वर्षायाम, सावधानी र जनसुरक्षा

केदारनाथ गौतम

वर्षभरका छ ऋतुहरूका बीच दुई मुख्य सिजन आउने–जाने गर्दछन्– हिउँद र वर्षा । हिउँदको वातावरण र हावापानी चिसो हुने भएकाले यो सिजनको जीवनशैली, खानपान र रहनसहन बेग्लै हुन्छ/हुनुपर्छ । यो सिजनमा जनजीवनलाई जाडो, तुषारो र हिमपातले सताउँदछ । त्यसैगरी, वर्षायामको वातावरण र हावापानी तातो हुने भएकाले यो सिजनको जीवनशैली, खानपान र रहनसहन हिउँदको भन्दा फरक हुन्छ/हुनुपर्छ । यो सिजनमा भने जनजीवनलाई झरीबादल, वर्षापात, बाढीपहिरो, डुबान र गर्मीले सताउँदछ ।

स्थानविशेष र परिवेशअनुरूप जाडोयाममा सबैतिर उत्तिकै चिसो हुँदैन र गर्मीयाममा पनि सबैतिर उत्तिकै तातो हुँदैन । सबैतिर बाढीपहिरो र डुबानको समस्या हुँदैन र वर्षापात पनि बराबर हुँदैन । सबैतिर उत्तिकै तुषारो पर्दैन र सबै ठाउँमा हिमपात पनि हुँदैन । तर, आधारभूतरूपले भने जाडो याममा सबैतिर जाडो हुन्छ र गर्मीयाममा सबैतिर गर्मी नै हुन्छ । कतिपय स्थानमा भने वर्षायाममा जुका, सर्प, बिच्छी र मच्छडको थप समस्या हुन्छ । र, यो समस्या पनि सबै ठाउँमा हुँदैन र हुने ठाउँहरूमध्येमा पनि सबैतिर बराबरी समस्या या प्रकोप हुँदैन ।

जनस्वास्थ्यका दृष्टिकोणले पनि जाडो र गर्मी सिजन भिन्न–भिन्न विशेषताले युक्त हुन्छन् । जाडोयाममा लाग्ने केही सामान्य रोग वा स्वास्थ्य समस्याहरू हुन्छन् भने गर्मीयाममा लाग्ने केही फरक साधारण रोग या स्वास्थ्य समस्याहरू हुन्छन् । जाडोमा लाग्ने प्रायः रोग या स्वास्थ्य समस्याहरू गर्मीयाममा स्वतः हराएर जान्छन् भने गर्मीमा लाग्ने सामान्य रोग या स्वास्थ्य समस्याहरू जाडो मौसम सुरु हुँदा क्रमशः घट्न थाल्छन् र जाडो बढ्दै जाँदा क्रमशः निको हुन्छन् । तर, जाडो–गर्मी दुवै मौसममा लाग्ने खास–खास रोग, जटिल एवम् गम्भीर खालका स्वास्थ्य समस्या र दीर्घरोगहरू भने मौसमको परिवर्तनसँगै स्वतः निको हुँदैनन्; तिनलाई भने रोगअनुरूपको उपचार र औषधिको प्रयोग अनिवार्य हुन्छ ।

