मनोसामाजिक समस्या: मनोविमर्श र उपचारात्मक प्रभाव
गोपाल ढकाल
‘मन’ र ‘सामाजिक’ दुई शब्दको सन्धि भई ‘मनोसामाजिक’ शब्दावली बन्दछ । ‘मन’ शब्दले मनको प्रक्रिया अर्थात् मानसिक (मनोवैज्ञानिक) प्रक्रियालाई बुझाउँछ ।
मनले देखेको वा स्मृतिमा रहेका कुरालाई सोच्ने, बुझ्ने, सम्झने, समस्या समाधान गर्ने, धारणा बनाउने, सम्बेगात्मक हुने र निर्णय गर्ने प्रक्रियाहरू सम्पन्न गर्दछ । त्यसैगरी ‘समाज’ भनेको मानिस जन्मने, हुर्कने, परिवार र अन्यबाट प्रभावित हुने, समूहको सहयोग लिने, रीति–रिवाज, परम्परा, सामूहिक मूल्य–मान्यता, आर्थिक, धार्मिक–सांस्कृतिक, राजनीतिक वातावरण हो । यसरी ‘मनोसामाजिक’ शब्दले मन र सामाजिक वातावरणका बीचको गतिशील सम्बन्ध र अन्तत्र्रिmयालाई बुझाउँछ ।
के हो मनोसामाजिक समस्या ?
कसैको मन तथा समाजबीच हुने निरन्तर अन्तरक्रियाले स्वाभाविकरूपमा प्रभाव पार्दछ । यस अन्तरक्रियामा असन्तुलन भएमा विभिन्न सामाजिक र सम्बेगात्मक समस्या आउने गर्दछन्, यसै अवस्थालाई ‘मनोसामाजिक समस्या’ भनिन्छ ।
मनोसामाजिक समस्याले मानिसको दैनिक क्रियाकलाप र अरुसँगको सम्बन्धमा बाधा पुर्याउँछ । यस्ता समस्या र बाधाले मानिसमा नकारात्मक भावना, सोचाइ, धारणा र व्यवहारमा परिवर्तन ल्याउँदछ । यसखाले समस्याले मन, शरीर, व्यवहार र अरुसँगको सम्बन्धमा नकारात्मक असर पार्दछ । यी समस्याहरू मानिसको मन र उसको सामाजिक सम्बन्धसँग अन्तर्सम्बन्धित हुने भएकाले मनोसामाजिक समस्या हुन् ।
मनोसामाजिक समस्याको सुरुआत मन, व्यक्तित्व र सामाजिक तनावले पनि हुन सक्दछ । परिवार र समाजमा विचलन वा समुदायका विभिन्न समूहमा तनाव आएमा त्यसले उक्त समुदायका मानिसको मनोसामाजिक स्वास्थ्यमा हानि पुर्याउँदछ । मनोसामाजिक समस्या सबै उमेर र लिङ्गका मानिसहरूमा हुन सक्दछ ।
मनोसामाजिक समस्या: कारणहरू
मन र समाजबीच असन्तुलन हुँदा मनोसामाजिक समस्या उत्पन्न हुने भएकाले यसले मनोसामाजिक स्वास्थ्यमा असर पार्दछ । यसो हुनुका विभिन्न कारण हुन्छन् । कतिपय कारणहरू आन्तरिक अर्थात् मानिसको मनोवैज्ञानिक पक्षसँग सम्बन्धित हुन्छन् भने कतिपय कारणहरू बाह्य अर्थात् सामाजिक पक्षसँग सम्बन्धित हुन्छन् ।
दुर्घटना, भेद्भाव र यातना, समान सहभागिता नहुनु, बेरोजगारी, असफलता, विछोड, बाल्यकालका अप्रिय घटनाहरू, बेवास्ता, अन्तर्वैयक्तिक सम्बन्धका समस्या, व्यक्तिगत र पेशागत जीवन असन्तुलित हुनु, मानव बेचबिखन तथा ओसारपसार, निष्कृट प्रकारका काममा लगाइनु, बोक्सीको आरोप, दाइजो प्रथा, लागू पदार्थको कुलत, प्राकृतिक प्रकोप, दीर्घ रोगहरू, कामको उचित मूल्याङ्कन नहुनु, घरेलु हिंसा तथा दुर्ब्यबहार, यौन तथा लैङ्गिक हिंसा, कमजोर आर्थिक अवस्था आदि मनोसामाजिक समस्याका कारणहरू हुन् ।
