निरोगीमै रोगको चिन्ता: एकखाले मानसिक रोग
गोपाल ढकाल
व्यक्तिपिच्छे स्वभाव फरक हुन्छ । कोही चाँडो रिसाउने, चाँडै आवेगमा आउने हुन्छन् भने कोही शान्त स्वाभावका हुन्छन् । कोही रमाइलो मिजास भएका, हाँसो–ठट्टा गर्न मन पराउने हुन्छन् त कतिपयलाई यसो गर्न/गरेको मनै पर्दैन । कोही अरुसँग चाँडै घुलमिल हुन सक्ने, मिलनसार स्वभावका हुन्छन् भने कोहीचाहिँ चाँडै घुलमिल हुन नसक्ने स्वभावका हुन्छन् ।
कोही आवश्यकताभन्दा धेरै नै सोचविचार गर्ने, स–साना विषयमा पनि मनमा धेरै कुरा खेलाउने र भविष्यका सम्भावित परिणामलाई लिएर बढ्ता चिन्ता लिइरहने स्वभावका हुन्छन् । कसैमा शरीरमा खासै रोग नभए पनि कुनै ठूलो रोग पो लागेको छ कि, पछि गएर जटिल रोगले सताउने पो हो कि भन्नेजस्ता चिन्ताले सताउने खालको मानसिक रोग पनि हुन्छ । यस्तो रोगलाई ‘हाइपोकोन्ड्रियासिस’ भनिन्छ । यस्तो रोग लागेकाहरूलाई ‘रोगको चिन्ता’ ले नै ज्यादै सताउँछ ।
आफ्नो शरीरमा देखिएका सामान्य गडबडी या समस्यालाई लिएर पनि उनीहरू चाहिनेभन्दा बढी नै चिन्तित हुने गर्दछन्; शरीरमा स–साना बिमिरा मात्रै आए पनि ठूलो रूपमा लिन थाल्दछन् । तिनै बिमिरालाई ‘कतै यो क्यान्सरको लक्षण त होइन !’ वा ‘पछि यसैबाट क्यान्सर नै हुने त होइन ! कतै यिनै बिमिरा शरीरभरि फैलिएर कुरूप भइने त होइन !’ आदिजस्ता चिन्ताले उनीहरूलाई सताउन थाल्दछ ।
यस्तो ‘विश्वास’ उनीहरूको मनमा गहिरोसँग बसेको हुन्छ । आफूलाई टीबी, क्यान्सर वा यौनजन्य रोग (एचआईभी/एड्स) आदि रोग लागेको हुन सक्ने आशङ्का उनीहरूमा हुन्छ । कहिलेकहीं त आफू पागल नै हुन लागेको आशयका कुरा समेत गर्दछन् उनीहरू । यो रोगबाट ग्रसितहरू आफ्नो शरीरमा देखिएका समवेदना र शरीरको कार्यप्रणालीलाई गलतरूपमा बुझ्ने र व्याख्या गर्ने गर्दछन् ।
यस्तो रोगबाट पीडितहरूले प्रायः देखिइरहने पेट, छाती, टाउको र घाँटीका सामान्य समस्यालाई समेत ठूलै रोग सम्झने गर्दछन् । आफूलाई गम्भीर रोग लागेको ठान्ने वा तिनै ‘रोग’ बढ्दै गएर गम्भीर रूप लेलान् भन्ने चिन्ताले उनीहरू निकै विचलित हुन पुग्दछन् ।
यस्तो चिन्ताका कारण निद्रा नलाग्ने, खाना नरुच्ने, मुटुको धड्कन बढ्ने, मुख सुक्ने, पसिना आउने, टाउको दुख्ने, जिउ गल्ने, हात–खुट्टा पोल्ने, शरीर झम्झमाउने, निरास र दुःखी हुनेजस्ता लक्षणहरू देखिन सक्दछन् । यो रोगबाट पीडितहरूमध्ये झन्डै ८० प्रतिशतमा डिप्रेसन र एन्जाइटीको समस्या देखिने गर्दछ ।
हाइपोकोन्ड्रियासिसबाट पीडितहरूमा जाँड–रक्सी तथा अन्य लागू पदार्थको सेवन गर्ने समस्या पनि देखिन सक्दछ । त्यसैकारण यसखाले बिरामीको दिनचर्या समेत उल्लेखनीय रूपमा प्रभावित हुन पुग्दछ । ‘रोग’ को चिन्ताकै कारण एकपछि अर्को चिकित्सक फेर्दैै हिँड्ने, अरुको उक्साहट या लहैलहैमा लागेर ‘राम्रा डाक्टरलाई देखाउन’ भन्दै टाढा–टाढासम्म पुग्ने, शारीरिक परीक्षणहरू गराइरहने, धामी–झाँक्री, हात हेर्ने, जोखना हेर्ने आदिको पछि लागिरहने, ‘ग्रह–दशा’ फुकाउन भन्दै औंठी–जन्तर इत्यादि बाँध्ने जस्ता क्रियाकलाप पनि उनीहरूले गर्न थाल्दछन् । उपचारका नाममा उनीहरू भएभरको पैसा खर्च गर्न समेत पछि पर्दैनन् ।
