आफैं बनाउनोस् यी स्वादिला परिकार

होलिस्टिक संवाददाता

मुलाको अचार

आवश्यक सामग्री

मुला (अढाई इन्चको, टुक्रा पारेको)–१ केजी, बेसार पाउडर– एक चिया चम्चा, तोरीको दाना (पिसेको)– लगभग आधा कप, टिम्मुर– १ चम्चा, खुर्सानीको पेस्ट वा पाउडर– २ चम्चा (अचार कति पिरो मन पराउनुहुन्छ, त्यसैअनुसार), कुकिङ तेल (तोरीको तेल )– आधा कप, हिङ– एक चिम्टी, (थप स्वादका लागि) पेपरिका– १ चम्चा र नुन– स्वादअनुसार ।

बनाउने विधि

काटिएको मुलालाई एउटा बाटामा राख्ने र एक चम्चा नुन छर्कने । यसलाई पग्लनका लागि ४–५ घन्टा छाडिदिने (राम्रो स्वाद प्राप्त गर्नका लागि योभन्दा लामो समयसम्म पनि राख्न सकिन्छ ) । अब मुलालाई थिचेर पानी निकाल्ने, त्यसपछि यसमा तोरी, टिम्मुर, खुर्सानी पाउडर/पेस्ट र तेल राखेर राम्ररी मिसाउने ।

यसपछि सकभर हातैले वा एउटा डाडुले मजाले मोल्ने । त्यसपछि बिस्तारै हिङ र नुन राख्ने र मिसाउने । सबै मिश्रणको एउटै रङ नआएसम्म मजाले मोल्ने । अब यो मिश्रणलाई (सकेसम्म सिसाको) जारमा राख्ने । त्यसपछि ४ दिनसम्म घाम लाग्ने ठाउँमा छाड्ने । बीच–बीचमा जार जाँचेर आवश्यक देखिए तेल थप्ने । ४ दिन पछि जार खोलेर अचारको मजा लिन सकिन्छ ।

000

साँधेको आलु

आवश्यक सामग्री

रातो आलु– आधा किलो, प्याज– एउटा (सानो आकारको), गोलभेंडा– एउटा (मध्यम आकारको), लसुनको पोटी– दुईवटा (मसिनो गरी काटिएको), हरियो खुर्सानी– दुईवटा, तोरीको तेल– दुई टेबल चम्चा (भुटेको तोरीको भए अझै राम्रो), अदुवाको पेस्ट– एक चिया चम्चा, नुन–स्वादअनुसार, मेथी– आधा चिया चम्चा, रातो खुर्सानीको धुलो– आधा चिया चम्चा, जिराको पाउडर– एक चिया चम्चा, बेसार– चौथाई टेबल चम्चा, धानियाको पत्ता– एक टेबल चम्चा (मसिनो गरी काटिएको) र कागतीको रस– एक टेबल चम्चा ।

बनाउने विधि

सबै आलु सफा गर्ने र प्रेसर कुकरमा राख्ने । त्यसपछि एक चिया चम्चा नुन हाल्ने । अब करिव एक गिलास पानी हाल्ने र स्टोभको मध्यम आँचमा कुकरमा आलु उम्लन दिने ।

यसबीच प्याज र गोलभेंडालाई राम्रोसँग काटिसक्ने । आलु उम्लेपछि सेलाउन दिने र एउटा आलुलाई चार भाग हुने गरी काट्ने । काटिएको आलुलाई ठूलो कचौरामा राख्ने र तयार पारिएको प्याज, गोलभेंडा र हरियो खुर्सानी हाल्ने । त्यसमा रातो खुर्सानीको धुलो र धनियाको धुलो पनि थप्ने अनि राम्रोसँग मिसाउने ।

अब तेल, अदुवा र लसुन हालेर राम्ररी मोल्ने । यसमा कागतीको रस पनि थप्ने र राम्रोसँग मिसाउने । त्यसपछि एउटा प्यान तताउने अनि त्यसमा एक चम्चा तेल हाली खर्‍याउने । तेल तातेपछि त्यसमा मेथीका दाना हाल्ने । मेथीका दाना कालो भएपछि आगो बन्द गर्ने र बेसारको धुलो हाल्ने । अब यो मिश्रणलाई आलुको मिश्रणमा हाल्ने र राम्रोसँग मिसाउने । साँधेको आलु तयार भयो, यसलाई अन्य परिकारसँग मिलाएर खान सकिन्छ ।

