किशोरावस्थामै चम्केकी नग्माको कलायात्रा

होलिस्टिक संवाददाता

‘तिमीले सोचेजस्तो’, ‘अल्लारे’, ‘आजभोलि’ लगायत सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल हुन्– नग्मा श्रेष्ठ । उनले अभिनय गरेका अधिकाङ्श म्युजिक भिडियो चर्चामा छन् ।

१५ वर्षकै उमेरदेखि मोडलिङमा लागेकी नग्माले ‘लक्ष्मी माताको भजन’ बाट ‘डेब्यु’ गरेकी थिइन् । यो भिडियोको निर्देशन समन अधिकारीले गरेका थिए । सो भिडियोमा साइड कलाकारको भूमिका निभाएकी थिइन् नग्माले । तर, त्यही भिडियोमार्फत उनको म्युजिक भिडियो करियर अगाडि बढ्यो ।

पहिलो भिडियोबाटै चर्चा कमाएपछि उनलाई अरु गीतका भिडियोहरूमा पनि अफर आउन थाले । ‘लक्ष्मी माताको भजनबाट डेब्यु गरेयता मैले ब्रेक लिनु परेको छैन,’ होलिस्टिकसँग नग्माले भनिन्– ‘त्यसपछि त एकपछि अर्को म्युजिक भिडियोमा लगातार काम पाइरहेकी छु ।’

नग्माले सुरुमै म्युजिक भिडियोमा अभिनय गरेकी होइनन् । यसअघि उनले केही ‘सौन्दर्य प्रतियोगिता’ मा समेत भाग लिइसकेकी थिइन् । त्यहींबाट चिनजान बढ्दै गएपछि आफूले भिडियोमा अभिनय गर्ने अवसर पाएको उनको भनाइ छ ।

‘गसिप’ पढ्दा–सुन्दाको आतङ्क

‘ममा सानैदेखि कलाकार बन्ने रहर थियो तर कलाकारहरूबारे नकारात्मक समाचारहरू आइरहेको देख्दा भने यो क्षेत्र त गतिलो होइन रहेछ भन्ने लाग्थ्यो,’ नग्मा भन्छिन्– ‘आफूले यसै क्षेत्रमा बिस्तारै काम गर्न थालेपछि थाहा भयो, वास्तविकता त सोचेभन्दा फरक नै रहेछ ।’

पत्रपत्रिकामा बारम्बार आइरहने हिरो–हिरोइनका ‘प्रेमकथा’ र ‘लफडा’ का समाचारले कलाक्षेत्रमा प्रवेश गर्नु डरलाग्दो कुरा पो हो कि भन्ने लाग्दथ्यो नग्मालाई । उनका बुबा–आमाको चाहना पनि छोरी कलाकारितातर्फ नलागोस् भन्ने नै थियो । नग्माका बुबा–आमालाई पनि ‘छोरी कलाकार बनी भने त बिग्रन्छे’ भन्ने लाग्दथ्यो ।

‘टिभी हेर्दा होस् या समाचार पढ्दा, कलाकारहरूका अनेक ‘गसिप’ आइरहन्थे । क–कसको लभ, क–कसको ब्वाइफ्रेण्ड आदिजस्ता चर्चा–परिचर्चा पढ्दा–सुन्दा यो क्षेत्र त खत्तम पो हो कि भनेजस्तो लागेको थियो,’ उनले भनिन्– ‘जब मैले लक्ष्मी माताको भिडियोमा अभिनय गरें तब पढिएका र हेरिएका समाचारभन्दा फरक पाएँ । त्यसपछि मैले म्युजिक भिडियोमा निरन्तरता दिने सोच बनाएँ र काममा लागें ।’

एसएसली पछिको यात्रा

एसएलसी दिएपछि उनी घरमै बसिरहेकी थिइन् । रिजल्ट नआउन्जेलसम्मको खालि समयमा के गर्ने भन्ने सोचमा थिइन् । बोर मानेर घरमा एक्लै बसिरहनु भन्दा केही काम गर्न पाए हुन्थ्यो भन्ने सोच पलायो उनमा ।

