मनै बहलाउने चेरी फूल

अनिता सुनुवार

त्यसै पनि त सुन्दरता भनेपछि जो–कोही पनि आकर्षित नहुने कुरै भएन । त्यसमाथि पनि झपक्क फुलेका फूलको सुन्दरता मन नपराउने मानिस त सायदै होलान् । यस आलेखमा मनै बहलाउने चेरी फूलको चर्चा गरिएको छ ।

चेरी फूल हेर्दा निकै सुन्दर देखिन्छ तर यसको आयु भने निकै छोटो हुन्छ । यसको आयु करिव एक महिनाको मात्र हुन्छ । अर्थात्, यो फूल फुलिसकेपछि बढीमा महिना दिनसम्म मात्र टिक्छ ।

यस्तो सुन्दर फूल फुलिसकेर ओइलाउँदा परिवेशमा मनको रौनकता नै ओझेल पर्न जान्छ । मनले त भन्छ, यति राम्रो फूल कहिल्यै नओइलिदिए हुन्थ्यो; तर, प्रकृतिको नियम कसले पो रोक्न सक्छ र ! अवधि पुग्दै जाँदा चेरी पनि ओइलाउँदै गइहाल्छ ।

फागुन–चैतमा काठमाडौंका धेरै ठाउँमा चेरी फुलेको देख्न पाइन्छ । चेरी फूल निकै मनमोहक देखिन्छ; यसले जो–कसैमा मन नै बहलाइदिन्छ । यो फूल आरु फुल्ने मौसममा नै फुल्छ । आरुकै प्रजाति भएकाले आरु फुल्ने मौसममा नै यो फूल पनि फुल्ने गरेको हो । झट्ट हेर्दा यसको रुख पनि आरुकै जस्तो देखिन्छ । यसका पात र रुखको आकार पनि आरुको जस्तै नै हुन्छ । र, फूल्ने तरिका अनि बान्की समेत आरुकै जस्तै हुन्छ । त्यसैले यसलाई कतिपयले ‘आरु फूल’ पनि भन्ने गरेका छन् ।

यद्यपि ‘आरु’ र ‘चेरी’ मा निकै ठूलो भिन्नता छ । आरु फल फल्ने बिरुवा हो भने चेरी फूल मात्रै फुल्ने वनस्पति हो । आरुको तुलनामा चेरीका निकै धेरै प्रजाति छन् । चेरी ‘डबल थुँगा’ भएर निकै आकर्षक ढङ्गले फुल्दछ । केवल फूलको सुन्दरताका लागि नै चेरी रोपिन्छ । तर, आरुमा ‘सिङ्गल थुँगा’ लाग्दछन् र फूल विकसित भएर फल लाग्दछ । फल खाइने आरु निकै स्वादिष्ट र स्वास्थ्यवर्धक  समेत हुन्छ । नेपालमा सामान्यतः जेठ–असारमा आरु पाक्दछ ।

चेरी फूल ‘पेरुनुस’, ‘सेरुलाटा’, ‘पेरुनुस सब्हिर्टेल्ला’ जस्ता नामले समेत चिनिन्छ । यो फूल ‘चेरी ब्लसम’ नामले समेत चिनिन्छ । चेरीका रङ्ग पनि धेरै हुन्छन् । यसलाई अझ आधुनिक प्रविधि अपनाएर त झन् बहुरङ्गी पारेर फुलाउन सकिन्छ । चेरीका मुख्य रङ्ग सामान्यतः रातो, सेतो, पिङ्क, छिरबिरेलगायत हुन् ।

काठमाडौं उपत्यकाका प्रायः सडक किनारमा चेरी निकै मनमोहक ढङ्गले फुलेको देखिन्छ । निकै सुन्दर हुने भएकाले फूलका पारखीहरू यो फूलतर्फ आकर्षित हुनु स्वाभाविकै हो । यसलाई ‘ग्राफ्टिङ’ विधिबाट होचा बोटमै सुन्दर ढङ्गले झपक्क फुलाउन सकिन्छ ।

चेरीका बोटको उचाइ सामान्यतया ३० देखि ५० फिट हुन्छ । यसको रुख चाँडै बढ्ने वनस्पतिअन्तर्गत पर्दछ । चेरीको बोटका लागि पर्याप्त ताप र प्रकाशको आवश्यकता पर्ने भएकाले यो घमाइलो ठाउँमा फस्टाउँछ । राम्रोसँग घाम लाग्ने ठाउँमा रोपिएमा राम्ररी फुल्दछ । यसका लागि नरम माटो आवश्यक पर्छ । यसका निम्ति पानी उति धेरै पनि चाहिँदैन र सुख्खा पनि हुनु हुँदैन । चेरी फूल नेपालको मध्य–पहाडी भूभागमा अकर्षक ढङ्गले फुलाउन सकिन्छ । र, यो काठमाडौं उपत्यकामा पनि निकै राम्ररी फुल्दछ ।

चेरी फूल जमिन तथा गमला दुवै ठाउँमा फुलाउन सकिन्छ । गमलामा रोप्दा सुख्खा हुने सम्भावना बढी हुने भएकाले पर्याप्त पानी पुर्‍याउने कुरामा ध्यान दिनु पर्दछ । जमिनमा रोपिएको छ भने पनि जरा सुक्न दिनु हुँदैन । जमिनमा रोपिएको अवस्थामा माटोको प्रकृतिअनुसार पानी हाल्नु पर्छ । जमिनमा रोपिका चेरीका स–साना बोट या बिरुवाका निम्ति औंलाले खोतल्दा दुई इन्चभन्दा तलसम्म सुख्खा भेटिन्छ भने पानी हाल्नुपर्छ । चेरी फूलका वयस्क बोटलाई भने पानी हालिरहनु त्यति आवश्यक पर्दैन । वयस्क रुखका लागि सुख्खा मौसममा सामान्यतः हप्तामा एक पटक पानी लगाउनु उचित हुन्छ । फूल फुल्ने समयमा र फुलेका बेला तुलनात्मकरूपले पानी बढी आवश्यक पर्छ; यस्तो बेला माटो सुख्खा हुन दिनु हुँदैन ।

चेरी फूलमा पनि कहिलेकहीं ‘फङ्गस’ रोग लाग्न सक्दछ । यस्तो अवस्थामा आयुर्वेदिक तथा प्राकृतिकरूपमा बनाइएका विषादी प्रयोग गर्न सकिन्छ । सकेसम्म रासायनिक विषादीको प्रयोग नगर्नु उचित हुन्छ । चेरी फुलेका बेला गार्डेनमा आनन्दले बस्नु मानसिक स्वास्थ्यका लागि निकै लाभदायक हुने कुरा स्वतः अनुभव गर्न सकिन्छ ।