स्वादिला परिकार आफैं बनाउनोस्, स्वादले खानोस्
होलिस्टिक संवाददाताहनी मिन्ट लेमन–टि
आवश्यक सामग्री
पानी– १ लिटर, चियापत्ति/टी–ब्याग – २ चम्चा वा २ वटा, मह– ४ चम्चा, कागती– १ (ठूलो, ५–७ टुक्रा पारी काटिएको), ताजा पुदिना– २ वटा डाँठ ।
बनाउने तरिका
केत्ली वा ससप्यानमा पानी तताएर उमाल्ने । पानी उम्लिएपछि केतली वा ससप्यानबाट त्यसलाई जगमा खन्याउने । टिब्याग वा चियापत्तिलाई तातो पानीमा केही मिनेट राख्ने । हल्का खैरो रङ्गको भएपछि टिब्याग वा चियापत्ति पानीबाट निकाली हटाउने ।
चिया तातो छँदै त्यसमा मह पनि मिसाउने । त्यसमा अब कागतीको टुक्रा हाल्ने र चम्चाले थिचेर रस निकाल्ने । त्यसैमा ताजा पुदिनाका दुईवटा डाँठ पनि राख्ने र थोरै सेलाउन दिने । अन्त्यमा, उक्त चियामा बरफ राख्ने र चिसो रिफ्रेसिङ चियाको आनन्द लिने ।
खुवा
आवश्यक सामग्री
सवा (१.२५) लिटर ताजा (फूल फ्याट) दूध ।
बनाउने तरिका
दूधलाई ठूलो बाक्लो प्यान वा गहिरो कराईमा हाली चुलोमा बसाल्ने । पहिले कम र क्रमशः बढाउँदै मध्यम रापको आगोमा दूधलाई हल्का उमाल्ने । त्यसपछि फेरि आगोको राप कम गर्ने र बिस्तारै चलाउँदै दूधलाई थप उमाल्ने । फिँज आउँदै गर्दा समेत दूधलाई चलाइरहने ।
उमाल्दै जाँदा भाँडाको छेउछाउमा लागेको कुराउनीलाई समेत कोरेर दुधमै फिट्दै जाने । उम्लँदै जाँदा दूध क्रमशः घट्दै जाल्छ र बाक्लो हुँदै जान्छ । आगोको राप पनि बिस्तारै कम गर्दै जाने । दूध तताउने क्रम भने जारी नै राख्ने र चलाउँदै पनि जाने ।
अन्त्यतिर जब दूध घटेर धेरै मात्रामा मात्र बाँकी रहन्छ, त्यसबेला दूधमा बुलबुले फुटेको देख्न सकिन्छ । यसबेला समेत लगातार चलाइरहने । दूधमा फोका देखिन छाडेपछि आगो बन्द गरिदिने । सवा एक लिटर दूध यसरी पाकिसक्न करिव दुई घन्टाजति लाग्न सक्छ ।
अब चम्चा या पन्युँले दूध जमेर तयार भएको पेस्टलाई छेउबाट क्रमशः स्क्क्र्याप गर्दै कचौरामा राख्ने । उक्त कचौरालाई छोप्ने र खुवा सेलाउन दिने । सेलाएपछि त्यसलाई खाइहाल्न वा फ्रिजमा राखेर आवश्यकताअनुसार पछिसम्म खान सकिन्छ । खुवालाई त्यत्तिकै वा रोटी या अन्य परिकारहरूसँग मिसाएर पनि खान सकिन्छ ।
चटामरी
आवश्यक सामग्री