त्यही बेला उनले ‘मिस एसएलसी नेसनल २०१६’ भइरहेको खबर पाइन् । त्यसपछि बुबा–आमालाई समेत थाहै नदिइ फर्म भरिन् र भाग लिइन् । प्रतियोगिताको तयारीका कार्यक्रमहरूमा सहभागी हुन थालेपछि आफूले ‘सुन्दरी प्रतियोगिता’ मा भाग लिन लागेको कुरा बिस्तारै आमालाई सुनाइन् ।

नग्माले ‘मिस एसएलसी नेसनल २०१६’ मा भाग लिन थालेको कुरा आमालाई मन परेको थिएन । नग्माका बुबा–आमालाई फिल्म तथा म्युजिक भिडियोका कलाकार त मन पर्थे तर त्यहाँ काम गर्ने मान्छे ‘खराब हुन्छन्’ भन्ने बुझाइका कारण आफ्नी छोरी नै त्यही क्षेत्रमा लाग्ने कुरा मन पर्दैनथ्यो । त्यसैकारण उनका बुबा–आमाले खासै राम्रो मान्नुभएन ।

नग्माले त्यो प्रतियोगितामा कुनै उपाधि त जितिनन् तर धेरै कुरा सिक्ने मौका पाइन् । त्यसपछि उनलाई फेरि अर्को प्रतियोगितामा भाग लिने रहर जाग्यो । सन् २०१७ को ‘मिस इन्डिजिनियस हेरिटेज नेपाल’ मा भाग लिइन् । त्यसमा भने उनी ‘टप– ७ फाइनलिस्ट’ भइन् ।

यही यात्रामा धेरैसँग चिनजान भयो । यही माध्यमबाट फिल्म तथा म्युजिक भिडियोका निर्देशक–निर्माताहरूसँग भेटघाट हुन थाल्यो । यसै सिलसिलामा अभिनेतृ तथा मोडल सुप्रिया कटुवालसँग उनको भेटघाट र चिनजान भयो । उनै सुप्रियाले ‘एउटा भजनको सुटिङ छ, तिमी खेल्छ्यौ त’ भनेपछि नग्माले सहमति जनाइन् । र, ‘लक्ष्मी माताको भजन’ मा अभिनय गर्ने मौका पाइन् ।

पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठदेखि लिएर दयाहाङ राईलगायत अधिकाङ्श मोडल तथा अभिनेताहरूसँग उनले म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । हरेक मान्छेका आ–आफ्नै मन पर्ने कलाकारहरू हुन्छन् । नग्मालाई बाल्यकालदेखि नै अभिनेतृ निरुता सिंंह तथा दिवङ्गत अभिनेता श्रीकृष्ण श्रेष्ठ मन पर्थे । फिल्म तथा युट्युब एवम् टिभीमा तिनलाई देख्दा नग्मालाई आफू पनि कलाकार बन्न पाए हुन्थ्यो भन्ने लाग्दथ्यो ।

‘नेपाली कलाकारहरूमध्ये श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह मलाई एकदमै मन पर्छन् । उहाँहरूको अभिनय देखेर नै यो क्षेत्रमा आउन म उत्प्रेरित भएकी हुँ भन्दा पनि फरक नपर्ला’– उनले सुनाइन् । ‘टिभी फिल्मी’ बाट प्रसारण हुने हरेक फिल्म नग्माले नछुटाई हेर्छिन् । उक्त टिभीमा हरेक समय फिल्म नै आउने भएकाले स्कुलबाट फर्केपछि उनका आँखा प्रायः टिभीमै हुन्थे ।

कलायात्राका साथसाथै नग्माले पढाइ पनि अगाडि बढाइरहेकी छन् । यतिबेला उनी नेपालय कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् ।