सहिद गङ्गालालको अन्तिम दिन

होलिस्टिक संवाददाता

सहिद गङ्गालाल भक्तलाल र तुलसीमाया श्रेष्ठको जेठो छोराका रूपमा वि.सं. १९७६ मा रामेछापको भङ्गेरीमा जन्मिनु भएको हो। गङ्गालाल जन्मँदा बुबा भक्तलालको आर्थिक हैसियत राम्रै थियो । उहाँ सरकारी नोकरीमा हुनुहुन्थ्यो । संयुक्तको किचलोका कारण हामीले काठमाडौंको क्षेत्रपाटीस्थित घर र पारिवारिक सम्पत्ति उपयोग गरिरहेका थिएनौं। केही समय ओमबहालस्थित भाडाको घरमा बसिसकेपछि बुबाले प्याफलमा बेग्लै घर किन्नुभयो । ठूलो बगैंचासहित त्यो घर फराकिलो र ठूलो थियो । सोही घरको भुइँतलामा गङ्गालालको कोठा थियो।

आमा तुलसीमाया साक्षर हुनुहुन्थ्यो । उहाँ बङ्गाली भाषा समेत जान्नुहुन्थ्यो । छोराहरूको असल पालनपोषणकै सिलसिलामा उहाँले रामायण र महाभारतका कथाहरू सुनाउने गर्नुहुन्थ्यो । परिणामतः गङ्गालालमा गीताको राम्रो ज्ञान घुसेको रहेछ; मृत्युदण्ड दिइनुभन्दा अघिल्लो दिन बुबा भेट्न जाँदा उहाँलाई उल्टै सान्त्वना दिएर पठाएपछि त्यो कुरा प्रमाणित भयो । त्यस दिन गङ्गालालले गीताका श्लोकहरूको स्मरण गराउँदै जन्मेपछि कुनै न कुनै दिन सबैले मर्नैपर्ने भएकाले आफ्नो मृत्युपछि कुनै चिन्ता नलिन बुबालाई सम्झाउनु भएको थियो।

गङ्गालालमा रहेको तीव्र इच्छाशक्ति, सिद्धान्तप्रतिको समर्पणभाव र दृढताको झलक मैले उहाँका जेठा मामाससुरा द्वारिकामान बतासासँगको कुराकानीबाट पनि पाएको छु । जब बतासाले गङ्गालाललाई राजनीतिबाट अलग रहन सुझाव दिनुभयो, गङ्गालालले पटक्कै मान्नुभएन र उल्टै उहाँलाई समेत राजनीतिमा सक्रिय हुन आग्रह गर्नुभयो । बतासाले गङ्गालाललाई भन्नुभएछ- ‘राजनीतिमा लाग्नु भनेको भ्यागुता र माछालाई एउटै तराजुमा जोखेजस्तै मात्र हो ।’ गङ्गालालले जवाफ दिनुभएछ- ‘एक दिन त सबैले मर्नैपर्छ, किन गल्लीको कुकुरझै मर्ने ? बरु नायक भएरै मर्ने नि ! आफ्नो र काकाको मृत्युबीच भिन्नता हेर्न र बुझ्न समेत गङ्गालालले बतासालाई अनुरोध गर्नु भएछ। १३ मङ्सिर, १९९५ ( वि.सं.) मा इन्द्रचोकमा गरेको आक्रोशपूर्ण भाषणपछि भूमिगत रहेका बेला उहाँहरूबीच यस्तो कुराकानी भएको थियो।

प्याफलस्थित आफ्नो कोठाको ढोकामाथिको बिममा बतासाले लेखेका थिए- ‘भगवान् ! गङ्गालाई बचाउनोस् ।’ उनले त्यहाँ लेखेको ‘गङ्गा’ नदीको नाम नभएर उनै गङ्गालालको थियो; राणाहरूविरुद्ध भूमिकाका कारण गङ्गालालको आसन्न मृत्युप्रतिको बतासाको सचेतना थियो । त्यो ‘दुर्भाग्य’ लाई सकेसम्म टार्न र नसके पनि पछाडि धकेल्न उनले हरसम्भव प्रयास गरे। तर, गङ्गालाल भने आफ्नो वलिदान खेर जाँदैन र आफू गलत छैन भन्ने मान्यतामा पूर्णरूपले विश्वस्त नै रहिरहे।

राणाहरूले राजनीतिक कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने निर्णय गरेको खबरले राजधानी तातेको थियो । शिक्षक रुद्रराज पाण्डेमार्फत यो खबर चुहिएको थियो। यङ्गलका अर्का शिक्षक जनकलाल सिंहको राणाहरूसम्म पहुँच थियो र सोही माध्यमबाट यो खबर रुद्रराजसम्म आइपुगेको थियो । त्यसबेलासम्म धर्मभक्त माथेमा गिरफ्तार भइसकेका थिए। झोंछेका हरिकृष्ण श्रेष्ठ दौडेर हाम्रो (गङ्गालालको) घरमा आइपुगे र टाइपराइटरलाई इनारमा खसालिदिए। गङ्गालालले पनि केही दिनअघि नै पानी पिउने करुवामा कागज र ढुङ्गा भरेर बगैंचाको इनारमा फालिसकेका थिए।

