‘चि गोङ’ व्यायाम: विधि र लाभ
डा. डीबी सुनुवार
शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य–सन्तुलनका लागि ‘चि गोङ’ व्यायाम विधि लोकप्रिय हुँदै गएको छ । ‘चि’ भन्नाले जीवनदायनी ऊर्जा भन्ने बुझिन्छ र ‘गोङ’ भन्नाले यस व्यायम विधिको प्रशिक्षण दिने तथा यसलाई अभ्यासमा ल्याउने तरीका भन्ने बुझिन्छ ।
‘चि गोङ’ को विधिवत व्यायामले मानसिक एवम् शारीरिकरूपले फिट–फाइन रहन मद्धत मिल्दछ । यस किसिमको व्यायामबाट प्राकृतिकरूपमा पाइने महत्वपूर्ण शक्ति प्राप्त हुन्छ । सन्तुलित किसिमबाट ‘चि गोङ’ व्यायाम गर्दा मूलतः शारीरिकरूपमा हृष्टपुष्ट रहन मद्धत मिल्दछ । यसबाट मानसिक एवम् आध्यात्मिकरूपमा सन्तुलित रहने समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिन्छ । यो व्यायमपछि मन शान्त हुन्छ ।
चि गोङका तीन विधि
विशेषतः तीन वटा विधिको धरातलमा ‘चि गोङ’ अडिएको हुन्छ । यी तीन विधिमध्येको एउटा हो– ‘चाल विधि’ । त्यसैगरी, दोस्रो ‘स्वास–प्रश्वास विधि’ हो भने तेस्रोचाहिँ ‘ध्यान विधि’ हो ।
यी तीन वटा विधि अपनाएर नियमित तथा सन्तुलितरूपमा व्यायाम गर्दा स्वास्थ्यलाभ मिल्दछ ।
एक्टिभ–प्यासिभ विधि
कार्य–प्रवाहका हिसाबले ‘चि गोङ’ व्यायाम दुई किसिमले गरिन्छ– एउटा, ‘एक्टिभ चि गोङ’ र अर्को ‘प्यासिभ चि गोङ’ । एक्टिभ चि गोङ शारीरिक व्यायामका लागि गरिन्छ । र, यो युद्धकलाको हिसाबले समेत गरिन्छ ।
तर, प्यासिभ चि गोङ व्यायाम भने उपचारात्मक हिसाबले प्रयोग गरिन्छ । मानसिकरूपमा ध्यान केन्द्रित गर्दै प्यासिभ चि गोङ गरिन्छ ।
प्यासिभ चि गोङ
यस किसिमको व्यायाम गर्दा मानसिकरूपमा दृश्यावलोकनको महसुस गरिन्छ । प्यासिभ चि गोङ व्यायाम विधिमा स्वास नै ‘अटो सजेसन’ हुन्छ । यसरी चि गोङको प्यासिभ विधि अपनाएर नै व्यायाम गरिन्छ ।
प्यासिभ चि गोङ विधि अपनाएर व्यायाम गर्दा ‘मेन्टल फिटनेस’ मा बढी ध्यान केन्द्रित गरिन्छ । प्यासिभ चि गोङ मूलतः परम्परागत उपचार विधिका रूपमा अभ्यासमा छ । यस किसिमको उपचारात्मक विधि तनाव घटाउनका लागि निकै प्रभावकारी रहेको तथ्य विभिन्न अध्ययन–अनुसन्धानहरूले देखाएका छन् ।
प्यासिभ चि गोङको विषयमा विभिन्न विश्वविद्यालयहरूले गहिरो अध्ययन गरेको पाइन्छ ।
यस्ता अध्ययनहरूले चि गोङ व्यायाम विधिलाई प्रभावकारी देखाएका छन् । विशेषतः शरीरमा रक्त–प्रवाहका लागि चि गोङ विधि प्रभावकारी रहेको पाइएको छ ।
दीर्घ मानसिक समस्या भएकाहरूका लागि समेत यो विधि प्रभावकारी भएको अध्ययनले देखाएको छ । पेशागत चापका कारण जो–कसैमा मानसिक असन्तुलन हुन सक्छ । यसरी कामको चापका कारण मानसिक असन्तुलन भएमा सन्तुलित बनाउन चि गोङ व्यायामबाट निकै ठूलो मद्धत मिल्दछ ।
