तुलसीले ‘नयाँ अनुहार’ खोज्दा भेटिएका पुष्प
केदार/शङ्कर/भोलानेपाली चलचित्र क्षेत्रमा ‘चल्तीका अभिनेता’ हुन् पुष्प खड्का । हेमन्त शर्माको ‘थाप न थाप हातैमा, मायाको चिनो मायालु…’ गीतबाट भिडियो क्षेत्रमा प्रवेश गरेका पुष्पको ‘डेब्यु चलचित्र’ भने ‘अझै पनि’ हो । ‘अझै पनि’ पछि पुष्पले ‘दर्पण छायाँ– २’, ‘दाल–भात–तरकारी’, ‘मारुनी’, ‘मङ्गलम’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।
चलचित्रमा ‘हिरो’ बन्नुअघि पुष्पले केही विज्ञापनहरूमा समेत अभिनय गरे । टेलिभिजन समाचारको बीचमै उनी अभिनीत विज्ञापन प्रशारण हुन्थ्यो । त्यतिबेला पुष्प आफूले खेलेको विज्ञापन हेर्नकै लागि टेलिभिजन सेट कुरेर बस्थे । ती पल सम्झँदा आफूलाई अहिले पनि रमाइलो लाग्ने उनले सुनाए ।
अभिनेता पुष्प नेपाली चलचित्रजगत्मा ‘नाच्न जान्ने हिरो’ का रूपमा समेत परिचित छन् । सयौं म्युजिक भिडियो र आधा दर्जनजति चलचित्रमा अभिनय गरिसकेका पुष्प ‘ह्याण्डसम अभिनेता’ का रूपमा समेत चिनिन्छन् ।
अभिनेता पुष्पले ‘मङ्गलम’ चलचित्रबाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जिते । यही चलचित्रबाट उनले अरु विभिन्न अवार्डहरू समेत हात पारे । विशेषतः युवापुस्तामाझ बढी लोकप्रिय रहेका उनको ‘क्रेज’ बढ्दो क्रममै देखिन्छ ।
उनी अभिनीत ‘कृष्णा लीला’ लगायतका केही चलचित्र प्रदर्शनको पर्खाइमा छन् । गतवर्ष नै रिलिजको तयारीमा रहेका कतिपय चलचित्र कोरोना महामारीका कारण प्रदर्शित हुनै पाएका छैनन् ।
फरक–फरक भूमिकामा अभिनय गर्न रुचाउने पुष्प हरेक चलचित्रमा आफ्नो काम फरक नै हुने गरेको बताउँछन् । उनी अहिले पनि चलचित्रभन्दा म्युजिक भिडियोमै बढ्ता सक्रिय छन् । महामारीका कारण चलचित्र क्षेत्र चलायमान हुन नसक्दा आफूले हस्ताक्षर गरिसकेका केही चलचित्रको छायाङ्कन सुरु हुनै नसकेको उनको भनाइ छ । त्यसैले पनि चलचित्रभन्दा म्युजिक भिडियोमै व्यस्तता बढेको उनको धारणा छ । फागुनमै छायाङ्कन हुने भनिएको ‘एक्स नाइन’ को सुटिङ अनिश्चित भएपछि म्युजिक भिडियोकै काममा निरन्तरता दिइरहेको उनले बताए ।
दैनिकी र जीवनशैली
अभिनेता पुष्पको दैनिकी र जीवनशैली सामान्यभन्दा फरक छ । आफ्नो जीवनशैली ‘आफ्नै पारामा’ चल्ने गरेको उनी बताउँछन् । आफ्नै मुड, आफ्नै इच्छा र आफ्नै सन्तुष्टिअनुसार चल्छन् उनी ।
सामान्यतः बिहान आठ बजेतिर मात्रै उठ्छन् उनी । सुटिङको सेड्युल अलि चाँडै छ भनेचाहिँ पाँच बजेतिरै उठ्छन् र फ्रेस भएर स्पटतिर दौडन्छन् । फुर्सद भएका बेला दिउँसोको १२ बजेसम्म पनि सुतिदिन्छन् । ‘म घडी हेरेर सुत्ने र उठ्ने कहिल्यै गर्दिनँ,’ उनी भन्छन्– ‘ठ्याक्कै यति नै बजे सुत्ने र उठ्ने भन्ने छैन ।’
भोलिपल्ट कति बजे उठ्ने भन्ने कुरा अघिल्लो रातले ‘डिफाइन’ गर्ने उनको भनाइ छ । अघिल्लो दिन नाइट सुटिङ पर्यो भने भोलिपल्ट अबेला नै उठ्ने गरिएको पुष्प बताउँछन् । सुटिङ नपरेका बेला घरमै बसेर चलचित्र हेर्छन् र किताब पढ्छन् ।
बिहान उठेपछि उनी दुई गिलास मनतातो पानी पिउँछन् । यो उनको दैनिकी नै हो, सधैं दुई गिलास नै पिउँछन् । ‘बरु ट्वाइलेट जान र ब्रस गर्न मिस गर्छु होला तर दुई गिलास पानी पिउन कहिल्यै छुटाउँदिन,’ उनले थपे– ‘डाइट पुर्याउनका लागि नियमितरूपमा चार वटा अनि दुई वटा रोटी र एक कप दूध खाने गरेको छु ।’
