रामबाबुको सङ्घर्ष: रङ्गमञ्चदेखि काँचको पर्दासम्म
भोलानाथ अधिकारी
‘जुठे’ श्रृङ्खलाका चर्चित कलाकार हुन्, रामबाबु रेग्मी । यो सिरियलमा उनी एक ‘दलित’ पात्रको भूमिकामा छन् । सयाैं नाटकको लेखन तथा निर्देशन एवम् अभिनय समेत गरेका उनले केही वर्षयता भने चलचित्रमा अभिनय समेत गर्दै आएका छन् ।
‘छक्का पञ्जा’, ‘भुइँमान्छे’, ‘उमङ्ग’ लगायत ६० वटा चलचित्रमा उनले अभिनय गरिसकेका छन् । उनी सिरियलहरूको अभिनयमा पनि उत्तिकै सक्रिय छन् ।
बाल्यकालको ‘इखले’ चढाएको ‘नसा’
कलाकार बन्ने ‘नसा’ रामबाबुमा बाल्यकालदेखि नै चढेको हो । स्कुलमा हुने कार्यक्रममा अरुले अभिनय गरेको देख्दा ‘मैले पनि अभिनय गर्न पाए हुन्थ्यो’ लाग्दथ्यो उनलाई । तर, ‘टाठाबाठा’ हरूले उनलाई मौकै दिँदैनथे । स्कुलको वार्षिकोत्सवमा नाटक हुन्थ्यो । त्यसमा आफूले पनि अभिनय गर्ने प्रस्ताव राख्दै सिनियर दाजु–दिदीसँग अनुनय गर्थे । तर, उनीहरूले रामबाबुलाई अवसर नै दिँदैनथे ।
त्यही ‘इख’ कै कारण समेत ‘ठूलो भएपछि त कलाकार नै बन्छु’ भन्ने गहिरो छाप पर्यो रामबाबुको दिमागमा । मनको त्यो प्रतिबद्धता बाहिर कसैलाई पनि भनेका थिएनन् उनले । त्यसैकारण कलाकारिताको सुरुआतदेखि नै आफ्नो अभिनयले अरुलाई ‘इम्प्रेस्ड’ पार्न कोसिस गर्थे रामबाबु । यद्यपि अभिनय के हो र कसरी गर्नुपर्छ भन्ने खासै ज्ञान भने थिएन उनमा ।
त्यही ‘इख’ फलस्वरूप अहिले नेपालका चर्चित कलाकार बनेर सुपरिचित छन् रामबाबु रेग्मी । उनी प्रायः फिल्म या टेलिफिल्ममा ‘दुःखी युवक’ या ‘बूढा’ को भेषमा देखा पर्दछन् । एकै पटक फिल्म तथा टेलिफिल्ममा आएका भने होइन् उनी । सडक नाटक हुँदै टेलिफिल्म र टेलिफिल्म हुँदै चलचित्रमा आइपुगेका हुन् रामबाबु । यो क्षेत्रमा जम्न उनले लामै समय सङ्घर्ष गर्नुपर्यो ।
बाल्यकालमै नाटकमा खेल्न नपाएको त्यो ‘झोक’ अनि कलाकार बन्नका लागि गरेको सङ्घर्षले उनलाई सफलतामै पुर्यायो । स्कुलमा सांस्कृतिक कार्यक्रमहरू हुँदा ‘नाटकमा चाहिँ म पनि अभिनय गर्न सक्छु’ भन्ने जोस थियो उनमा । तर, उनलाई कसैले पनि कुनै नाटक अभिनय गराउन मानेनन् । उनको मनमा चसस्क बिझ्यो, गहिरो चस्का पस्यो । त्यसपछि उनले मनमनै सोचे– ‘पख, एक दिन राम्रो कलाकार बनेर तिमीहरूलाई देखाउँछु ।’
मनमा उब्जिएको इख उनमा पछिसम्म पनि रहिरह्यो । त्यही इख बोकेर एसएलसीपछि काठमाडौं हानिए । उच्च शिक्षा अध्ययन गर्ने र कलाकार पनि बन्ने– दुई मिसन थिए उनी काठमाडौं छिर्दा । एक दशक अघिको कुरा हो यो ।
काठमाडौं छिरेपछिको सङ्घर्ष
काठमाडौ आएपछि उनी पाटन संयुक्त क्याम्पसमा भर्ना भई पढ्न थाले । तर, उनलाई पढाइभन्दा पनि फिल्म हेर्ने सोखले बढ्ता आकर्षित गर्यो । क्याम्पस जानुको सट्टा उनी फिल्म हलतिर धाउन थाले । पढाइमा खासै ध्यान गएन । हप्तैपिच्छे रिलिज हुने फिल्म हेर्न थालेपछि पढाइ त कमजोर हुने नै भयो । त्यसपछि सो क्याम्पस छाडे र चि–त्रन्द्र कलेज भर्ना भए । उनको पढाइ त्यहाँ पनि उस्तै भयो ।
पढाइमा उँभो लाग्ने छाँट नदेखेपछि उनले वीरेन्द्र हमालसँग अभिनयको कक्षा लिन थाले । वीरेन्द्रसँग उनले लामै समय कक्षा लिए । त्यसपछि रामबाबुलाई आफैं नाटक गरौं न त भन्ने लाग्यो । केही साथीहरूसँग कुराकानी गरे र आफ्नै लगानीमा गुरुकुलमा नाटक गरे ।
छोटो समय उनले गरेको नाटकबाट पैसा कमाइएन, सुरुकै नाटक–यात्रा ‘फ्लप’ भयो । लगानी डुबेपछि साथीहरू तितरबितर भए । आर्थिकरूपमा निकै कमजोर भए रामबाबु ।
