इन्धनमा परनिर्भरता चौतर्फी जर्जरता !

केदारनाथ गौतम

मानव शरीरमा रक्त–प्रवाहको जे–जति भूमिका र महङ्खव हुन्छ, कुनै पनि समाज र राष्ट्रको आर्थिक प्रणाली एवम् समग्र जीवनका निम्ति इन्धन र ऊर्जाको त्यत्तिकै भूमिका र महङ्खव रहन्छ । आजको दुनियामा सवारी साधन तथा कलकारखाना, उद्योग–व्यवसाय र मेसिन–औजार–उपकरणविनाको समाज एवम् आर्थिक प्रणालीको कल्पनासम्म पनि गर्न सकिँदैन । र, यी साधन तथा उपकरणको जीवनशक्ति भनेकै इन्धन र ऊर्जा हुन् ।

दुर्भाग्यपूर्ण र दुःखद् कुरा के छ भने समाज, राष्ट्र र आर्थिक–सामाजिक प्रणालीको आधारभूत आवश्यकताका रूपमा रहेका यिनै ऊर्जा र इन्धनमा भने हाम्रो राष्ट्र र हामी मूलतः परनिर्भर छौं । विश्वमै ‘जलस्रोतको दोस्रो धनी राष्ट्र’ भनिएको नेपालमा केही वर्षअघिसम्म दैनिक अठार घन्टासम्म ‘लोडसेडिङ’ हुन्थ्यो । त्यतिबेला जस्तो ‘लोडसेडिङ’ को कहालीलाग्दो अत्याचार त नेपालमा अहिले छैन; कुशल व्यवस्थापन एवम् ‘ट्रिकी म्यानेजमेन्ट’ र आयातीत बिजुलीकै भरमा ‘लोडसेडिङको अन्त्य’ सम्भव भएको छ । यद्यपि राष्ट्र र जनताको आवश्यकता, उपयोगिता र सम्भाव्यताअनुरूपको उपलब्धता भने अझै पनि ‘परकै कुरा’ भएको छ ।

सबैभन्दा महङ्खवपूर्ण पक्ष त के छ भने हामीकहाँ ‘ऊर्जा’ र ‘इन्धन’ भन्नासाथ पेट्रोलियम पदार्थलाई सम्झने बानी, परम्परा र संस्कार नै बसिसकेको छ । यथार्थता भने त्यस्तो हुँदै होइन । दाउरा, गुइँठा, विभिन्न औद्योगिक सहउत्पादन, गोबरग्यास, सौर्य ऊर्जा र बिजुलीजस्ता स्रोतको सदुपयोग गर्न जानिए÷सकिए खाना पकाउने एलपी ग्यासको आयातलाई बन्दै नै गरिदिन सकिन्छ । भलै, अहिलेसम्म बिजुलीको पर्याप्त उत्पादन हुन नसकिरहेको अनि ‘लोडसेडिङ’ हटाउनकै लागि समेत विद्युत्कै पनि आयात भइरहेको यथार्थता अर्कै पक्ष हो; यसबाट क्रमशः छुटकारा पाउन धेरै वर्ष कुर्नु पर्दैन । उपलब्धता र पर्याप्तता हुँदाहुँदै पनि बिजुलीबाट सम्भव हुने कयौं कार्य/व्यवहारमा पेट्रोलियम पदार्थकै भर पर्ने र त्यसैलाई सजिलो मान्ने हाम्रो बानी–व्यहोरामा व्यापक परिवर्तनको जरुरत छ ।

नेपालकै विभिन्न स्थानमा कोइला, ग्यास र पेट्रोलियम पदार्थका स्रोत भेटिएका या भेटिन सक्ने चर्चा धेरै पटक चले । केही अध्ययन–अनुसन्धान र अन्वेषण पनि भए । यद्यपि हाम्रोजस्तो सानो भूगोल र विविधतायुक्त पर्यावरणीय परिवेशमा त्यो त्यति भरपर्दो र लाभदायक नहुन पनि सक्ला । हाम्रा स्रोत–साधन, जनशक्ति र सिप–प्रविधिले पनि नधान्लान् । हाम्रै खानी र स्रोतको पहिचान र परिचालनमा समेत आयातीत पुँजी, प्रविधि र शक्तिको परिचालन लाभदायक, दिगो र भरपर्दो पनि हुँदैन । खनिज स्रोतहरूको सीमितता आफ्नो ठाउँमा छँदै छ ।

जेसुकै भए तापनि सात समुद्र पारिबाट आउने, अनेकौं किचलो र झमेलायुक्त छिमेकी राष्ट्र हुँदै भित्रने, व्यावहारिक एवम् प्राविधिक दृष्टिले समेत निकै समवेदनशील र झन्झटिलो पेट्रोलियम पदार्थले नेपाल र नेपालीको जीवन र अर्थतन्त्रलाई दिनप्रतिदिन जर्जर र कङ्गाल पार्दै लगिरहेको छ । उत्पादन, ढुवानी र परिवहनको मुख्य आधारका रूपमा रहेको पेट्रोलियमको निरन्तर मूल्यवृद्धि; आयात र बिक्री–वितरणमा भइरहेको चरम लापरबाही, व्यवस्थापन पक्षको गम्भीर अराजकता र अयोग्यता अनि सरकारी पक्षको लुटाहा व्यवहारले जनजीवनलाई अस्तव्यस्त मात्र होइन, क्षतविक्षत नै तुल्याइरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि त्यस्तो ‘चाबी’ भएको छ, जसले एकैसाथ सम्पूर्ण वस्तु र सेवाको मूल्यवृद्धि गराइदिन्छ; नागरिकमाथि शोषण गर्ने थप अवसरको प्रतिक्षामा रहेका भ्रष्ट शासक–प्रशासक र काला व्यापारीहरूलाई ‘सूवर्ण अवसर’ मिलाइदिन्छ ।

दिनहुँ मूल्यवृद्धि भइरहने, व्यापक प्रदूषण फैलाउने र अनेकौं बहानामा विभिन्न पक्षले नाकाबन्दी, हडताल र कृत्रिम अभाव सिर्जना गरेर हैरान पारिरहने पेट्रोलियम पदार्थको प्रयोगलाई हदैसम्म विस्थापन गर्न ढिलो भइसकेको छ । पेट्रोलियमको प्रयोगलाई विस्थापित गर्न जति ढिलो गरिन्छ, नेपाल र नेपालीको प्रगति, समृद्धि र वैभव त्यति नै ढिलो हुने छ । जलस्रोत, जलविद्युत्, सौर्य ऊर्जा र वनसम्पदा नै हाम्रा निम्ति सबैभन्दा भरपर्दा, सस्ता, सहज र दीर्घकालीन इन्धन/ऊर्जाका स्रोत हुन् । छिटोभन्दा छिटो; यथासम्भव आफ्नै बल–बुता, पुँजी–क्षमता तथा प्रविधि–व्यवस्थापनमा यी स्रोत–सम्पदाको उत्पादन, व्यवस्थापन र परिचालनमा ध्यान दिनु हाम्रो सर्वाधिक प्राथमिकताको काम हुनु पर्दछ ।