मनोसामाजिक समस्या: लक्षणहरू
डर, चिन्ता, पीर, दुःख, रिस, दिक्दागरी, तनावको महसुस, एक्लोपनको महसुस, सम्बेगात्मक शून्यता आदि हुनु तथा झर्को लाग्नु, कसैसँग पनि निकटताको महसुस नहुनु, अलमल्ल पर्नु, निस्क्रिय रहनु, वास्तविकता स्वीकार्न कठिनाइ हुनु, शक्तिहीन महसुस हुनु, ध्यान केन्द्रित गर्न गाह्रो पर्नु, आत्मग्लानि, दिमागी शून्यताको महसुस, असहायपनको महसुस, छटपटी, सुस्तता, अत्यधिक क्रियाशीलता, रोइरहनु, खाना नखानु, एक्लै खेल्नु वा बस्नु, तर्सनु, बोल्न डराउनु वा नबोल्नु आदि मनोसामाजिक समस्याका मुख्य लक्षण हुन् ।
त्यसैगरी लागू पदार्थको दुव्र्यसनमा दुर्व्यसन फस्नु, परिवारदेखि टाढै बस्नु, यौन व्यवहारमा परिवर्तन, जिद्धीपन, अरुप्रति अविश्वास, गालीगलौच गर्नु, आक्रामक व्यवहार देखाउनु, आवश्यकताभन्दा बढी सतर्कता अपनाउनु, वाक्वाकी लाग्नु, बान्ता गर्नु, टाउको दुख्नु, पेट दुख्नु, निद्रा गडबड हुनु, चिट्चिट् पसिना आउनु, मुर्छा पर्नु, मुटुको धड्कन बढ्नु, रिँगटा लाग्नु, झाडापखाला लाग्नु, रक्तचाप बढ्नु, थकित महसुस हुनु, अरुसँगको सम्बन्धबाट टाढा रहनु वा सम्बन्ध बिग्रँदै जानु आदि पनि मनोसामाजिक समस्याका लक्षण हुन् । यी र यस्ता लक्षणहरू सामान्य अवस्थामा पनि देखिन त सक्दछन् तर विनाकारण लामो समयसम्म देखिइरहन थालेमा र भावना, शरीर, व्यवहार र सम्बन्धमा प्रभाव पारी दैनिक क्रियाकलापप्रति चासो नदेखाएमा मनोसामाजिक समस्या नै भएको बुझ्नु पर्दछ ।
समाधान: मनोविमर्श
मनोसामाजिक समस्यामा परेकाहरूलाई वर्तमान समस्या, असुविधा वा कठिनाइ आदिबाट छुटकारा दिलाउन, सुधार ल्याउन वा व्यवस्थित गर्नका लागि सम्बन्धित व्यक्ति र मनोविमर्शदाताबीच योजनाबद्धरूपमा गरिने सिपमा आधारित कुराकानीका साथै थेराप्युटिक क्रियाकलाप नै मनोविमर्श हो । यस प्रक्रियामा दुई पक्ष/व्यक्तिबीचको सम्बन्ध एकापसमा आदरपूर्ण, विभेदरहित, मैत्रीपूर्ण, सहयोगपूर्ण, विश्वासिलो र भरपर्दो हुनुपर्छ ।
मनोविमर्शको प्रक्रियामा समस्या समाधानका लागि कुनै पनि सल्लाह–सुझाव दिइँदैन; बरु कुराकानीका माध्यमबाट प्रभावित व्यक्तिलाई सम्बेगात्मक सहयोग दिँदै समस्या समाधानका उपायहरू खोज्न सहयोग पुर्याइन्छ । मनोविमर्शमा कुराकानी नै सहयोगको प्रमुख माध्यम भए तापनि यो नै एक मात्र माध्यमचाहिँ होइन । कुराकानीसँगसँगै आवश्यकताअनुसार अरु वैकल्पिक साधन (चित्र, खेल, जाँच–सूची, नाटक, भूमिका निर्वाह, आराम आदि) पनि प्रयोग हुन्छन् ।
कुन–कुन अवस्थामा मनोविमर्श ?
