उल्लासको उपहार: ढपक्क जरबेरा

अनिता सुनुवार

आकर्षक फूलहरूमध्येको एक हो– जरबेरा । यो फूल बाह्रै महिनाजसो फुल्छ । गमलामा होस् वा गार्डेनमा रोपेर फुलाउँदा नै किन नहोस्, यो फूल निकै आकर्षक तथा सुन्दर देखिन्छ ।

बहुवर्षीय यो फूललाई हाइब्रिड गरेर होचो बोटमै गमलामा मजाले फुलाउन सकिन्छ । फूलका पारखीको पहिलो रोजाइमै पर्ने फूल हो जरबेरा । कट फ्लावरका रूपमा समेत यो फूल त्यत्तिकै प्रयोग हुन्छ । नेपालमा कट फ्लावर फूलको कूल माग अर्थात् बिक्रीमध्ये झन्डै आधा हिस्सा जरबेराले नै ओगट्ने गरेको पाइन्छ ।

विश्वासको प्रतीक

जरबेरा फूललाई खुसी तथा विश्वासको प्रतीकका रूपमा लिइन्छ । जरबेरालाई बालबालिकाको निस्कपट एवम् निर्दोष ‘आत्मा’ को प्रतीक समेत मानिन्छ ।

यसको नाम ल्याटिन भाषामा ‘जस्मेसोनी’ हो । जरबेरा ‘डेजी’ को नामले समेत चिनिन्छ । यो फूल एस्टेरासे परिवारअन्तर्गत पर्दछ । १८औं शताब्दीमा जर्मन बोटानिस्ट तथा डाक्टर ट्राउगोट जरबेरले यसलाई ‘जरबेरा’ का रूपमा नामकरण गरेको पाइन्छ ।

यस फूललाई उल्लासमय उत्सवका अवसरहरूमा प्रयोग गर्ने गरिएको पाइन्छ । अफ्रिकालाई यसको उद्गमस्थल मानिन्छ ।

किसिम, मौसम र सावधानी

जरबेरा ‘कट भेराइटी’ र ‘पट भेराटी’ गरी सामान्यतः दुई किसिका हुन्छन् । कट भेराइटीमा जरबेरा फूलको थुँगा प्रयोग गरिन्छ भने पट भेराइटीमा बोट नै रोपेर सजाइन्छ ।

कट भेराइटीमा जरबेरा प्रयोग गर्दा लामो डाँठसहित काटेर थुँगालाई पानीमा राखी सजाउनु उपयुक्त हुन्छ । यसलाई ‘बुके’ का रूपमा समेत प्रयोग गरिन्छ । स्वागत, सम्मान तथा उपहारका रूपमा जरबेराको कट भेराइटी प्रयोग गरिन्छ । पट भेराइटीमा जरबेरा प्रयोग गर्दा यसको बिरुवालाई गमलामा रोपेर होचो बोटमै आकर्षक ढङ्गले फुलाइन्छ ।

जरबेराका लागि स्वच्छ तथा सफा हावा–पानी चाहिन्छ । यो फूललाई सामान्यतः आठ सयदेखि एक हजार तीन सय मिटरसम्मको उचाइमा रोपेर आकर्षक ढङ्गबाट फूलाउन सकिन्छ । त्यसभन्दा माथिल्लो उचाइको वातावरणमा पनि फुलाउनै नसकिने चाहिँ होइन । यो फूललाई पहाडी हावापानीमा राम्रोसँग फुलाउन सकिन्छ । यसलाई सामान्यतया १५ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा आकर्षक ढङ्गले फुलाउन सकिन्छ ।

टिस्युकल्चर गरिएको जरबेरालाई झन् राम्ररी फुलाउन सकिन्छ । यसलाई प्लास्टिकको सेट हाउसभित्र निकै राम्ररी फुलाउन सकिन्छ । पानी जम्ने ठाउँमा भने यो फूल रोप्नु हुँदैन । जमिनमा रोपेको जरबेराको बिरुवामा सामान्यतः चार–पाँच दिनमा एक पटक पानी हाल्नु उचित हुन्छ । यस फूलका बिरुवालाई रोप्ने उपयुक्त मौसम गर्मी याममा असार–साउन तथा जाडो याममा असोज–कात्तिक हो । तुलनात्मकरूपले न्यानो ठाउँमा नै जरबेरा राम्ररी फुल्दछ ।

जरबेराको जरा राम्ररी फैलनका लागि यो रोपिने ठाउँको माटो हल्का/खुकुलो बनाउनु आवश्यक हुन्छ । खुकुलो माटोमा यो राम्रोसँग मौलाउन सक्छ । यसका लागि नाइट्रोजन, पोटास तथा फस्फोरस मल उपयुक्त हुन्छ । यसमा कम्पोस्ट तथा गाईको मल पनि प्रयोग गर्न सकिन्छ ।

जरबेराका रातो, पहेंलो, सेतो, गुलाबी, परपल, बाई–कलर (एउटै थुँगामा दुई वा दुईभन्दा धेरै रङ्ग मिसिएको) रङ्गहरू नेपालमा बढी मन पराइन्छन् । यीमध्ये पनि रातो र पिङ्क झन् बढी मन पराइने रङ्ग हुन् ।

यो फूल एउटा बोटमा वर्षभर ५०–६० थुँगासम्म फुल्छ । यसलाई गर्मी मौसममा रोगले बढी सताउन सक्छ । वर्षा याममा भने पात सुक्ने र जरा कुहिनेजस्ता रोग लाग्न सक्दछन् । पातमा ढुसी आउनेजस्ता रोग पनि लाग्न सक्दछन् । यी रोगको उपचारका निम्ति हर्टिकल्चर विशेषज्ञको सल्लाह लिनुपर्छ ।