यौनशक्ति र प्रशोधित खाद्य सामग्री
प्रा.डा. दिनेश बाँस्तोला
शारीरिक तथा मानसिक स्वस्थताका निम्ति अवश्य नै प्रशोधन नभएका, यथासम्भव अर्गानिक र स्वस्थकर खानपानको आश्यकता हुन्छ । ठीक त्यसैगरी सबल र सफल यौन जीवनका लागि समेत अप्रशोधित, ताजा र अर्गानिक खानपाकै आवश्यकता पर्दछ ।
स्वस्थताका लागि प्रोटिन, कार्बोहाइड्रेड, बोसो, लवण, खनिज पदार्थ तथा सूक्ष्म पोषण तत्वजस्ता सामग्री खानाबाट उपलब्ध हुनु अपरिहार्य हुन्छ । पोषणले यौनमा निकै ठूलो प्रभाव पार्छ । स्वस्थ यौनका लागि पोषणयुक्त खानपानको अहम् महत्व हुन्छ ।
अस्वस्थकर खानपानले अस्वस्थता निम्त्याउँछ । मिसावटयुक्त खाद्य पदार्थ र लामो समय भण्डारण र ओसारपसार गरिएका औद्योगिक उत्पादनको उपज प्रशोधित खानपान गर्दा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने जोखिम बढी नै हुन्छ ।
उमेरअनुसारको यौनचाहना, यौनेच्छा तथा यौनाकाङ्क्षा प्रकृतिको स्वाभाविक प्रक्रिया हो । तर, कतिपय खाद्य पदार्थको नियमित सेवनका कारण यो प्रक्रिया बिथोलिन पुग्छ र यौन दुर्बलता निम्तने जोखिम हुन्छ ।
यौन र खानपान
आजकल सहरबजार मात्र नभई देशका कुना–कन्दरासम्ममा प्रशोधित खाद्य सामग्रीको बिगबिगी छ । देशभर नै प्रायः नागरिकको भान्सामा यस्ता प्रशोधित खाद्य सामग्री पुग्ने गरेको देखिन्छ ।
खाद्य पदार्थ प्रशोधन गरिँदा त्यसमा उपलब्ध हुने जिङ्कलगायत शरीरका लागि आवश्यक अधिकाङ्श खनिज तत्व नष्ट हुन पुग्दछन् । यस्ता खनिज पदार्थ नभएका खाद्य पदार्थ खानाले यौन क्रियाकलापमा समेत नकारात्मक प्रभाव पर्दछ । यसले प्रजनन् स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव पार्दछ ।
प्रशोधन गरिएका खाद्य पदार्थको नियमित सेवनले पुरुषको शुक्रकीटको गुणस्तर तथा सङ्ख्यामा नकारात्मक प्रभाव पर्छ । यस्ता खानपान नियमित हुँदा शुक्रकीटको उत्पादनमा कमी आउन सक्छ; असामान्यरूपमा उत्पादन हुन सक्छ ।
नियमतिरूपमा प्रशोधित खानपान गर्दा वयस्क हुनुपर्ने समयमा महिलाको डिम्ब समेत वयस्क हुँदैन र गडबडी हुन सक्छ । यस्तो खानपानका कारण समयभन्दा अगावै वा ढिलो डिम्ब वयस्क हुने सम्भावना समेत हुन सक्छ ।
अतः शारीरिक तथा मानसिक एवम् यौन स्वास्थ्य समेतको सुरक्षाका लागि प्रशोधित खानपान गर्दा सचेत हुनुपर्छ । यस्ता खाद्य सामग्री सकभर खानु हुँदैन ।
उदाहरण: चिज र घ्यु
चिज
यौन दुर्बलता घटाउने सामग्रीको उदाहरणका रूपमा चिजलाई लिन सकिन्छ । प्रशोधन गरिएको चिज नियमितरूपमा खाइएमा शारीरिक शक्ति कम हुन्छ र यौन दुर्बलता समेत निम्तन्छ । चिज बनाउँदा कृत्रिम हर्मनको प्रयोग गरिन्छ । यो हर्मनका कारण शारीरिक वृद्धि–विकास तथा प्राकृतिक क्रमबद्धतामा नकारात्मक प्रभाव पर्छ ।
त्यसैले नियमितरूपमा चिज खाइएमा यौन दुर्बलता हुन्छ । यसको नियमित सेवनले यौन जीवनमा नकारात्मक असर पर्ने जोखिम बढी नै हुन्छ । यसले शरीरका हर्मनजन्य अन्य ग्रन्थीमा समेत नकारात्मक प्रभाव पार्छ । त्यसैले सकभर चिज नखानु नै राम्रो हुन्छ ।
कृत्रिम घ्यु
प्राकृतिक किसिमले तयार पारिएको घ्यु खानु स्वास्थ्यका दृष्टिले अत्यावश्यक नै हुन्छ । तर, बजारबाट भान्सासम्म आइपुग्ने कतिपय घ्युको गुणस्तरमा व्यापक अतिक्रमण भइसकेको हुन्छ । विभिन्न किसिमका आधुनिक प्रयोग गरी तयार पारिएको बजारको कृत्रिम घ्युले यौन स्वास्थ्यमा समेत हानि पुर्याउँछ ।
कृत्रिम घ्यु बनाउँदा वनस्पतिको तेलमा हाइड्रोजन मिसाइएको हुन्छ । यस्तो घ्युको नियमितरूपमा सेवन गरिँदा उक्त हाइड्रोजनयुक्त तत्वले शरीरका धमनीमा अवरोध सिर्जना गर्दछ । धमनी साँघुरिँदै जाँदा पुरुष तथा महिलाका यौनाङ्गका शिरा र धमनी बाक्लो हुँदै जान्छन् ।
यस्तो घ्युको सेवनले रक्त–प्रवाहमा समेत समस्या निम्तन्छ । शरीरका विभिन्न अङ्गमा पूर्णरूपमा रक्त–प्रवाह नभएमा अङ्गहरू शिथिल हुँदै जान्छन् । त्यसैले कृत्रिम तरिकाले तयार पारिएका बोसोजन्य घ्यु नियमित सेवन गर्नाले शारीरिक अपाङ्ग निम्तने समेत जोखिम हुन्छ ।