व्यायामको पनि नियमित सेड्युल छैन । कहिले जिम जान्छन् त कहिले जाँदैनन् । कामको प्रेसर भएका बेला व्यायाम गर्न भ्याउँदैनन् । खालि समय हुँदा मात्रै जिम जाने र ‘बडी बिल्डिङ’ मा ध्यान दिने गरेको उनले सुनाए ।
सुटिङमा जानुअघि दूध र रोटी खाएर घरबाट निस्कन्छन् । सुटिङमा गइसकेपछि खाना खाने समय निश्चित नहुने र प्रायः ढिलो नै हुने भएकाले घरमै केही खाएर जाने गरेको उनको भनाइ छ । ‘अरु काम मुडमा भर पर्छ– गर्न पनि सकिन्छ र नगर्न पनि,’ ठट्यौली पारामा उनले भने– ‘तर, खानचाहिँ कहिल्यै छुटाउँदिन ।’
यसबीच उनी कामकै आवश्यकताले अलिक बढी नै जिम गए । दिउँसोको खाना पनि प्रायः जिमतिरै खाए । शारीरिक आवश्यकताले गर्दा प्रोटिनयुक्त खानपान अलिक बढी नै गर्नुपर्यो ।
हालै सुटिङ गरिएको ‘एक्स नाइन’ चलचित्रका लागि बनाउनु परेको ज्यानका लागि खाने कुराको रुटिन नै बदलेका थिए पुष्पले । यो समय प्रोटिन र फाइबरयुक्त खानपान बढाए । जिम सकिएपछि दुई वटा केरा अनि प्रोटिन बढाउन अढाई सय–तीन सय ग्रामजति चिकेनका साथ दाल–भात–तरकारी नियमित खाए ।
बेलुकी भने उनी कहिल्यै दाल–भात खाँदैनन् । बेलुका सधैं रोटी खाने गरेका छन्, त्यो पनि शुद्ध गहुँको मात्रै । रोटीका साथ प्रायः तरकारी र कहिलेकहीं दूध खान्छन् । बेलुकीको यो खानपान अहिलेको रुटिन होइन, बाल्यकालदेखिकै हो ।
‘एक्स नाइन’ का लागि तयारी गर्दा जिमगुरु (कोच) अनिल श्रेष्ठ र आशिष देवाको सुझावअनुसार खानाको मात्रा धेरै बढाएको उनले सुनाए । खानपानको समय भने ‘वर्कआउट’ को सेड्युलमा भर पर्ने उनले बताए । शरीरमा परिवर्तन देखिनका लागि गुरुहरूको सुझावअनुसार नर्मल मान्छेले भन्दा अलिक बढी नै खाने गरेको उनको भनाइ छ ।
बा–आमाको डाक्टरी रहर, उनीचाहिँ ‘हिरो’ बन्न सहर
बाल्यकालमा कैलालीमै हुँदादेखि नै चलचित्रमा अभिनय गर्ने रहर थियो । बलिउडका र नेपाली चलचित्र हेर्दै गर्दा उनमा पनि अभिनय गर्ने रुचि बढ्यो । कहाँ जाने, कोसँग सम्पर्क गर्ने र कसरी खेल्ने भन्नेबारे चाहिँ केही थाहा थिएन ।
गाउँमा हुने विभिन्न कार्यक्रमहरूमा उनी स्टेजमा नाच्थे । उनी जहिल्यै अगाडि गएर नाच्थे, कहिल्यै पछाडि नाच्दैनथे । उनको स्वभाव नै सधैं ‘लिडिङ’ रोलमै रहनुपर्ने खालको थियो ।
पुष्पले देखाएको नाच्ने र अभिनय गर्ने रहर बुबा–आमालाई भने मन नै पर्दैनथ्यो । प्रायः अरुहरूका बा–आमाको जस्तै पुष्पका बा–आमामा पनि छोराले धेरै र ‘राम्रो’ विषय पढोस् अनि डाक्टर बनोस् भन्ने चाहना थियो । ‘बुबा–आमा भारतमा भएकाले पढाउनका लागि भनेर मलाई पनि उतै लानुभएको थियो,’ पुष्प भन्छन्– ‘तर, मलाई भने उता बस्नै मन लागेन । कलेज पढ्नका लागि भनेर काठमाडौं आएँ र यतै बस्न थालें ।’
‘नयाँबानेश्वरको थापागाउँमा बस्थें । कलेज जाने बाटामा डान्स/कल्चर सेन्टर थियो । हरेक दिन त्यहाँ मान्छेहरू नाचिरहेका देखिन्थे,’ पुराना दिन सम्झँदै पुष्पले सुनाए– ‘मलाई पनि त्यो ‘झरना डान्स कल्चर’ मा डान्स गर्न मन लाग्यो र एक दिन भर्ना भएँ । तीन महिना सिकिसकेपछि त्यहीं डान्स सिकाउन थालें ।’