चामलको पीठो– २ कप, पानी– ३/४ कप, अण्डा– ४–६ वटा, किमा बनाइएको कुखुरा वा भैंसीको मासु– १ कप, मसिनो गरी काटिएको ताजा धनिया– चौथाई (१/४) कप, जिराको धुलो– १ (सानो) चम्चा, धनियाको धुलो– १ (सानो) चम्चा, नुन– स्वादअनुसार, प्याज (मसिनो गरी काटिएको)– आधा पोटी, रातो खुर्सानीको धुलो– १ (सानो) चम्चा, हरियो खुर्सानी (मसिनो गरी काटिएको)– एउटा, टिम्मुर– १ (सानो) चम्चा, अदुवा–लसुनको पेस्ट– १ (सानो) चम्चा, बेसार– १ (सानो) चम्चा, टुक्रा पारिएको चिज– ४ (ठूलो) चम्चा, टमाटर (काटेको)– एउटा, तेल– (एक चटामरीका लागि) १ (ठूलो) चम्चा ।
बनाउने तरिका
एउटा भाँडामा चामलको पीठो र पानी मिलाउने । पातलो ब्याटर बनाउने, आवश्यक भएमा बिस्तारै पानी थप्ने । अर्को कचौरामा प्याज, धनिया, जिरा–धनियाको धुलो, बेसारको धुलो, खुर्सानीको धुलो, खुर्सानी, नुन, अदुवा–लसुनको पेस्ट, हरियो खुर्सानी र दुईवटा अण्डा मिलाउने ।
अब ढक्कन भएको ताप्के वा फ्राइङ प्यानमा, एक चम्चा तेललाई मध्यम रापमा तताउने, नन–स्टिक प्यान छ भने अझ राम्रो । तेल तातेपछि प्यानकेकजस्तै आकारमा पहिल्यै तयार पारिएका ब्याटर त्यसमा खनाउने ।
केही बेरपछि मासुको मिश्रणको केही भाग यसैमाथि थप्ने । त्यसमाथि अण्डा फोडेर हाल्ने अनि एक चम्चाजति चिज पनि थप्ने । त्यसपछि उक्त प्यानलाई ढक्कनले ढाक्ने र करिव ७–८ मिनेटसम्म पकाउने । गार्निसका लागि यसमा थोरै धनिया र टमाटर पनि राख्न सकिन्छ । पाकिसकेपछि यसलाई तात्तातै खाने वा खुवाउने ।
पोटेटो मःमः
आवश्यक सामग्री
मैदा– २ कप, नुन (कभरका लागि)– आधा चम्चा, बेकिङ पाउडर– आधा चम्चा, उमालेको आलु–५ वटा (मध्यम आकारका), लसुन चिप्स– २ कप, बटर– १ (ठूलो) चम्चा, मरिच– २ (सानो) चम्चा, नुन– स्वादअनुसार ।
बनाउने तरिका
मैदा, नुन र बेकिङ पाउडर मिसाउने र पानी हाली मुछ्ने । उमालेको आलु, लसुन चिप्स, मरिच र नुन मिलाएर यसमा मोल्ने (फिलिङ्सका लागि) । मिक्स गरी राखिएको पिठोबाट पातलो (पारदर्शी) रोल बनाउने (बाहिरी कभरका लागि) ।
उक्त पातलो रोललाई ४–५ इन्चको गोलाई पारी काट्ने । पानीले भिजाउँदै गोलाकार गहिरो खोपिल्टो आकारमा कभर बनाउने र त्यसको बीचमा फिलिङ्स हाली भर्ने । बिस्तारै खुम्च्याउँदै सबैतिरको छेउलाई एकै ठाउँमा ल्याएर बन्द गर्ने अर्थात् कभर सिल्ड गर्न ट्विस्ट गर्ने । यसैगरी सबै डल्ला तयार पार्ने ।
अब मःमः बनाउने स्टिमरमा हल्का तेल लगाएर माथि भनिएअनुसार तयार पारिएका मःमः का डल्लाहरू राख्ने । लगभग १० मिनेट स्टिम गर्ने र झिक्ने । त्यसपछि आफूलाई मन पर्ने सस वा उपयुक्त स्वादको अचार बनाएर पोटेटो मःमः को स्वाद लिन सकिन्छ ।