प्राणवायुको रक्षार्थ रुखलाई माया गरौं

कृष्णप्रसाद भुसाल

हामीले अहिलेसम्म कति रुख रोप्यौं ? वृक्षारोपणका अभियान कति चलायौं ? र, आफैंले लगाएका बिरुवा कति हुर्कायौं ? हामीले जे–जति रुख–बिरुवाहरू हुर्कायौं तीभन्दा बढी नै काट्यौं कि ? अथवा, हामी आफैंले नकाटे पनि हाम्रै प्रयोगका लागि त पक्कै काटिए र काटिइरहेका छन् ।

हामीले यी प्रश्नहरूको उत्तर आफैंमा खोज्ने प्रयास गर्‍यौं भने पर्यावरणीय चक्रमा हामीले केही न केही योगदान अवश्य गर्न सक्दछौं । आज वातवरणीय असन्तुलन पैदा भएको छ । र, हामीले त्यसका अनेकौं दुष्परिणाम भोगिरहेका छौं ।

रुख (समग्रमा वनस्पतिजगत्) पृथ्वीमा सनातन पर्यावरणीय चक्रको सञ्चालन तथा सन्तुलन र प्राणीजगत् जिउने प्रमुख आधार हो । गाँस, बास, कपास र औषधिमूलो मात्र होइनन्, स्वास–प्रश्वासका लागि अत्यावश्यक तत्व अर्थात् प्राणवायु अक्सिजन समेत वनस्पतिजगतकै उपज हो ।

एक स्वस्थ व्याक्तिले दिनमा कम्तिमा पनि ५ सय ५० लिटर अक्सिजन लिन्छ, जसको न्यूनतम बजार मूल्य १३ हजार ७ सय ५० रुपैयाँ पर्छ । रुख अर्थात् वनस्पतिबाटै यो मात्राको अक्सिजन हामीले निःशुल्क पाइरहेका छौं । एउटा ठूलो रुखले दिनमा चार जनालाई पुग्ने अक्सिजन उत्सर्जन गर्छ भने त्यति नै मान्छेले फाल्ने विषाक्त ग्यास (कार्बनडाइअक्साइड) को शोष्ने काम पनि गर्छ । तर बिडम्बना, तिनै रुख र रुखहरूद्वारा सिर्जित वन–पर्यावरणालाई मान्छेहरूले नै तीव्ररूपमा विनाश गरिरहेका छन् ।

भौतिक विकासका नाममा प्राकृतिक सम्पदाहरू मास्ने क्रम संसारभर तीव्र छ । अझ हाम्रोजस्ता विकासोन्मुख देशहरूमा यसको गति र प्रकृति अनियन्त्रित नै छ । मानवीय क्रियाकलापकै कारण संसारको प्राकृतिक प्रणालीको स्वरूप तथा गुणस्तरमा पछिल्लो शताब्दीमा निकै नै ह्रास आइरहेको छ । संसारभरकै यो दूराअवस्थाबाट जैविक विविधता र प्राकृतिक स्रोतलाई पहिलेकै अवस्थामा फर्काउन वा थप विनासबाट बचाउन संयुक्त राष्ट्रसङ्घले सन् २०२१–२०३० लाई ‘पर्यावरणीय प्रणाली पुनर्स्थापना दशक’ घोषणा गरेको छ ।

वातावरणीय चासो र मुद्धा स्वाभाविकरूपमै बहुआयामिक प्रकृतिको हुन्छ । यसमा आउने वा ल्याइने बदलावले भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानोवैज्ञानिक अर्थ राख्दछ । तर, यसलाई खालि वातावरणको एकल विषयका रूपमा मात्र हेर्ने गरिन्छ । साझा र बहुपक्षीय असर पार्ने पर्यावरणीय चुनौतीको सामनाका लागि पनि आमचासो र सबैको पर्यावरणमैत्री क्रियाकलाप अत्यावश्यक हुन्छ ।

वातावरण संरक्षणका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय सन्धि–महासन्धि, देशको संविधान, नीति तथा कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कार्ययोजनाहरू र तिनको कार्यवन्यन महत्वपूर्ण हुन्छन् । यद्यपि त्योभन्दा पनि बढी महत्व त हरेक व्यक्तिको पर्यावरणमैत्री आचरण र जिम्मेवारीको हुन्छ ।

