प्लास्टिकका भाँडामा खानुहुन्छ ? गुम्ला नि यौनशक्ति !

प्रा.डा. दिनेश बाँस्तोला

खानपिनले यौनमा प्रभाव पार्छ । कतिपय भाँडाकुँडामा खाद्य पदार्थ खानाले समेत यौनमा नकारात्मक असर पर्न सक्छ । कृत्रिमरूपमा तयार पारिएका खाद्य पदार्थको सेवनले शारीरिक तथा मानसिक दुवै हिसाबले नकारात्मक असर पर्नुका साथै यौनजीवनमा समेत प्रभाव पर्छ ।

आजकल प्लास्टिकका भाँडाकुँडाको प्रचलन बढ्दो छ । कयौं खाद्य पदार्थ तथा परिकार प्लास्टिक तथा प्लास्टिकजन्य भाँडाकुँडामा राखिन्छन् । पानी समेत प्लास्टिकका बोत्तल या भाँडामै राखेर पिउने चलन बढ्दो छ । चिया–कफीलगायतका पदार्थ पनि प्लास्टिकका भाँडामा राखेर नै खाने चलन झाँगिँदै छ ।

यसरी प्लास्टिक तथा प्लास्टिकजन्य भाँडामा राखेर खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने जोखिम त आफ्नो ठाउँमा छँदै छ, साथसाथै यौनजीवनमा समेत नकारात्मक असर पर्दछ । प्लास्टिकको भाँडामा सामान्यतः ‘बिस्फेनोल’ नामक तत्व मिसिएको हुन्छ । यो रासायनिक तत्वका कारण यौनमा नकारात्मक असर पर्दछ ।

बिस्फेनोलजस्ता तत्व मिसिएका प्लास्टिकका भाँडाकुँडामा नियमितरूपमा खाद्य पदार्थ खाएमा पुरुषको शुक्रकीटका सङ्ख्यामै कमी आउँछ । शुक्रकीटको सङ्ख्यामा कमी हुँदा पुरुषमा बाँझोपन निम्तने जोखिम हुन्छ । शुक्रकीट नै कम उत्पादन भएमा पुरुषमा मनोसामाजिक कारणले समेत कामोत्तेजना कम हुन जान्छ; परिणामतः यौन जोडीबीचको यौनजीवन निरस हुन सक्ने जोखिम हुन्छ ।

नियमितरूपमा प्लास्टिकका भाँडामा खानपिन गरेमा महिलामा पनि बाँझोपनको जोखिम हुन्छ । बिस्फेनोल तत्वको तह महिलाको शरीरमा बढी हुन पुग्दा जीवित डिम्बको उत्पादन सङ्ख्या नै कम हुने जोखिम हुन्छ । सामान्यतः एउटी महिलाबाट लाखौं डिम्ब उत्पादित हुन्छन् तर ती सबै परिपक्व र सक्रिय हुन्छन् भन्ने हुँदैन । रासायतिक तत्वको प्रभावका कारण डिम्बको सङ्ख्या नै कम मात्र उत्पादन भएमा परिपक्व हुने डिम्बको सङ्ख्या समेत स्वतः कम हुन जान्छ । डिम्ब नै कम निकै कम मात्र उत्पादित या परिवपक्व भएमा महिलामा बाँझोपनको जोखिम त हुने नै भयो ।

बिस्फेनोलयुक्त खाद्य पदार्थ निरन्तर खाने पुरुषको तुलनामा सामान्यतया महिलामा नै बाँझोपनको जोखिम बढी हुने गरेको पाइन्छ । बिस्फेनोल तत्वका कारण शरीरका विभिन्न अङ्गमा अर्बुद (क्यान्सर) समेत निम्तने जोखिम हुन्छ ।
सामान्यतः चिसो पानी तथा खाद्य पदार्थको तुलनामा चिया–कफीलगायतका ताता पेय पदार्थ प्लास्टिकका भाँडामा पिउँदा अझ बढी स्वास्थ्य समस्या निम्तिने र यौनमा झन् बढी नकारात्मक प्रभाव पर्ने सम्भावना हुन्छ । तातो पदार्थ प्लास्टिकका भाँडामा हालेर सेलाएपछि समेत खानु राम्रो हुँदैन । प्लास्टिकका भाँडाले उत्पादन गर्ने बिस्फेनोल खाद्य पदार्थसँगै खाइने भएकाले त्यसले समग्र स्वास्थ्य तथा विशेषतः यौनजीवनमा नकारात्मक असर पार्ने जोखिम बढी नै हुन्छ ।