आँखाबाट आँसु होइन, माया बग्दोरैछ
केदारनाथ गौतम
…मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ
देशभक्त छोरो मर्दा देशै रुँदोरैछ
आँखाबाट आँसु होइन, माया बग्दोरैछ
शोकसँगै वेदनाको हुरी चल्दोरैछ…
३ जेठ, २०५० मा चितवनको दासढुङ्गामा नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको ‘रहस्यमय’ निधन भएलगत्तै चर्चित बनेको गीतका पङ्क्ति हुन् यी । मदन–आश्रितकै सम्मान र सम्झनास्वरूप अनिल पौडेलको शब्दरचना र जेबी टुहुरेको सङ्गीतसिर्जना एवम् गायनमा चर्चित बनेको गीत हो यो ।
यो गीत यसबेला भने उनै टुहुरेको सम्मान र सम्झनामा घन्किइरहेको छ सबैतिर । १५ कात्तिक, २००१ मा धरानको मधुमल्लामा जन्मिएका टुहुरेको १० भदौ, २०७८ मा काठमाडौंमा निधन भयो । परम्परागत ग्रामीण नेपाली समाजमा अघिल्लो सन्तानको बाल्यकालमै निधन भयो भने त्यसपछि जन्मेको सन्तानलाई जन्मनासाथ जुठो लगाइदिँदा वा जुठोमा फालिदिँदा उसको मृत्यु हुँदैन भन्ने मान्यता थियो । टुहुरे अघिका शिशुको निधन भएकाले उनी जन्मनासाथ जुठो लगाइयो र नाम नै ‘जुठबहादुर खड्गी’ राखियो । जुठबहादुर दस वर्षका हुँदा (२०११ सालमा) उनका बुबा कृष्णबहादुरको निधन भयो । त्यसपछि आफू टुहुरो भएको महसुस गरी उनले आफ्नो उपनाम ‘टुहुरे’ राखे । ‘जुठबहादुर’ को अङ्ग्रेजी–छोटकरीमा ‘जेबी’ अनि उपनाम ‘टुहुरे’ जोडिएर बनेको ‘जेबी टुहुरे’ नै उनको असली परिचय बन्न पुग्यो । अन्ततः यो नाम नेपाली प्रगतिशील आन्दोलन र गीत–सङ्गीतको क्षेत्रमा ऐतिहासिक रूपले सुपरिचित, स्थापित र सम्मानित बन्न पुग्यो ।
साहित्य–कलाका चार विधा– ‘काव्य, आख्यान, नाटक र निबन्ध’ मध्ये ‘काव्य’ विधाअन्तर्गतको सर्वाधिक लोकप्रिय उपविधा हो ‘गीत’ । लयात्मक एवम् गेयात्मक यस उपविधाअन्तर्गत पनि शब्दरचना, सङ्गीतसिर्जना, बाद्यवादन, गायन, नृत्य र अभिनयजस्ता विभिन्न तत्व एवम् चरणहरू हुन्छन् । टुहुरे यीमध्येका सबैजसो तत्वमा निपूण भए तापनि उनी मुख्यतः गायक, रचनाकार एवम् सङ्गीतकार थिए । उनले सयौं कालजयी गीतहरू रचना एवम् सङ्गीतसिर्जना गरेका छन्; गाएका छन् । टुहुले देश–विदेशका गाउँवस्ती र सहर–गल्ली घुमेर जनताका सामु दशकौंसम्म गाए; सयौं स्टेजमा प्रस्तुति दिए र आफ्नो आवाजमा करिव दुई सय गीतहरू रेकर्ड गराए ।
सैद्धान्तिकरूपले गीतहरूलाई मूलतः दुई किसिममा वर्गीकरण गर्न सकिन्छ– सचेतनामूलक र व्यवसायमूलक । सचेतनामूलक गीतहरूलाई नेपालमा ‘जनवादी गीत’, ‘क्रान्तिकारी गीत’, ‘प्रगतिशील गीत’, ‘जागरण गीत’ आदिका रूपमा चिन्ने/बुझ्ने गरिएको छ । यी गीत अर्थोपार्जनको उद्देश्यले सिर्जना गरिँदैनन्, गाइँदैनन् र उत्पादन गरिँदैनन् । जनचेतना फैलाउनु, जनजागरण पैदा गर्नु वा नागरिकलाई सुसूचित गर्नु नै यी गीतहरूको एक मात्र उद्देश्य हुन्छ । जेबी टुहुरेकै सर्वाधिक चर्चित एवम् लोकप्रिय गीतका यी पङ्क्ति हेरौं–
आमा, दिदी–बहिनी हो,
कति बस्छौ दासी भई,
सुखको सधैं प्यासी बनेर…
आफ्नै पौरख खान्छन्,
आफ्नै सिपमा बाँच्छन्,
दुःख–कष्ट सहेर सृष्टि यिनले धान्छन्,
असल–महान् व्यक्तिहरू यिनैले जन्माउँछन्,