प्रकृतिलाई माया गर्ने, पूजा गर्ने र दिगो उपयोगमा जोड दिने हाम्रो सनातन मान्यता र प्रचलन समेत हो । पानीका मुहान, पहाडका अग्ला चुली, ठूला र विशिष्ट रुख, फरक आकृति र अवस्थितिका चट्टानहरूमा ‘देवता’ को बास हुन्छ भन्ने जनविश्वास समेत छ ।

ग्रामीण क्षेत्रहरूमा मूलतः वर्षायाममा बिरुवा रोप्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने व्यापक प्रचलन थियो । करिव तीन दशकअघि हामी हुर्कदै गरेका बखत अर्घाखाँचीको धारापानी गाँउमा हाम्रा अग्रजहरूले गरेका प्रकृतिमैत्री व्यवहारहरू हाम्रो मानसपटलमा अझै पनि ताजै छन् ।

समयको गतिशीलतासँगै स्वाभाविकरूपमा हाम्रो सोच, दैनिकी र व्यवहार बदलिँदै जानु र विकसित हुनु अनि ‘आधुनिकता’ प्रति अकर्षित र अभ्यस्त हुनु अनौठो कुरा भएन । तर, हामी पूर्खाबाट पर्यावरणमैत्री आचरण, परम्परागत ज्ञान र पद्धतिको अनुसरण गर्न भने नराम्ररी चुकेका छौं ।

हाम्रा हजुरबुबामा बाँसको विरुवा रोपणप्रति निकै ठूलो लगाव थियो । उहाँले ‘बाँसले पहिरो नियन्त्रण गर्छ र यसको घाँस समेत राम्रो हुन्छ’ भन्नुभएको धुमिल सम्झना अहिले पनि छ । हरेक वर्षा याममा हजुरबुबाले बाँसका विरुवा सार्नुहुन्थ्यो । फलतः त्यसबेला गाँउमै सबैभन्दा धेरै बाँसघारी हाम्रै थिए र अहिले पनि छन् । बाँसका तामालाई गाईगोरुले खानबाट जोगाउन वर्षा यामभर हरेक बिहान तामामा गाईको गोबर दल्नुपर्थ्यो । बाँस मात्र होइन, अरु बिरुवा रोप्न र घाइते जनावरको उद्धारमा पनि हजुरबुबाको निकै अभिरुचि थियो । जङ्गली जनावर तथा चराचुरुङ्गी मार्नु र तिनको मासु खानु नहुने मान्यता हजुरबा पुस्तामा विद्यमान थियो ।

ऊबेला ठाउँ–ठाउँमा र बाटाघाटामा चौतारा बनाएर त्यहाँ बर–पीपल र समीका बोटहरू रोप्ने प्रचलन हराउँदै गएको छ । त्यही बेलाका चौतारा र बाटो किनारका ठूलठूला रुखहरू समेत मासिँदै गएका छन् । वृक्षारोपणका लागि कुनै वातावरणीय ‘दिवस’ अथवा ‘विशेष दिन’ खोजिन्छ । अनेक तामझाम गरी रोपिएको बिरुवालाई भोलिपल्टदेखि भने कसैले पनि वास्तै गर्दैन । फलतः रुख रोप्ने र हुर्काउनेजस्ता वातावरण संरक्षणका ‘अभियान’ त ‘फेसन’ मात्र बन्दै गएका छन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई ‘वृक्षारोपण वर्ष’ घोषणा गरेर पाँच करोड बिरुवा रोप्ने लक्ष लिएको थियो । यही वर्षको असोजमा पनि सरकारले ‘राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियान’ का नाममा एक करोड बिरुवा रोप्ने काम सुरु गर्‍यो । अभियान सुरुआतका रूपमा केही हजार बिरुवा रोपिए पनि । तर, ती कुनै पनि ‘अभियान’ यथार्थतामा परिणत भएनन्, लक्ष हासिल गर्न सकेनन् । ‘धेरै रुख रोप्ने सय देशहरू’ को विश्वव्यापी सूचीमा गतवर्ष नेपाल ६७औं स्थानमा छ, जहाँ नेपालले वार्षिक ३५ लाख ७५ हजार १ सय ९७ बिरुवा रोपेको उल्लेख छ । सो वर्ष सबैभन्दा धेरै रुख चीनमा रोपिए, जहाँ २ अर्ब ४० करोडभन्दा बढी बिरुवा रोपिएको उल्लेख छ ।

