गुणकारी वनस्पतिहरू
होलिस्टिक संवाददाताक्यामोमाइल
क्यामोमाइल एक प्रकारको औषधीय गुणयुक्त वनस्पति हो । यसको प्रयोग प्राचीनकालदेखि नै हुँदै आएको कुरा विभिन्न तथ्यहरूले पुष्टि गरेका छन् । यो ‘एस्टेरेस कम्पोजिट’ नामक वनस्पतीय परिवारअन्तर्गत पर्दछ ।
क्यामोमाइलका मुख्यतः दुई प्रजाति हुन्छन्– जर्मन क्यामोमाइल (क्यामोमिल्ला रेक्युटिया) र रोमन क्यामोमाइल (क्यामेमिलम नोबाइल) ।
क्यामोमाइलको सानो फूल फुल्छ । त्यस फूलको बीचमा रहेको पहेंलो भागलाई सेता पत्रहरूले ढाकेको हुन्छ । यस फूललाई सुकाएर बीचको पहेंलो भागलाई नै विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ ।
यसमा विभिन्न टर्पेनोइड्स र फ्ल्याभोनोइड्स पाइन्छन् । त्यसैकारण क्यामोमाइल फूलको बीचको यस भागलाई ज्वरो, दुखाइ, घाउ, चोटपटक, पेटको गडबडी, अल्सरजस्ता विभिन्न स्वास्थ्य समस्या समाधानका निम्ति अचूक औषधिका रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।
क्यामोमाइलको सुगन्धित तेल अरोमाथेरापी र विभिन्न कस्मेटिक सामग्रीहरूमा निकै प्रयोग हुन्छ । यसको चिया बनाएर पिउने प्रचलन पनि व्यापक छ । विश्वमा प्रतिदिन दस लाखभन्दा धेरै व्यक्तिहरूले क्यामोमाइल चिया पिउने गरेको तथ्याङ्क भेटिन्छ । क्यामोमाइल मात्रैका वा अरु कुनै पेय पदार्थसँग मिलाएर पनि यसको सेवन गर्ने गरिएको पाइन्छ ।
क्यामोमाइलमा विभिन्न बायोएक्टिभ तत्वहरू पाइन्छन् । यसमा ०.२४ देखि १.९% सम्म भोलाटायल आयल रहेको अध्यनले देखाएको छ । स्टिम डिस्टिलेसन विधिबाट यसको आयल निकालिन्छ ।
एक अनुसन्धानका क्रममा यसबाट निकालिएको कम्पाउण्डमा करिव २८ प्रकारका टेर्पेनोइड्स र ३६ प्रकारका फ्ल्याभोनोइड्स पाइएको थियो । यसबाट ग्लाइकोसाइड्स, कौमारिन्स, म्युसिलेजजस्ता अन्य तत्वहरू पनि निकालिएको थियो ।
सुकेका क्यामोमाइलको पाउडर विभिन्न औषधीय प्रयोजनमा प्रयोगमा हुने गरेको छ । यसमा पाइने विभिन्न तत्वहरूलाई पानी, मिथानोल वा इथानोलको सहयोगले एक्स्ट्राक्ट गर्न सकिन्छ । यस्ता तत्वहरूलाई प्रशोधनपश्चात विभिन्न औषधिमा प्रयोग गर्न सकिन्छ ।
१२% ग्रेन अल्कोहल भएको पानीको चार भागमा एक भाग क्यामोमाइल फ्लावर राखी क्यामोमाइल टिन्चर तयार पार्न सकिन्छ । गर्मी याममा बालबच्चालाई लाग्ने झाडापखाला रोक्न यस्तो टिन्चर प्रयोग गर्न सकिन्छ ।