त्यसपछि उनी निकै चिन्तित भए । असाध्यै तनाव बढेपछि ‘ओशो’ को शरणमा पुगे । ‘गुरु’ ले त्यहाँ उनको हिम्मत बढाइदिए । केही दिन त्यहाँ ‘ध्यान’ गरे र कला क्षेत्रमै केही गरिछाड्छु भनेर आत्मविश्वासका साथ फर्किए ।
आफ्नो अभिनय–कलामा निखार ल्याउन त्यसपछि उनले देशका कुना–काप्चासम्म चेतनामूलक नाटकहरू गरे । उनले अधिकाङ्श जिल्लामा नाटक देखाए । सङ्घर्षकालमा गाउँ–गाउँमा नाटक देखाउन जाँदा ‘नाटक गर्ने कलाकार’ लाई राम्रो मान्दैनथे ।
‘मलाई अभिनयको भोक थियो त्यसैले आफ्नो चाहनाअनुरूपकै गरें,’ नमिठा अनुभवहरू शेयर गर्दै उनले भने– ‘वास्तवमा नाटक देखाउनु चानचुने कुरा होइन, गाउँघरमा नाटक देखाएर हिँड्दा त हामीलाई कलाकार जस्तो नै ठान्दैनथे ।’ नाटक खेल्दा रामबाबुलाई छुट्टै आनन्द आउँछ । पैसाभन्दा पनि अभिनयप्रतिको लगाव प्रिय थियो उनका लागि । उनमा त्यो मानसिकता अहिले पनि छँदैछ ।
‘दलित’ भनेर मन्दिरबाट निकालिँदा
‘मलाई त नाटकमै रमाउने इच्छा थियो, नाटकमै निकै रमाइलो लाग्थ्यो,’ उनी भन्छन्– ‘तर, कलाकार हुँ भन्दा ‘कुन फिल्मको’ वा ‘कुन सिरियलको’ भनेर साेध्न थाले मान्छेहरूले ।’ उनले सुनाए– ‘नाटकका कलाकार हौं भन्दा त ‘ए नाटकको पो’ भनेर नाक खुम्च्याए । आफ्नै गाउँघरकाले समेत मलाई कलाकारका रूपमा व्यवहार नै गरेनन् । त्यसैकारण सिरियल र फिल्महरूमै खेल्नुपर्छ भन्ने लाग्यो अनि काँचको पर्दामा धकेलिएँ ।’
आफूले पाएका हरेक क्यारेक्टरमा डुब्न सक्छन् उनी । ‘सबै खालका क्यारेक्टरमा अभिनय गर्न मन छ तर मलाई प्रायः निर्देशक एवम् निर्माण टिमले बूढो र गरिवको भूमिकामा खेलाउँछन् । कलाकार भएको नाताले जुनसुकै भूमिकामा अभिनय गर्न अप्ठ्यारो मान्दिनँ’– उनको भनाइ छ ।
‘जुठे’ सिरियलमा उनको अभिनयलाई धेरैले तारिफ गरे । त्यसमा उनी एउटा ग्रामीण ‘दलित’ का रूपमा दुःखी भूमिकामा देखापरेका छन् । टिभीमा त्यो श्रृङ्खला हेरेका धेरै दर्शकले उनलाई यथार्थमै ‘दलित’ का रूपमा चिने ।
उनलाई ‘दलित’ नै ठानेका कारण मन्दिरमा पूजा गर्न आएकी एउटी बूढी आमाले उनलाई ‘बाहिर गइदिन’ आग्रह नै गरेको रामबाबुले सुनाए । रामबाबुलाई मन्दिरभित्र देखेपछि आफू पूजा गर्न आएकाले ‘दलित’ द्वारा ‘छोइन्छ’ भन्दै ती बूढी आमाले ‘बाहिर गइदिन’ आग्रह गरेको उनले सुनाए । बूढीआमाको कुरा स्वीकार्दै आफू बाहिर निस्किदिएको अनुभव उनले सुनाए ।
विवाह पनि नाटककै कलाकारसँग
नाटकमा रमाइरहेका रामबाबुले अग्रज कलाकारहरूको जोडी हेर्ने–देख्ने मौका पाए । नाटकमै काम गरिरहेका सुनिल पोखरेल र नीशा शर्माको जोडी देखे । उनीहरूसँग नजिकिए र निकै नाटकमा सहकार्य गर्ने समेत मौका पाए । आफ्नी श्रीमती पनि यही क्षेत्रकी भइदिए हुन्थ्यो भन्ने उनलाई लाग्न थाल्यो ।
यसैबेला एक साथीले प्रस्ताव अघि बढाए– ‘नाटक क्षेत्रकै एउटी युवती छन्, विवाह गर्ने त ?’ उनले उत्सुकताका साथ बुझ्न चाहे, को हुन् त ती युवती ? सानु नामकी युवती नाटकमा जम्दै गरेको उनले पत्तो पाए । साथीको माध्यमबाट भेटिएकी युवती रामबाबुलाई मन परिन् । त्यसपछि रामबाबुले उनै सानुसँग कुराकानी अगाडि बढाए ।
दुवै तर्फबाट सहमति जुटिसकेपछि रामबाबु–सानु विवाह–बन्धनमा बाँधिए । नाटक क्षेत्रकै कलाकारसँग विवाह गर्न पाउँदा आफूलाई औधी खुसी लागेको रामबाबु बताउँछन् । उनीहरूका दुई सन्तान भइसकेका छन् । छोरी र छोराका साथ उनीहरू काठमाडौंमै बसोवास गर्दै आएका छन् । घरमा भने बुबा–आमा र बुुहारी अनि भाइका छोराछोरी छन् । रामबाबुका भाइको भने केही वर्षअघि निधन भयो ।