सर चार्ल्स स्पेन्सर च्याप्लिन
अर्थात् चार्ली च्याप्लिन
होलिस्टिक संवाददाता
सन् १८८९ मा इङ्गल्यान्ड (लन्डन) मा जन्मिएका च्याप्लिनका सुरुआती दिनहरू एकदमै कष्टकर थिए । गरिबीको रेखामुनि रहेको परिवारमा जन्मिएका च्याप्लिनका पिताले उनीहरूलाई दुई वर्षको उमेरमै छाडिदिएका थिए । च्याप्लिनलाई हुर्काउन र पढाउन उनका बाबुले कुनै प्रकारका आर्थिक सहयोग गरेनन् ।
च्याप्लिनले सात वर्षको उमेरमै काम गरेर केही कमाउन थालिसकेका थिए। करिव दुई वर्ष काम गरिसकेपछि घर फर्किएका च्याप्लिन फेरि अर्को समस्याको सामना गर्न बाध्य भए । उनकी आमालाई मानसिक अस्पतालमा भर्ना गरियो। घर बस्ने चाहनाले काम छाडेर फर्किएका उनी फेरि उतै फर्केर काम गर्नुपर्ने बाध्यता आइलाग्यो । त्यसको दुई वर्षपछि कलेजोको सिरोसिसका कारण उनका पिताको मृत्यु भयो।
मानसिक रोगसँग धेरै वर्ष सङ्घर्ष गरेर अन्ततः (सन १९२८ मा) उनकी आमाले पनि मृत्युवरण गरिन् । च्याप्लिन र उनका भाइले आफ्नो गुजारा आफैंले गर्दै जेनतेन जीवन धानिरहेका थिए । सङ्कट भनेको के हो भन्ने कुरा नै उनीहरूलाई थाहा थिएन किनकि तिनका लागि सङ्कट त दैनिकीजस्तै नै थियो।
च्याप्लिनले बिस्तारै केही नाटकहरूमा बालकलाकारको भूमिका निभाउन थाले। क्रमशः आफ्नो हास्य-क्षमतालाई परिष्कृत गर्दै उनी आफूलाई एक लोकप्रिय बाल हास्यकलाकारका रूपमा चिनाउन थाले । र, सन् १९१४ देखि उनले चलचित्रमा अभिनय गर्न थाले ।
‘मेकिङ अ लिभिङ’ उनको पहिलो चलचित्र थियो । १९२३ देखि भने उनले निःशब्द (साइलेन्ट) भूमिकामा अभिनय गर्न थाले । र, अन्ततः तिनै निःशब्द अभिनयले उनलाई विश्वविख्यात हास्यकलाकारका रूपमा स्थापित गरे।