बालस्वास्थ्य र पोषण

डा. ईश्वर सुवेदी

पोषण मानिसको आधारभूत आवश्यकता हो । पोषणले मानिसलाई स्वस्थ रहन र रोग प्रतिरोधात्मक क्षमता विकास गर्न तथा कायम राख्न मद्धत गर्दछ । हरेक उमेरसमूहका स्वस्थ र बिरामी दुवै मानिसलाई राम्रो पोषण जीवनभर नै आवश्यक परिरहन्छ । विषेशतः गर्भवती, स्तनपान गराइरहेकी आमा तथा बालबालिकाहरूमा भने विषेश पोषण र हेरचाह आवश्यक पर्छ । बालबालिकाहरूको तीव्रत्तर मानसिक एवम् शारीरिक विकास हुने अवधि पनि यही हो ।

बालबालिका हाम्रा भविष्य हुन् । अन्ततः देशको समग्र आर्थिक तथा सामाजिक विकासमा स्वस्थ्य र स्फूर्त उत्पादनशील जनशक्तिको योगदान रहने तथ्यलाई हामीले स्वीकार गर्नै पर्दछ । नेपालले महिला र बालबालिकाको स्वास्थ्य स्थितिमा उल्लेख्यनीय सुधार गरिरहेको देखाए तापनि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने बालबालिकाहरूको पोषण स्थितिको अन्तर्विश्लेषण गर्ने हो भने सन्तोषजनक अवस्था देखिँदैन ।

यो अवस्थालाई मध्यनजर गरी दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती, स्तनपान गराइरहेका आमा तथा ६ देखि २३ महिनासम्मका बालबालिकालाई लक्षित गरी स्वास्थ्य सेवा, परामर्श, स्वस्थ आहार–व्यवहार र पोषणको उपलब्धताका निम्ति आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम सक्रियताका साथ सञ्चालन गर्नु अत्यावश्यक छ । कुपोषण एक गम्भीर समस्याका रूपमा स्थापित भैसकेकोे छ ।

कूल जनसङ्ख्याको करिब आधा हिस्सा ओगटेका नेपालका महिलालाई अत्यावश्यक पोषण सरकारले अझै पूरा गर्न सकिरहेको छैन । गर्भवती महिलामध्ये आधा तथा लगभग पाँच भागको दुई भाग किशोरी एवम् सुत्केरी महिलामा रक्तअल्पता छ । १२ प्रतिशत महिला उमेरको अनुपातमा होचा छन्, जसले गर्भावस्थादेखि नै सुरु भएर जीवनभर रहने सूक्ष्म तथा बृहत् दुवै प्रकारका पोषणको अभावलाई दर्शाउँछ ।

नेपालमा करिव २०% महिला तथा २५% किशोरीहरू दुब्लोपना तथा दीर्घकालीन ऊर्जाको कमीबाट ग्रस्त छन् । लगभग ५०% गर्भवती तथा २९% किशोरी एवम् सुत्केरीहरूमा रक्तअल्पता छ । देशको भविष्य मानिने बालबालिकामध्ये ४१% मा उमेरअनुसार कम उचाई (पुड्कोपन) छ, यो पनि दीर्घ कुपोषणकै परिणाम हो । ५ वर्षमुनिका ४६% बच्चामा रक्तअल्पता छ ।

पोषणको यस्तो स्थितिले अन्ततः देशको समग्र आर्थिक तथा सामाजिक विकास र उत्पादकत्वमा नै ह्रास ल्याउँछ । हाम्रो समाजमा कुपोषणसम्बन्धी समस्याका मुख्य कारणहरूमा अपर्याप्त खाना, आमा तथा बालबालिकाको उचित रेखदेखको अभाव, रोगको सङ्क्रमण तथा पोषण र सरसफाईसम्बन्धी जनचेतनाको कमी आदि पर्दछन् । यो समस्याको समाधानका लागि आवश्यक कदम समयमै चाल्न सकिएन भने अन्ततः बालबालिकाको मानसिक विकास र शारीरिक वृद्धिमा समेत गम्भीर असर पारी देशको आर्थिक, सामाजिक तथा समग्र विकासमै हानि पुग्ने निश्चित छ ।

मानिसमा दिनमागको ८० प्रतिशत विकास त जन्मेको दुई वर्षभित्रै भइसक्ने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । बच्चाको पोषणयुक्त, सन्तुलित र स्वच्छ आहार–व्यवहारमा यो विकास निर्भर रहन्छ । नेपालका खाद्य असुरक्षित उच्च पहाडी तथा हिमाली क्षेत्रका गर्भवती र स्तनपान गराइरहेका महिला तथा ६ देखि २३ महिनासम्मका बालबालिकाको स्वास्थ्य तथा पोषण स्थिति सुधारका लागि सन् २०१३ मा आमा तथा बालस्वास्थ्य र पोषण कार्यक्रम सम्झौता भई लागू भइरहे तापनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको देखिँदैन । यसैपालिको हिउँदमा समेत अधिक हिमपात र खाद्यान्नको अभावले जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटमा गर्भवती महिलाहरूले ज्यान गुमाएको यथार्थता हाम्रा सामु स्पष्टै छ ।

कुपोषण र भोकमरीको अवस्थामा सुधार ल्याउन कर्णाली प्रदेश सरकारले त्यस क्षेत्रको समग्र विकास गर्नु जरुरी छ । यस कार्यमा स्वास्थ्य, शिक्षा, कृषि, स्थानीय विकास तथा अन्य क्षेत्रहरूको समन्वयमा कुपोषणका आधारभूत कारणहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । पोषण कार्यक्रमसँगसँगै अन्तर्सम्बन्धित व्यवहार परिवर्तन, पोषण अवस्था सुधार, गर्भवती, स्तनपान गराइरहेकी आमा तथा बालबालिकाको पोषणयुक्त आहार सुनिश्चित गर्न राज्यले गम्भीर ध्यान पुर्‍याउनु जरुरी छ ।

पछि पारिएका र जोखिमपूर्ण परिस्थितिमा रहेका महिला तथा बालबालिकामा सरकारी तथा गैरसरकारी कार्यक्रमहरूमार्फत् आधारभूत सेवाहरूको उपलब्धता सुनिश्चित गर्नु जरुरी छ । आमाहरूको अर्को पुस्ता तथा उनीहरूका सन्तानमा ल्याउन सकिने परिवर्तन र प्रभाव तथा बालबालिकाको पोषण स्थितिमा सुधारले शारीरिक तथा मानसिक दुवै सन्दर्भमा दिगो सुधार सुनिश्चित गर्ने छ । त्यसले अन्ततः देशको सामाजिक एवम् आर्थिक पुँजी निर्माणमा नै सकारात्मक प्रभाव पार्नेछ ।

डा. सुवेदी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख हुन्