अन्तत: गङ्गालाललाई पक्राउ गर्न प्रहरीहरू आइपुगे । उनकी श्रीमती हसिनादेवी सोही दिन बिहान बाङ्गेमुढास्थित माइतीमा गएकी थिइन् । उनलाई फिर्ता बोलाउन मलाई पठाइयो । भाउजू हसिना, उहाँकी आमा र छोरा रवि बाटामै फर्कंदै गरेको भेटेर म अचम्मित भएँ। सनसनीपूर्ण खबर सबैभन्दा छिटो दौडन्छ भन्ने कुरा मेरो किशोर मस्तिष्कले थाहै पाएको थिएन । मैले उनीहरूलाई ढोकाटोलस्थित कम्पाकोट गेट अगाडि सार्वजनिक पँधेरोकै छेउमा भेटें।

हाम्रो घर पूरै घेराबन्दी गरिएको थियो; पुलिसहरूले पहरा दिइरहेका थिए। कसैलाई पनि भित्र पस्न र बाहिर निस्कन दिइएको थिएन। गङ्गालालको भागको पैतृक सम्पत्ति समेत राज्यले जफत गर्ने भएकाले सकेसम्म सम्पत्ति र मालसामान लुकाउने प्रयासमा परिवारका सदस्यहरू क्रियाशील थिए। गङ्गालाल एकदमै शान्त भएर घरको दोस्रो तलास्थित बुबाको कोठामा चुपचाप बसिरहनु भएको थियो । एकदमै असामान्य मौनता; व्यापक हलचल छ तर भिन्न शैली र वातावरणका साथ । एक पटक म उहाँको नजिक पुगें, उहाँले मलाई काखमा राख्नुभयो । यो अवस्था आँधी आउनुअघिको सन्नाटा थियो । मैले पछि सुनें, हाम्रो पढाइका लागि सहयोग गरिदिन उहाँले किलागलका बद्रीनारायण श्रेष्ठ र भोटेबहालका गम्भीरमान सिंहसँग अनुरोध गर्नुभएको रहेछ। उनीहरूले आफ्नो वाचा पूरा गरे।

म सम्झन्छु, दिउँसो अबेर भइसकेको थियो । प्रहरीले गङ्गालाललाई घरबाट निकाले र लरीमा चढाएर अगाडिको सिटमा राखे । कलरसहितको आफ्नो सेतो चर्चित स्वेटर लगाएर उहाँ लरीमा बस्नुभएको मलाई भखरैजस्तो लाग्दछ। विभिन्न लिखितहरू, अलिखित सामग्रीहरू, जन्मकुण्डलीहरू, पाठ्यपुस्तकहरू इत्यादिले भरिएका साढे सात वटा बोरा पनि प्रहरीहरूले सोही लरीमा हाली लगे।

मृत्युदण्डको अघिल्लो दिन गङ्गालाललाई केन्द्रीय कारागारसँगैको जगन्नाथ देवल (मन्दिर) अगाडि परिवारजनसँग भेटाइएको थियो । गङ्गालाल देखापर्ने वित्तिकै पुष्पलालले जुत्ता फुकालेर अङ्कमाल गरे। आफ्नो अभियान निरन्तर जारी राख्न गङ्गालालले पुष्पलालसँग आग्रह गरे; म भने मौनदर्शक मात्रै बनें । बुबा नि:शब्द उभिइरहनु भएको सम्मँदा अहिले पनि मेरो शरीर काँप्छ । गङ्गालाल गीताका श्लोकहरू सुनाउँदै बुबा र हामीलाई सान्त्वना दिइरहनु भएको थियो । त्यो क्षण ज्यादै मर्मस्पर्शी, वियोगान्त, दुःखद् र दयनीय तर देशभक्तिपूर्ण क्षण थियो । त्यो वियोगान्त त्रासदीले राणाशासनविरुद्ध बदला लिइछाड्ने प्रतिबद्धता भित्रभित्रै बोकेका थुप्रै राजनीतिक कार्यकर्ता जन्मायो। र, पुष्पलाल पनि तिनैमध्येकै एक थिए।

१५ माघ, १९९७ (वि.सं.) मा नै गङ्गालालले आफ्नो घर अन्तिम पटक देखे । प्याफल टोलबाट उहाँलाई तीव्र गतिको लरीमा राखेर शोभा भगवतीतर्फ कुदाइँदै थियो। त्यसैबेला उनले पत्नीलाई बेलाए- “हसिना ! ए हसिना !”

-विजयलाल श्रेष्ठ

लेखक सहिद गङ्गालालका कान्छा भाइ हुन् । यो सामग्री उनको अङ्ग्रेजी कृति प्रोस्टिच्युसन अफ नेपाली पोलिटिक्स’ बाट भावानुवाद गरिएको हो।