यस्ता क्रियाकलापले उनीहरूलाई थप समस्यामा पार्न सक्दछ । जतिसुकै प्रमाण र तर्क दिइए पनि ‘रोग छ’ भन्ने भ्रम उनीहरूबाट हटाउन सकिँदैन । यो रोग लाग्दा व्यक्तिगत एवम् सामाजिकका साथसाथै आर्थिक, पारिवारि र व्यावसायिक समस्याहरू समेत निम्तन पुग्दछन् । यस्तो रोग महिला–पुरुष दुवैलाई लाग्न सक्दछ । जुनसुकै उमेरका व्यक्तिलाई पनि यो रोग लाग्ने सम्भावना रहन्छ । यद्यपि २० देखि ३० वर्षसम्मको उमेरमा सामान्यतः बढी देखापर्ने गरेको पाइन्छ ।
सामान्य शारीरिक समस्या हुदा पनि ज्यादै समवेदनशील हुने, सतर्क रहने, ती रोगबारे बढाइचढाइ गरेर गलत व्याख्या गर्ने, अरुलाई सामान्य तनाव हुँदा समेत आफूलाई दुखाइ महसुस हुने आदि नै यस रोगका मुख्य लक्षण हुन् ।
‘सिकाइ’ पनि यो रोग लाग्नुको एउटा मुख्य कारण हो । कहिलेकहीं कुनै ठूलो समस्या पर्दा मानिसहरू बिरामी भएको देखिन्छ । बिरामी भएपछि केही समयका लागि छुट मिल्छ, काम गर्नु पर्दैैन । यही क्रम दोहोरिइरह्यो र त्यसलाई नजानिँदो तरिकाबाट अनुशरण गर्दै गइयो भने यो रोग लाग्ने सम्भावना हुन्छ । ज्यादै आत्मकेन्द्रित हुने, आत्मविश्वास कम हुने, स–साना कुरामा पनि ज्यादै चिन्ता लिने स्वभाव भएका अनि विगतमा कुनै ठूलो गल्ती वा अपराध गरेका तथा अरुप्रति आरिस, डाह, कुण्ठा बोकेको र आफूबाहेक सबैको कुभलो चिताउने व्यक्तिमा पनि यस्तो रोग लाग्ने सम्भावना बढी नै हुन्छ ।
यस्तो रोगबाट पीडितहरूले विश्वास गर्दछन्– ‘मलाई ठूलै रोग लागेको छ तर रोग के हो भन्ने कुराचाहिँ डाक्टरले पत्ता लगाउनै सकेको छैन ।’ कतिपय अवस्थामा त उनीहरू चिकित्सकको सिकायत गर्दैै हिँड्दछन् र भन्दछन्— ‘ठूलठुला, नाम चलेका डाक्टरलाई पनि देखाएँ तर खै, रोग पत्ता लगाउन नै सकेनन् !’
यस्तो ‘विश्वास’ कम्तिमा ६ महिनादेखि देखिएको छ भने यो रोग लागेको हुन सक्दछ । समय बित्दै जाने क्रममा एउटा रोगमाथि अर्को रोग समेत थपियो भन्ने लाग्दै जान र विश्वास परिवर्तित हुँदै जान पनि सक्दछ ।
यो रोगबाट पीडितहरूको उपचारका निम्ति साइकोथेरापी, मनोपरामर्श, तनाव व्यवस्थापन गर्ने तरिका, शान्त हुने जुक्ति, मनोशिक्षा र आत्मनिर्भर बनाउने सिपको आवश्यकता पर्दछ । तनाव हुँदा र शरीर बिसन्चो हुँदा सहन सक्ने क्षमता उनीहरूमा अरुमा भन्दा कम हुन्छ । त्यसैले यस्ता बिरामीलाई केही पनि रोग छैन र केही पनि गर्नु पर्दैन भनीठान्नु हुँदैन । यसो भएमा ‘डाक्टरले पनि मेरो समस्या बुझ्नै सकेन, म त निकै ठूलै रोगबाट पो डीडित रहेछु’ भन्ने अनुभूति पीडितमा हुन्छ र थप चिन्ता एवम् निराशा बढ्दछ । यस्तो हुँदा उनीहरूले चिकित्सक नै फेर्ने सम्भावना झन् बढी हुन्छ । यस्तो अवस्थामा अनावश्यकरूपमा चिकित्सक रेफर गर्ने, जरुरतभन्दा बढी शारीरिक परीक्षण गर्न लगाउनेजस्ता काम गर्नु हुँदैन । आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा औषधोपचार गराउनु जरुरी हुन्छ ।
मनोविद् ढकाल ‘मार्क नेपाल मनोसेवा केन्द्र’ का सञ्चालक हुन्