लाभैलाभयुक्त मोरिङ्गा ओलीफेरा
डा. डीबी सुनुवार‘मोरिङ्गा ओलीफेरा’ एक किसिमको जडीबुटीजन्य बिरुवा हो । सामान्य बोलीचालीको भाषामा यो ‘मोरिङ्गा’ नामले चिनिन्छ । मोरिङ्गा ‘ड्रमस्टिक रूख’, ‘मिराकल रूख’, ‘बेन तेल रूख’, ‘हर्सराडिस रूख’ आदि नामले समेत चिनिन्छ ।
यो वनस्पति यो उष्णकटीबन्धीय र उपउष्णकटिबन्धीय जलवायु क्षेत्रमा राम्ररी फस्टाउँछ । समुद्री सतहदेखि दुई हजार मिटरसम्म उचाईको वातावरण मोरिङ्गाका लागि उपयुक्त हुन्छ । यसको रुखको उचाई १० देखि १२ मिटरसम्म र ब्यास ४५ सेन्टिमिटरसम्मको हुन्छ ।
मोरिङ्गाको फूल सुगन्धित र ‘हर्माफ्रोडाइटिक’ हुन्छ । मोरिङ्गाका फूल सामान्यतया पाँचवटा असमान, पातलो शिरा भएका, पहेंलो–सेता पत्रहरूले घेरिएका हुन्छन् ।
यसको उद्गमस्थल भारत मानिन्छ । यो वनस्पति एशिया, अफ्रिका र दक्षिण अमेरिकालगायतका मुलुकमा पाइन्छ । पात, डाँठ तथा काण्ड यस बिरुवाका खान योग्य भागहरू हुन् ।
मोरिङ्गाका नपाकेका फल हरिया र बासनादार हुन्छन् । यसको बीउलाई सफा गरेर मटर वा नटजस्तै भुनेर खान सकिन्छ । यस वनस्पतिको फल मात्र नभई रूखका लगभग सबै भागहरू परम्परागत जडीबुटीका रूपमा औषधीय उपयोग गरिन्छ ।
कतै–कतै मोरिङ्गाको बीउबाट तेल निकालेर पानी शुद्धीकरणका लागि समेत प्रयोग गर्ने गरिएको पाइन्छ । यसको बीउबाट निकालिएको तेललाई जैविक इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ किनकि यसमा ऊर्जाजन्य क्षमता पनि हुन्छ ।
यस वनस्पतिका जराहरूलाई टुक्रा–टुक्रा पारिन्छ र पोलिफेनोलको महत्वपूर्ण सामग्रीबाट प्राप्त तीखो स्वाद गुणहरूको साथ मसलाका रूपमा प्रयोग गर्न सकिन्छ । मोरिङ्गामा विभिन्न किसिमका प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छन् ।
मोरिङ्गामा भिटामिन ए, भिटामिन बी– १ थायमिन, बी– २ रिबोफ्लेभिन, बी– ३ नियासिन, बी– ६ फोलेट, एस्कर्बिक एसिड र भिटामिन सीजस्ता लाभदायक तत्व पाइन्छन् ।
यसमा क्याल्सियम, पोटासियम, आइरन, म्याग्नेसियम, फस्फोरस, जिङ्कजस्ता मिनरल्स समेत पाइन्छन् ।
मोरिङ्गामा चिल्लोको मात्रा पनि कम हुन्छ । यसमा कुनै हानिकारक कोलेस्टेरोल हुँदैन । विभिन्न कारणले मानिसको आहारमा भिटामिन, खनिज र प्रोटिनको कमी हुन सक्छ ।
त्यस्तो अवस्थामा मोरिङ्गा ओलीफेरा धेरैथरी पोषक तत्वहरूको महत्वपूर्ण स्रोत हुन सक्छ ।
मोरिङ्गाको औषधीय गुण र स्वास्थ्य लाभका कारण यो वनस्पति शताब्दीयौंदेखि प्रयोग हुँदै आएको छ । यसमा एन्टिफङ्ल, एन्टिभाइरल, एन्टिडिप्रेसेन्ट र एन्टी–इन्फ्लामेटरी गुणहरू समेत पाइन्छन् ।
मोरिङ्गाका लाभ के–के ?
छाला र कपालको संरक्षण एवं पोषणका लागि यो वनस्पति निकै लाभदायक हुन्छ । कलेजोको सुरक्षाका लागि पनि मोरिङ्गा प्रयोग गर्न सकिन्छ । क्यान्सरको रोकथाम तथा उपचारका लागि समेत यो वनस्पति निकै लाभदायक मानिन्छ ।
भिटामिन बी र फाइबरजस्ता तत्व पाइने भएकाले पेटजन्य समस्याबाट छुटकारा पाउनका लागि मोरिङ्गा निकै लाभदायक हुन्छ । यसमा ब्याक्टेरियाविरुद्ध लड्न सक्ने क्षमता हुन्छ । यसमा क्याल्सियम तथा फस्फोरस पाइने भएकाले हड्डीलाई स्वस्थ बनाउन यो वनस्पति निकै उपयोगी हुन्छ । कार्डियोभास्कुलर प्रणालीको समस्या समाधानका लागि यो निकै लाभदायक वनस्पति हो ।
मोरिङ्गाको प्रयोगले घाउ निको पार्न मद्धत मिल्छ । रगतमा भएको ग्लुकोजको मात्रा घटाएर मधुमेह तथा दमको उपचारका लागि पनि यो वनस्पति उत्तिकै लाभदायक हुन्छ ।
यसले मिर्गौला मजबुत तुल्याउँछ । उच्च रक्तचाप नियन्त्रणमा ल्याउन पनि यो वनस्पतिको प्रयोगबाट निकै नै मद्धत मिल्छ । आँखा स्वास्थ्य राख्न पनि यसले राम्रो मद्धत पुर्याउँछ ।
रक्त–अल्पताको समस्या समाधानका लागि मोरिङ्गा लाभदायक हुन्छ । तौल घटाउन, दुख्ने, पोल्ने तथा सुन्निनेजस्ता समस्या समाधान गर्न र थकान कम गर्न तथा शरीरमा ऊर्जा बढाउनका लागि पनि यो वनस्पति एकदमै लाभदायक हुन्छ ।
मोरिङ्गाका पातहरूलाई प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ । एन्टि–अक्सिडेन्ट र प्रतिरक्षा वृद्धि गर्ने उद्देश्यका लागि यसका पातको उपभोग गरिन्छ । मोरिङ्गाको पातलाई प्रशोधन गरेर पाउडर तथा रस बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
विभिन्न किसिमका खाद्य परिकारहरूमा समेत मोरिङ्गाका पातको पाउडर र एक्स्ट्राक्ट प्रयोग गर्न सकिन्छ ।