एक्टिभ चि गोङ
एक्टिभ चि गोङ चलायमान हुन्छ । यो विधि भने मानसिकभन्दा पनि ‘फिजिकल फिटनेस’ मा बढी केन्द्रित हुन्छ । दैनिक व्यायामका रूपमा समेत एक्टिभ चि गोङ गर्न सकिन्छ ।
‘चि गोङ’ विधि अपनाएर दैनिक शारीरिक व्यायामबाट लाभ लिन सकिन्छ । दैनिक २० देखि ३० मिनेटसम्म एक्टिभ चि गोङ व्यायाम गर्दा शरीरमा ऊर्जा प्रवाह हुन्छ । यसले शारीरिक, मानसिक तथा आध्यात्मिकरूपमा स्वस्थ तुल्याउँछ ।
चि गोङ व्यायाम विधिलाई विभिन्न शारीरिक खेल प्रतियोगिता तथा युद्धकलाका रूपमा प्रदर्शन समेत गरिन्छ । यसरी खेल तथा युद्धकलाका रूपमा प्रदर्शित चि गोङ निकै सुन्दर देखिन्छ ।
ऊर्जा प्रवाह
परम्परागत चिनियाँ उपचार (टीसीएम) पद्धतिमा उल्लेख गरिएअनुसार शरीरका प्रमुख १२ वटा ‘मेरिडियन प्वाइन्ट’ हरू निष्क्रिय हुँदा विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्या निम्तन्छन् । मेरिडियन प्वाइन्टहरू ‘मेरिडियन च्यानल’ का रूपमा समेत चिनिन्छन् ।
चि गोङ व्यायामबाट ती मेरिडियन प्वाइन्टहरू खोल्न मद्धत मिल्छ । यी प्वाइन्टहरू खुल्दा शरीरमा ऊर्जा प्रवाह हुन्छ । शरीरमा यसरी ऊर्जा प्रवाह हुँदा शारीरिक, मानसिक तथा आध्यात्मिकरूपमा स्वस्थ तथा सन्तुलित रहन मद्धत मिल्ने विश्वास गरिन्छ ।
शारीरिक वा मानसिक या दुवै हिसाबले अस्वस्थ भएको अवस्थामा चि गोङ व्यायाम गर्दा स्वस्थ तथा सन्तुलित हुन त मद्धत मिल्छ नै; साथसाथै, स्वस्थ मानिसले पनि यो व्यायाम गर्दा स्वस्थ नै रहिरहन समेत मद्धत पुग्छ । यस किसिमको व्यायामले हाडर्जोनी मजबुत राख्न सहयोग पुर्याउँछ ।
व्यायामका टेक्निक
चि गोङको अनेकौं आयाम छन् र व्यायाम गर्ने टेक्निक पनि विभिन्न छन् । व्यायामका यस्ता आयाम तथा टेक्निकमध्ये कुनचाहिँ अपनाउने भनी निर्णय लिनुअघि कुन समस्या तथा प्रयोजनका लागि व्यायाम गरिँदैछ भन्ने खुट्याउनुपर्छ ।
व्यायाम गर्नुको उद्देश्य प्रष्ट भएपछि व्यायामको तयारी गरिन्छ । यो व्यायाम गर्दा चि गोङ व्यायामविज्ञ अथवा ट्रेनरको सल्लाह लिनुपर्छ । आवश्यकताअनुसार स्वास्थ्य र खेल क्षेत्रका अन्य विज्ञको पनि सल्लाह लिन सकिन्छ ।
चि गोङ व्यायाम विधि प्राकृतिक पञ्च–तत्वका आधारमा गरिन्छ । वनस्पति तथा जनावरहरूले नियमित एवम् दैनिक हिँडडुल गर्ने तथा उनीहरूले देखाउने अनेकौं हाउभाउ र चालअनुसार यो व्यायाम विधि अपनाइन्छ ।
बाघ गर्जंदा उसले जे–जस्तो शारीरिक हाउभाउ देखाउँछ, त्यसैगरी व्यायाम गरिन्छ । त्यस्तै, भालु, हरिण, चील, माछाजस्ता जीवजन्तुका हाउभाउ चि गोङ व्यायाम विधिमा बढी अपनाइन्छन् ।