डान्स सिकाउँदा सिकाउँदै उनले काठमाडौंमा आयोजना भएका धेरै कार्यक्रममा पर्फर्मेन्स गरिसकेका थिए । पुष्पको नृत्यकला देखाउने क्रम जारी नै थियो । तर, पढाइमा भने बिस्तारै कमजोर हुन थाले । पढाइभन्दा कलाकारितामा अभिरुचि बढ्दै गयो ।
त्यसपछि आफ्नो फोटो सुट गरेर डकुमेन्टहरू समेत बोक्दै उनले प्रायः हरेक निर्देशककहाँ चहारे; धेरै निर्माताहरूको ढोका ढक्ढक्याए । त्यसबेलासम्म उनले जम्माजम्मी एउटा विज्ञापनमा अभिनय गरेका थिए ।
टर्निंग प्वाइन्ट: आलोक–हेमन्तसँगको भेट
एक दिन उनले आलोक नेम्बाङलाई भेटे । गायक हेमन्त शर्मासँग पनि त्यहीं भेट भयो । आलोकसँगको कुराकानीसँगै पुष्पलाई म्युजिक भिडियोमा ‘अफर’ आयो । उनले भने त्यो ‘अवसर’ को अपेक्षा नै गरेका थिएनन् । कुरा हुँदैमा विश्वास गरिहाल्ने स्थिति थिएन किनकि यसअघि पनि थुप्रै निर्देशकले ‘हुन्छ’ भन्दै झुक्याउँदै गरिरहेका थिए ।
‘त्यो समयमा कति निर्देशकलाई भेटें, फोटो सुट देखाउँदै डकुमेन्ट बोकेर हिँडें । कसैले पनि काम दिनु भएन, खालि ‘हुन्छ’–‘हुन्छ’ मात्रै भन्नुभयो,’ अभिनेता पुष्पले कृतज्ञ हुँदै सुनाए– ‘आलोक नेम्बाङ र हेमन्त शर्माले भने मलाई साँच्चिकै अवसर दिलाउनुभयो । ‘थाप न थाप हातैमा…’ को भिडियोमा उहाँहरूले दिनुभएको अवसर र उहाँहरूको देनले नै आज म यहाँसम्म आइपुगेको छु ।’
पुष्पलाई चलचित्र ‘अझै पनि’ बाट ‘डेब्यु’ समेत आलोकले नै गराएका थिए । त्यसमा पुष्पको रोल सानो नै भए तापनि उनका लागि त्यो एउटा निकै ठूलो अवसर थियो । ‘यो चलचित्रमा काम गर्छौ त पुष्प ? रोल त सानो नै छ…’– आलोकले उनलाई भनेका थिए ।
त्यसपछि शिव परियारको ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ को भिडियोमा खेल्ने अवसर पाए पुष्पले । अब भने उनलाई दर्शक–श्रोता र चलचित्र क्षेत्रकामा मान्छेहरूले राम्रैसँग चिन्न थाले । त्यही भिडियो हेरेर निर्देशक तुलसी घिमिरेले ‘दर्पण छाया“– २’ मा पुष्पलाई खेलाउने निधो गरे । यो चलचित्रमा खेलाउन निर्देशक घिमिरेले नै पुष्पको खोजी गरेका थिए ।
‘भर्खरै मैले खेलेको ‘पिउँदिन भन्दाभन्दै’ राम्रो चलिरहेको थियो । तुलसी घिमिरे सरले पनि त्यो भिडियो हेर्नुभएछ । त्यसपछि उहाँले शिव दाइलाई ‘यो मान्छे मलाई भेटाइदेऊ’ भन्नुभएको रहेछ,’ अभिनेता पुष्पले सुनाए– ‘तुलसी घिमिरेले भेट्न खोज्नुभएको छ, जाऊ भन्नुभयो मलाई ।’
‘खुसी हुँदै तुलसी सरलाई भेट्न गएँ, चलचित्रमा काम गर्ने विषयमै कुराकानी भयो,’ पुष्प सम्झन्छन्– ‘त्यति राम्रो ब्यानरमा काम गर्न पाउनु मेरा लागि निकै खुसीको कुरा थियो; अन्ततः सहमति भयो र मैले खेलें ।’
दर्शकले ‘नयाँ अनुहार’ खोजिरहेका बेला पुष्पको उदय भएको हो । उनका पहिलो र दोस्रो चलचित्रले सोचेअनुसार व्यापारचाहिँ गरेनन् । त्यसपछि उनले ‘मङ्गलम’ मा अभिनय गरे; यो चलचित्रले भने उनलाई उचाइमै उठायो । यसका गीत निकै हिट भए र चलचित्र पनि राम्रै चल्यो । त्यसपछि भने पुष्पले चलचित्रमा लगातार अवसर पाइरहे ।
अहिले त पुष्प ‘महँगो अभिनेता’ का रूपमा समेत चिनिन्छन् । चलचित्र र म्युजिक भिडियो दुवैमा दर्शकको अत्यधिक रुचिका अभिनेता मानिएका छन् उनी ।