क्यामोमाइलमा एन्टिइन्फ्लामेटरी र एन्टिक्यान्सरसजस्ता गुणहरू समेत हुने तथ्य विभिन्न अध्ययन–प्रतिवेदनहरूले सार्वजनिक गरेका छन् । मधुमेह, रुघाखोकी, झाडापखाला तथा मुटुसम्बन्धी विभिन्न रोगहरूको रोकथाम तथा उपचारमा यसको सेवन फाइदाजनक मानिन्छ । निन्द्रा नलाग्ने समस्या समाधानका लागि समेत यसको सेवन लाभदायी हुने जनविश्वास छ ।
रिट्ठा
रिट्ठा नेपालको ग्रामीण भेटमा पाइने एक प्रकारको गुणकारी वनस्पति हो । यसका विभिन्न नामहरू छन् । यसलाई ‘सोपबेरी’ र ‘वासनट’ पनि भनिन्छ । रिट्ठाको वनस्पतीय वैज्ञानिक नामचाहिँ ‘सापिन्डस मुकोरोसी’ हो ।
हिमालय–शृङ्खलाको फेदी र १ हजार २ सय मिटरसम्म उचाइको मध्यपहाडी भूभागमा पाइने एक प्रकारको पतझर रुख हो रिट्ठा । यो एकदमै रुखो जमिन (पोषणरहित माटो) मा समेत सजिलै उम्रन, हुर्कन, बढ्न र फल्न सक्दछ ।
एउटा रुखमा वार्षिक ३० देखि ३५ किलोग्रामसम्म रिट्ठा फल्दछ । यसको फल गोलाकार र ‘पल्पी’ हुन्छ । यसको फलको ब्यास (गोलाइ) १.८ देखि २.५ सेन्टिमिटरसम्म हुन्छ । रिट्ठा फलको भित्र गोलो, चिल्लो र कालो रङ्गको एउटा मात्र बिज हुन्छ ।
वनस्पतीय महत्वका हिसाबले यस रूखको मुख्य भाग भनेकै यसको फल हो । रिट्ठा फललाई विभिन्न औषधिमा प्रयोग गरिन्छ भने यो सफाइको लागि (साबुन वा सरफको सट्टा) समेत प्रयोग हुन्छ ।
रिट्ठाको बियाँमा ३२% सम्म प्रोटिन हुन्छ । यसको फल तथा बियाँलाई यदाकदा छारे रोगको उपचारमा पनि प्रयोग गर्ने गरिएको पाइन्छ । दाँतको समस्या समाधानमा पनि यसको प्रयोग हुने गरेको पाइन्छ ।
रिट्ठा वा सोपनटमा हुने ‘स्यापोनिन’ तत्वको प्राकृतिक गुण नै सफाइ गर्ने खालको हुन्छ । त्यसैले यसलाई कपाल, छाला वा कपडा सफा प्रयोग गरिन्छ । प्राकृतिक कीटनाशक औसधिका रूपमा पनि यसको प्रयोग गर्ने गरिन्छ । गाउँघरतिर टाउकाका जुम्रा हटाउन पनि रिट्ठाको फल प्रयोग गर्ने गरिएको पाइन्छ ।
यसलाई विभिन्न कस्मेटिक्स तथा सरसफाइका समग्रीहरूमा पनि प्रयोग गर्न सकिन्छ । यसबाट हर्बल साबुन र स्याम्पुजस्ता उत्पादनहरू पनि बनाइने गरेका छन् । तेल रिफाइनरीबाट अधिकतम तेल निकाल्न पनि रिट्ठाको फल प्रयोग हुन्छ । यसको सर्फेक्टेन्ट गुणका कारण परिष्कृतरूपमा तेल रिकभरी प्रविधिमा समेत रिट्ठाको फल प्रयोग गर्न सकिने कुरा अध्यनहरूबाट पत्ता लागेको छ ।
यसमा आइरनको मात्रा धेरै भएकाले माटोबाट आर्सेनिक निकाल्न (हटाउन) का लागि प्राकृतिक ‘सर्फ्याक्टेन्ट’ का रूपमा पनि रिट्ठाको प्रयोग हुने सम्भावना अन्वेषकहरूले देखाएका छन् ।