नेपाली पहिचान बोकेको गोमायु महाचील
कृष्णप्रसाद भुसालनेपाल सगरमाथाको देश र गौतम बुद्धको देश भनेर संसारभर सुपरिचित छ । तर, नेपालको पहिचान यतिमा मात्र सीमित छैन; केही चरा, वन्यजन्तु र वनस्पतिले पनि नेपाललाई संसारभर चिनाइरहेका छन् । आफ्नो नामसँगसँगै नेपालको समेत चिनारी बनेको एउटा चरा हो– गोमायु महाचील ।
सन् १८२० देखि १८४३ सम्म कूटनीतिज्ञका रूपमा नेपाल बसेका बेलायती प्रकृतिविद् ब्रायन हड्सनले सन् १८३३ मा नेपालबाट विश्वकै लागि नयाँ प्रजातिको चराका रूपमा पहिचान गरेको चील हो, गोमायु महाचील । उनले काठमाडौं उपत्यकाबाट नै यसको नमूना सङ्कलन गरेका थिए । ‘एक्युला निपालेन्सिस’ भनेर यसको वैज्ञानिक नामकरण गरिएको छ ।
ल्याटिन भाषामा प्रजातिहरूको वैज्ञानिक नामकरणमा प्रयोग गरिने ‘एक्युला’ शब्दावलीको अर्थ ‘चील’ हो र सर्वप्रथम नेपालबाट अभिलेख गरिएकाले यस प्रजातिको नाम ‘निपालेन्सिस’ राखिएको हो । यसर्थ, गोमायु महाचीलको पहिचानसँग नेपाल र काठमाडौं उपत्यका पनि जोडिएको छ, जुन कुरा विज्ञानजगत्मा एउटा गर्विलो प्रसङ्ग हो ।
नेपाली पहिचान बोकेर संसारभर उडिरहेको गोमायु महाचील नेपालमा वर्षभर नै बस्ने र यहीं बच्चा कोरल्ने चरा भने होइन । मुख्यतः मङ्गोलिया र उत्तरी चीनका भिराला पहाडहरूमा प्रजनन गर्ने विश्वमै दुर्लभ गोमायु महाचील नेपालका लागि भने नियमित हिउँदे आगन्तुक र बटुवा मात्र हो । उत्तरी भूगोलमा हिमपातको सुरुआतसँगै गोमायु महाचील हिउँद यामको बढ्दो जाडो छल्न र अनकूल मौसम, सुरक्षित बासस्थान तथा चरनको खोजीमा असोजदेखि नेपाल र नेपालको बाटो हुँदै भारत, पाकिस्तान र अफ्रिकासम्म बसाइँसराइ गरी आउने गर्दछन् । हिउँद सकिनासाथ प्रजननका लागि आफ्नै स्थायी बसोवासस्थलमा फर्किसक्ने गोमायु महाचीलको सानो सङ्ख्याले भने काठमाडौं उपत्यकामै हिउँद समेत बिताउँछ ।
ठीक यही सिजनमा काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती र मनोहरा नदी किनारका फोहर विसर्जनस्थल तथा त्यस आसपासका क्षेत्रमा वर्षभरि नै देखिने यहाँका रैथाने काला चीलको हुलमा झट्ट हेर्दा उस्तै देखिने अलि ठूलो आकारका गोमायु महाचील पनि मिसिएका छन् । गतवर्ष कात्तिकको पहिलो हप्तादेखि काठमाडौं उपत्यकामा देखापरेका सबै गोमायु महाचील वैशाख दोस्रो हप्तासम्ममा फर्किइसकेका थिए । यस वर्ष पनि कात्तिक दोस्रो हप्तादेखि नै काठमाडौं उपत्यकामा देखिन सुरु गरेका गोमायु महाचील यतिबेलासम्म यतै रमाइरहेका छन् ।
ब्रायन हड्सनले पत्ता लगाएको त्यो समयमा सम्भवतः हजारौंको सङ्ख्यामा गोमायु महाचील काठमाडौं उपत्यकामा अवस्थित खेतका फाँटहरूमा स–साना स्तनधारी जनावरको शिकार गर्दै वा खुला ठाँउमा फालिएका गाई, गोरु र भैंसीको ‘सिनो’ लुछ्दै अनि यहाँका नदीमा बग्ने स्वच्छ–सफा पानी पिउँदै रमाउँथे होलान् । तर, अहिले मुस्किलले सय हाराहारीको सङ्ख्यामा मात्र ती चीलले यहाँ हिउँद बिताउँछन् ।