- मानसिक/मनोसामाजिक समस्या
- यौवनावस्थाका समस्या
- दुर्घटना तथा सङ्कट
- अपाङ्गता/शारीरिक अक्षमता
- व्यक्तित्व निर्धारण
- मद्यपान, लागूऔषधको दुर्व्यसन
- शारीरिक वृद्धि र विकास
- यौनशोषण/यौन दुर्व्यवहार
- वृद्धवृद्धा
- पारिवारिक समस्या
- एचआईभी/एड्स
मनोविमर्शका प्रभावहरू
तत्कालीन प्रभाव
- सम्बेगात्मक सहयोगद्वारा मनका पीडा कम हुन्छन् र आराम मिल्दछ ।
- मुख्य समस्या के हो भन्ने थाहा हुन्छ र अन्तर्ज्ञान प्राप्त हुन्छ ।
- समस्या समाधानका उपायहरूको खोजी तथा प्रयोग हुन्छ, जसले समस्या समाधानमा सहयोग गर्दछ ।
- आफू र अरुमा विश्वास गर्न सक्ने वातावरण सिर्जना हुन्छ ।
- गलत धारणा र मान्यताहरू हराउँछन्, उसले वास्तविकता र आफ्ना भावना तथा धारणामा तुलना गराउँदछ ।
- आफ्नो रोगको कारण कुनै ‘दैवी शक्ति’ हो भन्ने मान्यता कसैमा भए त्यसमा परिवर्तन आउँछ ।
- आफ्नो समस्या आफैं समाधान गर्न सकिन्छ भन्ने भावनाको विकास हुन्छ, जसले गर्दा आत्मबल र आत्मसम्मान बढ्दछ ।
दीर्घकालीन प्रभाव
- एउटा समस्यासँग जुध्न वा सामना गर्न सिकेपछि त्यसको सामान्यीकरणको माध्यमबाट मान्छेले अरु त्यस्तै वा अलि भिन्न प्रकारका समस्यासँग जुध्न वा सामना गर्न सक्दछ ।
- समस्याको अवस्था बुझ्न सक्दछ; सामना गर्ने व्यवहार सकारात्मक हो कि नकारात्मक हो भनी छुट्याउन सक्दछ; आफ्ना खुबी तथा कमजोरीहरू खुट्याउन सक्दछ ।
- आरामका तरिकाहरू एक पटक सिकेपछि तिनलाई जीवनभर प्रयोग गर्न सक्दछ । मनोविमर्शको क्रममा एक पटक सामाजिक सहयोग प्रणाली/सञ्जाल पत्ता लगाएपछि त्यसलाई जीवनभर प्रयोग गर्न सक्दछ ।
मनोविमर्श: सबल पक्षहरू
मनोविमर्शदाताले मानसिक समस्याको निदानका लागि विभिन्न परीक्षणहरू गरी उपचार गर्दछन्, जसबाट मानसिक समस्या दीर्घकालीनरूपमा समाधान हुन्छ । मनोविमर्शदाताहरूले उपचार गर्दा कुनै औषधिको प्रयोग गर्दैनन्, औषधिको सट्टा वैकल्पिक मनोवैज्ञानिक सिप तथा सामग्रीहरूको प्रयोग गर्दछन्, मनोशिक्षा दिन्छन् । उनीहरूले बिरामीको गोपनीयता कायम राख्दछन्; बिरामीहरूलाई विश्वस्त बनाएर मात्र काम गर्दछन् ।
मनोविमर्शदाताहरूले बिरामीलाई मात्र होइन, आवश्यकताअनुसार बिरामीको परिवारलाई समेत मनोवैज्ञानिक सहयोग प्रदान गर्दछन् । यसो गर्दा छिटो निको हुन बिरामीलाई मद्धत पुग्दछ र परिवारमा तनाव पनि कम हुन्छ ।
साइकोथेरापी अथवा साइको काउन्सिलिङ अन्य सामान्य काउन्सिलिङभन्दा फरक हुन्छ । यसमा सल्लाह, सुझाव, आदेश एवम् निर्देशन दिने र मूल्याङ्कन गर्ने मात्र काम हुँदैन । मनोविमर्शदाताहरूले बिरामीलाई हौसला दिने र आत्मबल बढाउने काम गर्दछन् । यिनीहरूले बिरामीलाई अन्तर्वैयक्तिक सम्बन्ध र सञ्चारका सिप, समस्या समाधान र निर्णय सिप, तनाव वा स्वव्यवस्थापनका सिपहरू पनि सिकाउँदछन् । उपचारका क्रममा यिनीहरूले बिरामीलाई रोगको उपचारका निम्ति सम्बन्धित विज्ञ, डाक्टर वा सेवाकेन्द्र जानका लागि भरपर्दो सल्लाह र सूचना समेत दिन्छन् ।