‘फोहोर–राजनीति’ कि फोहोरी राजनीति ?

हाेलिस्टिक : २४ काे सम्पादकीय

दसैं–तिहारको उल्लासमय वातावरण होस् या ल्होछार, छठ, उधौली–उभौली, इद, रमजान, क्रिसमस या यस्तै कुनै चाडपर्वको रौनकताका बेला होस्; नयाँ वर्षागमनको उत्सव होस् या न्हु दया भिन्तुनाको उल्लास वा अङ्ग्रेजी नयाँ वर्षारम्भ पूर्वसन्ध्याको तडकभडक नै किन नहोस्– राजधानीका चोक, सडक, गल्ली र वस्तीमा चुलिएका फोहोरका थुप्राबाट ह्वासह्वास्ती फैलिइरहेको हुन्छ दूषित दुर्गन्ध ।

‘नगर पञ्चायत’, ‘नगरपालिका’ हुँदै ‘महानगरपालिका’ को उपमा पाएर काठमाडौं सहरले पटक–पटक साइनबोर्ड फेरिसक्यो । ‘नेपालको माटो सुहाउँदो प्रजातन्त्र’ भनिएको पञ्चायत, ‘संसारकै सर्वोत्कृष्ट व्यवस्था’ भनिएको बहुदल र ‘समाजवादोन्मुख लोकतान्त्रिक गणतन्त्र’ भनिएको वर्तमान राजनीतिक प्रणालीसम्म आइपुग्दा पनि राजधानीले खेपिरहेको खानेपानी, ढल निकास र मुख्यतः फोहोर व्यवस्थापनको समस्या ज्युँका त्युँ कायमै छ ।

विदेशी उच्चपदस्थ पाहुना या पर्यटक अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं उत्रन्छन् । यहाँको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र पर्यावरणीय सुन्दरता मन–मुटुमा सजाएर आउने विदेशीहरूले नेपालको अनुहारस्वरूप सबैभन्दा पहिले देख्ने ठाउँ भनेकै काठमाडौं हो । विमानबाट झरेर राजधानीमा पाइला टेक्नासाथ नाकैमा बज्रन पुग्ने दुर्गन्ध र आँखामा ठोकिन पुग्ने फोहोरका थुप्राहरूको लज्जास्पद दृश्यले उनीहरूको दिल–दिमागमा नेपालप्रतिको कस्तो छाप बसाल्ला ?

राजधानीमा प्रायः थुप्रिइरहने फोहोरमैलाले विदेशी पाहुना या पर्यटक र काठमाडौं घुम्न आउने स्वदेशी आगन्तुकहरूमा मात्र दुष्प्रभाव पार्दैन । सबैभन्दा बढी दुष्प्रभाव त राजधानीकै रैथाने वासिन्दा अनि यहीं दीर्घकालीन बसोवास गर्नेहरूमा नै परिरहेको स्पष्टै छ । राजधानीमा बारम्बार थुप्रिइरहने फोहोरले बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी, गर्भवती र अशक्तहरूलाई झन् कस्तो असर पुर्‍याइरहेको होला ? जो–कसैले सहजै ठम्याउँछ ।

एक हिसाबले रमाइलो र हास्यास्पद तर विडम्बनापूर्ण र दुःखद् पक्ष त के छ भने राजधानीमा बारम्बार थुप्रिइरहने यिनै फोहोरका थुप्रा र तिनले फैलाउने घातक दुर्गन्ध धेरैका लागि भने ‘राजनीतिक एजेन्डा’ बन्दै आइरहेको छ । लज्जास्पद, विडम्बनापूर्ण र दुःखद् यो स्थिति कतिपयका लागि चाहिँ ‘कमाइको साधन’ समेत बन्ने गरेको छ । विभिन्न राजनीतिक दल/समूह, राजनीतिकर्मी, सरकार/सरकारी निकाय, स्थानीय तह, कर्मचारीतन्त्रदेखि एनजीओ/आईएनजीओ र क्लबसम्मले राजधानीको फोहोरलाई भजाएर नै बारम्बार आ–आफ्नो दूनो सोझ्याउँदै आइरहेका छन् ।

कयौं उम्मेदवारहरू राजधानीको फोहोरलाई नै देखाएर भोट तान्न र कुर्सीमा पुग्न निरन्तर सफल हुँदै आएका छन् । फोहोरकै बहानामा अनेकौं दल/समूहहरूले आफ्नो वर्चश्व समेत जमाउँदै आएका छन् । तर, समस्या भने सधैं जहाँको तहीं नै रहँदै आएको छ ।

झन् लज्जास्पद र अन्यायपूर्ण कुरा त के छ भने राजधानीको फोहोरबाट उपत्यका बाहिरका विभिन्न ठाउँ र वस्तीहरू समेत बारम्बार प्रताडित हुने गरेका छन् । कहिले ओखरपौवा, कहिले सिसडोल त कहिले बन्चरेडाँडा अनि कहिले कुन ठाउँ या कहिले अर्को कुन ठाउँ– राजधानी र राजधानीवासीले निष्काशन गरेको फोहोको मार खेप्न, महामारी झेल्न र दुष्प्रभाव व्यहोर्न अभिशप्त हुँदै आएका छन् ।

सिद्धान्ततः र स्वाभाविकरूपले प्रश्न उब्जन्छ– यहाँ समस्या र रोग–ब्याधिको मुहान बनेको फोहर त्यहाँ लगेर चाहिँ फाल्न या थुप्र्याउन पाइन्छ त ? अहँ, पाइँदैन । तसर्थ, फोहोरलाई मल, ऊर्जालगायतको उत्पादनमा सदुपयोग गर्ने योजना र प्रविधि अपनाइनुपर्छ; बढीभन्दा बढी नष्ट गरेर महानगर आफैं र छिमेकी जमिनलाई प्रदूषित तुल्याउने अवस्थाको अन्त्य गरिनुपर्छ ।

निष्कर्षतः राजधानीको फोहोरमैला कुनै दल, समूह, सङ्घ–संस्था, राजनीतिकर्मी, ‘समाजसेवी’, निकाय एवम् तह–तप्काको मात्रै चासो र चिन्ताको विषय होइन/हुनु हुँदैन । नेपालकै केन्द्रस्थल भएकाले यो समस्या सामान्यतः राष्ट्रकै समस्या हो र विशेषतः स्वयम्मा सबल, सक्षम, समृद्ध तथा अर्बौं बजेटको धनी मात्र नभई एक हदसम्म राजनीतिक–प्रशासनिक रूपले स्वायत्त समेत रहेको काठमाडौं महानगरपालिकाको समस्या हो ।

यसको समाधानार्थ राज्यले सैद्धान्तिक नेतृत्व एवम् मार्गदर्शन गर्नुपर्छ; महानगरपालिकाले व्यावहारिक पहल र अगुवाई गर्नुपर्छ अनि सरोकारवाला सबै पक्ष र शक्तिहरूले सक्रिय र रचनात्मक योगदान गर्नुपर्छ । राजधानीको फोहोरलाई ‘फोहोर–राजनीति’ मा सीमित राखेर बारम्बार गिजोलिरहने र दूनो सोझ्याउने दूराशयका साथ निरन्तर प्रयोग गरिरहने ‘फोहोरी राजनीति’ को अन्त्य गरिनुपर्छ ।