हामी ‘विकसित’ हुँदै गयौं; उपत्यकाभर सिमेन्टका घरैघरहरूले भरिएका घना वस्ती बनायौं, नदीहरूलाई ढलमा परिणत गर्यौं । काठमाडौं उपत्यका हाम्रो मात्र होइन, कुनै समय चराको पनि राजधानी थियो । हाल नेपालमा पाइने चराका ८ सय ८९ प्रजातिमध्ये करिव दुईतिहाइ प्रजाति यहीं पाइन्थे ।
विश्वमा करिव ५० हजारदेखि ७० हजारको सङ्ख्यामा मात्र रहेका गोमायु चील सबैभन्दा ठूलो सङ्ख्यामा बसाइँसराइ गर्ने शिकारी चरा हो । दशक अघिसम्म नेपालमा ती चील १० हजारदेखि २० हजारको सङ्ख्यामा भित्रने गरेको अनुसन्धाताहरूको मत छ । सन् १९७६ तिर ४५ हजार हाराहारीको सङ्ख्यामा नेपाल भित्रने गोमायु महाचील सन् २०११ सम्म आइपुग्दा भने ७ देखि १० हजारको सङ्ख्यामा मात्र नेपाल आएको एक अध्ययनले देखाएको छ ।
नेपाल पन्छीविद् सङ्घ र हिमाली प्रकृतिका शिकारी चराविद् सन्देश गुरुङ, मिलन बराल र तुलसी सुवेदीले कास्कीको ठूलाखर्कमा सन् २०२० मा ६८ दिन लगाएर गरेको गणनामा ३ हजार ९ सय १८ गोमायु महाचील अभिलेख गरेका थिए । यो तथ्याङ्कले पछिल्ला दिनहरूमा यी चरा नेपाल आउने सङ्ख्या घट्दो अवस्थामा रहेको पुष्टि गर्दछ । नेपाललगायत विश्वभर नै तीव्र दरमा सङ्ख्या घटेको गोमायु महाचील विश्वमै दुर्लभ सङ्कटापन्न चराका प्रजातिमध्येको एक हो । मुख्य आहार स–साना स्तनधारी जनावरको कमी, डाइक्लोफेनेक विषादीयुक्त आहार, बासस्थानमा आएको परिवर्तन, बसाइँसराइका बेला उडानमार्गमा हुने अवरोधजस्ता कारणले यो प्रजाति लोपोन्मुख हुँदै गएको हो । प्रजनन क्षेत्र र हिउँद बिताउने क्षेत्र दुवै ठाउँ असुरक्षित बन्दै गएपछि यो चराको भविष्य नै जोखिमपूर्ण देखिएको छ ।
बसाइँसराइका बेला चराहरूले प्रयोग गर्ने उडानमार्गलाई ‘फ्लाई वे’ भनिन्छ । यस्ता उडानमार्गहरू विश्वमा नौ वटा छन् । गोमायु महाचील मुख्यतः मध्य एशियाली उडानमार्ग भएर उड्छ । यसै उडानमार्गमा नेपाललगायत ३० वटा देशहरू पर्दछन् र त्यसबाट करिव तीन सय प्रजातिका चराहरू बसाइँसराइ गर्दछन् । गोमायु महाचीलजस्ता बसाइँसराइ गर्ने चराहरूले एक ठाउँसँग अर्को ठाउँ, एक देशसँग अर्को देश जोडने जैविक सञ्जाल हुन् यी उडानमार्ग ।
गोमायु महाचील बसाइँ सरेर आउने क्रममा अधिकाङ्श पूर्वी नेपालबाट प्रवेश गर्छन् भने तराईका भूभागसँगै काठमाडौं र पोखरा उपत्यकामा बढी समय बिताउने गर्छन् । पश्चिमतर्फ जान अन्नपूर्ण हिमश्रृङ्खलाको दक्षिण, ठूलार्खक/काँडेको बाटो प्रयोग गर्छन् । सन् २०१५ को असोज अन्तिम साता मङ्गोलियामा स्याटेलाइट ट्याग लगाइएको गोमायु महाचील करिव दुई महिनामा ५ हजार २ सय ७८ किलोमिटरको दूरी पार गरेर मङ्गोलिया, चीन, नेपाल हुँदै भारतको उत्तराखण्डसम्म पुगेको थियो । औषतमा ४४ किलोमिटर प्रतिघन्टा र दिनमा बढीमा ३ सय ६५ किलोमिटरसम्म उडान भरेको उक्त चील ७ हजार २ सय मिटरको उचाईबाट हिमाल नाघी सगरमाथाको दक्षिणपूर्वी क्षेत्र हुँदै नेपाल भित्रिएको थियो । अत्यन्तै चिसो र कम अक्सिजन हुने हिमालय क्षेत्रभन्दा माथिबाट हावा बहावको प्रतिकूल दिशामा उड्दै नेपाल प्रवेश गरेको उक्त गोमायु महाचीलले हामी अनुसन्धाताहरूलाई नै चकित पारेको थियो । हुन त जाडो याममा उत्तरी गोलाद्र्धबाट १ सय ५० भन्दा बढी प्रजातिका चराहरू बसाइँसराइ गरी नेपाल भित्रन्छन् । ती चराहरू हिमालहरूका बीचमा पर्ने होचा खोंचहरूबाट नेपाल प्रवेश गर्दछन् । तर, गोमायु महाचीलले सिधै हिमाल नाघेर अत्यन्तै जोखिमपूर्ण, साहसिक र रोचक यात्रा तय गरेको थियो ।
