भ्रमणशैली: गन्तव्य गान्तोक

डा. डीबी सुनुवार

आजको यात्रा पनि कम रोचक छैन । यसपालिको यात्रा सिक्किमक्षेत्रस्थित गान्तोकको छ । बिहान ११ बजेको फ्लाइटमा काठमाडौंबाट भुइँ छाडियो ।

जहाजको झ्यालबाट हेर्दा तल जङ्गल देखिन्छ । बुचुक्–बुचुक् थुम्का देखिन्छन् । फुलचोकी काटेको प्रष्टै देखिन्छ । जहाजभित्र सुरक्षाका मापदण्ड अपनाउन एयरहोस्टेसले एनाउन्स गरिरहेकी छन् ।

जहाजले बादलमाथिको उचाइ लिएको छ । हिमालका थुम्का देखिइरहेका छन् । बादलमाथि उडिरहेको जहाजबाट डाँडाकाँडा तथा मरुभूमिजस्तै बादलका मैदान र थुम्का देखिन्छन् ।

करिव ५० मिनेटपछि भद्रपुर एयरपोर्ट (झापा) मा ल्याण्ड भइएको छ । जहाजबाट बाहिर निस्कँदा चिटिक्क परेका सफा भ्यान सिक्किम यात्राका लागि हामीलाई लिन आइपुगेका भेटिन्छन् ।

भ्यान हुइँकिइरहेको छ । यात्राका क्रममा ठाउँ–ठाउँमा चियाबगान देखिन्छन् । पानीट्याङ्की, नक्सलवारी, सिलगुडी हुँदै दार्जलिङ टेकिन्छ ।

टिस्टा खोलाको किनारैकिनार सिक्कितर्फ अगाडि बढ्दै दार्जलिङ, कालिङपोङ हुँदै अघि बढिरहेछ यात्रा । यात्रामा सहभागी हाम्रो ग्रुप बडो रमाइलो छ । यात्राकै क्रममा भ्यानभित्र विभिन्न उखान–टुक्का भन्ने र अन्ताक्षरी खेल्नेजस्ता क्रियाकलाप चलिरहेका छन् ।

टिस्टा खोला ओरालोतिर लछारिँदैछ । हामी भने उकालोतिर हुइँकँदै छौं । नागबेली पहाडी बाटोको यात्रा पिङ खेलेको भन्दा कम छैन ।

नेपालका प्रथम हिमाल आरोही तेन्जिङ नोर्गे शेर्पाको दार्जलिङस्थित सालिक हुँदै हाम्रो यात्रा अघि बढ्दैछ । सुन्दर तथा मनोरम दृश्यावलोकनका साथ सिक्किम पुगिएको पत्तै भएन ।

आहा ! सिक्किम । मौसम चिसो–चिसो छ । हल्का सिरेटो चल्दैछ । कम्ति मनोरम देखिँदैन वरिपरिको वातावरण ।

गान्तोक प्रवेश गरेपछि ठूलो होडिङ बोर्ड देखियो । त्यसमा लेखिएको देखिन्थ्यो– ‘वेलकम टु अग्र्यानिक स्टेट ।’

आजका लागि सिक्किमको गान्तोकस्थित एक होटलमा आराम गर्ने तालिका निर्धारित छ । गान्तोकको होटल निकै सफा र सुग्गर छ । सफा–सुग्घर देख्दा नै बसुँ–बसुँ लागेको छ; खाना पनि खाउँ–खाउँ लागेको छ ।

बेलुकीको खानपान गरेर त्यहींको बसाइपछि बिहान भने अर्किड गार्डेनको आनन्द लिइयो । ओहो ! वर्णन गरेर के साध्य र अर्किड गार्डेनको ! सयौंथरी फूल छन् । हेर्दै क्या आनन्द ! ढकमक्क अर्किड फूलेको देख्दा मन पूरै हराएको छ, अर्किड गार्डेनमै ।

अर्किड गार्डेनको दृश्यावलोकन र बिहानको खानपानपछि फेरि अघि बढ्छ हाम्रो यात्रा । यात्राकै क्रममा जङ्गलमा भेटिएको ‘वनझाँक्री झरना’ क्या सुन्दर ! यो झरना ‘वनझाँक्री फल’ का नामले चर्चित छ । निकै सुन्दर दृश्यावलोकनसँगै वनझाँक्री झरनामै बसिरहुँ झैं लाग्छ ।

वनझाँक्री झरनाको प्राकृतिक क्षेत्रमा कृत्रिमरूपले समेत भीर, पाखा–पखेरा, खोला–नाला र जङ्गल पनि बनाइएका छन् । तर, ती कृत्रिमरूपमा बनाइएका जस्ता देखिँदैनन्; प्राकृतिक नै हुन् झैं देखिन्छन् ।

त्यहाँको अर्को सौन्दर्य ‘इनर्जी पार्क’ पनि त्यस्तै सुन्दर छ । प्रकृतिमा रमेका विभिन्न खुला सङ्ग्राहलयको दृश्यावलोकनले चुम्बकले झैं मन तानिरहेको छ । यहीं बसुँ–बसुँ जस्तो लागिरहेको छ ।

ओहो ! यताका आर्ट पनि क्या गज्जबका । प्रकृतिमा मिश्रित मानवनिर्मित कलाको वर्णन जति गरे पनि सकिँदैन । वातावरण पनि उस्तै सफा, चट्ट र सुन्दर ।

सिक्किमको रुम्ते गुम्बा तथा यस वरिपरिको वातावरण पनि त्यत्तिकै मनोरम छ । रुम्ते गुम्बा संसारका गुम्बामध्येकै सबैभन्दा ठूलो मानिन्छ । यो गुम्बा पहाडको माथि, चुचुरोमा अवस्थित छ । त्यहाँ पुग्न प्याकेज टुरकै आवश्कता हुन्छ ।

यी दृश्यावलोकनपछि यात्रा अगाडि बढ्छ, सिक्किमको छाङ्गुतिर । सिक्किम घुम्दा छाङ्गु तालमा नपुगेसम्म यात्रा अपूर्ण जस्तो नै हुन्छ । निकै ठूलो र गहिरो रहेछ छाङ्गु ताल । अग्लो ठाउँमा रहेको तालको वरिपरि हरिया डाँडा छन् । र, ती हरिया डाँडामाथि हिउँ परेको छ टमक्कै ।

हिउँको यात्राका लागि याक चढियो । याक–यात्राका माध्यमबाट छाङ्गु तालको दृश्यावलकोनको त झन् के कुरा गर्नु र । त्यो आनन्दको त झन् सीमा नै छैन ।

बरफले ढाकेको छ छाङ्गु ताल । कम्ति मनोरम छैन, स–साना तालमाथिका बरफमा बालबालिकाले चिप्लेटी खेलिरहेको दृश्य ।

सिक्किम–गान्तोकको यात्रा निकै रमाइलो भयो । एउटा कविताका निम्न पङ्क्तिका साथ यो नियात्राको बिट मारौं । किनकि, यस तालमा पुगेपछि कवि राजेन्द्र भण्डारीको ‘प्वाँख र आकास’ कवितासङ्ग्रहमा सङ्ग्रहित ‘रातमा छाङ्गु’ शीर्षक कविताको सम्झना आउँछ–

‘फागुनले सुम्सुम्याएपछि
हिउँको समाधि
एकाएक भङ्ग हुन्छ
र, चलमलाउन थाल्छ
छाङ्गुको पानी…’