवस्थाको सन्तुलन र विकासका लागि कम्तिमा दुई वर्षसम्म आमाको दूधका साथसाथै अन्य नरम, स्वच्छ, गिलो, ताजा र सफा खाने कुरा खुवाउनु पर्छ ।

बच्चा पाँच या छ महिना पुगेपछि पास्नी गर्ने हाम्रो प्रचलन छ । पास्नी गरेपछि बच्चालाई अन्न, गेडागुडी या अन्य खाद्य पदार्थका परिकार बनाएर खुवाई अन्नप्राशन गर्ने चलन छ । यही ठोस वा जाउलोलाई बालआहार वा पोषिलो लिटो या पोषिलो जाउलो भनेर बुझिन्छ ।

पोषिलो जाउलो भनेको अन्न, गेडागुडी र तरकारीहरू मिसाएर बनाइएको नरम खाना हो । पोषिलो लिटो भन्नाले सर्वोत्तम पिठोको लिटो भन्ने बुझिन्छ । फापर, उवा, चामल, गहुँ, मकै, कोदो, चिनो, कागुनो, आदिजस्ता स्थानीय तहमा पाइने अन्न र भट्मास, चना, केराउ, बोडी, मुगु, बकुल्ला आदिजस्ता गेडागुडीहरूबाट पनी घरमै सर्वोत्तम पिठो सजिलैसित बनाउन सकिन्छ ।

यस्ता अन्न र गेडागुडीलाई उचित अनुपात (२ भाग अन्न र १ भाग गेडागुडी) मा तौलेर बेग्लाबेग्लै भुटी मिसाउन सकिन्छ । सजिलोसँग पचाउन सकिने प्रोटिनका हिसाबले गेडागुडीमा भटमासको प्रयोग बालआहारका लागि उत्तम मानिन्छ । भटमास आफैं नै सबै कुरामा सन्तुलित छ । यसमा ४०–५०% प्रोटिन, २०% चिल्लो, ३५% कार्बोहाइड्रेड र ६% खनिज पदार्थ पाइन्छ ।

आमाको दूधलाइ प्रतिस्थापन गर्न बालआहारका नाममा बजारमा विभिन्न ब्राण्डका शिशु दुग्ध आहारहरू (इन्फ्यान्ट मिल्क फुड) र शिशु आहार (इन्फ्यान्ट फुड) आदिजस्ता सामग्री व्यापकरूपले बिक्रीवितरण गर्ने गरिएको पाइन्छ ।

सामान्यतः ‘शिशु दुग्ध आहार’ भन्नाले गाई वा भैंसी या दुवैको दूधको सम्मिश्रणलाई स्प्रे ड्राइङ गरी चिनी, डेक्स्ट्रोज, ल्याक्टोज, माल्टोज वा डेक्स्ट्रिन तथा अन्य खनिज पदार्थ र भिटामिनहरू समेत थपेर तयार पारिएको सरकारले तोकेबमोजिमको गुणस्तरयुक्त खाद्य पदार्थ भन्ने बुझिन्छ । त्यस्तै, ‘शिशु आहार’ भन्नाले आमाको दूधको अभावमा बाह्र महिनासम्मको शिशुका लागि गाई वा भैंसी या दुवैका दूधको सम्मिश्रणलाई स्प्रे ड्राइङ गरी तयार पारिएको खास किसिमको पोषिलो र खुराकयुक्त खाद्य पदार्थ भन्ने बुझिन्छ । यसमा पनि चिनी, डेक्स्ट्रोज, ल्याक्टोज, माल्टोज वा डेक्स्ट्रिन र अन्य खनिज पदार्थ तथा भिटामिनहरू थप्न सकिन्छ । तर, यसमा भने पिठोजन्य वस्तु (स्टार्च) थप्न पाइँदैन । अतः यो घरेलु बालआहार वा लिटोभन्दा पृथक छ ।

सन्तुलित बालआहारमा अत्यावश्यक तत्वहरू र तिनको मात्राबारे बुझ्न निम्न तालिका हेरौं–

क्र.स. पौष्टिक तत्व (प्रति १०० ग्राम) मात्रा
१. प्रोटिन २२ ग्राम
२. कार्बोहाइड्रेड ७४ ग्राम
३. शक्ति ४४७ क्यालोरी
४. चिल्लो पदार्थ ७ ग्राम
५. आइरन (फलाम तत्व) १५ मिलिग्राम
६. क्याल्सियम १३५ मिलिग्राम
७. फस्फोरस १५५ मिलिग्राम

स्रोत: पोषण प्रयोगशाला

बालआहार बनाउन चाहिने सामग्री

१. अन्न
फापर, उवा, चामल, गहुँ, मकै, कोदो, चिनो, कागुनो आदि ।

२. गेडागुडी
भट्मास, चना, केराउ, बोडी, मुगु, बकुल्ला आदि । टुसा उमारी सुकाएपछि टुसा फालेर गेडागुडीलाई भुटेपछि मिसाउँदा बालआहार अझ बढी पोषिलो र पचाउन सकिने खालको हुन्छ ।

३. अन्य (अतिरिक्त र स्वेच्छिक सामग्रीहरू)
ड्राइ फुड । जस्तै– काजु, बदाम, दूध पाउडर, फल पाउडर, चिनी आदि ।

