गर्मी, गर्भावस्था र जन्डिसको जोखिम
डा. शेरबहादुर पुन
गर्मी बढ्ने क्रमसँगै हेपाटाइटिसको जोखिम पनि बढ्छ । हेपाटाइटिसलाई सामान्य भाषामा जन्डिस भन्ने गरिन्छ । गर्मी मौसममा जहाँ पायो त्यही खानपान गर्दा हेपाटाइटिस हुन सक्छ ।
अरुको तुलनामा गर्भवती महिलामा जन्डिसको जोखिम बढी नै हुन्छ । सामान्यतया गर्भवती भएको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकमा जन्डिसको जोखिम बढी हुन्छ । यस्तो अवस्थामा जन्डिस भए गर्भपतन समेत हुन सक्छ ।
जन्डिस हुँदा कलेजो सुन्निन्छ र कलेजोको कार्यसामथ्र्य समेत कमजोर हुन्छ । जन्डिसका कारण कलेजो बिग्रेर त्यसले कामै नगर्ने अवस्था समेत निम्तन सक्छ । यस्तो अवस्थामा गर्भवती महिलाको मृत्यु हुने समेत जोखिम हुन्छ ।
गर्भावस्थाको तेस्रो त्रैमासिकमा हेपाटाइटिस ‘ई’ भयो भने सङ्क्रमितमध्ये करिव २५ प्रतिशत गर्भवतीको ज्यान जान सक्छ । अतः गर्भवतीहरूले यसप्रति विशेष सतर्कता अपनाउनु पर्छ ।
कसरी हुन्छ ?
विशेषगरी हेपाटाइटिस सङ्क्रमित फलफूल र सागसब्जी खानाले हेपाटाइटिस ‘ई’ को जोखिम बढी हुन्छ । दूषित पानी र बासी तथा सडेगलेका खाद्य पदार्थ खाँदा पनि हेपाटाइटिस हुन सक्छ ।
हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ हुन्छन् । यहाँ ‘ए’ र ‘ई’ हेपाटाइटिसबारे सङ्क्षिप्त चर्चा गरिएको छ । मुख्यतः सङ्क्रमित पानीका कारण नै हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमण हुने भएकाले यसले जो–सुकैलाई र जहिलेसुकै पनि भेटिहाल्न सक्दछ । सामान्यतः हेपाटाइटिस ‘ए’ र ‘ई’ केही समयपछि आफैं निको हुन्छन् ।
लक्षण र जोखिम
जन्डिस आफैंमा रोग होइन । कुनै रोगको लक्षणका रूपमा यो सङ्क्रमण देखापर्छ । भाइरल तथा विभिन्न किसिमका स्वास्थ्य समस्याका कारण जन्डिस हुन सक्छ ।
हेपाटाइटिस अर्थात् जन्डिस लागेका बेला शरीरका विभिन्न भागमा पहेंलोपन देखापर्छ । विशेषतः सुरु–सुरुमा आँखामा पहेंलोपन देखिन्छ । आँखाको सेतो भागमा पहेंलो देखिने भएकाले जन्डिसको लक्षण सुरुमा आँखामै देखापर्छ । यसर्थ, अधिकाङ्शले आँखाको पहेंलोपनबाटै जन्डिस भएको अनुमान लगाउने गरेको पाइन्छ ।
जन्डिस हुँदा बान्ता हुने, वाक्वाकी लाग्ने, पेट दुख्ने, हल्का ज्वरो आउनेजस्ता लक्षण देखिन्छन् । जन्डिसको लक्षणका रूपमा दिसा कमेरो जस्तो देखिन्छ र पिसाब कोकाकोला जस्तो धमिलो पनि हुन्छ ।
पित्त बग्ने बाटामा नकारात्मक असर हुँदा तथा पित्त बग्ने बाटो नै बन्द हुँदा हेपाटाइटिस हुन सक्छ । विभिन्न रोग लागी शरीरबाट बाहिर निक्लने पित्तमा अवरोध पैदा हुँदा जन्डिस अर्थात् हेपाटाटिसका लक्षण देखा पर्दछन् । दिसा–पिसाबमार्फत शरीरबाट बाहिर निस्कनुपर्ने वस्तुमा अवरोध सिर्जना भई विकारयुक्त ती तत्व शरीरभित्रै फैलँदा हेपाटाइटिस हुने जोखिम हुन्छ ।
बच्ने उपाय
सङ्क्रमित दिसा र पिसाबको माध्यमबाट नै हेपाटाइटिस हुने जोखिम हुन्छ । सङ्क्रमित दिसा मिसिएको पानीलगायतका पदार्थ खान पुग्दा हेपाटाइटिस ‘ई’ को जोखिम बढी हुन्छ । सामान्यतया गर्मी मौसममा पानी बढी पिइने भएकाले पानी दूषित भएको अवस्थामा हेपाटाइटिस ‘ई’ को जोखिम बढी हुन्छ ।
यसर्थ, पानी नउमाली पिउनु हुँदैन । गर्मी र सुख्या याममा अघिपछिको तुलनामा अलिक बढी नै पानी पिउनुपर्छ तर उमालेर मात्र । जन्डिस अर्थात् हेपाटाइटिसबाट बच्न जथाभावी खानपान गर्नु हुँँदैन र खाने कुरा सडेगलेका छन् कि भन्नेमा पर्याप्त ध्यान दिनुपर्छ । बासी तेलमा पकाइएका सामग्री खानु हुँदैन; सफा र ताजा खानपानमा ध्यान पुर्याउनुपर्छ ।
यी भ्रममा नपरौं
जन्डिस भएका बेला बेसारलगायत पहेंला खाद्य सामग्री खानु हुँदैन भन्ने मान्यता जनमानसमा देखिन्छ । तर, जन्डिस भएका बेला पहेंला र बेसारलगायतका खाने कुरा खानु हुँदैन भन्ने कुनै वैज्ञानिक आधार पाइएको छैन ।
हेपाटाइटिस भएको अवस्थामा चिकित्सकको परामर्श लिनुपर्छ । चिकित्सकको परामर्शविना औषधि सेवन गर्नु हुँदैन । झोलिला पदार्थ प्रशस्त खानु/पिउनुपर्छ र पानी मनग्गे पिउनुपर्छ ।
डा. पुन टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्