हामीकहाँ सर्वाधिक दुःखद् कुरा के छ भने रोपेका बिरुवाको उचित हेरचाह नै गरिँदैन । बरु हरेक वर्ष सोही ठाउँहरूमा दोहोर्‍याएर ‘वृक्षारोपण’ का नाटकहरू मञ्चन गरिरहिन्छ । रुख रोप्ने, हुर्काउने र जोगाउनेजस्तो पर्यावरण संरक्षणको काम कुनै ‘विशेष’ दिनमा मात्र होइन, सधैं गरिनुपर्छ, यसलाई जीवनको एउटा अभिन्न अङ्शकै रूपमा सबैले स्वीकार्नुपर्छ । अझै पनि सचेतना अभिवृद्धि र उत्तरदायित्वबोधकै आवश्यकता छ ।

ठूलठुला सभा–सम्मेलन, गोष्ठी–सेमिनार र अन्तरक्रियामा पर्यावरणीय संरक्षणका निकै ठूला कुरा गरिन्छन्, अनेकन उपाय, सुझाव र प्रतिवेदनहरू प्रस्तुत गरिन्छन् । मुख्य कुरा त प्रत्येक व्यक्तिले आफ्नै जीवन–अभ्यासमा ती कुरालाई के–कति आत्मसात् गरेको छ भन्नेचाहिँ हो । ‘म एक्लैले गरेर के पो हुन्छ र’ भन्ने मानसिकताबाट मुक्त भई सकारात्मक सोच र उद्देश्यका साथ अघि बढाइने एकल अभियानले पनि ठूलो प्रभाव पार्दछ र निकै महत्व राख्दछ । ‘हरित बनेपा’ अभियान र ‘रसिक पालाञ्चोके’ लाई नै उदाहरणका रूपमा लिन सकिन्छ । काभ्रेपालाञ्चोकस्थित सुन्दर र ऐतिहासिक बनेपालाई हराभरा, रुखयुक्त र स्वच्छ सहर बनाउने उद्देश्यका साथ दस वर्ष अघिदेखि रुख रोप्ने र हुर्काउने स्वयम्सेवी अयिानमा लागेका रसिकले छ हजारभन्दा बढी रुख रोपेर हुर्काइरहेका छन् । वृक्षारोपण अभियन्ता हेमन्त काफ्लेले आफैं नर्सरी सञ्चालन गरी निःशुल्क बिरुवा वितरण गरिरहेका छन् । उनले ६० हजारभन्दा बढी बिरुवा बाँडिसकेका छन् ।

जोधपुर (भारत) नजिकको खिजरी गाउँमा बसोबास गर्ने बिस्नोई जातिका मान्छेले राजाका सिपाहीहरूद्वारा रुख काट्नबाट रोक्नका लागि सन् १६०४ मा रुखलाई अँगालो हालेर उभिए । सिपाहीहरूले भने ३ सय ६३ जना मान्छेलाई नै मारिदिएर सिङ्गै जङ्गल फडानी गरे । पछि (सन् १९७२ मा) भारतकै उत्तराखण्डका गाँउले महिलाहरू पनि रुख काटनबाट रोक्ने आन्दोलनमा उत्रिए । तिनले पनि उसैगरी रुखलाई अँगालो हाले । ‘चिपको आन्दोलन’ का नामले परिचित उक्त अभियानले रुख जोगाउन विश्वलाई नै प्रेरित गर्‍यो । सन् १९७९ देखि रुख रोप्न सुरु गरेका जयदेव पाएङले ३० वर्षको अवधिमा चार करोड बिरुवा रोपी ब्रह्मपुत्रको करिव छ वर्गकिलोमिटर बाँझो जमिनलाई हराभरा बनाए । क्यानडेली नागरिक केन चापलीनले सन् २००१ मा एक दिनमै १५ हजार १ सय ७० बिरुवा रोपेर गिनिज बुकमा नाम लेखाए ।

यी र यस्ता उदाहरणबाट हामी पनि उत्प्रेरित हुनुपर्छ, रुखलाई माया गर्नुपर्छ । हामी सबैले आ–आफ्नो दैनिकीमा पनि कुनै न कुनै पर्यावरणमैत्री क्रियाकलापलाई आत्मसात् गरेर अघि बढ्यौं भने पर्यावरणीय प्रणालीको संरक्षण तथा पुनर्स्थापनामा निकै सहयोग पुग्दछ । आफैं बाच्नका लागि मात्र भए पनि रुखलाई बचाऔं !