युरिक एसिडको बाथ: पहिचान, रोकथाम र उपचार
डा. केशवराज सिग्देलयुरिक एसिड भनेको शरीरमा उत्पादन हुने एक किसिमको विकार–तत्व हो । दिनहुँ सेवन गर्ने खाद्य पदार्थ पाचन हुने प्रक्रियामा शरीरका कोषिकाहरू परिवर्तित हुन्छन् । त्यसै क्रममा कोषिकाहरूमा रहेको न्युक्लिक एसिड निष्क्रिय भएर डीएनए/आरएनएबाट युरिक एसिड बन्दछ । यसरी उत्पादन भएको युरिक एसिडलाई मिर्गौलाको सहयोगमा शरीरले पिसाबमार्फत विर्सजन गर्ने गर्दछ । यसरी युरिक एसिड बन्ने र विसर्जित हुने प्रक्रियाको सन्तुलन बिग्रन गएमा रगतमा युरिक एसिडको मात्रा बढ्दछ ।
युरिक एसिड शरीरका जोर्नीहरू (मूलतः बुढीऔंलाको जोर्नी, गोलीगाँठो, घुँडा र पछि गएर शरीरका मझौला तथा साना जोर्नीहरू समेत) मा क्रिस्टलका रूपमा जम्मा भएर गम्भीर सुजन हुने तथा रातो हुने अवस्थालाई नै युरिक एसिडको बाथ भनिन्छ । यसलाई अंग्रेजीमा गाउट या गाउटी आरथ्राइटिस भनिन्छ ।
वयस्कको शरीरमा प्रतिसय मिलिलिटर रगतमा पुरुषको हकमा ७ एमजी र महिलाको हकमा ६.२ एमजीसम्म युरिक एसिडको मात्रालाई सामान्य नै मानिन्छ । महिनावारी नरोकिउन्जेलसम्म महिलाहरूमा भने युरिक एसिडको बाथ हुने सम्भावना न्यून नै हुन्छ । युरिक एसिडको बाथ भइसकेको र पटक–पटक (वर्षमा २–३ पटक) जोर्नीको सुजन हुने र दुख्ने गरेकाहरूको हकमा भने युरिक एसिडको यही लेभललाई पनि धेरै मानिन्छ । यो अवस्थामा उपचार गरी युरिक एसिडको मात्रा आधाजति घटाएर सामान्य लेभलमा पुर्याउनु पर्दछ ।
युरिक एसिडको बाथ नभएको मानिसमा युरिक एसिडको मात्रा जचाँउदा बढी देखिए तापनि जोर्नीमा जमेर सुन्निने र दुख्ने गरेको छैन भने पनि यो अवस्थालाई युुरिक एसिडको मात्रा बढी भएकै अवस्था मानिन्छ । यो अवस्थामा खासै उपचार गर्नु पर्दैन; सन्तुलित खानपान मिलाएर, सूर्ति–चुरोटजस्ता अम्मलको सेवन हटाएर र शरीरमा बोसोको मात्रा नियन्त्रण गरेर युरिक एसिडको मात्रा घटाउन सकिन्छ ।
क्रमिक रूपमा जाँच गर्दा पनि युरिक एसिडको मात्रा धेरै देखिएको तर जोर्नीको दुखाइ नभएको अवस्थामा पनि युरिक एसिडको मात्रा घटाउनै पर्ने तथ्य हालै गरिएको एक अनुसन्धानबाट समेत पुष्टि भएको छ । रगतमा युरिक एसिडको मात्रा धेरै देखिए पिसाब बनाउने तन्तुमा समस्या हुन्छ र क्रमशः मुटुको समस्या उत्पन्न हुन सक्दछ । पहिलै नै किड्नीको समस्या भइसकेको छ र डायलासिस गरिएको छ भने युरिक एसिड घटाउने औषधि प्रयोग गर्नु पर्दछ ।
कुन उमेरमा देखिन्छ, लक्षणहरू के–के हुन् ?
युरिक एसिडको बाथबाट संसारभर लाखौं मानिस पीडित छन् । तीमध्ये आधाजतिलाई त यो समस्याले पटक–पटक दुःख दिइरहेको पाइन्छ । पश्चिमी देशहरूको तथ्याङ्कका आधारमा भन्नुपर्दा ३० वर्ष माथिका पुरुष र ५० वर्ष माथिका महिलाहरूलाई कुनै न कुनै बखत गाउटको समस्याले पिरोल्ने गरेको देखिन्छ ।
युरिक एसिडको बाथ (गाउट) हुँदा धेरैजसोमा खुट्टाको बुढीऔंला, गोलीगाँठा र त्यस वरपरका जोर्नीमा टन्किएर दुख्ने तथा सुन्निने लक्षण देखा पर्दछन् । रोग बढ्दै गएपछि घुँडा तथा हातका जोर्नीहरूमा समेत युरिक एसिडको मात्रा बढेर जम्न थाल्ने, बिग्रने तथा जोर्नी खिइने समस्या हुन थाल्छ ।
के खाँदा र नखाँदा बढ्छ युरिक एसिड ?
