भाले मयूरको रमिता
पोथी फकाउने अनौठो शैली
कृष्णप्रसाद भुसाल‘मयूर’ । यो शब्द सुन्नासाथ नै सम्भवतः एउटा सुन्दर चराको छायाँछवि प्रायः सबैको दिमागमा परिकल्पित भइसक्छ ! हामीमध्ये धेरैले त मयूरलाई देखेका छौं; यो चरा नदेखेको भए तापनि त्यसका प्वाँखहरूसम्म त पक्कै पनि देखेका छौं ।
कयौं झाँकी तथा सांस्कृतिक कार्यक्रमहरूमा मयूरका प्वाँख लगाएर नाच्ने गरिएको त आजभोलिसम्म पनि धेरैतिर देखिन्छ । कतिपयलाई त ‘भगवान्’ श्रीकृष्णको ‘मुकुट’ मा जडित सुन्दर मयूरका प्वाँखको तस्बिर पनि झलझल्ती सम्झना आउन सक्दछ । भाले मयूर आकर्षक प्वाँखहरूले भरिएको आफ्नो पुच्छर फैलाउँदै नाचेका दृश्यसँग टेलिभिजनमा त पक्कै पनि साक्षात्कार भएकै हुनुपर्छ ।
हामी स–साना केटाकेटी छँदा (करिव २०–२५ वर्षअघि) किताबका पानाहरूको बीचमा मयूरका प्वाँख राख्ने प्रचलन व्यापक थियो । पुराना मठ–मन्दिर तथा घरका झ्यालहरूमा समेत मयूरको आकृति कुँदिएको प्रशस्तै देख्न पाइन्छ ।
मयूरको रहनसहन र जीवनशैली
नेपालको मुख्यतः तीन सय मिटरभन्दा तलको उचाइयुक्त तराई र भित्री मधेसमा मयूर पाइन्छ । नेपालमा मयूरको अनुमानित सङ्ख्या तीन हजारदेखि पाँच हजारसम्म रहेको छ । मयूर प्रायः नदी किनारका घना वनस्पति, घाँसे मैदान र खुला सालको जङ्गलमा बस्छ । प्रकृतिमा २५ वर्षसम्म बाँच्ने यो चराले एक पटकमा तीनदेखि बाह्र वटासम्म अण्डा पार्छ । धार्मिक र सांस्कृतिक आस्था–पुञ्ज मानिने मयूर जैविक विविधता र पर्यावरणीय सन्तुलनको सूचक समेत मानिन्छ । छिमेकी देश भारतको राष्ट्रिय पन्छी समेत हो मयूर ।
अधिकाङ्श चराहरू जस्तै मयूरका पनि भाले र पोथी फरक–फरक रङ्गका हुन्छन् । भालेको गर्धन र छाती नीलो हुन्छ भने यसको टलक्क टल्कने हरियो र लामो पुच्छर पनि असाध्यै मनमोहक तथा नीला आँखीबुट्टायुक्त हुन्छ । मयूरको पोथी खैरो रङ्गको हुन्छ । पोथीको अनुहार, घाँटी र पेटको भाग सेतो–सेतो हुन्छ । पोथीको भने पुच्छर लामो र आकर्षक हुँदैन । मयूरका भाले–पोथी दुवैमा शृङ्गारिक कल्की भने हुन्छ, जसले ‘एन्टेना’ को काम गर्छ ।
वसन्तऋतुको आगमनसँगै मयूरको प्रजनन समय सुरु हुन्छ । प्रजनन समयको सुरुआतसँगै भाले मयूरका प्वाँखहरू पनि लामा र आकर्षक हुँदै आउँछन् । वर्षाऋतुसँगै मयूरको प्रजनन समय सकिन्छ र भाले मयूरका ती प्वाखँहरू पनि झर्छन् । यसरी झरेका प्वाखँहरू सङ्कलन गरेर सजावटका लागि घरमा ल्याउने अथवा बजारसम्म पुर्याएर बेच्ने गरिन्छ ।
पोथी ‘पट्याउने’ अचम्मको शैली
भाले मयूरको आकर्षक प्वाँख र उसको सुन्दर नाचका बीचको सम्बन्ध भने बडो रोचक छ । भालेले आफ्ना मनमोहक प्वाँखयुक्त लामो पुच्छर र कलात्मक नृत्यको सहाराले नै पोथीलाई फकाउँछ । जुनचाहिँ भालेको पुच्छर र नृत्य बढी सुन्दर लाग्छ, पोथी मयूरले पनि उसैलाई नै मन पराउँछन् । पुच्छरको सुन्दरताभित्र पुच्छरको वजन, प्वाँखको सङ्ख्या, पुच्छरको लम्बाई, पुच्छरका प्वाँखमा हुने ‘आँखा’ जस्ता बुट्टाको चमक र सङ्ख्या आदिजस्ता पक्ष समाविष्ट हुन्छन् । त्यसैकारण पोथीलाई आफ्नो बनाउन भालेले यी ‘मापदण्ड’ पूरा गरी अरु भालेसँगको प्रतिस्पर्धा जित्नुपर्ने हुन्छ ।
