‘फरक क्षमता’ की हेलेन केलरका प्रेरणा

होलिस्टिक संवाददाता

२७ जुन, १८८० मा अमेरिकाको अलवामा परिवारमा हेलेन केलरको जन्म भएको थियो । उनका बुबाको नाम आर्थर हेलेन र आमाको नाम केथरिन एवरेट (एडम्स) थियो । एक समाचारपत्रको सम्पादकका रूपमा धेरै वर्ष काम गरेका उनका बुबा आर्मीको कप्तान थिए । आमा भने गृहिणी थिइन् ।

भर्खर १९ महिना टेकेकी हेलेनलाई बोल्ने, देख्ने र सुन्ने शक्ति नष्ट हुने कडा खालको रोग लाग्यो । सधैं रमाएर हाँस्ने–खेल्ने छोरीलाई यस्तो अवस्थामा देख्दा आमा–बुबा निकै चिन्तित भए । उपचारका निम्ति थुप्रै डाक्टरकहाँ पुगे । तर, केलरको अवस्थामा कुनै सुधार आएन ।

शारीरिक अवस्था चिन्ताजनक भए पनि उनको पढाइका विषयमा आमा–बुबाले सोच्न थाले । दृष्टिविहीन बालबालिकाका लागि खोलिएको एक शैक्षिक संस्थासँग उनकी आमाले सहयोग मागिन् । हेलेनलाई पढाउन एनी सेलविन नामकी शिक्षिका घरमै पठाउने व्यवस्था उक्त संस्थाले मिलाइदियो । ती शिक्षिकाले उनलाई प्रारम्भिक तहदेखि पढाउन थालिन् । पछि उच्च शिक्षा भने ‘ब्रेल लिपि’ का माध्यमबाट पढाउन एनीले नै केलरलाई हार्वर्ड विश्वविद्यालयमा भर्ना गरिदिइन् । दृष्टिविहीन हेलेनले ब्रेल लिपिद्वारा आर्ट्स् मा स्नातक तह पूरा गरी स्नातक गर्ने संसारकै पहिलो दृष्टिविहीन महिलाको रेकर्ड कायम गरिन् ।

पछि हेलेनले आफूजस्तै समस्या भोगिरहेकाहरूलाई हौसला र प्रेरणा दिने उद्देश्यले दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलियाजस्ता विभिन्न देशको भ्रमण गरिन् । दृष्टिविहीनहरूको जीवनमा सुधार ल्याउन र उनीहरूलाई प्रेरणा दिनका लागि उनले लेख–रचनाका मध्यमबाट कडा मेहनत गरिन् । ‘मिल्टन अन्ध सोसाइटी’ नामक संस्था स्थापना गरेर उनले ब्रेल लिपिमै विभिन्न साहित्यिक रचनाहरू समेत प्रकाशित गरिन् । जीवनभर अविवाहित रहेरै उनले दृष्टिविहीनहरूको हितमा काम गरिन् ।

समाजमा महिलालाई पुरुषसरह हक–अधिकार दिलाउनका लागि र मजदुर हक–अधिकारका निम्ति हेलेन केलरले निरन्तर आवाज उठाइन् । साहसी र निडर स्वभावकी हेलेनले जीवनमा हासिल गरेका अनुभवकै आधारमा विभिन्न विषयका नौ वटा पुस्तक ब्रेल लिपिमा लेखिन् । उनका सबैजसो पुस्तक लोकप्रिय भए । ‘द स्टोरी अफ माई लाइफ’ उनको सबभन्दा लोकप्रिय पुस्तक हो । आत्मकथात्मक उनको यो पुस्तक ५० भन्दा बढी भाषामा प्रकाशित भैसकेको छ । जीवनकी मार्गदर्शिका एवम् गुरुआमा एनी सेलविनको सहयोग लिएर हेलेनले विभिन्न प्रसिद्ध लेखकहरूका पुस्तक गहिरिएर अध्यन गरिन् र पछि ब्रेल लिपिमा अनुवाद समेत गरिन् ।

हेलेन केलरको जीवनी हरेकका निम्ति असाध्यै प्रेरणादायी छ । महान् व्यक्तित्वकी धनी हेलेनले कर्मद्वारा नै आफ्नो महानता प्रमाणित गरिन् । कडा मेहनत–परिश्रम, साहस–हिम्मत र दृढता–सङ्कल्पका साथ निरन्तर कर्म गर्दै गए शारीरिकरूपमा कमजोर भए तापनि अवश्य नै लक्ष्य चुम्न सकिन्छ भन्ने कुरा हेलेनले प्रमाणित गरिन् । सामाजिक सेवाकै मार्गमा अनवरत सङ्घर्षरत हेलेनको १ जुन, १९६८ मा (८७ वर्षको उमेरमा) हृदयाघातबाट निधन भयो ।