हर्मोन गडबडीले निम्त्याउने ११ समस्या
डा. सुमन सिम्खडाहर्मोन शारीरिक संरचनाको यस्तो तत्व हो, जसले एकैसाथ मानसिक एवम् शारीरिक दुवैखाले सन्तुलन कायम गर्न वा गडबड तुल्याउन सक्दछ । परिवेश, खानपान, जीवनशैली, उमेर, स्वास्थ्य स्थिति, लिङ्गजस्ता पक्षहरूले शरीरमा हर्मोनको स्थिति–अवस्थितिको निरुपण गर्दछन् । हर्मोनको गडबडीले निम्त्याउने मुख्य ११ रोगहरूबारे यस आलेखमा चर्चा गरिएको छ ।
१. मधुमेह
‘इन्सुलिन’ भन्ने हर्मोनको गडबडीका कारण मधुमेह लाग्दछ । मानिसको पेटमा रहेको प्याङ्क्रियाजले इन्सुलिन हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम रगतमा रहेको चिनीको मात्रालाई सन्तुलनमा राख्नु हो ।
यदि इन्सुलिन उत्पादनमा कमी आयो वा त्यसले राम्रोसँग काम गर्न सकेन भने मधुमेह रोग लाग्दछ ।
२. थाइराइड
थाइराइड ग्रन्थी घाँटीमा रुद्रघन्टीभन्दा तल हुन्छ । यस ग्रन्थीले ‘थाइराइड’ हर्मोन उत्पादन गर्छ । यो हर्मोनले शरीरको ‘मेटाबोलिज्म’ लाई नियन्त्रणमा राख्ने काम गर्दछ ।
थाइराइड हर्मोन शरीरको आवश्यकताभन्दा बढी उत्पादन हुने अवस्थालाई ‘हाइपर थाइराइड’ भनिन्छ भने चाहिनेभन्दा कम उत्पादन हुने अवस्थालाई ‘हाइपो थाइराइड’ भनिन्छ । हाइपर र हाइपो थाइराइडका लक्षण पनि फरक–फरक हुन्छन् ।
हाइपर थाइराइड हुँदा दुब्लाउँदै जाने, गर्मी धेरै हुने, पसिना धेरै आउने, मुटु धेरै ढुक्ढुक् गर्ने, दिसा धेरै पटक लाग्ने, हात–खुट्टा काँप्ने, सास फुल्ने, निद्रा नलाग्ने, गलगाँड निस्कने, आँखा ठूलो हुँदै जाने, महिनावारी गडबड हुने, निःसन्तान हुनेजस्ता लक्षण देखा पर्दछन् । हाइपो थाइराइड हुँदा भने मोटाउँदै जाने, जाडो धेरै हुने, छाला खस्रो हुने, काम गर्न जाँगर नहुने, कपाल झर्ने, निद्रा धेरै लाग्ने, कब्जियत हुने, महिनावारी गडबड हुनेजस्ता लक्षण देखापर्छन् । यो समस्या हुँदा धेरैमा त टन्सिल बढ्ने र दुख्ने गरेको समेत पाइन्छ ।
३. महिनावारी गडबड र निःसन्तान
महिनावारी गराउने हर्मोनलाई ‘सेक्स हर्मोन’ भनिन्छ । यो हर्मोन दुई किसिमका हुन्छन्– एउटा, मगजभन्दा तल रहेको ‘पिट्युटरी ग्रन्थी’ बाट निस्कने हर्मोन, जसलाई ‘एलएच, एफएसएच र प्रोल्याक्टिन हर्मोन’ भनिन्छ; र अर्को, डिम्बबाट निस्कने हर्मोन, जसलाई ‘एस्ट्रोजन र प्रोजेस्टेरोन’ भनिन्छ ।
यी दुवै हर्मोनको संयोजन (कम्बिनेसन) बाट नै महिनावारी हुने गर्छ । यीमध्ये कुनै एक या दुवै हर्मोन गडबड भएमा महिनावारीमा समस्या उत्पन्न हुन्छ । १६ वर्षभित्र सुरु हुनुपर्ने महिनावारी प्रक्रिया कसै–कसैमा भने २० वर्षसम्म पनि सुरु नहुने हुन्छ । महिनावारी भए पनि समयमा नहुने र रक्तश्राव धेरै हुने समस्या हुन्छ ।
पिट्युटरी ग्रन्थीका कारण महिनावारी गडबड हुने अवस्थालाई ‘सेकेन्डरी हाइपोगोनाडिज्म’ भनिन्छ र डिम्बमै समस्या भएर महिनावारी गडबड हुने अवस्थालाई चाहिँ ‘प्राइमरी हाइपोगोनाडिज्म’ भनिन्छ । यसर्थ, सेक्स हर्मोन राम्रोसँग उत्पादित हुन नसकेमा महिनावारी गडबड हुनुका साथै निःसन्तानसम्म हुन सक्ने समस्या हुन सक्छ ।
४. महिलाको शरीरमा रौं उम्रने