अझ रमाइलो पक्ष त के छ भने प्रजनन समयको सुरुआतका बेला उपयुक्त जोडी छान्न मयूरको समूहमा वर्षेनि ‘सार्वजनिक प्रणयमेला’ नै लाग्ने गर्दछ । मेला–महोत्सवमा जाँदा मान्छेले सिँगारपटार गरेजस्तै मयूरहरू पनि प्राकृतिक शृङ्गारद्वारा सजिसजाउ भएर त्यस्ता मेलास्थलमा भेला हुन्छन् । त्यहाँ भालेहरूले आफ्नो नाच, कला, सामथ्र्य र शृङ्गारिक अङ्गहरूको सार्वजनिक प्रदर्शन गर्दछन् । भाले मयूरहरू त्यतिमा मात्र कहाँ सीमित हुन्छन् र ! उनीहरू पोथी आवतजावत गर्ने सम्भावित नाका, गौंडा र मुख्य आहारास्थल वरिपरि भेला भएर पोथीलाई समेत आफूतिर आकर्षित गर्न कराउने र नाच्ने काम समेत गरिरहेका हुन्छन् ।
वास्तवमा भाले मयूरका प्वाँख र नाचले पोथी मयूरलाई मात्र नभई हामीलाई समेत मोहित तुल्याउँछ । नृत्यका बेला १८० डिग्रीको कोणमा फैलिएर अर्ध–चन्द्राकार बन्ने भाले मयूरको पुच्छरका सप्तरङ्गी प्वाँख इन्द्रेणीजस्तै बहुरङ्गी देखिन्छन् । अर्ध–चन्द्राकार पङ्खा बनेका प्वाँखहरूमा देखिने आँखाको स्वरूपमा कुँदिएका सयौं बुट्टाका कारण भाले मयूर विछट्टै सुन्दर देखिन्छ । पोथी फकाउने प्रणय–नाचका बेला भालेले यही पङ्खालाई लयात्मकरूपमा सररर्र फिजाउँदै पोथीका वरिपरि घुम्छ । यस क्रममा भालेले पोथीलाई आफ्नो शरीर र पङ्खाको अघिपछिका भाग देखाउँछ अनि आकर्षक तरिकाले एउटामाथि अर्को प्वाँख खप्ट्याउँदै बिस्तारै बन्द गर्छ ।
कसैलाई भ्याईनभ्याई, कोहीचाहिँ हेरेको हेर्यै
भाले मयूरहरूको सुरिलो आवाज र मनोरम नृत्यले वनै गुञ्जयमान, रमणीय र प्रेमिल बन्दछ । शृङ्गार र नृत्य प्रदर्शनको यो प्रतिस्पर्धामा सबै भाले सफल हुँदैनन् । तीव्र प्रतिस्पर्धाबीच जुन भाले सर्वोत्कृष्ठ हुन्छ, उसैले धेरै पोथीको दिलमा राज जमाउँछ । त्यसैकारण एउटै भालेले उक्त समूहका धेरै पोथीसँग सङ्सर्ग गरी आफ्नो वङ्श विस्तार गर्न पाउँछ ।
उत्कृष्ठ भालेसँग सङ्सर्ग गर्न पोथीहरूको तँछाडमछाड नै हुन्छ र एकापसमा लडाइँ नै चल्छ । बलियो पोथीले भालेसँग धेरै समय बिताउन पाउँछे । पोथीले वास्ता नगरे भालेको केही सिप चल्दैन किनकि यो प्रजातिले जबर्जस्ती गर्दैन । पोथीबाट अस्वीकृत अधिकाङ्श भालेहरू भने आजीवन ‘कुमार’ नै रहन्छन् ।
गर्भाधानको पनि निश्चित अवधि
मयूरका पोथीले वर्षको निश्चित समयावधिभित्र मात्र गर्भाधारण गर्न सक्दछन् । छोटो अवधिभित्र मात्रै प्रजननका लागि ग्रहणशील हुनेहुँदा उसलाई उपयुक्त समयमा सबैभन्दा योग्य भाले खोज्नुपर्ने दबाव हुन्छ । उसले सहवासका लागि सुरूमै बडो ध्यान पुर्याएर भाले चुन्नुपर्छ ।