जनस्वास्थ्यका दृष्टिले सामान्यतः गर्मी मौसम र वर्षायाम बढी खतरनाक मानिन्छ । यो सिजनमा वर्षा भइरहने, पानीको मुहान धमिलिइरहने, खानेपानीका कतिपय स्रोतमा फोहरमैला र ढल समेत मिसिन पुग्ने भएकाले पिउने र भाँडाकुँडा सफा गर्ने पानीमार्फत अनेकौं हानिकारक कीटाणुको सङ्क्रमण हुने जोखिम बढी हुन्छ । गर्मीका कारण पातला र छरिता पहिरनमा हिँडिने तर अकस्मात बाटोघाटोमै हुरीबतास र वर्षाको मारमा परिने भएकाले यो सिजनमा विभिन्न किसिमका दुर्घटनाको पनि जोखिम समेत बढी नै हुन्छ । बाढीपहिरो र डुबानबाट जनधनको क्षति पनि यही सिजनमा बढी हुन्छ । र, मौसमी प्रतिकूलताका कारण सवारी दुर्घटना समेत यही सिजनमा बढी हुने गरेको पाइन्छ । झिँगा, लामखुट्टे, मच्छडजस्ता फोहोर ओसार्ने र सङ्क्रामक कीराहरूका कारण खाद्य सामग्री प्रदूषित हुन पुग्ने र तिनका टोकाइबाट रगतमार्फत सिधै रोग सर्ने डर पनि यही सिजनमा बढी हुन्छ ।

अतः हिउँदको तुलनामा वर्षायाममा बढी नै स्वास्थ्य सतर्कता र मानवीय सचेतता अपेक्षित हुन्छ । हुरीबतास, आगलागी, सर्पदङ्श, डुबान, बाढीपहिरोजस्ता प्रकोपहरूबाट बच्न, पानीजन्य स्रोतहरूबाट हुने सङ्क्रमणबाट जोगिन र रोग सार्ने कीरा–कीटाणुबाट सुरक्षित रहन तथा क्रियाकलापजन्य दुर्घटनाहरूमा नपर्न व्यक्ति स्वयम्को सावधानी नै पहिलो र सर्वाधिक महत्वपूर्ण आवश्यकता हो । रोगव्याधि, दुर्घटना र प्रकोपबाट जोगिनका लागि व्यक्तिको सावधानी र सचेततासँगसँगै परिवारको जिम्मेवारी र समाज तथा टोलको सचेत भूमिका अर्को महत्वपूर्ण पक्ष हो । नागरिकलाई रोगब्याधि, महामारी, प्रकोप र दुर्घटनाबाट जोगाउन र यीमध्ये कुनै वा केहीले सताइहालेमा उपचार, राहत, पुनर्स्थपना र उद्धार गर्न अग्रपङ्क्तिबाट सघाउने, नेतृत्व गर्ने र सचेत तुल्याउने तेस्रो जिम्मेवारी हुन्छ– जनप्रतिनिधिमूलक स्थानीय तह, स्वास्थ्य केन्द्र/स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सामाजिक/राजनीतिक संस्था र सङ्घ–सङ्गठनहरूको । यी र यस्ता समस्यामा नागरिक र समुदायलाई अझै माथिल्लो तहको सहयोग, संरक्षण र भरथेग आवश्यक परे प्रदेशस्तरीय सरकार, सङ्घ–संस्था र प्रतिनिधिहरूले भूमिका पूरा गर्दै दायित्व निर्वाह गर्नुपर्छ । त्योभन्दा पनि माथिबाट हेर्नु परेमा सङ्घीय सरकार, निकाय र पदाधिकारी छँदैछन् ।

जनस्वास्थ्य र सामाजिक दृष्टिले हिउँद–वर्षा दुवै सिजन हानिकारक या प्रतिकूल मात्र छैनन्, कयौं हिसाबले लाभदायक र अनुकूल पनि छन् । तर, तिनका हानिकारक या प्रतिकूल पक्षको बढी हेक्का राख्न सके बढी फाइदा लिन र सुरक्षित रहन सकिन्छ । सारतः वर्षायाम अनेकौं रोग, प्रकोप, महामारी र दुर्घटनाको सम्भावना बढी हुने समय हो । मौसमजन्य विशेषता र अनुकूलता–प्रतिकूलता बुझेर आफू सुरक्षित बन्नु र सचेतना फैलाएर सबैलाई सुरक्षित राख्नु नागरिक, समाज र सबै निकाय/संस्थाहरूको आधारभूत कर्तव्य हो ।