हर्मोनकै कारण महिलाको शरीरमा सामान्यभन्दा धेरै रौं उम्रने समेत समस्या हुन सक्दछ । यो समस्या हुँदा महिलामा पनि पुरूषको जस्तै दाह्री–जुँगा आउने, छाती तथा यौनाङ्लगायत शरीरका धेरै स्थानमा रौं उम्रन सक्छ । ‘टेस्टोस्टेरोन हर्मोन’ धेरै उत्पादन भएमा महिलामा यस्तो समस्या देखिन्छ । र, ‘पोलिसिस्टिक सिन्ड्रोम’ का कारण पनि यस्तो हुन सक्छ । कुनै खास अवस्थामा भने डिम्बाशयमा कुनै ट्युमर पैदा भएका कारण पनि महिलाको शरीरमा धेरै रौं उम्रन सक्छ । पेटमा ‘एड्रिनल’ भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाभन्दा माथि हुन्छ । यस ग्रन्थीले ‘डीएचईएएस’ नामक अर्को हर्मोन बढी निकालेमा पनि महिलाको शरीरमा रौं उम्रन्छ ।
महिलाको शरीरमा रौं उम्रने समस्याको दुई किसिमले उपचार गर्न सकिन्छ । एउटा विधि ‘हर्मोनल उपचार’ हो भने ‘लेजर प्रविधि’ बाट पनि यसको उपचार गर्नुपर्ने हुन सक्छ । यो समस्याको समाधानका लागि एउटा मात्र उपचार गरेर हुँदैन । लेजर प्रविधिका साथसाथै हर्मोनको पनि उपचार गर्नुपर्छ । यस्तो उपचारबाट हर्मोनको प्रभाव देखिन ५–६ महिना लाग्छ ।
५. स्तनबाट दूध चुहिने
शरीरमा ‘प्रोल्याक्टिन’ हर्मोनको मात्रा बढ्न गएमा स्तनबाट दूध चुहिने समस्या हुन्छ । पिट्युटरी ग्रन्थीका कारण प्रोल्याक्टिन हर्मोन बढ्छ । पिट्युटरी ग्रन्थीमा ट्युमर पलाएमा वा अन्य कुनै रोगका कारण हर्मोनको मात्रा बढ्न जान्छ । विभिन्न औषधिको सेवनका कारण पनि यो हर्मोन बढ्न सक्दछ ।
कसै–कसैलाई भने थाइराइडका कारण पनि यस्तो समस्या हुने सम्भावना हुन्छ । गर्भवती भइसकेको अवस्थामा दूध चुहिनु प्राकृतिक प्रक्रिया नै हो । तर, अविवाहित युवतीमा, गर्भवती नभएका महिलामा वा सामान्य अवस्थामा पनि दूध चुहिने समस्या भने पोल्याक्ट्रिन हर्मोन बढेकै कारणबाट मात्र हुन्छ ।
६. पुरुषको स्तन बढ्ने
पुरूषको स्तन बढ्ने अवस्थालाई ‘गाइनेकोमास्टिया’ भनिन्छ । यसो हुने धेरै कारण हुन्छन् तर एउटा मुख्य कारण भने हर्मोनको गडबडी नै हो । सेक्स हर्मोनको कमी भएमा पुरुषको स्तन बढ्छ ।
पुरुषको स्तन बढ्ने समस्याको तीन किसिमले उपचार गर्न सकिन्छ । पहिलो उपाय त जीवनशैलीमा परिवर्तन गर्नु नै हो । स्वस्थ, स्वच्छ र सन्तुलित खानपिन एवम् समुचित व्यायाम गरेर मोटोपन घटाउनुपर्छ ।
टेस्टोस्टेरोन हर्मोनको कमीका कारण स्तन बढ्ने भएकाले हर्मोनको उपचार गर्नुपर्छ । हर्मोनको कारणले बढेको होइन भनेचाहिँ शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । स्तन बढ्ने समस्याका कारण महिलामा मात्र नभई पुरूषमा समेत स्तन क्यान्सर हुने सम्भावना हुन्छ ।
७. पुड्को वा धेरै अग्लो हुने
जन्मदेखि १८ वर्षसम्ममा मानिसको जुन उचाइ हुनुपर्ने हो, त्यसो हुनु वा नहुनुमा सबैभन्दा ठूलो भूमिका ‘ग्रोथ हर्मोन’ को हुन्छ । यो हर्मोन पिट्युटरी ग्रन्थीबाट निस्कन्छ । पिट्युटरी ग्रन्थीलाई ‘मास्टर ग्रन्थी’ पनि भनिन्छ । शरीरलाई आवश्यक पर्ने धेरैजसो हर्मोन यसैले उत्पादन गर्छ ।