कतिपय पोथीले भने यदाकदा पहिले रोजेको भन्दा अझ योग्य भाले भेटेमा पहिलोलाई छाडिदिने गरेको पनि अध्यनहरूमा पाइएको छ । अर्कातिर, भालेको ध्यान पनि गर्भाधान हुने सोही निश्चित समयावधिसम्म पोथीमाथि आफ्नो वर्चस्व राखेर बढीभन्दा बढी पोथीसँग सहवास गर्ने र बढीभन्दा बढी वङ्श विस्तार गर्नेतर्फ हुन्छ । हरेक भाले मयूर प्रणयकालमा बढीभन्दा बढी पोथीहरूलाई रिझाउन र उनीहरूसँग सहवास गर्न यथासक्य प्रयत्नशील रहन्छन् । यसैका निम्ति भाले मयूरले आफ्नो लामो र सुन्दर पुच्छरलाई जोड–जोडले हल्लाउने, फुकाएर–फैलाएर, शृङ्गारिक कल्की ढल्काउँदै तालमा ताल मिलाएर नाच्ने र पोथीलाई आकर्षित गर्नेमा विशेष शक्ति र सामथ्र्य लगाइरहेको हुन्छ ।
तर, जतिबेला भालेको पुच्छरका प्वाँखहरू विकसित हुने बेला हुन्छ, त्यति नै बेला उनीहरूका लागि पर्याप्त भोजनको कमी हुन्छ, आवश्यकताअनुरूपको उपलब्धता हुँदैन । पर्याप्त भोजन खोज्न नसक्ने मयूरका प्वाँख राम्रोसँग बढेका र आकर्षक हुँदैनन् । सक्षम भालेले पुच्छरका सुन्दर र धेरै प्वाँख देखाएर कठिन परिस्थितिमा पनि सफलतापूर्वक पर्याप्त भोजन खोज्न सक्ने र ‘म नै सहवासका निम्ति बढी योग्य छु’ भन्ने सन्देश पोथीहरूलाई दिइरहेको हुन्छ । त्यसैले भाले मयूरको शृङ्गारिकता र सुन्दरता तथा प्रणय–व्यवहारको एक मात्र उद्देश्य पोथीको प्राप्ति, सङ्सर्ग र वङ्श विस्तार नै हो ।
अवगुण पनि छन् भालेको सुन्दरतामै
भाले मयूरको यो सुन्दरता, लामो पुच्छर र आकर्षक प्वाँख उसका निम्ति फाइदाजनक मात्र छैन; उनीहरूका निम्ति यी कुरा हानिकारक समेत हुन्छन् । भालेहरू पोथीजस्तो छिटो–छरितो तरिकाले सत्रुबाट भाग्न र लुक्न सक्दैनन् । लामो पुच्छरले उसको उडानमा अवरोध मात्र पुर्याउँदैन, त्यसको स्याहार–सुसारका लागि मनग्गे ऊर्जा र समय खर्च समेत गराउँछ ।
मनमोहक शारीरीक बनावट, आकर्षक नृत्य र सुमधुर आवाजबाट मोहित भएर कतिपय धनाढ्य एवम् सौखिन मान्छेहरू भाले मयूरलाई पिँजडामा थुनेर आफ्नै घरमा राख्न समेत लालयित हुन्छन् । त्यही सुन्दर प्वाँखको सङ्कलनका लागि मान्छेहरू भाले मयूरको अवैध शिकार समेत गर्दछन् । त्यसैकारण कहिलेकहीं त मयूर स्वयम्लाई नै आफ्नो सुन्दरता आफ्नै निम्ति अभिशापजस्तो पनि लाग्दो हो ।
मान्छेलाई मयूरको शिक्षा
आफ्नो वङ्श विस्तारको सुनिश्चितताका लागि भाले मयूरले गर्ने गरेको मेहनत, समर्पण, अनुशासन र उत्तरदायित्वबोध हामी मानवसमुदायका लागि समेत अनुकरणीय छ । ‘अवसर प्राप्तिको लागि सक्षम हुनुपर्छ र सक्षम बन्नका लागि मेहनत गर्नुपर्छ’ भन्ने सन्देश भाले मयूरबाट मान्छेले ग्रहण गर्न सक्नुपर्छ ।
वन्यजन्तु जीवितै अवस्थामा घरमा पाल्नु तथा त्यसका कुनै पनि अङ्ग–प्रत्यङ्गको प्रयोग तथा व्यापार गर्नु गैरकानुनी भए तापनि मयूरका प्वाँखहरू खुल्लमखुला बेचिइरहेको देखिन्छ । यस्ता कार्यलाई निरुत्साहित गर्नु सबै सचेत नागरिकको कर्तव्य हो । मयूरसहित कालिज प्रजातिका अन्य चराहरू समेतको संरक्षण गर्ने उद्देश्यले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले पञ्चवर्षीय संरक्षण कार्ययोजना (२०१९–२०२३) लागू गरेको छ । यसको अक्षरसः कार्यावन्यनका निम्ति सबैले हातेमालो गर्नुपर्छ ।
भुसाल पन्छीविज्ञ हुन्