‘महामारी’ कोरोना ‘स्थानीय’ पनि बन्ला ?

कोरोना ‘पेन्डामिक’ अब ‘इन्डामिक’ बन्ने परिचर्चा

डा. शेरबहादुर पुन

कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमण सर्वप्रथम चीनको वुहानबाट फैलिएर अन्ततः विश्वव्यापी बन्यो । डिसेम्बर, २०१९ को अन्त्यदेखि फैलिएको कोरोनाभाइरसले महामारीको रूप लियो । अब यो ‘पेन्डामिक’ बिस्तारै ‘इन्डामिक’ का रूपमा पो परिणत हुन्छ कि भनेर बहस चल्न थालेको छ ।

पेन्डामिकका रूपमा फैलिएको कोरोनाभाइरस इन्डामिकमा परिणत हुने सम्भावना छ । क्रमशः इन्डामिकको रूप लिँदै गइरहेको आँकलन गर्न सकिन्छ । यद्यपि महामारी ठ्याक्कै कुन समयमा इन्डामिकमा परिणत भइसक्छ भनेर यकिन गर्न भने सकिँदैन ।

के हो इन्डामिक ?

चीनको वुहानबाट देखा परेर विभिन्न मुलुक हुँदै क्रमशः विश्वव्यापी रूप लिएर जनसङ्ख्याको ठूलो हिस्सालाई प्रभावित तुल्याएकाले कोरोना सङ्क्रमणको महामारीले पेन्डामिकको स्वरूप ग्रहण गरेको हो । यसरी महामारीका रूपमा फैलिएको सङ्क्रमण फेरि खुम्चिएर कुनै निश्चित भूभागमा मात्र बेला–बेलामा देखिइरहने स्थिति भएमा त्यसलाई भने इन्डामिक भनिन्छ । पेन्डामिक अन्ततः इन्डामिकमा रूपान्तरित भएमा त्यो स्थानीयरूपमा रहिरहने अवस्था हुन्छ ।

अर्को भाषामा भन्नुपर्दा कुनै बेला महामारीका रूपमा फैलिएको रोग सङ्क्रमणको स्थिति फेरि खुम्चिएर स्थानीयरूपमा रहिरहन सक्ने अवस्थालाई इन्डामिक भनिन्छ । त्यो स्थितिमा सम्बन्धित रोगको महामारी ‘स्थानीय रोग’ बन्न जान्छ । करिव दुई वर्ष विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस उत्परिवर्तित (म्युटेड) हुँदै अन्ततः स्थानीयरूपमा देखिइरहन सक्ने सम्भावना प्रबल देखिन्छ ।

पेन्डामिक खुम्चिएर इन्डामिक बनेजस्तै इन्डामिक पनि विस्तारित भएर पेन्डामिकको रूप लिन सक्दछ । इन्डामिक विस्तारित भएर पेन्डामिक बन्ने प्रक्रियालाई ‘आउटब्रेक’ भनिन्छ । अचानक एवम् अस्वाभाविकरूपमा कुनै रोगको सङ्क्रमण व्यापकरूपले फैलने प्रक्रिया नै आउटब्रेक हो ।

स्वाइनफ्लु (एच १ एन १ अर्थात् पीडीएम ०९) को मोडलजस्तै कोरोनाभाइरसको सङ्क्रमण पनि इन्डामिकका रूपमा परिणत हुँदै जान सक्ने सम्भावना छ । एक समय स्वाइनफ्लु पनि पेन्डामिककै रूपमा फैलिएको थियो । सुरुआतताकाको तुलनमा वर्तमानमा स्वाइनफ्लुको क्षमता पनि निकै कमजोर भएको देखिन्छ ।

हाल स्वाइनफ्लु भने नियन्त्रित अवस्थामै छ । तैपनि यो विभिन्न ठाउँमा प्रत्येक वर्ष देखिने गरेको छ । अहिले मौसमीरूपमा देखिने गरेको भए पनि स्वाइनफ्लु महामारीकै अवस्थामा जस्तो विध्वङ्सात्मक तरिकाले फैलिइरहेको छैन । स्वाइनफ्लु विरुद्धको खोप पनि उपलब्ध छ । र, यो पनि म्युटेसन हुँदै पटक–पटक देखापर्ने गरेको छ ।

कोरोना बन्ला त स्थानीय ?

कोरोनाभाइरसको गतिविधि पनि परिवर्तनशील नै छ । त्यसैले यो स्थानीयरूपमा रहिरहन सक्छ । इन्डामिक अर्थात् स्थानीयरूपमा परिवर्तित भाइरसको सङ्क्रमणले बेला–बेलामा दुःख दिइरहन सक्ने भए पनि उग्ररूपमा प्रस्तुत हुने सम्भावना भने कमै हुन्छ । त्यसो त फेरि यो उग्ररूपमै प्रस्तुत हुँदै हुँदैन भनेर ठोकुवा गरिहाल्न चाहिँ सकिँदैन । कुनै सङ्क्रामक रोग वर्षौंको अन्तरालमा समेत उग्ररूपमा प्रस्तुत हुन सक्ने सम्भावना भने रहन्छ नै ।

यतिसम्म विश्लेषणकै आधारमा भन्न सकिन्छ कि कोरोनाभाइरसको सङ्क्रमणको पनि रूप परिवर्तन भइरहेको छ र यो पनि स्वाइनफ्लुकै मोडलमा स्थानीयरूपमा रहिरहन सक्ने सम्भावना छ ।

तर, हालसम्म भने कोरोनाभाइरस स्थानीयरूपमा परिणत भइसकेको भने छैन । उत्परिवर्तन हुँदै गइरहेकाले आगामी दिनहरूमा यसले कस्तो रूप देखाउँछ भन्ने कुरा महत्वपूर्ण हुन्छ; यसको भावी सम्भावना पनि त्यसमै निर्भर रहन्छ ।

कोरोनाभाइरसको स्वरूप निरन्तर परिवर्तन भएर नयाँ–नयाँ भेरियन्ट देखापर्दै गइरहेको अवस्थाका कारण यो ‘पेन्डामिक’ बाट ‘इन्डामिक’ मा परिवर्तित हुन कति समय लाग्छ भन्ने आँकलन गर्न पनि कठिन छ । कोरोनाभाइरस सङ्क्रमणका विरुद्ध लगाइने खोपका कारण मानव शरीरमा बन्ने एन्टिबडीको विश्लेषणबाट पनि यो भाइरसलाई नियन्त्रित गर्दै लान निकै पद्धत मिल्दछ र त्यो कुरा हामीले व्यवहारतः बुझिसकेका पनि छौं । यो अवस्थाले पनि पेन्डामिकलाई इन्डामिकतर्फ धकेल्न मद्धत मिल्दछ ।

डा. पुनः शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको
क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्