कुनै कारण पिट्युटरी ग्रन्थीमा रोग लाग्यो भने ग्रोथ हर्मोनको कमी हुन्छ । ग्रोथ हर्मोनको कमी भएमा उचाई बढ्दैन । बच्चा अवस्थामै थाइराइड भएमा र राम्रोसँग त्यसको उपचार नभएमा पनि उचाई बढ्न सक्दैन । ग्रोथ हर्मोनको कमी भएको अवस्थामा यसको इन्जेक्सन लगाएर हर्मोनको उत्पादन बढाउन सकिन्छ । तर, हर्मोनको यो इन्जेक्सन निकै महँगो हुने भएकाले सर्वसाधारण नागरिकले प्रयोग गर्न नसक्ने अवस्था हुन सक्छ ।
पिट्युटरी ग्रन्थीबाट हर्मोनको उत्पादन बढी भयो भने मानिसको उचाई आवश्यकताभन्दा बढी हुन्छ । बच्चा अवस्थामै उपचार गरिएमा भने सामान्य उचाई कायम राख्न सकिन्छ । तर, ढिलो मात्र थाहा भयो भने उचाई बढ्ने क्रमलाई नियन्त्रण गर्न सकिँदैन तर ग्रोथ हर्मोन बढी भएर हुन सक्ने अन्य असरलाई भने कम गर्न सकिन्छ ।
८. यौनेच्छामा कमी, सम्भोगमा कठिनाइ
पिट्युटरी ग्रन्थीबाट निस्कने हर्मोन– एलएच, एफएसएच र प्रोल्याक्टिनमा समस्या देखियो भने यौनेच्छामा कमी आउँछ । यो अवस्थामा यौन सम्पर्क गर्न गाह्रो हुने, लिङ्ग कडा नहुने, बीर्य ननिस्कने, बीर्यमा शुक्रकीटको कमी हुने, दाह्री–जुँगा नआउनेजस्ता समस्या देखा पर्छन् ।
यौवनावस्था १२–१३ वर्षदेखि सुरु हुनुपर्ने हर्मोनको उत्पादनमा कमी हुँदा यौनावस्था नै नहुने समस्या हुन सक्छ । यो स्थितिमा पुरुषमा पनि निःसन्तानको समस्या हुन सक्छ ।
९. यौवनावस्था छिटो वा ढिलो देखिने
हर्मोनको गडबडीका कारण केटीहरूमा ७ वर्षभन्दा कम उमेरमै यौवनावस्थाका लक्षण देखापर्न सक्दछन् । सेक्स हर्मोन बढी भएका कारण समयभन्दा पहिले नै स्तन बढ्ने, महिनावारी सुरु हुनेजस्ता समस्या हुन सक्दछन् । यो समस्याको समयमै उपचार गरिएन भने सुरुमा ह्वात्तै उचाइ बढ्ने तर पछि गएर कम हुने स्थिति पनि हुन सक्छ ।
यही हर्मोनको गडबडीका कारण केटाहरूमा पनि ९ वर्षभन्दा पहिले नै अण्डकोष ठूलो हुने, लिङ् बढ्नेजस्ता लक्षण देखिन्छन् । समयमै उपचार भएन भने पुरुषमा पनि पुड्कोपन हुने सम्भावना हुन्छ ।
१०. हड्डी टुट्ने–खिइने
हर्मोनको प्रत्यक्ष सम्बन्ध हाडजोर्नीसँग पनि हुन्छ । हड्डीलाई बलियो बनाउने क्याल्सियम र फस्फोरसले नै हो । ‘प्याराथाइराइड हर्मोन’ ले पैदा गर्ने हर्मोनले क्याल्सियम तथा फस्फोरसलाई सही तरिकाले राख्न भूमिका खेल्छ ।
यदि प्याराथाइराइड हर्मोन बढी भयो भने रगतमा क्याल्सियमको मात्रा बढछ र यसो हुँदा हड्डी खिइँदै जाने तथा सामान्य चोटपटकमा पनि भाँचिने समस्या हुन्छ । भिटामिन डी हर्मोनले पनि शरीरमा क्याल्सियम र फस्फोरसको मात्रा ठीक राख्न सघाउँछ । यदि भिटामिन डीको कमी भयो भने हड्डी दुख्ने समस्या हुन्छ । भिटामिन डीको कमीकै कारण महिनावारी बन्द भैसकेपछि महिलाको हड्डी खिइने समस्या हुन्छ ।
११. मोटोपन
मानिसमा मोटोपन हुनुका कारण धेरै हुन सक्दछन् । थाइराइडका कारण मोटोपन बढ्छ; एड्रिनल ग्रन्थीले ‘कटिजोल हर्मोन’ बढाउँदा पनि मोटोपन बढ्छ । कटिजोल हर्मोन बढी भएमा ‘कुसिङ सिन्ड्रम’ देखापर्छ, जसका कारण मोटोपन हुने, बसेर उठ्न गाह्रो पर्ने, सुगर–प्रेसर बढ्ने, अनुहार सुन्निनेजस्ता समस्या हुन्छन् । खानपिनको गडबडी, खानामा चिल्लोको मात्रा बढी, व्यायामको कमीजस्ता कारणले मोटोपन हुन्छ ।
डा.सिम्खडा सातदोबाटोस्थित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकमा कार्यरत छन्