लगातार रक्सी सेवन र बढी गुलियो खानाले पनि युरिक एसिड बढ्ने गरेको पाइन्छ । हाम्रो समाजमा युरिक एसिडको बाथबाट पीडितहरूले जहिल्यै पनि आफ्नै आहार–बिहार र खाना खाने तरिकालाई दोष दिने गरेको पाइन्छ । यद्यपि युरिक एसिडको बाथ हुनुमा आहार–बिहार तथा खानपानको भूमिका भने एक चौथाई मात्रै हुन्छ । अर्थात्, यो रोग उत्पन्न हुनुमा तीन चौथाईजति भूमिका त शरीर स्वयम्ले नै उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर पर्दछ ।
भनिन्छ कि प्रोटिनयुक्त आहार सेवन गर्नाले सय मिलिलिटर रगतमा बढीमा एक मिलिग्राम मात्र युरिक एसिडको मात्रा बढ्दछ । युरिक एसिडजन्य प्रोटिनयुक्त खानाका बावजुद अन्य कारणले पनि शरीरमा युरिक एसिड उत्पादन भइरहेकै हुन्छ । वंशाणुगत, मोटोपन, लामो अवधि भोको बस्ने बानी, मिर्गौला फेल (कार्यबिफलता), मिर्गाैलाको पत्थरी, मुटुसम्बन्धी रोगहरू, मधुमेह आदिजस्ता कारणहरूले शरीरमा युरिक एसिडको उत्पादन बढाउँदछन् । यसका अलावा कुनै प्रकारका दीर्घ रोगहरू र कुनै खास किसिमका औषधिहरूको प्रयोग (उच्च रक्तचाप नियन्त्रणका लागि सेवन गरिने थायजाइड ग्रुपका औषधि इत्यादि) का कारण पनि कतिपयको रगतमा युरिक एसिड बढेको पाइन्छ ।
यस्तो छ युरिक एसिड बाथको उपचार
अन्य किसिमका बाथ रोगको तुलनामा युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नका लागि विशेषज्ञ डाक्टर र बिरामीबीच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ । छोटो समयका लागि भन्दै डाक्टरको परामर्शविना बिरामीहरूले विविध औषधि सेवन गर्दा रोग झन्झन् जटिल हुँदै जाने सम्भावना रहन्छ ।
युरिक एसिडको बाथद्वारा पीडित बिरामी उपचारार्थ अस्पताल वा क्लिनिकमा उपस्थित हुँदा रोगको सुरुआत कहिले र कसरी भयो, कति पटक भयो र अन्तिम पटक कहिले बढ्यो भनेर सोधपुछ गरिन्छ । यस्ता बिरामीहरूले प्रायः एक्कासि दुखाइ बढेर त्यसविरुद्धको औषधि सेवन गरेको वा दुखाइ कम गर्ने औषधियुक्त सुई लगाएको बताउने गरेका छन् । यसरी एक्कासि रोग बढ्नु वा बल्झिनुमा सामान्यतः खानपानकै भूमिका रहने गरेको पाइन्छ । यस्तो अवस्थामा भने खानपान र आहार–बिहार परिवर्तन गर्न नै परामर्श दिइन्छ ।
युरिक एसिड घटाउने वा बढाउने खाद्य पदार्थ, तत्काल प्रयोग गरिने औषधि र त्यसको सेवन मात्रालगायत धेरै प्रोटिनयुक्त खाने कुरा सेवनमा नियन्त्रित रहँदा सामान्यतया घट्न सक्ने युरिक एसिडको मात्राबारे पनि बिरामीले डाक्टरसँग राम्ररी जानकारी लिनु पर्दछ । आहार–बिहार र दैनिक जीवनयापन पद्धतिमा परिमार्जन गर्नेवित्तिकै युरिक एसिडको मात्रा घटिहाल्छ भन्ने ग्यारेन्टी पनि सबैमा नहुन सक्छ । वङ्शाणुगतलगायतका कारणले पनि युरिक एसिड बढाएको हुन सक्छ । त्यसैले विशेषज्ञ डाक्टरको सल्लाहबमोजिम उचित प्रकारका एन्टि–इन्फ्लामेटरी ड्रग्स (नदुख्ने औषधि) र युरिक एसिड लोवरिङ एजेन्ट (युरिक एसिड घटाउने औषधि) प्रयोग गर्नु जरुरी हुन्छ ।
जेहोस्, आहार–बिहार र खानपानमा सन्तुलन तथा समुचित व्यायाम गरेमा, प्रशस्त मात्रामा तरल पदार्थ र पानी सेवन गर्ने बानी बसालेमा, शारीरिक तौल नियन्त्रण गरेमा र शङ्का लाग्नासाथ चिकित्सकको परामर्श लिने बानी बसालेमा युरिक एसिडको बाथलाई व्यवस्थापन गरेर सहजै छुट्कारा पाउन सकिन्छ ।
डा. सिग्देल पास्वाविप्र, आरोग्य स्वास्थ्य सदन र
जाउलाखेलस्थित नेपाल बाथ रोग उपचार केन्द्रमा कार्यरत छन्