बच्चा छ महिना पुगेपछि नरम, गिलो, स्वच्छ, ताजा र सर्वोत्तम पिठोजस्ता पोषिला लिटोबाट ठोस आहार खुवाउन सुरु गर्नुपर्छ । सर्वोत्तम पिठोलाई उम्लेको पानीमा थोरै घिउ र चिनी राखी राम्ररी फिटेर नरम तथा गिलो हुने गरी तयार पारिएको लिटोलाई सुरु–सुरुमा १ वा २ चम्चा हुँदै पछि–पछि बिस्तारै मात्रा बढाएर खुवाउनु पर्दछ ।

सुरुमा बालआहार खुवाउने बानी बसाल्न गाह्रो हुने भएकाले बच्चालाई भोक लागेको बेला बुझेर मात्र खुवाउनु पर्दछ । बच्चाको उमेरअनुसार आवश्यक परिमाणमा लिटोका रूपमा वा हलुवाका रूपमा सफा भाँडामा तयार पारेर दिनको तीन–चार पटक खुवाउनु पर्दछ । छ महिना पछिका बच्चाहरूलाई ठोस आहारमा तरकारी र सागपात समेत समावेश गरी जाउलो बनाएर खुवाउन सकिन्छ । बच्चाको उमेरअनुसार पाकेका फलफूलका रस पनि खुवाउन सकिन्छ ।

बालआहारमा हरिया सागपात, तरकारी, फलफूलको रस, माछा, मासु, अण्डाजस्ता पोषिला खाने कुराहरू पनि मिसाएर खुवाउन सकिन्छ । बालआहार बनाउँदा र खुवाउँदा हात र भाँडाकुँडालाई साबुन–पानीले राम्रोसँग सफा गर्नुपर्छ ।
बिरामी बच्चाहरूलाई बालआहारमा भन्दा बढी आमाको दूधमा नै जोड दिनुपर्छ । स्वस्थ्य भएपछि फेरि साविककै बालआहार खुवाउन सकिन्छ । बालआहारमा बच्चाको शारीरिक र मानसिक विकासका लागि आवश्यक पर्ने प्रोटिन, शक्ति, भिटामिन तथा खनिज पदार्थ इत्यादि सबै तत्व पाइने हुनाले बच्चाहरूलाई कुपोषणबाट बचाउन यसको ठूलो महत्व हुन्छ ।

बालआहार बनाउने तरिका

१. अन्न र गेडागुडी लिने ।

क) अन्नहरू– फापर, उवा, चामल, गहुँ, मकै, कोदो, चिनो, कागुनो आदिमध्येबाट दुई भाग ।
ख) गेडागुडी– भट्मास, चना, केराउ, बोडी, मुगु, बकुल्ला आदिमध्येबाट एक भाग ।

२. अन्न र गेडागुडीलाई बेग्लाबेग्लै, राम्रोसँग केलाउने । कीरा, ढुसी परेका, ढुङ्गा–माटोलगायत सबै प्रकारका जैविक–अजैविक तŒवहरू हटाउने । एकपटक पखालेर घाममा सुकाए अझ राम्रो हुन्छ ।

३. राम्ररी केलाइसकेपछि कराई वा हाँडीमा बेग्लाबेग्लै भुट्ने, एकै ठाउँमा मिसाएर नभुट्ने । मिसाएर भुट्दा कुनै साना छिट्टै भुटिन्छन् र डढ्छन् भने कुनै ठूला काँचै रहन्छन् ।

४. भुटेको गेडागुडीलाई फेरि केलाउने ।

५. राम्रोसँग जाँतोमा पिँध्ने । बोक्राहरू माडेर फाल्ने । बोक्रा र भुत्ला फालिसकेपछि अन्न तथा गेडागुडीलाई जाँतोमा फेरि मसिनो हुने गरी पिँध्ने ।

६. मसिनो जालीमा राखेर छान्ने ।

७. यसरी प्राप्त मसिनो पिठोलाई बेग्लाबेग्लै तौलेर दुई भाग अन्न र एक भाग गेडागुडी हुने गरी मिसाउने ।

८. यसरी मिसाएर बनाइएको बालआहारलाई सफा एवम् सुख्खा बट्टा या पोलिथिन ब्यागमा हावा र पानी नछिर्ने गरी प्याक गरी भण्डारण गर्ने ।

विदेशबाट आयात गरिएका सेरेलेक्स, फेरेक्स, बाल अमूल आदिजस्ता विभिन्न किसिमका बालआहारहरू बजारमा खरिद गर्न पाइन्छन् । तर, तिनको धेरै मूल्य तिर्नुपर्ने र गुणस्तर समेत सुनिश्चित नहुने भएकाले हाम्रोजस्तो देशमा सबैका बच्चाहरूका निम्ति ती सामग्री सम्भव र उपयुक्त हुँदैनन् । घरेलु सामग्री प्रयोग गरी स्थानीयस्तरमा उत्पादन गर्न सकिए यसखाले बालआहार सस्तो, ताजा, स्वास्थ्यबर्द्धक र गुणस्तरीय हुने कुरा स्वतः स्पष्ट छ ।

सुवेदी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लामा कार्यरत छन्