हामीले गत हिउँदमा काठमाडौं उपत्यकामा गरेको अनुगमनमा करिव ४५ स्थानमा यो चराको अभिलेख भएको थियो । उपत्यकामा अहिले यसको मुख्य चरन र विचरण क्षेत्र चोभार तथा वाग्मती नदीको बहाव क्षेत्र हो, जहाँ गतवर्ष करिव ३० वटा गोमायु महाचीलले हिउँद बिताएका थिए । हिउँद बिताउने यसको अर्को मुख्य क्षेत्र सिसडोल डम्पिङ साइटदेखि ककनीसम्म पनि हो, जहाँ करिव ६० वटा गोमायु महाचीलले गतवर्षको हिउँद बिताए ।
‘प्रकृतिको कुचीकार’ गिद्धहरू काठमाडौं उपत्यकाबाट हराइसकेका छन् । जाडो याममा भने कहीं–कतै यसरी बसाइँसराइ गरी आएका गोमायु महाचीलले भने ‘सिनो’ खाइरहेको देखिन्छ । मानिसले फालेका मासुजन्य फोहर र ‘सिनो’ खाइदिएर यिनले उपत्यकाको पर्यावरण सफा राख्न सघाइरहेका छन् । तर, बिडम्वना ! यिनको उपत्यका बसाइ सङ्कटपूर्ण र चुनौतीयुक्त छ ।
गत हिउँदमा मात्र पनि टौदह क्षेत्रमा बिजुलीको तारमा ठोक्किएर करेन्ट लागी दुई वटा गोमायु महाचील मरे । प्रदूषित वाग्मती र डम्पिङ साइटमा आहारबिहार गरिरहने यिनलाई फोहर र विषादीले के–कति असर गरिरहेको होला ? यसै भन्न सकिँदैन । तर, खुलारूपमा फालिने विष हाली मारिएका मुसालगायतका जीवहरू र ‘सिनो’ मा विष हाल्नेजस्ता क्रियाकलापले यिनलाई अवश्य नै असर पुर्याइरहेको छ ।
आगन्तुक र सङ्कटापन्न यस प्रजातिको संरक्षणमा खासै चासो दिइएको देखिँदैन । मध्य एसियाली उडानमार्गको प्रतिनिधि सूचक प्रजाति छानिएको र नेपालसँग विशिष्ट सम्बन्ध भएको गोमायु महाचीलको संरक्षणतर्फ बेलैमा लाग्नु जरुरी छ ।
नेपाली पहिचान बोकेको गोमायु महाचील हामीकहाँ ‘पाहुना चरा’ भएकाले यसको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडानमार्गको सुरक्षाका साथै आश्रयस्थलहरू जेगाइराख्नु जरुरी छ । बसाइँसराइ गर्ने चराहरूको धेरै देशहरूसँग साइँनो हुने हुँदा संरक्षणका लागि विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा समन्वयात्मक क्रियाशीलता, एकीकृत सोच, अवधारणा र कार्यक्रममा हातेमालो आवश्यक छ । बसाइँसराइ गर्ने पाहुना चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई एकापसमा जोडी खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेको हुँदा अभ्यासमा आधारित सहभागितामूलक संरक्षण पद्धतिलाई दीर्घकालसम्म सनातन राख्नु सबैको कर्तव्य हो ।
‘पाहुना’ को स्वागत–सत्कार र सुरक्षा त झन् नेपालीको परम्परागत संस्कार र प्रचलन नै हो । यसर्थ, ‘पाहुना चरा’ लाई स्वागत गरौं, संरक्षण गरौं र यिनको विशेषतालाई स्थापित गरेर दिगो पर्यावरणमैत्री विकास, पर्यटन प्रबर्धन र समृद्धिको बाटोमा अघि बढौं । अन्यथा, गोमायु महाचीलले पनि नेपाल आउने आफ्नो बाटो अन्यत्रै मोड्न सक्छ । त्यसो भएमा नेपालसँग जोडिएको यसको ऐतिहासिक बिरासत पनि स्वतः मेटिन पुग्दछ ।