अनुकरणीय अब्राहम

होलिस्टिक संवाददाता

अमेरिकाको केन्टकी राज्यको हजनेभिल्लेस्थित एउटा गरिब किसान परिवारमा १२ फेब्रुअरी, १८०९ मा अब्राहम लिङ्कनको जन्म भएको थियो । उनका बुबाको नाम थोमस र आमाको नाम नेन्सी थियो । उनको परिवार आफूसँग भएको थोरै जमिनमा खेती गरेर दुःख-कष्ट सहँदै गुजारा चलाउँथ्यो। बिहान-बेलुका हात-मुख जोर्न समेत कठिन थियो । काठैकाठबाट बनाइएको सानो झुप्रामा बस्थे उनीहरू।

बाबुआमा नै अपठित र गरिब भएकाले उनीहरू छोरालाई पढाउन चाहँदैनथे; छोराले पनि खेतीपातीमै लागेर जीवन बिताओस् भन्ने उनीहरूको चाहना थियो । पढाइ-लेखाइप्रति निकै अभिरुचि भए तापनि विद्यालय भर्ना भएर पढ्ने अवसर नपाएका अब्राहम बा-आमालाई काममा सघाएर बचेको समयमा घरमै लेखपढ गर्थे । किताब किन्ने पैसा नभएकाले साथीहरूका किताब मागेर पढ्थे । उनको बाल्यावस्था निकै कष्टका साथ बित्यो।

अब्राहम ९ वर्षका हुँदा (१८१८ मा) उनकी आमाको निधन भयो । त्यसको एक वर्षपछि उनका बुबाले तीन सन्तानकी आमा (विधवा) सारहा बुक जोन्सनसँग पुनर्विवाह गरे । ‘सौतनी’ आमाले पनि अब्राहमलाई असाध्यै माया गर्थिन् ।

कलिलो उमेरदेखि नै अब्राहमले अर्काको खेतबारीमा काम गरे; जङ्गल धाएर घाँस-दाउरा काट्ने-ओसार्ने काम गरे । डुङ्गा चलाएर समुद्रमा सामान ओसारपसार गर्ने काम पनि उनले गरे । बेलाबखत उनले व्यापार-व्यवसायमा सहयोगी, पसलको स्टोरकिपर र गाउँको हुलाकी, जग्गा नाप्ने अमिन भएर समेत काम गरे । जे-जति काम गरे तापनि तिनमा उनी जम्न सकेनन् । २४ वर्षको उमेरमा रुडलेस नामकी महिलासँग उनको प्रेम-सम्बन्ध गाँसियो । तर, दुई वर्षपछि नै रुडलेसको निधन भयो । अब्राहम धरधरी रोए र जीवनदेखि नै निराश भए । त्यसपछि उनलाई मानसिक रोग लाग्यो। मित्र ओलीन ग्रीनले अब्राहमलाई निकै ठूलो सहयोग गरे, हौसला र प्रेरणा दिई रोगमुक्त गराए।

त्यसपछि भने अब्राहम कानुनका थुप्रै पुस्तकहरूको स्वाध्ययन गरेर वकिल बने । वकालत अनुमतिपत्र पाएपछि अर्का चतुर वकिल स्ट्रे वार्डसँग मिलेर उनले २० वर्षसम्म निःशुल्क काम गरे । आफूले निःशुल्क वकालत गर्ने तर साथीहरूले शुल्क लिएर मात्रै काम गर्ने हुँदा सहकर्मीहरूसँग मनमुटाव बढ्यो र उनी त्यो पेशामा टिक्न सकेनन् ।

अब्राहम वयस्क हुँदा अमेरिकामा दास प्रथा उत्कर्षमा थियो। जनतामाथिको दमन, शोषण र अत्याचार उनलाई असह्य लाग्यो । दास प्रथा अन्त्य गर्ने उद्देश्यका साथ उनी राजनीतिमा होमिए। विधायक, सिनेटर, उपराष्ट्रपतिजस्ता पदको उम्मेदवार बनेर प्रतिस्पर्धा गर्दा ९-१० पटकसम्म पराजित भए । प्रेमिकाको निधन, सबै पेशाबाट विस्थापन र राजनीतिमा पनि पटक-पटकको असफलतापछि विरक्तिएर उनी आत्महत्या पो गरौं कि भन्ने मनस्थितिमा पुगे।

उनले फेरि आत्मविश्वास सँगाले । र, जीवनभर निरन्तर सङ्घर्ष नै गरिरहे। १८४२ मा मेरी टोड नामकी युवतीसँग विवाह गरे र राजनीतिक यात्रा पनि निरन्तर अघि बढाइरहे। रिपब्लिकन पार्टीका तर्फबाट अन्ततः ६ नोभेम्बर, १८६० मा अमेरिकाको १६औं राष्ट्रपतिमा अब्राहम लिङ्कन निर्वाचित भए।

राष्टपति बनेलगत्तै संविधान संशोधन गरेर उनले दास प्रथाको अन्त्य गरे । र, दास प्रथाका पक्षधरहरूले मच्चाएको गृहयुद्ध समेत त्यसको केही समयपछि अन्त्य गरिदिए। श्रीमतीका साथ फोड थियटरमा नाटक हेरिरहेका बेला, १४ अप्रिल, १८६५ मा अभिनेता जोन विल्केसले हानेको गोली लागेपछि त्यसको भोलिपल्ट अर्थात् १५ अप्रिल, १८६५ मा अब्राहम लिङ्कनको निधन भयो।

होलिस्टिक मासिकको कात्तिक, २०७७ (सातौं) अङ्कबाट साभार