ज्ञानगुन–बुद्धिहरू यिनैले सिकाउँछन्,
तर पनि अँध्यारोमा जीवन बिताउँछन्…
पछिल्लो समय क्यासेट, सीडी, युट्युब आदिजस्ता माध्यमबाट प्रचारक–प्रवद्र्धकहरूले यी गीतहरूलाई समेत धेरथोर मात्रामा व्यवसायको माध्यम बनाएका छन्, यो अर्कै पक्ष हो । तर, प्रगतिशील गीतका सर्जक, गायक र मुख्य उत्पादकले यी गीतलाई आय–आर्जनको माध्यम ठान्दैनन्/बनाउँदैनन् । शिक्षा, स्वास्थ्य, सामाजिक सूचना आदिजस्ता विषयमा नागरिकलाई सूचित एवम् जागृत गराउने उद्देश्यका साथ तयार पारिएका गीति–सन्देशहरूलाई पनि अन्तर्वस्तुका हिसाबले यसै श्रेणीमा राख्न सकिन्छ । तर, त्यस्ता गीति–सन्देशको उत्पादन एवम् प्रशारणको सिलसिलामा खर्चिइने धनराशि, त्यसको स्रोत र त्यसमा हुने ‘चलखेल’ तथा ‘खेलो’ का कारण ती ‘सन्देश’ हरूलाई ‘जनवादी’ या ‘प्रगतिशील’ गीत मानिँदैन/मान्न सकिँदैन ।
द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी सिद्धान्तमा आधारित रहनु, शोषित–उत्पीडितको पक्षपोषण गर्नु, नारी–पुरुषबीच समानताको वकालत गर्नु, जातीय–क्षेत्रीय उत्पीडनको विरोध गर्दै समानता÷समभावको सन्देश फैलाउनु, राजनीतिक–सामाजिक विकृति–विसङ्गति, भ्रष्टाचार–व्यभिचार, दूराचार–रुढीवाद र कुशासनविरुद्ध कठोर एवम् सम्झौताहीन सङ्घर्ष गर्नु नै ‘जनवादी’ वा ‘प्रगतिशील’ गीतहरूको मुख्य प्रवृत्ति हो । खुसिराम पाख्रिन, जेबी टुहुरे, जीवन शर्मालगायतले यही प्रवृत्ति अँगालेका छन् । टुहुरेकै अर्को गीतका यी पङ्क्ति हेरौं–
बसाइँ हिँड्नेको ताँतीले
बस्नेको मन रुवाउँदछ
लाखौंका लागि उजाड छ यो देश
मुट्ठीभरलाई त स्वर्ग छ…
छोरा र छोरीको आँसु देख्दा
छाती पोलेर आउँदछ
साहुको ऋण सम्झँदा
मनमा डढेलो लाग्दछ…
हालत छ जुन तिम्रो स्वदेशमा,
त्यही छ हालत विदेशमा
कति छन् त्यहाँ मागेर हिँड्ने,
कति छन् त्यहाँ मस्तीमा…
कला–साहित्य, गीत–सङ्गीत र मनोरञ्जनका नाममा पुँजीपतिहरूका नक्कली मालवस्तु र सेवाहरूको बिक्री बढाउने, गरिब जनता र श्रमिकहरूको हुर्मत लिने, नारी अस्मिताको धज्जी उडाएर महिलाहरूलाई व्यापारका माध्यम मात्र होइन, ‘वस्तु’ कै रूपमा बिक्री गर्ने, अशक्तहरूमाथि मजाक उडाउनेजस्ता दुष्कर्म नेपालमा र संसारभर नै जारी छन् । माथि चर्चा गरिएअनुरूपका ‘व्यवसायमूलक’ गीत भनेका यिनै हुन् । र, मुख्यतः सरकारी एवम् सबैजसो व्यावसायिक टेलिभिजन, रेडियो, अनलाइन एवम् पत्रपत्रिकाहरूले यस्तै/यिनै गीतहरूलाई मात्र स्थान र महत्व दिँदै आएका छन् । राज्य र समाज ‘प्रगतिशील’ वा ‘जनवादी’ छैन भन्ने सबभन्दा ठूलो प्रमाण नै यही हो ।
पञ्चायती कालरात्रिको अँध्यारो युगभर जनताका घरदैलो चहारेर प्रगतिशील गीत गाउँदै ‘प्रजातन्त्र’, ‘लोकतन्त्र’ र ‘गणतन्त्र’ आइसक्दा समेत यस्तै स्थिति/परिवेश कायम रहँदा अविरामरूपले र अविचलित ढङ्गले जनताका गीत रच्ने र गाउने जेबी टुहुरेको निधनको घडीमा उनले दशकौं घन्काएका यी आवाजलाई राष्ट्र र जनताले दोहोर्याएर नघन्काउने हो भने त अज्ञानता, पूर्वाग्रह र कृतघ्नताबाहेक के नै पो हुन्छ र !
आँखाबाट आँसु होइन, माया बग्दोरैछ
शोकसँगै वेदनाको हुरी चल्दोरैछ
देशभक्त छोरो मर्दा देशै रुँदोरैछ…