000

मस्याङको बिराैंला

आवश्यक सामग्री

खैरो या हरियो मस्याङ– आधा केजी, नेपाली घ्यु– दुई चिया चम्चा, सुकेको खुर्सनी– चारवटा, प्याज (मसिनो गरी काटेको)– एउटा, अदुवा–लसुन (चप गरिएको)– १५ ग्राम, हरियो खुर्सानी (चप गरिएको)– तीनवटा, जिरा–धनियाको धुलो– दुई चिया चम्चा, बेसार– आधा चम्चा, गरम मसलाको धुलो– आधा चिया चम्चा र हरियो धनिया–लसुन (मसिनो गरी काटेको)– आधा मुठा ।

बनाउने विधि

मस्याङलाई एक रात पहिले नै पानीमा भिजाउने र नुन हालेर उसिन्ने । पाकेपछि छान्ने र एक साइडमा राख्ने । त्यसपछि बाक्लो कराई वा प्यान बसालेर घ्यु पगाल्ने अनि सुकेको खुर्सानी फुराउने । लगत्तै हरियो खुर्सानी, अदुवा–लसुन र प्याज भुट्ने ।

त्यसपछि बेसार हाल्ने अनि पाउडर मसला हालेर आगोको आँच घटाउने । उसिनेको मस्याङ हालेर बिस्तारै चलाउने र आवश्यक स्वादअनुसार नुन हाल्ने । अन्त्यमा, हरियो लसुन या धनिया हालेर चिउरा, मुराइसँग सर्भ गर्ने ।

मस्याङको बिरौंला जसरी नै लुक्ला सिमी, बोडी, भटमास, चना, हरिया मकै, मुगु, राजमा, केराउ इत्यादिको पनि बिरौंला बनाएर खान सकिन्छ ।

000

चिकेन सेकुवा

आवश्यक सामग्री

मुख्य सामग्री

बोनलेस चिकेन– एक केजी, बटर– ३० ग्राम ।

म्यारिनेटका सामग्री

करी पाउडर– एक चिया चम्चा, तेल– एक टेबल चम्चा, रातो खुर्सानी (मसिनो गरी काटेको)– तीन वटा, हरियो धनियाको पत्ता– एक टेबल चम्चा, लेमनग्रास– एक टेबल चम्चा, बेसर– आधा टेबल चम्चा, जाइफल– चौथाई चिया चम्चा, टिम्मुर– आधा टेबल चम्चा, दही– आधा कप, लसुनको पेस्ट– आधा चिया चम्चा, अदुवाको पेस्ट– आधा चिया चम्चा, नुन र खुर्सानी– स्वादअनुसार ।

बनाउने विधि

बोनलेस चिकेनलाई सफा गर्ने अनि करिव एक इन्चको क्युब आकारमा काट्ने । त्यसपछि म्यारिनेटका सबै सामग्रीहरू ब्लेन्डरमा पिसेर पेस्ट बनाउने । उक्त पेस्ट काटिएको चिकेन क्युबमा दलेर रातभरि फ्रिजमा छाडिदिने (म्यारिनेट गर्ने) ।

अब म्यारिनेट गरिएको क्युबलाई बाँसको स्क्युअर (बारबिक्यु स्टिक) मा उन्ने । बाँसको स्क्युअर छैन भने बजारबाट मेटल स्क्युअर किन्न पनि सकिन्छ । एउटै स्क्युअरमा ८–१० वटा चिकेन क्युब उन्ने ।

त्यसपछि बटर पगालेर चिकेन क्युबको सबै सतहमा पर्ने गरी हल्का पालिस गर्ने । अब त्यसलाई आगोमा ओल्टाई–पल्टाई गरेर आवश्यक समयसम्म ग्रील गर्ने । हल्का रातो भएपछि चिकेन सेकुवा तयार भयो । यसलाई चिउरा, भुजिया वा अन्य परिकारसँग तात्तातै खान सकिन्छ ।